२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

लायन्स क्लबको सहयोगमा सिन्धुपाल्चोकका विद्यार्थीलाई शैक्षिक सामग्री

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते २२:११
लायन्स क्लबको सहयोगमा सिन्धुपाल्चोकका विद्यार्थीलाई शैक्षिक सामग्री

सिन्धुपाल्चोक : शैक्षिक सामग्रीको अभावमा अध्ययनमा कठिनाइ भोगिरहेका स्थानीय बालबालिकाहरूलाई लक्षित गर्दै लायन्स क्लबले सिन्धुपाल्चोकको पाँच कन्या सामुदायिक आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री, झोला र विद्यालय पोशाक वितरण गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५–जी अन्तर्गत लायन्स क्लब अफ काठमाडौं वाटर स्पोट्र्स र लायन्स क्लब अफ सनराइजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गतको पहल हो । 

कार्यक्रमका बोल्दै लायन्स क्लब अफ काठमाडौं वाटर स्पोर्ट्सकी अध्यक्ष इन्दु वाग्लेले भनिन्, ‘नर्सरीदेखि कक्षा ३ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयका अधिकांश विद्यार्थी आर्थिक रूपले कमजोर पृष्ठभूमिबाट आएका छन् । उनीहरूलाई शिक्षाको पहुँचमा सहयोग पुर्‍याउने हाम्रो सानो प्रयास हो ।’ सामग्री वितरणको समन्वय सिन्धु पर्यटन व्यवसायी संघले गरेको हो ।

सोही अवसरमा संघको अगुवाइमा तल्लो भोटेकोशीस्थित राफ्टिङको प्रारम्भिक बिन्दु (‘स्टार्ट पोइन्ट’) क्षेत्रमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिएको थियो । 

संघका अध्यक्ष तथा पर्यटन व्यवसायी नारायण श्रेष्ठका अनुसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको चाप बढेसँगै नदी किनारमा फोहोरको मात्रा बढ्दै गएको छ । उनले भने, ‘हामी स्थानीय व्यवसायीहरू प्रत्येक १५ दिनमा एकपटक स्टार्ट पोइन्ट क्षेत्रमा सरसफाइ अभियान चलाइरहेका छौं ।’

कार्यक्रममा सहभागी डिस्ट्रीक्ट ३२५–जी का चिफ गभर्नर एड अग्निविलाश अधिकारीले लायन्स क्लबको स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वमा केन्द्रित विभिन्न क्रियाकलापहरूमा सक्रिय रूपमा संलग्न हुँदै आएको जानकारी दिए । उनले विद्यालय सहयोग, सरसफाइ, स्वास्थ्य शिविरदेखि दीर्घकालीन सामाजिक विकासमा क्लबले गरेको योगदानको चर्चा गरे । 

स्थानीय विद्यालय र समुदायमा शिक्षा र सरसफाइजस्ता आधारभूत क्षेत्रमा गरिएको यस्तो किसिमको सहयोगले सकारात्मक सन्देश दिएको भन्दै विद्यालय व्यवस्थापन समितिले क्लबप्रति आभार प्रकट गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise