काठमाडौं - आज आइतबारदेखि सरकारले सातवटै प्रदेशबाट भर्ना अभियान सुरु गरेको छ । वैशाख २ गतेदेखि २१ गतेसम्म ३० वटा एफएम रेडियोबाट भर्नासम्बन्धी सन्देश प्रसारण हुदैछन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संयोजनमा अभियान सुरु भएको हो । अभियान अन्तर्गत विद्यालयहरु र स्थानीय तहको शिक्षा शाखाले वैशाख ५ गते घरदैलो कार्यक्रम गर्ने, वैशाख १० गते विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण गर्ने, वैशाख ९ गते भर्ना हुन बाँकी बालबालिकाको विवरण तयार गर्ने र वैशाख १० गते नै भर्ना भएका विद्यार्थीहरुको विवरण स्थानीय तहमा पेश गर्ने कार्ययोजना छ ।
स्थानीय तहले विद्यार्थी भर्ना अभियानको समष्टिगत प्रतिवेदन शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले जेठ १५ गतेभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पेश गर्नुपर्ने छ । यसैगरी निजी लगानीका विद्यालय संस्थागत विद्यालयलाई छात्रवृत्तिको कोटा कार्यान्वयनसहित विद्यार्थी भर्ना गर्न भनिएको छ ।शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले सोको कार्यान्वयनका लागि सरकारले हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान सन्चालन गर्दै आएको छ ।
कैलाली - कैलालीमा एकै घरका दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० कने थेवरमन कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।
शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ को दश नम्बरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना ७ ख ९०२३ नम्बरको टिप्परको ठक्करवाट सोही गाडिका सहचालकको ज्यान गएको हो । मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नं. २ जर्लैयाका १८ वर्षीय इरफान भाट मुस्लमान रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ ।
मृतक मुस्लमानको शव पोष्टमार्टमका लागि शिवराज आधारभूत अस्पताल चन्द्रौटामा राखिएको छ । ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले जनाएको छ ।
पिन्टु यादव/मध्यान्ह
सप्तरी : समाज अहिलेसम्म अन्धविश्वासबाट मुक्त हुन सकेको छैन । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक र बोक्सा बोक्सीजस्ता अन्धविश्वासले अमानवीय क्रियाकलाप भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैबीच सप्तरीमा एक परिवार अन्धविश्वासको शिकार भएका छन् ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–७ मंसापुर बस्ने ६० वर्षीया श्यामादेवी मण्डललाई बोक्सीको लाञ्छना लागउँदै अपमानजनक व्यवहारका साथै कुटपिट भएको छ । सोही ठाउँ बस्ने जिबछ मण्डलका छोरा सन्तोष मण्डललगायत उनका पारिवारका सदस्यहरुले श्यामादेवीमाथि बोक्सीको लाञ्छना लगाउँदै उनीसहित उनका ३० वर्षीय छोरा डम्बरराज मण्डलमाथि हातपात र गाली बेइज्जती गरेका हुन् ।
हातपात गर्नेहरुको मुक्का प्रहारबाट घाइते आमा र छोराको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । मिथिला क्षेत्रमा मनाइने जितीया पर्वको बेला मेला घुम्न गएकी आरोपित जिबछकी बुहारीलाई बोक्सी लगाइदिएको आरोप लगाउँदै शनिबार बिहान आफूहरुमाथि मुक्कामुक्की र गाली बेइज्जती भएको पीडित श्यामादेवीले बताइन् ।
जितिया पर्वदेखि नै बोक्सी लगाएको आरोप लगाएर आमालाई राखी पटक–पटक प्रताडित र अपमानित गरिरहेको भएता पनि शनिबार उनीहरुले भौतिकरुपमै आक्रमण गरेको डम्बरराजले बताए । किराना समान खरिद गर्न पसल जाँदै गरेको बेलामा आरोपितहरुले घेरा हाली आमाको बारेमा अपमानजनक शब्दहरु प्रयोग गरेपछि प्रतिवाद गर्दा उनीहरुमाथि हातपात भएको बताइएको छ ।
करिब दश वर्षदेखि आमा श्यामादेवीमाथि बोक्सी भनि छिमेकीहरुले आरोप लगाउँदै आएको डम्बरराजले गुनासो गरेका छन् । यस घटनाबारे स्थानीयहरुसँग बुझ्दा हातपात र गाली बेइज्जतीमात्रै भएको बताएका छन् । स्थानीयहरुले बोक्सीको आरोप लगाइएको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन् । तर डम्बरराजले बोक्सीको आरोपमा आमासहित आफूलाई हातपात र अपमानजनक व्यवहार गर्दै मुक्का प्रहार गरेको भिडियो सुरक्षित राखेको बताएका छन् ।
उक्त घटनालगत्तै प्रहरी चौकी बर्साइनमा मौखिक जानकारी दिएको उनले बताए । त्यस्तै शनिबार जिल्ला प्रहरी कार्यालय राजविराजमा घाउँ जाँच फारमका लागि निवेदन दिएको पनि उनले बताए । उक्त निवेदनमा भने बोक्सीको आरोप लगाइएको उल्लेख गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी निरीक्षक प्रमोद खड्काका अनुसार प्रहरीमा बोक्सी आरोपमा हातपात भनेर सूचना नआएको बताएका छन् । उनले दुई पक्षबीच हातपात र झैझगडा भनेर पीडितको निवेदन आएको बताए ।
नेपालमा बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा कुनै व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिनेजस्ता अमानवीय कार्यलाई दण्डनीय मानेको छ । त्यस्तो आरोपमा कसुर ठहरिएका व्यक्तिलाई कसुरको मात्रा हेरी ६ महिनादेखी पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ भने पाँच हजारदेखि एक लाखसम्म जरिवाना तिराउने व्यवस्था रहेको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । धन्सरबाट जंगलसैयातर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका ४ मुस्लिम टोलस्थित मामाघरमा बस्दै आएका शेष हसमुल्लाका १३ वर्षीय छोरा शेष सहनवाजको मृत्यु भएको हो ।
साइकल चढेर बाटो काट्दै गर्दा ट्याक्टरले ती बालकलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि चन्द्रपुरतर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको मृतकका बाबु हसमुल्लाहले जानकारी दिए । दुर्घटनापछि आक्रोशित स्थानीयहरुले जंगलसैया धन्सर सडक अवरुद्ध पारेका छन् ।
ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लक्ष्मीनीयामा राखिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
काठमाडौं : पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
६९ वर्षीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती ६७ वर्षीया गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।
उनीहरूको हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं- कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए । ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ’, उनले भने, ‘यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
सिमकोट- रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ । प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार गाउँपालिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको बताए । गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र उपाध्यक्ष सुशीला रोकाय भाम सहसंयोजक रहने गरी नौ सदस्यीय रोजगार संवाद मञ्च गठन गरिएको उनले जानकारी दिए ।
समितिमा उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, गैरसरकारी संस्था, नागरिक समाज, प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ भने रोजगार संयोजकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । प्रशासकीय अधिकृत आलेले हाल सञ्चालनमा रहेको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन र गाउँपालिकाले अन्य सरोकारवालाको समन्वय र सहकार्यमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताए । हाल प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालालाई मात्र प्राथमिकता दिएकामा अब भने आयआर्जनका क्षेत्रमा लगानी गर्ने उनले बताए ।
उनले सधैँ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमप्रति निर्भर नरहेर गाउँपालिकाले आफ्नै लगानीबाट आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
सिमकोट- हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए ।
हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताए ।
जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।
काठमाडौं - होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो । होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीत विना हाम्रा पर्व अधुरा छन् ।
‘होलीले रङ्ग्यायो मेरो चोली’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ । होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युवमा यो गीत बज्न सुरु भइहाल्छ । राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ । ‘इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौं होली...सरसरसर होली हो...’ शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिएका छन् । गीतले होलीको महत्व अझ बढाएको छ ।
चलचित्र ‘वसन्तीमा समावेश ‘रातो रातो पहेँलो...’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन् । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिएका छन् । उहाँले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी भएको उनको बुझाइ छ । ‘पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ । त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले तुलनात्मकरुपमा बढी प्रचार पाउछन, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ’, सङगीतकार पोखरेलले भने ।
सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउछन् । नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन । ‘म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ । पुराना केही गीत जनजिब्रोमै छन्’, गायक गिरीले भने । यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।
यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies