२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नागढुंगा–मुग्लिन सडक : आइतबारदेखि सवारी आंशिक रूपमा रोकेर काम गरिने

Nada
२०८१ पुष ६ गते १८:५४
Shares
नागढुंगा–मुग्लिन सडक : आइतबारदेखि सवारी आंशिक रूपमा रोकेर काम गरिने

काठमाडौं : नागढुंगा–मुग्लिन सडकलाई विभिन्न तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । काममा ढिलाइ भइरहेको समयमा अप्ठ्यारो खण्डमा आइतबारबाट आंशिक रूपमा यातायात आवागमन रोकेर काम गरिने भएको छ ।

ncell

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचना अनुसार सडक खण्डको तीन खण्डमा आइतबारदेखि १३ गते शनिबारसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरेर काम गरिने छ ।

एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधन उक्त समयावधिमा चलाउन पाइने छैन । सडक विभागका अनुसार धादिङको धुनीबेसी नगरपालिका–९ स्थित नागढुंगा सुरुङमार्ग आसपासको सिस्ने खोला क्षेत्र, नौबिसे–मलेखु खण्डको पोखरे क्षेत्र र मलेखु–मुग्लिन खण्डको विशालटार क्षेत्रमा काम हुने भएकाले छोटो समयका लागि यातायात आवागमन रोकेर काम गर्न लागिएको हो ।

अप्ठ्यारो भीर र मोड कटान गर्दा माथिबाट ढुंगा खसेर लाग्ने जोखिम रहेकाले निश्चित समयका लागि सवारी साधन आवागमन रोकेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले बताए । ‘सवारी साधन नरोकी एक लेन सडक बनाएर पनि अरु काम गर्न सकिन्छ,’ उनले भने, ‘अहिले सडक चौडा पार्नका लागि उक्त सडक खण्डमा जहाँ–जहाँ अप्ठ्यारो पहाड छ, त्यसलाई कटान गरेर मिलाउन खोजिएको हो ।’

सडक बन्द रहँदा कुन सवारी साधन कहाँ रोक्ने ट्राफिक प्रहरीको सहयोगमा योजना कार्यालयहरूले स्थान तोकेर सूचना जारी गरेका छन् । नागढुंगा–मुग्लिन खण्डमा दैनिक करिब १५ हजार सानाठूला सवारी साधन ओहोरदोहोर गर्छन् । अहिले तीनवटै खण्डमा धमाधम काम भइरहेको उनको भनाइ छ । पहिला भन्दा अहिले कामको गति केही बढेको उनले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर