२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

अर्घाखाँची छत्रदेवका स्थानीयलाई निःशुल्क रगत

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष १३ गते २१:२३
Shares
अर्घाखाँची छत्रदेवका स्थानीयलाई निःशुल्क रगत

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पालिकाबासी र पालिकामा कार्यरत कर्मचारीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैंले तिर्ने भएको छ ।   

ncell

छत्रदेव गाउपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बुटवलबीच  यससम्बन्धी सम्झौता पत्रमा हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठका  अनुसार पालिकाबासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्क वापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ ।

सम्झौतामा सेवा लिने व्यक्तिले स्थायी बसोबास भएको नेपाल सरकारको मतदाता परिचयपत्र, नागरिकता वा नगरपालिका तथा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ । 

नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने कर्मचारी परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने, आपत्कालिन अवस्थामा रगत लिनुपर्ने भइ अन्य कागजात पेस गर्न नसकेको अवस्थामा विलका आधारमा सोझै नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको छ ।

करार अवधि सम्झौता भएको मितिले चार वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, सहमति र सहकार्यको आधारमा करार अवधि थपघट गर्न सक्ने सम्झौतापत्रमा उल्लेख रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले  जानकारी दिए । यो सम्झौता माघ १ गतेदेखि लागू हुने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

सम्झौतापत्रमा  गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने,  गाउँपालिका प्रवक्ता कमल पौडेल, वडा नम्बर ३ का  अध्यक्ष तेजु राम खनाल, रक्तसञ्चार सेवा केन्द्रको तर्फबाट रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीका संयोजक मित्रलाल न्यौपाने, रक्तसञ्चार सेवा केन्द्र बुटवलका इन्चार्ज राधा ज्ञवाली, रेडक्रस लुम्बिनी प्रदेश सदस्य कैलाश श्रेष्ठ र रेडक्रस अर्घाखाँचीका नवराज रायमाझीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि छत्रदेव गाउँपालिकाभित्रका नागरिक तथा कर्मचारीलाई रुपन्देही जिल्ला भित्रका अस्पतालमा उपचारका क्रममा रगत वा रगतजन्य सामग्री आवश्यक परेमा रक्तसञ्चार सेवा केन्द्रबाट सहज र निःशुल्क रूपमा उपलब्ध भइ उपचारमा सहयोग पुग्ने विश्वास लिइएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डे बताए । गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई समेत गाउँमा लगेर जेष्ठ नागरिकहरुको उपचार गर्ने विभिन्न प्रकारका शिविरमार्फत जेष्ठ नागरिकको उपचार गर्ने र अब काठमाडौंमा रहेका अस्पतालमा उपचार गर्दा समेत रक्तसञ्चार केन्द्रसँग समन्वय गरी काम गर्ने तयारी गरिएको  गाउँपालिका  अध्यक्ष श्रेष्ठले बताए  ।

ताजा खबर

सम्बन्धित खबर