काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनःसुरु गरेको छ । कामपा–१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो ।
करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो ।
लामो समयदेखि कामपा वडा नं १० को फोहर सङ्कलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहर छुट्याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ’, प्रमुख श्रेष्ठले जानकारी दिए।
कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ ।
घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ ।
के हो, फोहर वर्गीकरण ?
‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैंले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ’, विभागका प्रमुख श्रेष्ठले भने । उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् ।
त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरु, फलामलगायत वस्तु नकुहिने फोहर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ । यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ ।
गलकोट (बागलुङ) । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।
सात करोड रुपैयाँ लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिए।
‘पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन’, उनले भने, ‘पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक÷डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।’
दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वषमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए । निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौं गरेको थियो ।
बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ घने जलजलाका स्थानीयलाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ ।
जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताउनुभयो । चार दिनदेखि पुलबाट आवातजावत गर्न थालेको भन्दै यसले समयमको बचत भएको बताए ।
‘यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ । पुल बन्नथालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ । करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ’, जिसीले भने । रासस
तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।
मंगलबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।
विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए।
काठमाडौं । सामुदायिक कुकुर र विरालो सबैको संख्या घटाउँदै लैजाने लक्ष्य अनुसार काठमाडौं महानगरपालिकाले ४ हजार भन्दा बढी कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । महानगर प्रमुख बालेन्द्र शाहका अनुसार १ सय २० दिनमा ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको हो । त्यस्तै ११ हजार ३०८ वटा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाएको छ ।
महानगरले आगामी चार वर्षभित्रमा सामुदायिक कुकुर र बिरालो सबैको संख्या घटाउदै लैजाने लक्ष्य राखेको छ । ‘हामीले सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन,’ नगरप्रमुख साहको भनाइ छ, ‘टोलमा भेटिएका कुकुर बिरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुर्नस्थापना गरिरहेका छौँ ।’
महानगरले बन्ध्याकरण गरिएका कुकुर र बिरालोको कानमा सानो चिन्ह लगाएको छ। ‘हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो,’ नगरप्रमुख शाहले भने ।
महानगरले ‘एअर नोच’ नभएका कुकुर र बिराला देखेमा महानगरको कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन समेत आग्रह गरेको छ ।
म्याग्दी । मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पुर्याएको थियो । उनलाई अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो । मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ । हिमपातसँगै चिसो बढेको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ।
धरान (सुनसरी) । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ ।
मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् ।
धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किनु भएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यावसायिक रुप दिने योजना बनाए। त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोले । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैँ खुकुरी बनाउँछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन्। उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन, ‘यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।’
धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन् । दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरुले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् ।
घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दै आएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन् । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहनु भएको छ । कोरोना महामारी भन्दा अगाडि त उनको उद्योगमा ६० जना कालीगढ थिए ।
उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन् । खुकुरी उद्योगबाट हाल मासिक रु ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उउनी भन्छन, ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’
उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ ।
उद्योग सञ्चालकहरुले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् ।
खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ वटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउनुहुन्छ । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ ।
खुकुरी उद्योग सङ्घ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । ‘‘अहिले अन्तरराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ’, उनी भन्छन्, ‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।’
बजार खस्किएकोमा चिन्ता
कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउँछन् ।
उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ । उनी भन्छन, ‘‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।’
अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उनी भन्छन्, ‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’
संस्कृति र इतिहासमा खुकुरी
खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ ।
नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए ।
अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अंकित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ ।
खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुख्र्यौली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुख्र्यौली पेशाहरु संकटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ ।
विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरुपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ । उनी भन्छन, ‘स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुख्र्यौली पेसा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।’ रासस
