प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ जुम्लाबाङका ५१ वर्षीय हस्तराम खड्काको हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन् । प्रहरीले खड्काको हत्या आरोपमा उनका नाती २३ वर्षीय डिल्लीरमण खड्कालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पलसहित पक्राउ गरेको बताए । उनका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका खड्कालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मुसिकोट नगरपालिका–१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटीबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको प्रहरीको भनाइ छ ।
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डाकेशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पदबहाली गरेपछि सम्बोधन गर्दै उपकुलपति प्रा.डा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए।
‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ’, उनले भने।
अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।’
त्यस्तै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए। विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी संकायम अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए। यसको समाधानका लागि मानविकीलाई सबै संकाय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट)का रुपमा पुनःसंरचना गरिने जानकारी पनि उनले दिए। शिक्षा संकायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए।
केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनःसंरचनाका लागि आफू तयार रहेको बताए। ‘त्रिविलाई अब विस्तार होइन पुनःसंरचनाको खाँचो छ,’ उनले भने।
उपकुपति प्रा.डाबरालले त्रिविका शैक्षिक कार्यक्रमहरुलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए। ‘तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ’, उनले भने। साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए।
यसैगरी, देशको विशिष्टताअनुरुप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताए। होटल व्यवस्थापनमा अध्ययनसँगै कमाईको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए।
काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बराललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीसँग शुक्रबार भएको भेटमा उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूरा गर्ने तथा कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने बताए।
उपकुलपति बरालले शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई सही मार्गमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै बन्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
बराजलले आजै कीर्तिपुरस्थित विश्वविद्यालयमा पुगेर आफ्नो पदभार समेत सम्हालेका छन् । उनलाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार उपकुलपतिमा नियुक्त गरेको थिए ।
काठमाडौं। पार्टी प्यालेस र होटलमा सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग गर्ने गरेको भन्दै काठमाडौं महानगरले निगरानी सुरु गरेको छ।
महानगरले गत साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नक्कली फुलको प्रयोग नगर्न गरिएको आग्रहलाई अटेर गरे कारवाही गर्ने बताए।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएका छन् ।
बिहीबार नै उनको पुनरावेदन उच्च अदालत पाटनले दर्ता समेत गरेको छ। सन्दीपका कानून व्यवसायी सरोज घिमिरेका अनुसार उच्च अदालतले चैत १२ मा तारिखका लागि बोलाएको छ ।
त्यस्तै अदालतले सन्दीपलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अनुमति समेत दिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार थुनछेकका क्रममा जेल चलान नभएका कसूरदारको कैद सजाय १० वर्षभन्दा कम भएमा थुना बाहिरै बसेर पुनरावेदनका लागि मुद्दा लड्न पाउँछन् ।
सन्दीपमाथि गौशाला–२६ लाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। जिल्ला अदालतले काठमाडौंले त्यसमा उनलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिए।
काठमाडौं पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।
मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।’
भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरे। ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ,’ मौसमविद् कँडेलले भने।
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।
काठमाडौं । देशका कुल ६ महानगरपालिकामध्य कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगर उत्कृष्ठ ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मंगलबार सार्वजनिक गरेको प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा भरतपुरले महानगरहरुमध्य धेरै अंक पाएको हो ।
आयोगले तयार पारेको आर्थिक वर्ष २०७९/८०को मुल्यांकन प्रतिवेदन अनुसार भरतपुले ५६.२९ अंक पाएको छ भने दोस्रो स्थानमा रहेको काठमाडौंले ३९.०२ मात्रै भएको छ । सबैभन्दा कमजोर कार्यसम्पादन पोखराको रहेको छ । त्यस्तै वीरगञ्ज महानगरले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ र पोखरा २०.७४ अंक पाएको छ।
भरतपुरमा रेनु दाहाल मेयर छिन् भने काठमाडौंमा बालेन साह रहेका छन् । त्यस्तै वीरगंजमा राजेशमान सिंह, बिराटनगरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबु मर्हजन र पोखरामा धनराज आचार्य मेयर रहेका छन् ।
आयोगले कुनै पनि महानगरको कार्यसम्पादन सन्तोषजनक भने नरहेको बताएको छ। आयोगले विभिन्न १७ वटा सूचकमा आधारित भएर महानगरहरुको मूल्यांकन गरेको थियो । आयोगले यो प्रारम्भिक प्रक्षेपण रहेको भन्दै कुनै पालिकालाई चित्त नबुझे ७ दिनभित्र पुनरालोकनका लागि निवदेन दिन समेत भनेको छ ।
बित्त आयोगका अनुसार कार्यसम्पादनमा देशभरका उत्कृष्ठ १० स्थानीय तह
१.सन्धिखर्क नगरपालिका(अर्घाखाँची)
२.भरतपुर महानगरपालिका(चितवन)
३.मालिका गाउँपालिका(गुल्मी)
४.मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)
५.भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक)
६.चन्द्रकोट गाउँपालिका(गुल्मी)
७.छत्रदेव गाउँपालिका(अर्घाखाँची)
८. रेसुंगा नगरपालिका(गुल्मी)
९.पााचपोखरी थांपाल गाउँपालिका(सिन्धुपाल्चोक)
१०.सरुमारानी गाउँपालिका (प्युठान)
सत्येन्द्रप्रताप सिंह/मध्यान्ह
रौतहट : तीन दिनपछि सरस्वतीको मूर्ति सेलाउने विषयमा सर्वदलीय बैठकमा सहमति भएपछि सोमबार दिउँसो स्थानीय नदीमा मूर्ति बिर्सजन गरिएको छ ।
सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वदलीय बैठक बसेर सहमति गरेको हो । सो सहमतिको आधारमा सरस्वतीको मूर्ति विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी ऐलिजा गिरीले बताए।
फागुन ५ गते ईशनाथ नगरपालिका वडा नं. ७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद भएको थियो । विवाद उग्र भएपछि रौतहट प्रशासनले कर्फ्यू आदेश जारी गरी आइतबार थप क्षेत्रमा समेत कर्फ्यू विस्तार गरेको थियो ।
सर्वदलीय सहमति अनुसार गाँउमा समाजिक सद्भाव कायम राख्न र्याली निकालिने भएको छ । ईशनाथ नगरपालिकाको सम्बन्धित वडाहरुमा सामाजिक सद्भाव कायम भएपछि मात्रै कर्फ्यू हटाउने तयारीमा प्रशासन छ । रौतहट क्षेत्र नम्वर २ का संघीय सांसद किरण साह, नेपाल प्रहरीका डीआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश प्रमुख सञ्जय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सदस्य जैयद राजा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सरस्वतीको मूर्ति विसर्जन गरिएको हो ।
सरस्वतीको मूर्ति स्थानीय नदीमा विसर्जन गरेसँगै तनाव कम भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
काठमाडौं । मुर्ति सेलाउने बिषयमा रौतहटको ईशनाथमा भएको साम्प्रदायिक तनावको असर पर्साको वीरगंजमा समेत परेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लाग्ने जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
शनिबार रौतहटको ईशनाथ नगरपालिकामा मुर्ति सेलाउने विषयमा भएको विवादलाई लिएर वीरगञ्जमा आज प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले सम्भावित अशान्ति रोक्न कर्फ्यू आदेश जारी गर्नु प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies