२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

खाडीमा अत्यधिक गर्मी, दिउँसो ३ घण्टा काममा लगाउन रोक

Nada
२०८२ असार १ गते ०६:५७
Shares
खाडीमा अत्यधिक गर्मी, दिउँसो ३ घण्टा काममा लगाउन रोक

काठमाडौं : ठूलो संख्यामा नेपाली कामदार कार्यरत खाडी मुलुकमा बढेको अत्यधिक गर्मीका कारण दिउँसो ३ घण्टा काममा प्रतिबन्ध लगाइएको छ । यूएईले आइतबारदेखि घाममा र खुला ठाउँमा दिउँसो साढे १२ बजेदेखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ । यो नियम सेप्टेम्बर १५ सम्म अर्थात् ३ महिना लागू रहनेछ । खाडीका अन्य मुलुकमा पनि दिउँसोको समयमा खुला ठाउँमा कामदारलाई काममा लगाउन प्रतिबन्ध गरिएको छ ।

ncell

शनिबार त्यस क्षेत्रमा सबैभन्दा कम तापक्रम ठानिएको ओमानको मस्कटमा ३६ डिग्री सेल्सियस र सबैभन्दा बढी कुवेतको कुवेत सिटीमा ५० डिग्री सेल्सियस रहेको थियो । त्यस्तै युएईको अबुधावीमा ३८ डिग्री सेल्सियस, दुबईमा ३९ डिग्री सेल्सियस, कतारको दोहामा ३७ डिग्री सेल्सियस, साउदीअरवको जेद्दामा ३७ डिग्री सेल्सियस, रियादमा ४६ डिग्री सेल्सियस र इराकको बग्दादमा ४७ डिग्री सेल्सियस पुगेको थियो । यो तापक्रम दैनिकरूपमा बढ्ने बताइएको छ ।

खाडी क्षेत्रमा ठूलो संख्यामा आप्रवासी कामदारहरू रहेका छन् । कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूमा काम गर्ने विदेशी कामदारको ठूलो हिस्सा प्रायः कम ज्याला वा अनिश्चित मानिने कन्स्ट्रक्सन, घरेलुलगायतका चुनौतीपूर्ण काम गरिरहेका छन् । खाडी सहयोग परिषद् (जिसिसी) भनिने बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपालीसहित लगभग ३ करोड विदेशी नागरिकहरू कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको भनाइ छ । उक्त संख्या जिसिसी मुलुकहरूको कुल जनसंख्याको ५२ प्रतिशतभन्दा बढी हो ।

केही वर्षयता मात्रै प्रवासी कामदारहरूलाई प्रचण्ड गर्मीले निम्त्याउने स्ट्रोक जस्ता स्वास्थ्य खराबीबाट बचाउन उपायहरू अवलम्बन गरिएको बताइन्छ । अत्यधिक गर्मीले शरीरको तापक्रम उच्च बनाइ मिर्गौला जस्ता अंग विफल हुने, अत्यधिक पसिना आउने, कमजोरीले चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने कतिपय अवस्थामा मांसपेशी ऐंठन समेत हुने चिकित्सकहरू बताउँछन् ।

दिउँसोको समय काममा लगाएको प्रतिबन्धको कार्यान्वयनले विश्वव्यापी चासोको व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डहरू पालना भइ गर्मी महिनाहरूमा गर्मीसँग सम्बन्धित चोटपटक र स्वास्थ्य जोखिमबाट कामदारहरूलाई जोगाउनु रहेको बताइएको छ ।
यूएईले प्रतिबन्ध पालना गराउन कडा कदम चालेको बताएको छ । प्रतिबन्ध पालना नगरेको अवस्थामा एक जना कामदार प्रभावित भएको भए ५ हजार दिराम र कामदार समूहमा भए ५० हजार दिराम जरिवाना गर्ने यूएईले बताएको छ । त्यस्तै कम्पनीहरूले निषेधको अवधिभर कामदारहरूलाई घामबाट जोगाउन छायादार विश्राम क्षेत्रहरू, पंखा जस्ता चिसो उपकरणहरू, पर्याप्त पिउने पानी, स्थानीय अधिकारीहरूद्वारा अनुमोदित नुन जस्ता हाइड्रेटिङ सामानसहित प्राथमिक उपचार किटहरू पनि साइटमा सजिलै उपलब्ध गराउन भनिएको छ ।

ताजा खबर

सम्बन्धित खबर