२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

सिन्डिकेटविरुद्ध संघद्वारा व्यवसायीहरूलाई सचेत

shivam cement
२०८१ फागुन १ गते ०६:२०
सिन्डिकेटविरुद्ध संघद्वारा व्यवसायीहरूलाई सचेत

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ठूलो संख्यामा नेपाली कामदार जाने आकर्षक गन्तव्य मुलुक मलेसियामा पुनः सिन्डिकेटको हल्ला चलाइएको भन्दै त्यस्तो गैरकानुनी क्रियाकलापको पछि नलाग्न म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै सिन्डिकेटका गिरोहहरूले मलेसिया र नेपालका सम्बन्धित निकायलाई प्रभाव पार्छौं र सिन्डिकेट गर्छौं भन्ने भ्रममा पारी नेपालका म्यानपावर कम्पनीहरूलाई प्रलोभन देखाई २५ वटा कम्पनीबाट मात्र कामदार लैजान पाउने व्यवस्था गर्छौं भन्ने भ्रम सिर्जना गरेकाले त्यस्तो भ्रमको पछि नलाग्न व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

संघले व्यवसायीविरोधी क्रियाकलापमा संलग्न भएको पाइएमा जोकोही व्यक्ति वा संस्थालाई कडा कानुनी कारबाहीको दायरामा ल्याइने बताएको छ । संघले सिन्डिकेट गिरोहका पछि लागेर व्यवसायीविरोधी कार्य गर्नेको पहिचान गरी छानबिन र कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ ।

यस्तै, मलेसियामा पुनः सिन्डिकेटको षड्यन्त्र भएको भन्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले पनि खबरदारीका लागि आह्वान गरेको छ । मञ्चका अध्यक्ष जनक रावलले बुधबार विज्ञप्ति जारी गर्दै मलेसिया जाने कामदारको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न भन्दै ‘संचालन प्रणाली’ नामको सिन्डिकेटको तानाबाना बुनिएको बताएका छन् ।

विगतमा कतार, साउदी अरेबिया, यूएईलगायतका मुलुकमा सुरक्षाकर्मी तालिम वा स्वास्थ्य परीक्षणको नाममा सिन्डिकेट खडा गर्ने स्वार्थ समूह नै हाल मलेसियाको रोजगारीमा तालिम वा सीप प्रमाणपत्र जस्ता प्राविधिक विषयलाई अगाडि बढाएर सिन्डिकेट बनाउने प्रपञ्चमा लागिपरेको जानकारहरूको भनाइ छ ।

हाल प्लान्टेसन क्षेत्रमा छिटफुट विदेशी कामदारको एप्रुभल दिएको मलेसियाले छिट्टै ठूलो संख्यामा विदेशी कामदार एप्रुभल खुल्ला गर्ने मलेसियाका स्थानीय संचार माध्यमले बताएका छन् ।

उनीहरूले फेब्रुअरीदेखि बढेको न्यूनतम १७ सय रिंगेट तलब कार्यान्वयनपछि २ प्रतिशतले हुने कर्मचारी संचयकोषको रकम कसले भुक्तानी गर्ने भन्ने विषयमा छलफल भइरहेको र उक्त विषय टुंगोमा पुगेपछि नयाँ एप्रुभल सुरु हुने आँकलन गरेका छन् ।

मलेसियाले मूलतः औद्योगिक क्षेत्र, कन्स्ट्रक्सन, सेवा, वृक्षरोपण, कृषि, घरेलु सहायक र खानी तथा उत्खनन क्षेत्रमा विदेशी कामदार प्रयोग गरिरहेको छ । 
मलेसियाको नयाँ कोटा खुलाउँदा कामदारको भर्ना प्रक्रियामा कुनै शुल्क नलाग्ने गराउन एजेन्टहरूलाई निषेध गर्नुपर्ने आवाज पनि चर्काे रूपमा उठेको छ ।

लामो समयपछि खुल्न लागेको मलेसियाको रोजगारीका नाममा नेपालमा सिन्डिकेट सुरुवात भए त्यसको मलेसियासहित पश्चिमी मुलुकमा तीव्र रूपमा नकारात्मक टिप्पणी सुरु हुने र अन्ततः नेपाल नै मलेसियाको आकर्षक तलबसहितको रोजगारीबाट बिमुख हुन सक्ने खतरा बढ्ने कतिपयले टिप्पणी गरेका छन् ।

त्यसका लागि मलेसियास्थित नेपाली दूतावास विशेष चनाखो हुनुपर्ने उनीहरूको सुझावसमेत छ । करिब १ वर्षअघिदेखि बन्द रहेको रोजगारी खुल्न लागेका बेला मलेसियामा सिन्डिकेट हुँदै छ भनेर हल्ला चलाउने र खुल्न लागेको मलेसियाको रोजगारीलाई डिस्टर्ब गराउने गिरोहको खेल भएको स्रोतको भनाइ छ ।

मञ्चले पनि नयाँ एप्रुभल खोल्ने प्रक्रिया अगाडि बढेको अवस्थामा सिन्डिकेट लागू गर्न विभिन्न नाम र आवरणमा भएका चलखेलबाट मलेसियामा कामदार पठाउने ठूलो संख्याका वैदेशिक रोजगार व्यवसायीहरूलाई पेसा व्यवसायको अवसरबाट बञ्चित गराउने बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise