-लक्ष्मी ढकाल
१
आफ्नै मित्र वैरी बन्छन् धन दिँदा विचार गर्नू
विश्वासको हत्या हुन्छ वचन दिँदा विचार गर्नू
तारिफ गर्दै आउनेहरू खिल्ली उडाएर जान्छन्
सोचेर पाइलाहरू चाल्नू मन दिँदा विचार गर्नू ।
२
सोचेर नजानू नौलो ठाउँमा पहिचान हुन सक्छ
निम्तोबिना कहिल्यै नजानू अपमान हुन सक्छ
हरपल छेपारोझैं ठाउँअनुसार रङ फेर्ने दुनियाँमा
सोझो मान्छेमाथि तिरस्कारको दोकान हुन सक्छ ।
३
नजोडिने रहेछ यो मन फेरि टुक्रिएपछि, भाँचिएपछि
मिल्दैन टिप्न अरूथोकझैं मुखको बोली पोखिएपछि
इज्जतसाथ राखेका मान्छे के पुग्दैन, उठ्छन्, जान्छन्
पहिलेको स्थान नमिल्न सक्छ विचार गर्नू फर्किएपछि ।
४
बञ्जर भयो मन आज मनपर्दैन यो मधुमास पनि
भीडमा त एक्लै हुन्छु, कोही छन् हुन्न आभास पनि
उज्यालोमा साथ छन् भन्यो, भ्रममा पर्यो, मेरा भन्यो
अँध्यारोमा आखिर एक्लै टोलाउँछ खुल्ला आकाश पनि ।