२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

लघुकथा : च्याङ्बाको आत्मकथा

Nada
२०८१ मंसिर २९ गते ०६:२०
Shares
लघुकथा : च्याङ्बाको आत्मकथा

–प्रदीप सेवा

ncell

उसको पनि एउटा बेग्लै अनि छुट्टै संसार छ । बेवास्ता । न धन थुपारेर महल बनाउँछु भन्ने अभिलाषा छ, न त सन्तानको निम्ति केही गर्छु भन्ने सपना ।

एक छाक त जता पनि खाइ हाल्छ नि !

खोइ ! उसलाई न गर्मीको टन्टलापुर घामले नै सताउँछ, न त हिउँदको त्यो कठ्यांग्रिने चिसो ले नै पिरोल्छ । कस्तो हो उसको शरीर बाध्यतामा झेलिएको !

गाउँघरमा सबैको प्यारो छ त्यो च्याङ्बा, आज उसकोमा काम गर्‍यो, भोलि उसकोमा भारी बोक्यो । बस् ! जिन्दगी चलिरहेको छ ।

ऊ सबैको प्यारो छ, केवल कामको निम्ति । एउटा कमारो बनिदिए ।

उसको नाम सबैको मुखमा छ, आफ्नो स्वार्थका लागि ।

जताततै फाटेको कपडामा उसको आधा जीवन जाने भयो ।

न कसैले दया नै देखाउँछ, न त माया नै गर्छ, केवल सहानुभूतिबाहेक ।

‘आ ! जे सुकै होस्, आफूलाई त आफ्नो काम निकाल्नुसम्म न मतलब छ’, सायद सबैको यही मन्तव्य छ उसका प्रति ।

आफ्नो कामको निम्ति केही क्षणको माया अनि दयाको बीजारोपण गरिदिन्छ उसको मनमा । च्याङ्बा फुरुक्कै ।

मान्छे साह्रै सोझो हुनु पनि हुँदैन सायद ।

उसको पनि त्यही गाउँलेबाहेक आफन्त भन्ने कोही छ जस्तो लाग्दैन ।

पहिला नै आएर बसेका थिए रे भन्नेचाहिँ सुनेको, खोइ ! 

आज त कठ्यांग्रिने जाडोमा नालीमा लडिरहेको रहेछ ।

सधैं सिउसिउ गर्दै काँप्ने त्यो डाँडाको चप्लेटीमा काँडैकाँडा भएको शरीर सेकाउँदै गरेको देख्थें तर आज यो हालतमा ?

मेरो नजर अचानक त्यहाँ पुग्यो, अचल छ उसको शरीर । हिउँ जस्तो चिसो भइसकेको छ ।

बिचरा ! सायद रातिको त्यो कठ्यांग्र्रिइने जाडोको ताप सहन नसकेको हुनुपर्छ ।

सकोस् पनि कसरी ? शरीरमा एक झुत्रो फाटेको कपडाबाहेक केही थिएन ।

तर, त्यो निश्चल, निर्मल, सबैको कामदारको मर्म अनि व्यथा कसले बुझ्ने ?

सबैलाई आफ्नो काम गरिदिए हुन्थ्यो भन्ने मात्र थियो ।

खोजी त भई नै बस्दथ्यो उसको तर केवल भरियाको निम्ति ।

एक छाक गाँसको आसमा बिचराले के–कस्तो दुःख गरेन होला ?

भ्गवान्को नियतिको अघि कसैको केही नलागेपछि सायद त्यस्तै हुँदो हो ।

आज खुसी लागेको छ, उसले यो दुखी अनि निर्दयी संसारलाई त्यागी अनन्तमा विलीन हुन पुगेछ तर थप दुःखको कुराचाहिँ अब गाउँमा एउटा कामदार, जसलाई सबैले ‘च्याङ्बा’ भनी सम्बोधन गर्ने गर्थे, उसको लोप भएको छ ।

मानिसलाई चिन्ता उसको होइन, अब उनीहरूको काम कसले गरिदिन्छ भन्ने फिक्रीले सताइरहेको छ ।

हे दैव ! अबको जुनी उसलाई यस्तो नदिनु है !

आज उसको गति के छ, कहाँ छ ? कसैलाई सरोकार छैन ।

उसको त्यो शरीर, जो सधैं सबैको सेवा गर्‍यो, आज उसलाई हातसम्म लगाउने सामथ्र्य कसैमा रहेन ।

ताजा खबर

सम्बन्धित खबर