चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
काठमाडौं- आर्थिक दैनिकअध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय बाहुवली विजय मालीले पत्रकार रिजाललाई बाटो छेकेर धम्क्याएका हुन् । क्षेत्रपाटी चोकबाट ढल्कोतिर जाँदै गरेका बाहुवली मालीले बिपरित दिशातर्फ जाँदै गरेका रिजाललाई फर्किएर आएर बाटो छेकेर धम्क्याएका हुन् । मालीले धम्की दिएपछि पत्रकार रिजालले तत्कालै नेपाल प्रहरी र वडा कार्यालयलाई जानकारी दिएका थिए ।
यसैबीच, आर्थिक दैनिकका संस्थापक सम्पादक रिजालमाथि भएको सांघातिक आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी छ । महासंघ प्रेसविरोधी यो घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
उक्त आगलागीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिकाको वडा नं.५ जगरनाथपुर नवकाटोलामा सोमबार दिउँसो आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा रहमत देवान, सम्साद देवान, अमजत देवान, रजाक देवानको फुसको घर पूर्णरुपले जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवलदार राम कुमार साहले जानकारी दिए ।
आगलागीमा घरभित्र रहेको फर्निचर, धान, चामल, गहुँ, दाल, भाँडाकुडा लत्ता कपडा, गरगहना लगायततका सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका वडा नं.२ जमुनिया गाउँमा सोमबार राति आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट ९ खसी बाख्रा समेत मरेका छन् ।
आगलागीमा रफ मियाँ धुनिया, मनिफ मियाँको घरमा रहेको मोटरसाइकल, दुईवटा साइकल, फर्निचर, खाद्यान्न, लत्ता कपडा समेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रनी रामराजा केशरीले जानकारी दिए ।
अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटीका मधेश प्रदेश कमिटीका उपकोषाध्यक्ष सलाउदिन अहमदले चार घरपरिवारलाई राहत वितरण गरेका छन् । साथै अग्नी पीडितहरुलाई धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष प्रतिनिधि श्याम किशोर पटेल, वडा अध्यक्ष मनाउर मियाँ र राजकिशोर पटेल लगायतको टोलीले खाद्यान, लत्ता कपडा, भाँडाकुँडा, वितरण गरेको थियो ।
काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताइन् ।
‘सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैन ।’ उनले भनिन्, ‘यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’ बालबालिकाहरूका सन्दर्भमा सरकारले सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउनका निम्ति कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताइन् । ‘विगत लामो समयदेखि सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि यस विषयमा अझै बढाउनुपर्ने आवश्यकता छ । बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ । यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’ उनले भनिन् ।
संविधान, नीति, कानून, कार्यविधि, संरचना, दिगो विकासका लक्ष्य एवं ८७ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमहरू १३ संघीय मन्त्रालयबाट सञ्चालित हुँदै आएको उहाँले बताइन् । ु‘स्थानीय निकायले काम गर्दा बालबालिकाको क्षेत्र, महिलाको क्षेत्र, अपाङ्गता विशेषगरी आर्थिक रूपले पछाडि परेका, भूमिहीन, सकुम्बासीको तथ्याङ्क हुन आवश्यक छ ।’ उनले भनिन्, ‘त्यसो हुँदा साँच्चिकै कस्ता बालबालिकाले पाउने वा कस्ताले नपाउने भन्ने कुरा स्पष्ट हुनुपर्छ । अहिले दिइरहेको कार्यक्रममा स्पष्ट नै छ । तथापि यी कामहरू मूल्याङ्कन तथा सही डेलिभरी हुन आवश्यक छ ।’ नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षालाई नागरिकको अधिकारको रूपमा स्थापित गरेको भन्दै मन्त्री चौधरीले नेपालभरका दलित परिवारका ५ वर्ष मुनि बालबालिकाहरू र मानव गरिबी सुचाङ्क कमजोर भएका २५ जिल्लाहरूमा मासिक ५३२ रुपैयाँका दरले बाल पोषण भत्ता वितरण गर्दै आएको बताइन् ।
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन् । महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् । श्रोतको दिगोपनाको जटिलता बढेको भन्दै बजेटको सीमितताका कारण खर्च धान्न गाह्रो भए पनि त्यसका विकल्पहरूको बहस न्यून भएको बताइन् । अन्य उपायहरूको खोजी गर्न आवश्यक रहेको उहाँको भनाई थियो । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउन तथा विशेष गरी बालबालिकाको स्वास्थ्य बीमाको सन्दर्भमा सरकार संवेदनशील रहेको समेत मन्त्री चौधरीले बताइन् । ‘हामीले बालबालिका देशका कर्णधार भन्दै आएका छौँ । त्यसो भन्दै गर्दा आजको बालबालिकामा गर्ने लगानीले देशको सुनौलो भविष्य कोरिरहेको हुन्छ ।’ उनले भनिन् ।
