२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ठाउँ ठाउँमा वर्षा, घट्न थाल्यो तापक्रम

Nada
२०८२ जेठ २९ गते ०७:१६
Shares
ठाउँ ठाउँमा वर्षा, घट्न थाल्यो तापक्रम

काठमाडौँ : मौसम बदली भएसँगै ठाउँ ठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ।

ncell

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्व क्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेको छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए ।

मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जस कारण हिजोआजको भन्दा बिहीबार र शुक्रवार को तापक्रममा गिरावट आउने पनि उनले बताए ।

ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ ।

महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, “यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको  छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा  समेत हल्का वर्षा भएको र बाँकी स्थानहरूमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”

मनसुनको अवस्था
हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिए ।

उनले भने, “मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।”

मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन बाँकी छ । यसपालि यो मिति आएको भन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर