विराटनगर : विराटनगरमा भएको वीभत्स हत्याको घटनामा दोषी ठहर भएका व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।
घटना भएको र अदालतले दोषी ठहर गरेको धेरै भइसक्दा पनि हत्यारा पक्राउ गर्न प्रहरीलाई समय लागेको हो । खोजी तीव्र पारेको प्रहरीले हत्यारा भारतमा लुकेर बसेका कारण पक्राउ गर्न सकिरहेको थिएन । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले १७ वर्षअघिको हत्यामा संलग्न विराटनगर महानगरपालिका–१५ घर भइ विराटनगर–१६ मा बस्दै आएका अन्दाजी ३५ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको जानकारी दिइन् ।
उनका अनुसार २०६५ साउन २६ गते विराटनगर–१५ का १७ वर्षीय शम्भुकुमार सहनीको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि २ टुक्रा पारेर विराटनगर–१६ स्थित नहरमा फालेको अवस्थामा २०६५ साउन २८ गते शम्भुको शव फेला परेको थियो । त्यतिबेला हत्या गरेपछि बोरामा पोको पारेर फालेको क्षतविक्षत अवस्थाको शव नहरमा भेटिएको थियो ।
प्रहरीको अनुसन्धानबाट हत्यामा राजकुमार सहनी लगायतको संलग्नता पुष्टि भएको थियो । ‘राजकुमारलगायतका व्यक्तिहरूले मृतक शम्भुलाई घरबाटै बोलाएर लगेका रहेछन् । बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा २ दिनपछि शव भेटिएको हो । हत्यामा संलग्नहरू लामो समयदेखि फरार थिए,’ प्रहरी स्रोतले भन्यो । हत्यामा संलग्नमध्ये राजकुमार बल्ल पक्राउ परेका हुन् ।
घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले २०७७ माघ २० गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार राजकुमारले २० वर्ष कैद बस्नुपर्ने हुन्छ । अदालतले दोषी ठहर गदै जन्मकैदको सजाय सुनाएको भए पनि उनी लामो समयदेखि भागिरहेका थिए । सजाय भुक्तान नगरिकन फरार बनेका राजकुमारलाई प्रहरीले बल्ल पक्राउ गरेको हो ।
राजकुमार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेको डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको सई सुवास अधिकारीसहितको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।
शम्भुको हत्या गरेपछि राजकुमार लामो समयसम्म भारतमा लुकेर बसेको पाइएको छ । प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा बुझाउने तयारी गरेको छ । अदालतले कामतलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।