बाल पोषण भत्ताले बालबालिकाको पोषण सुधारमा सकारात्मक प्रभाव पारिरहेको भन्दै मन्त्री चौधरीले यसले बालबालिकामा राज्यले उल्लेख्य लगानी गर्नुपर्छ भन्ने कुराको पुष्टि गरेको बताइन् । बालबालिकालाई उचित स्याहारसुसार गर्ने र अभिभावक तथा बालबालिका बिचको सम्बन्धलाई बलियो बनाउन सकारात्मक वातावरणको सिर्जना गर्नु आजको आवश्यक भएको भन्दै त्यसका लागि अभिभावक सचेतना कार्यक्रमलाई पनि सँगसँगै लैजान आवश्यक रहेको बताइन् ।
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज साँझ आगोले जलेर एको बालिकाको ज्यान गएको छ ।
भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी उनकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए ।
आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घरभित्र रहेकी बालिकाभित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
गुल्मी : गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप शनिबार राति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सत्यवती गाउँपालिका वडा नम्बर ५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २९ वर्षका शंकर विक पनि घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । जिपमा १३ जना सवार थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
काठमाडौं - सरकारी अस्पतालका स्वास्थ्यकर्मी निजी अस्पतालमा गएर काम गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको हो ।
मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ ।
कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
खोटाङ - सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ ।
यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ । रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए ।
गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकअनुसार आत्महत्या गर्नेमा १३ देखि २० वर्ष उमेर समूहका बढी रहेको पाइएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियामा एक जना ७५ वर्षीय वृद्धले आत्महत्या गरेका छन् । ७ वर्षीया नातिनीसँग बस्दै आएका ती वृद्धले बिहान बेलुकाको छाक टार्न नै गाह्रो परेपछि आत्महत्याको बाटो रोजेको बुझिएको छ । ती वृद्धकी नातिनीको लालनपालको जिम्मेवारी स्थानीयहरुले लिएका छन् ।
यस्तै दुर्गा भगवती २ भलोहियाका नुनिया टोलकी १५ वर्षीया आँचलकुमारी दासले पनि आत्महत्याको बाटो रोजिन् । घरपरिवारका सदस्यले गाली गरेकै निहुँमा उनले आत्महत्याको बाटो रोजेको बुझिएको छ । प्रायः कम उमेरकी किशोरी वा युवतीहरुले प्रेममा परेको कुरा घरपरिवारका सदस्यहरुले थाहा पाएपछि सामान्य गाली गरेकै भरमा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।
यसै महिनामा रौतहट जिल्लामा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा १३ देखि लिएर ७५ वर्ष उमेर समूहका पुरुष तथा महिलाहरु रहेको बुझिएको छ । आत्महत्या गर्नबाट रोक्न व्यापकरुपमा जनचेतनाको खाँचो रहेको र समयमै आ-आफ्ना बालबालिकाहरुलाई सही शिक्षादिक्षा दिइ निगरानीमा राख्न जरुरी रहेको समाजसेवीहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ५ जना पुरुष र १७ महिला गरेर २२ जनालाई आत्महत्या गर्नबाट जोगाउन सफल भएको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले मध्यान्हसँग कुरा गर्दै शिक्षाको कमी, बेरोजगारी, घरेलु हिंसा, प्रताडना नै आत्महत्याको प्रमुख कारण रहेको बताइन् । उनले आत्महत्याका घटना न्यूनीकरण गर्न यहाँका स्थानीय तहहरुबाट जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालयले पनि आत्महत्या रोकथाम गर्नेसम्बन्धी जनचेतनामूलक एवम् विभिन्न सन्देशमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने प्रवक्ता गिरीले प्रतिबद्धता जनाइन् ।
रुपन्देही : तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।
रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । गहुँको नलबाट शुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।
आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेको उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।
आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौंको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित रु तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies