जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ ।
पालिकाको आफ्नो परिसरमा बिरुवा उत्पादनको काम भइरहेको र यस कार्यलाई अभियानका रुपमा प्रभावकारी बनाइने पनि पालिकाले जनाएको छ । श्रमदानअन्तर्गत पालिका परिसरभित्र तत्कालका लागि ६५ वटा स्याउका बिरुवा रोपिएको र यो अभियानलाई अझै बढाउँदै लगिने बताइएको छ ।
पालिकाको श्रमदानबाट स्थानीय जातका स्याउका बिरुवा लगाउने काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । पालिका परिसरको वातावरण हरियाली बनाउने र अबको पाँच वर्षपछि सेवा लिन आएका सेवाग्राहीलाई स्याउ टिपेर खानसक्ने गरी बिरुवा रोपिएको छ ।
अध्यक्ष चौलागाईंले भने, ‘हामीले विभिन्न क्षेत्रमा श्रमदान गरी काम गरिरहेका छौँ । श्रमदानले टुक्रे योजनामा लगानी गर्नुपर्ने रकम बचेको छ । यस पटकको श्रमदानबाट गाउँपालिका परिसरको जमिनमा स्याउका बिरुवा रोपिएको हो ।’
पहिलो चरणका स्याउका बिरुवा रोप्न उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश जगदीश घिमिरे, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल, गाउँपालिकाका अध्यक्ष चौलागाईं, उपाध्यक्ष रेवती रावल, वडा अध्यक्षहरु, कर्मचारी, शिक्षक र पत्रकारहरु उपस्थित भएका थिए ।
गाउँपालिकाले श्रमदान अभियानबाट बाढी पहिराले भत्केका तथा पुरिएका सिँचाइ कुलो, मठमन्दिर, प्रतीक्षालय र बाटोघाटो निर्माणको काम विगत नौ महिनादेखि गर्दै आएको छ । स–साना योजना श्रमदान अभियानमार्फत निर्माण तथा मर्मत गर्दा स्थानीय सरकारको रकम बचत भएको अध्यक्ष चौलागाईंको भनाइ छ ।
काठमाडौं । विनयतारा फाउन्डेसनले जनकपुरमा २०० बेडको क्यान्सर अस्पताल निर्माण प्रक्रिया थाल्ने भएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. विनय शाह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा. वाइपी सिंहले उक्त घोषणा गरेका हुन्।
यही वर्षदेखि निर्माण थालनी हुने अस्पतालका लागि अनुमति लिने, आवश्यक जग्गाको किटान र सुरुवाती लगानीको जोहो भइसकेको उनीहरुले बताएका छन्।फाउन्डेसनले हाल जनकपुरस्थित कपिलेश्वर रोडमा २५ बेडको क्यान्सर सेन्टर सञ्चालन गरिरहेको छ। उक्त क्यान्सर सेन्टरलाई नै २०० बेडको सवैप्रकारका क्यान्सरको उपचार केन्द्रका रुपमा विस्तार गर्न लागिएको हो ।
‘मनलाई देशको माटोबाट अलग हुन नदिन उनले आफ्नो करियरको सुरुवातमै बिनयतारा फाउन्डेसन खोलेका हौं,’ सन् २००३ उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका पुगेका डा शाहले भने, ‘म आज जे छु, त्यो नेपालले बनाएको हो। यहीँको सरकारी स्कुलमा पढें । सरकारी कोटामै एमबीबीएस गरें। अब यही देशको क्यान्सर उपचार केन्द्रमा केही गर्न चाहन्छौं।’
नेपालमा विश्वस्तरीय क्यान्सर उपचार केन्द्र बनाउने आफ्नो सपना रहेको उनले बताए। उच्चस्तरीय प्रविधिको साथै दक्ष चिकित्सकीय सेवा उपलब्ध गराउने तयारी रहेको उनको भनाइ छ । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर जनकपुरमा क्यान्सर उपचार केन्द्रको बनाउने तयारी गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
हरेक वर्ष कम्तिमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल बनाउन खोजिएको डा. शाह बताउँछन्। वरिष्ठ क्यान्सर सर्जन तथा विनयतारा ट्रस्ट नेपालका अध्यक्ष डा.वाइपी सिंहले नेपालमा विश्वस्तरीय उपचार सेवा दिने अस्पताल निर्माण गर्न क्रम अघि बढिसकेको बताए। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति समेत दिइसकेको बताए।
फाउन्डेसनले यसअघि काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा सहयोग गरेको थियो। त्यहाँका चिकित्सक तथा नर्सलाई अमेरिकामा तालिम दिनका लागि समन्वय र केही आर्थिक सहयोग गरेको डा. शाह बताउँछन् ।
त्यस्तै फाउन्डेसनले हरेक वर्ष विश्वका नाम चलेका चिकित्सकलाई जनकपुरमा ल्याएर ‘क्यान्सर कंग्रेस’ गर्ने गरेको छ। यसवर्ष मार्च १६ का लागि तय गरिएको छ। फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स र सीएमई कार्यक्रम गर्ने ठूलो संस्था मध्ये एक हो । कन्फ्रेन्स, सीएमई र सहयोगी दाताबाट प्राप्त रकमलाई कोष बनाएर नेपाल तथा दक्षिण एशियाको क्यान्सर क्षेत्रमा काम गरिरहेको हो।
फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो। जसले अमेरिकामा क्यान्सरसँग सम्बन्धित सीएमई र कन्फ्रेन्स,नेपालका साथै दक्षिण एशियामा क्यान्सर उपचार र सचेतनाका क्षेत्रमा काम गर्द आएको छ।
विराटनगर । विराटनगर महानगरपालिकाले विभिन्न संघ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ । आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा पक्ष रहने बताइएको छ ।
प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न संघ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो भएको भन्दै दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गरे। ‘हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने विश्वास व्यक्त उनले व्यक्त गरे।
मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमूना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भई सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।
बागमती । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ ।
कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ । आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ । त्यसकारण आजदेखि क्लिङ्कर उत्पादन बन्द रहेको बताइएको छ ।
उद्योगमा विगतमा उत्पादन भएको क्लिङ्करको मौज्दात पूर्णरुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिनुभयो । कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उनले बताए । अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ । कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो । अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ ।
दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगको पुरानो मेसिनरी समस्या, बजार समस्या, प्रतिस्पर्धामा कमीलगायत नयाँ प्रविधि र जनशक्तिको अभावले गर्दा उत्पादन आफ्नो क्षमताअनुसार नहुँदा उद्योग विगत चार आर्थिक वर्षदेखि घाटामा रहेको उद्योगका तथ्याङ्कले जनाएको छ ।
उद्योगले चालू आर्थिक वर्षको छ महिनामा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट बिक्री गरेको छ । चालू आर्थिक वर्षको साउनमा ४८ हजार नौ सय ५५ बोरा, भदौमा ४५ हजार पाँच सय १० बोरा, असोजमा ५१ हजार चार सय ८२ बोरा, कात्तिकमा २२ हजार तीन सय ८७ बोरा, मङ्सिरमा २५ हजार तीन सय ३७ बोरा तथा पुसमा ५५ हजार सात सय ८५ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ ।
हाल त्यहाँ प्राविधिक तथा प्रशासनिक र ज्यालादारी गरी करिब तीन सय कर्मचारी तथा कामदार कार्यरत छन् । विसं २०३३ मा एसियाली विकास बैङ्कको सहयोगमा उद्योग स्थापना गरिएको बताइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योग तथा ऋद्धिसिद्धि सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा रहेको ती उद्योगका प्रशासनले जनाएको छ ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत कबिलासी नगरपालिका-१० सलेमपुर चौकमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको ग २ ख १४४० नम्वरको बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।
बसको ठक्करबाट साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनलाई सामान्य उपचारपश्चात काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार घाइतेको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
पाटन (ललितपुर) । ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ । ललितपुर महानगरपालिकाको रु चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ को लागतमा निर्माण सम्पन्न हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले आज विशेष पूजासहित शिलान्यास गरेका हुन ।
आकाशे पुल निर्माणका लागि निर्माण व्यवसायी लामा/ प्रगति /मणि /बुद्ध जेभीले महानगरसँग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका वरिष्ठ डिभीजनल इञ्जिनीयर प्रदीप पौडेलले राससलाई जानकारी दिए । यो आयोजनाको परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेड रहेको छ । पुलको पाँच वर्षसम्मको मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नु पर्नेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख महर्जनले महानगरपालिकाले नयाँ नौलो काम गर्न रुचाउने बताउँदै यो सम्भवतः नेपालमै पहिलो भएको बताए । ‘यो क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । महानगरवासीलाई बचाउनका लागि यो काम गर्न धेरै मेहनत गर्नुप¥यो । अब पुल निर्माणका क्रममा कुनै पनि तहबाट बाधा व्यवधान हुँदैन भन्ने प्रतिबद्धता जनाउँछौँ । निर्माण व्यवसायी, परामर्शदाताबाट पनि यो काममा कुनै विलम्ब नहोस्”, प्रमुख महर्जनले भने।
उनले कुनै पनि आयोजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारप्रति नकारात्मक धारणा रहेको भन्दै त्यस्तो यहाँ नहोस् भने। उनले आयोजना निर्माणमा सुरक्षा पहिलो प्राथमिकता भन्ने सिद्धान्तमा आधारित रहेर काम गर्न आग्रह गरे । प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता हुनुहुँदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संलग्न इञ्जिनीयरले ध्यान दिने विश्वास व्यक्त गरे।
उनले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयको सहयोग अपरिहार्य छ भन्दै निर्माणका क्रममा सहजीकरणका लागि आग्रह गरे। ललितपुर खण्डमा पर्ने चक्रपथको सात दशमलव नौ किमी सडकमा स्मार्ट स्याटेलाइट जडानका लागि ठेक्का आह्वान भई छनोटको चरणमा रहेको बताउँद्यै महानगर प्रमुख महर्जनले एक वर्षभित्र जडान सम्मान हुने बताए।
वडा नं १३ का अध्यक्ष गणेश केसीले चार वर्षको प्रयासपछि यो पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएको बताउँदै यो क्षेत्रमा हुने सडक दुर्घटनाको जोखिम रोक्न लगातार काम गरेर समयअगावै सम्पन्न गर्न आग्रह गरे ।
परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयोजनाका डिजाइनर विनोद न्यौपानेले सहरलाई सौन्दर्यीकरण हुनेगरी पुलको डिजाइन गरिएको बताए। निर्माण व्यवसायी लामा प्रगति–मणि बुद्ध जेभी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेरभन्दा पनि स्थानीयको समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बताए । उनले परामर्शदाताकोतर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकोतर्फबाट कुनै बाधा अवरोध भएन भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरले बजेटको अभाव नहुने गरी सम्झौताअनुसारको रकम समयमा नै उपलब्ध गरायो भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयोजना हस्तान्तरण गर्ने उनले बताए ।
काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।
आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए।
उनका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, ‘घ’ वर्गका ४०, ‘ङ’ वर्गका ४५, ‘च’ वर्गका ८२, ‘छ’ वर्गका एक सय ४३, ‘ज’ वर्गका दुई सय ५२, ‘झ’ वर्गका तीन सय ५७, ‘ञ’ वर्गका दुई सय ५५, ‘ट’ वर्गका आठ सय २२ तथा अन्य मगन्तनारायण एक हजार दुई सय ३२ गरी कूल तीन हजार दुई सय ८९ साधुसन्त महाशिवरात्रिमा पशुपतिनाथमा आएका थिए ।
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनका अनुसार कोषले स्वदेश तथा विदेशबाट आएका साधुसन्त बाबालाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदाइ गरेको हो । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।
नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरुलाई दक्षिणा दिने प्रचलन रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गुठी संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि रहेको छ ।
आधारशिविर (सोलुखुम्बु) । सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताए।
‘प्लास्टिकका सामग्रीको प्रयोगलाई कम गरौँ र प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग गरौँ, हामी महिला कुनै चाडपर्व, मेला महोत्सवमा जाँदा धेरै कपडा खरिद गर्छौ, धेरै शृङ्गारका सामान किन्छौँ अनि त्यो सामग्री एकपटक चलाएपछि यतिकै फाल्छौँ’, अध्यक्ष कार्कीले भने, ‘पलास्टिकले वातावरण प्रदूषण मात्र गरेको हुँदैन । जलवायु परिवर्तनमासमेत ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले वातावरण जोगाउन र जलवायु न्यायका लागि पुनःप्रयोगको अवधारणालाई आत्मसात् गरौँ ।’
मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरुले बेलैमा सोच्ने बेला आएको बताए। जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उहाँले समस्या समाधानका लागि महिलाहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। महिलाहरूले प्रयोग गर्ने अधिकांश पहिरन तथा शृङ्गारका सामान पोलिस्टर प्लास्टिकबाट बन्ने भएकाले यसबाट वातावरणमा पर्न सक्ने असरलाई पनि ख्याल गर्नुपर्ने दिन आएको सदस्य साहको भनाइ छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोजिना प्रधान राईले प्रकृति रहे मानव अस्तित्व सम्भव रहेकाले भन्दै वातावरण जोगाउने अभियानमा सबै जुट्नुको विकल्प नरहेको बताए। मानवीय कृयाकलापबाटै वातावरण र प्रकृति जोखिममा पर्दै गएको अध्ययनले देखाएकाले हरेक क्रियाकलाप वातावरण अनुकूलन हुन आवश्यक रहेको उनले बताए।
मिस नेपाल शीच्छा प्रधानले प्लास्टिकको प्रयोग वातावरणका लागि अत्यन्त हानिकारक रहेकाले प्रकृति जोगाउन प्लास्टिक निरुत्साहितको अभियान चलाउनुपर्ने बताए।
जलवायु न्यायको अभियान लिएर साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सगरमाथाको आधार शिविर पुगेका १९ जना महिलाको टोलीले प्रकृति जोगाउने अभियानमा सबै जना एकजुट हुन सगरमाथा आधार शिविरबाट आह्वान गरेको थियो।
उनीहरुले हिमाली क्षेत्रका महिला तथा जनप्रतिनिधिसँग ठाउँ÷ठाउँमा जलवायु न्यायका सवालमा अन्तरसम्वाद समेत गरे। अभियानका क्रममा जलवायु परिवर्तनका कारण हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको, कृषि प्रणालीमा अस्वाभाविक परिवर्तन देखा परेको र त्यसबाट प्रजननमा परेको असरबारे छलफल भएको थियो ।
गोलबजार । सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन काटएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
गएराति मृतक र निजका पति महेन्द्र साह माथि कुटपिट भएको खबर प्राप्त भएपछि सहयोगका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीरु घाउचोटसहित बेहोस फेला पारेको थियो । निजलाई तत्काल उपचारका लागि गोलबजार पुर्याइएको थियो ।
घटनामा संलग्न भएको आशंकामा अनिताका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक सन्तोष अचार्यले बताए। घटना भएको घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको छ ।
मनहरी (मकवानपुर) । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई बिहीबार प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए। अर्याललाई काभ्रे जिल्ला प्रहरी कार्यालय पठाइएको रिजालले बताए ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पु¥याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नायव सुब्बाको रुपमा कार्यरत थिए ।
उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए ।
दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो ।
उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies