२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

Nada
२०८२ असार ३ गते ११:३९
Shares
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादनका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । 

ncell

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत् गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको हो। विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युत् गृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो । 

“आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ”, आयोजना प्रमुख काफ्लेले भने। विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो । 

यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युत् गृह निर्माणस्थलसम्म १३ किलोमिटर पहुँच मार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ । एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्‍याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो ।

विद्युत् गृहमा दुई वटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ । रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युत् गृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए । 

हरिस्वाँरामा रहेको विद्युत् गृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ । विद्युत् गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । रु एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । 

यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए । अक्करे भिर पहाडलाई छिचोलेर पहुँच मार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए।

 नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर