२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बागमती प्रदेश स्पोर्ट्स अवार्ड जेठ ४ मा

Nada
राजकुमार के.सी.
२०८२ जेठ १ गते १८:१४
Shares
बागमती प्रदेश स्पोर्ट्स अवार्ड जेठ ४ मा

मकवानपुर : बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रथम बागमती प्रदेश स्पोर्ट्स अवार्ड एवम् युथ समिट हुने भएकोछ । आगामी जेठ ४ गते आइतबार हेटौंडास्थित हुप्राचौरमा अवार्ड कार्यक्रम आयोजना हुने भएको हो ।

ncell

बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत स्पोर्ट्स अवार्ड एवम् युथ समिटबारे जानकारी गराइएको हो । 

कार्यक्रममा बागमती प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले बताए ।

खेलाडीहरुलाई सम्मानसहित प्रोत्साहन गर्नुका साथै विदेश पलायन रोक्ने प्रयास अन्त्रगत अवार्ड कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री महर्जनले बताए ।

युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला/पुरुष, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार समेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट महिला/पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ र अन्य विधालाई जनही ५० हजार रुपैयाँसहित अवार्ड प्रदान गरिने उनले बताए ।

कार्यक्रमका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उपसमिति गठन गरेको थियो । उक्त समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ।
खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्‍याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने व्यक्तित्व छनोटको क्रमलाई ध्यानमा राखिने आयोजकको भनाइ छ ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मन्त्रालयले युथ समिट भने केही सातापछि आयोजना गरिने जनाएको छ ।

सम्बन्धित खबर