काठमाडौं । संघीय राजधानी काठमाडौंसहित देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ । प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो । ‘मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ,’ उनले भने ।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन÷चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ । मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ । नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ । अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । आज देशभरका धेरै स्टेसनहरुमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताए।
नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ । भोलि सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
गलकोट (बागलुङ) । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन्।
लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताए। पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्याउने लक्ष्य रहेको सुनाए।
कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयवासीको जग्गामा रहेका झाडी तथा रुख हटाउने कार्यले तीव्रता पाएको छ । अहिले सायकोट क्षेत्रको पाँच सय रोपनी भन्दाबढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको छ।
‘केहीवर्ष भारतमा बिताएँ । १५ वर्ष साउदीमा रोजगारी गरेँ । अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रुख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ । खेती गर्ने कोही छैनन्’ कार्कीले भने, ‘गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ । वरपर रहेका अनावश्यक रुख र झाडीले ती बिरुवा बढ्न पाएनन् । अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रुख फँडानी भइरहेको छ । अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ ।’
कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए। सुन्तला गाउँका रुपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन । सुन्तलाबाटै वार्षिक तीन करोड रुपैयाँ भित्र्याउने सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन् ।
‘सिगाना सुन्तला गाउँका रुपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन । यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो । सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फँडानी गर्ने, कुकाठ हटाउने काम भएको छ । यसले खेती विस्तारमा टेवा पुग्नेछ’, स्थानीय सूर्य कार्कीले भने, ‘गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जङ्गल बढेर घरसम्मै आउन थालेपछि रुख र झाडी फँडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो ।’
बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रुख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ । उक्त रकमले एक हजार रोपनी जग्गाका रुख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए। उनले कटान गरेका रुख व्यवस्थापन भने स्वम् जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए।
खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रुख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ ।
खेतीयोग्य जग्गा बाँझिदै गएपछि उम्रिएका रुख बिरुवाले फलफुल तथा नगदेबाली गर्न कठिनाई भएपछि अहिले खेतबारीमा रहेका रुख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन् । रासस
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ।
पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए।
उनका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ। मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ।
यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषका सदस्य सचिव खत्रीले बताए।
उनले भने, ‘मन्दिर तथा मुख्य क्षेत्रभित्रमा मन्दिरका भण्डारीलगायत सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी परिचालन हुने तथा मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउटलगायत चार हजार जना स्वयंसेवक खटिने छन्।’
पशुपतिनाथ मन्दिर नजिकै मुख्य(कोर) क्षेत्रमा डाक्टर, नर्स, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० स्वास्थ्य शिविर रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आपत्तकालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन पनि उपलब्ध हुने जनाइएको छ।
यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ।
यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ। पशुपतिनाथको दर्शनका लागि यसपटक नौ वटा मार्गको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताए । उनका अनुसार उत्तरपट्टी तीन, पूर्वपट्टी दुई, दक्षिणपट्टी दुई तथा पश्चिमपट्टी दुई मार्गको व्यवस्था गरिएको छ।
यसैगरी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ। विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्रीवितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ। कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विषेश पासको व्यवस्था नगरिएको जनाएको छ।
बत्तिसपुतली, मैतिदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ।
साथै जोरपाटी, कपन, महाङ्काल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ। दर्शनार्थीलाई सहजरुपमा र छिटो भगवानको दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको सदस्य सचिव खत्रीले बताए । रासस
बैतडी । पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ। हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ। साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन्।
धार्मिक सहिष्णुताको नमूना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ। जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताए।
यस मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ, यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुँदैन।’
वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए। दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उनले सुनाए। उनले भने, ‘गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ।’
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ। जात्रामा सहभागी हुन हजारौँ दर्शनार्थी पुग्छन्। जात्रामा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने चलन छ। माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा पनि मन्दिरमा पूजा गर्ने र बलि दिनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ। परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किंवदन्तीअनुसार वनारसीलाई शक्तिशाली देवताको रूपमा लिने गरिएको छ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ। वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक प्रवक्ता पन्तको भनाइ छ। मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले सुनाए।
त्यसैगरी तत्कालीन राजा महेन्द्रको पालामा मन्दिरका लागि पूजा खर्च दिने गरेको र उनले यहाँ आएका बेलामा तीन दिनसम्म सोही ठाउँमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेको पनि पन्तले बताए।रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies