२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

Nada
२०८१ पुष १ गते १४:३०
Shares
अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौँ : नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।

ncell

अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारी समेत पाउने उनले बताए । मष्तिष्कमृत्युपछि तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटीसी डट जीओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन् ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले धेरैको ज्यान बचाउन मष्तिष्कमृत्युपछि अंगदान प्रोत्साहन गर्न कार्यक्रम सुरु भएको बताए ।

नेपालसहित विभिन्न देशका अंग प्रत्यारोपणमा संलग्न चिकित्सक, विज्ञ तथा सरोकारवाला सहभागी कार्यक्रममा मन्त्री पौडेलले भने, ‘देशमा ९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं 

मन्त्री पौडेलले भक्तपुरका साथै अहिले पोखरा र सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भएको बताए । बाँकी प्रदेशमा यसैवर्ष विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको उनको भनाइ छ । ‘यसै वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ’ मन्त्री पौडेलले भने ।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत एक हजार ३३५ मिर्गौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भइसकेको छ ।

देशको सरकारी प्रत्यारोपण सम्बन्धी एक मात्र विशिष्टिकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले वर्षेनी ३ हजार अपेक्षितमध्ये २०० लाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा दिन सकेको छ । दाता अभावमा अन्य अस्पतालले धेरैलाई अंग प्रत्यारोपण सेवा दिन सकेका छैनन् ।

जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मष्तिष्क मृत्युपछि कैयौंले दाता अभावमा ज्यान गुमाउनु परिरहेको छ ।

मन्त्री पौडेलका अनुसार हाल भक्तपुरस्थित केन्द्रका साथै सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अंग प्रत्यारोपण सेवा दिइरहेका छन् । भेरी अस्पताल घोराही दाङ, सेती प्रादेशिक अस्पताल धनगढी र भरतपुर अस्पताल चितवनमा समेत मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । कोशी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी छ ।

दाता र लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास लिइएको चिकित्सक कल्पना श्रेष्ठले बताइन् । ‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ,’ उनले भनिन् ।

ताजा खबर

सम्बन्धित खबर