२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

आफ्नो तलबबाट तिलोत्तमाका मेयरले बाँडे छात्रवृत्ति

Nada
२०८१ पुष २ गते १७:४८
Shares
आफ्नो तलबबाट तिलोत्तमाका मेयरले बाँडे छात्रवृत्ति


रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाको रकमबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् ।

ncell

मेयर खाणल नगर क्षेत्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ विद्यार्थीलाई आफूले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकमबाट जनही ५ हजारका दरले ७ लाख ३० हजार छात्रवृत्ति बाँडेका हुन् ।

यसअघि तिलोत्तमाकै पूर्वमेयर बासुदेव घिमिरेले पनि आफूले पाउने मासिक पारिश्रमिक र सेवा सुविधाको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । अहिलेका मेयर खाणले यसलाई निरन्तरता दिएका छन् ।

मेयर खाणले निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिकवापतको रकमबाट छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

उनले यस रकमले पढ्ने इच्छा भएर पनि बीचमै पढाइ रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए ।

उनले भने, ‘कुनै पनि बालबालिकाले पढ्ने अधिकारबाट बन्चित हुनुहुँदैन भन्ने मान्यता आत्मसात गर्दै आफ्नो पारिश्रमिक बाँडेको हुँ ।’
मेयर खाणले बालबालिकामा गरिएको लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

बाल दिवसको दिन आफ्नो पारिश्रमिकबापतको रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरेको भए तापनि प्राविधिक कारणले यस वर्ष पहिल्यै दिइएको उनले बताए ।

सोही कार्यक्रममा तिलोत्तमा नगरपालिकाले कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ विद्यार्थीलाई प्रतिव्यक्ति ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँ र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर