२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनमै

Nada
२०८१ पुष १ गते १८:०७
Shares
अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनमै

काठमाडौं: मस–नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् ।

ncell

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमवार उद्घाटन गरे ।

अनलाइनमार्फत् अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारी समेत पाउने उनले बताए । मस्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडिएनटिसी डट जिओभी डट एनपीमार्फत् जानकारी लिन सक्नेछन् ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरूका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलासिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरूका लागि मस्तिष्क मृत्युपश्चात अंगदान प्रोत्साहन गर्न कार्यक्रम सुरू भएको जानकारी दिए ।

नेपालसहित विभिन्न देशका अंग प्रत्यारोपणमा संलग्न चिकित्सक, विज्ञ तथा सरोकारवाला सहभागी कार्यक्रममा मन्त्री पौडेलले भने, ‘देशमा ९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं ।’

मन्त्री पौडेलले अहिले भक्तपुरको केन्द्र बाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको बताए । ‘यसै वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ,’ मन्त्री पौडेलले भने ।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत् एक हजार तीन सय ३५ मिर्गौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भइसकेको छ ।

मन्त्री पौडेलका अनुसार हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अंग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बाग्मतीको भरतपुर अस्पतालमा समेत मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । कोसी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर