२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कतारमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतनासम्बन्धी अभिमुखीकरण

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ ३१ गते २१:४२
Shares
कतारमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतनासम्बन्धी अभिमुखीकरण

दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारको आयोजनामा कतारको गृह मन्त्रालय (सामुदायिक प्रहरी र ट्राफिक विभाग)को सहकार्यमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षता तथा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार साँझ मुन्त्जामा रहेको पर्लिङ इन्टरनेसनल स्कुलको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ncell

कतार सरकार मातहतका सामुदायिक प्रहरी विभागका लुथिनल क्लोनेल तलाल मुजफ्फर अल मद्गुर, ड्रग्स इन्फोर्समेन्टका एडमिन डा नादिर मोहम्मद अब्बराह, खालिद खादवा, सामुदायिक प्रहरी विभागका डा बहौद्दीन, फैसल अल हुद्वावीले कार्यक्रमलाई आ–आफ्ना तर्फबाट सम्बोधन गरे ।

कम्युनिटी प्रहरी विभागका क्याप्टेन तलालले कतारमा रहेका कसैलाई पनि कुनै पनि किसिमका समस्या परेमा कम्युनिटी प्रहरी सहयोगका लागी सदैव तयार रहेको बताए । उनले मेट्रासबाट पनि विभिन्न समस्यासम्बन्धी उजुरी गर्न सकिने बताए । ततालले कतारमा सबै प्रकारका चन्दा संकलन गर्ने कार्य अवैधानिक रहेको र चन्दा संकलन गरेको पाइएमा रिपोर्टसम्मको कारबाही हुने बताए । कहिँकतै कतारमा भित्तामा लेख्न या पर्चा पम्पेलेट टाँस्न नपाइने बताउँदै पारिवारिक विवाद एवं समस्या परे कम्युनिटी पुलिस समुदायको सहयोगको निम्ति सदैव तयार रहेको बताए ।

गृह मन्त्रालयअन्तर्गतको जन सम्पर्क विभागका सचेतना प्रमुख तथा संयोजक फैसल अल हुवादीले नेपाली समुदायको प्रशंसा गर्दै लामो समयदेखि मन्त्रालय र नेपाली समाजले एक अर्काको साथ पाएकोमा खुसी व्यक्त गरे । कतारको पछिल्लो ट्राफिक व्यवस्था बारे बताउँदै सवारीसाधन चलाउँदा सिट बेल्टको प्रयोग अनिवार्य रहेको र यसको उल्लंघन गरेमा हालको निम्ति पाँच सय जरिवाना र आगामी दिनमा यसमा वृद्धि हुन सक्ने बताए । 

यसैगरी सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग अत्यन्तै घातक र ज्यानको जोखिम रहेको हुँदा यस नियमको उल्लंघन गरेमा कतारी रियाल एक हजारदेखि तीन हजारसम्म जरिवाना र रातो बत्ती पार गरी दुर्घटना हुन गएमा अझै जरिवाना बढ्ने र लामो समय काराबास हुन सक्ने बताउँदै सचेत रहन आग्रह गरे । उनले कतारमा ट्राफिक नियम कसैले छल्न नसक्ने बताउँदै सुरक्षाकर्मीसहित क्यामेराले समेत निगरानी गरिरहेको स्मरण गराए ।

ड्रग्स इन्फोर्समेन्टका एडमिन डा अब्बराहले नेपालबाट आउँदा कुनै पनि प्रकारको औषधि ल्याउँदा डाक्टरको रिपोर्ट अनिवार्य रहेको बताउँदै कतार सरकारले प्रतिबन्ध गरेका कुनै पनि औषधि नल्याउन सुझाव दिए । उनले कतारमा सबै प्रकारका ड्रग्सको प्रयोग आयात निर्यात प्रतिबन्ध रहेको हुँदा कसैको पार्सल बोकेर आउँदा खोलेर हेरेर मात्र ल्याउन सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले नेपाली समाजको हितका लागि कतार सरकारले देखाएको सदाशयताका लागि हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि नेपाली श्रमिकका लागि निरन्तर साथ पाउने विश्वास व्यक्त गर्दै सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राजदूतावास दोहा कतारका प्रथम सचिव कृष्णकुमार सुवेदी, श्रम सहचारी प्रेम पोखरेलसहित कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेको कार्यक्रममा कृष्ण पन्थीले स्वागत मन्तव्यसहित मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

ताजा खबर

सम्बन्धित खबर