काठमाडौं- चर्चित निर्वाचन क्षेत्र इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेमा सुहाङ नेम्वाङ अत्यधिक मतान्तर अगाडि छन् ।
प्रतिनिधि सभा सदस्यका भएको उपनिर्वाचनमा एमालेका नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३३५७ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ४१९ मत पाएका छन् भने नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७५३ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४५१ मत पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो । नेम्वाङकै छोरा सुहाङलाई एमालले टिकट दिएपछि धेरै चर्चाको विषय बनेको थियो । सुहाङसहित उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।
काठमाडौं - बझाङको प्रदेश सभा १ मा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । शनिबार भएको उपनिर्वाचनमा सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन् भने एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर ८३ मात्रै छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन् ।
यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।
बझाङ : बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।
छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका हुन् ।
कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन् । यस्तै माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३६९ मत पाएका छन् ।
इलाम : इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।
मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गरेका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक सय १५ मत प्राप्त गरेका छन् ।
विसं २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारले आठ सय नौ मत प्राप्त गर्दा एमाले उम्मेदवारले चार सय ५७ मत प्राप्त गरेका थिए ।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
बझाङ : बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना शुरु भएको हो ।
मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उनले बताए । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।
शुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
इलाम : इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना शुरु भएको छ ।
विहान ११ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना शुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना शुरु भएको हो ।
यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले जानकारी दिए । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।
मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले दिए । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ । कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : शनिवार इलाम– २ को प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा उपनिर्वाचन भएको छ । राजनीतिक दलहरुले आगामी राजनीतिबारे जनताको चाहना बुझ्ने अवसरका रुपमा लिएर प्रतिष्ठाकै विषय बनाएका थिए । तर, इलाम–२ मा ४० प्रतिशत र बझाङ (क) मा ५० प्रतिशत मतदाता मतदान स्थलमै पुगेनन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार इलाम–२ मा करिब ६० प्रतिशत मतदान भएको छ । बझाङ–१ (क) मा करिब ५० प्रतिशत मतदान भएको छ । ४ मंसिर २०७९ मा भएको चुनावमा इलाम–२ मा करिब ६० प्रतिशत मत खसेको थियो । बझाङ–१ (क) मा करिब ५३ प्रतिशत मत खसेको थियो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता पाण्डेयले बझाङको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम लगिने र मतगणना शुरु गरिने जानकारी दिएका छन् । उनका अनुसार बझाङमा आइतबार बिहान १० बजे पछाडि मात्रै मतगणना शुरु हुन सक्नेछ । गत चुनावमा निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि बझाङ १ (क) को प्रदेश सभा सदस्य पदका लागि शनिवार उपनिर्वाचन भएको हो ।
यसैगरी, गत निर्वाचनमा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यसपछि रिक्त भएको स्थानका लागि शनिवार उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार छन् । एमालेका तर्फबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ उम्मेदवार छन् । नेम्वाङलाई माओवादी केन्द्र र नेत्र विक्रम चन्द नेतृत्वको पार्टीले समर्थन गरेको थियो ।
नेपाली कांग्रेसका तर्फबाट १८ महिना अघि सुवास नेम्वाङसँग पराजित डम्बर खड्का नै उम्मेदवार छन् । गत चुनावमा उनी सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
एमाले, कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले प्रतिस्पर्धा गरेका छन् । माओवादी केन्द्र निकट रहेर पत्रकारिता गर्दै आएका लिम्बु उपनिर्वाचनको केही समय अगाडि मात्रै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पछि रास्वपामा आवद्ध भएर सोही पार्टीको उम्मेदवार भएका हुन् ।
पहिचानवादी पक्षका तर्फबाट डेकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । थेगिमलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), हाम्रो नेपाली पार्टी र लौरो अभियानले समर्थन गरेका थिए ।
रास्वपाका उम्मेदवारलाई स्पष्टीकरण
मतदानको समयमा चुनाव चिन्ह अंकित ब्याज लगाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु स्पष्टीकरणमा परेका छन् । इलाम–२ मा शनिवार सबैभन्दा पहिले लिम्बुले मतदान गरेका थिए । मतदानको समयमा उनले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएका थिए । लिम्बुले मतदान गरेपछि मतदान गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटो बाहिरिएपछि निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो ।
निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जालबाट सार्वजनिक भएको फोटोलाई सार्वजनिक रुपमै ग्रहण गरेर आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देश गरेको हो ।
‘एक जना उम्मेदवार चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गर्न जानुभएछ । यो आचारसंहिता उल्लघंन हो । यसआधारमा स्पष्टीकरण सोध्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिएको हो’ आयोगका एक आयुक्त भन्छन् ।
यस सम्बन्धमा स्पष्टीकरण आएपछि कारबाही हुने वा नहुने वा भएको खण्डमा के हुने भनी तय हुने आयोगका अधिकारीहरु बताउँछन् । आयोगका अनुसार कारबाही हुने अवस्थामा निर्वाचन सम्पन्न भएपछि समेत कारबाही गर्न असर पर्दैन ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले लगानी सम्मेलनका लागि ल्याउन लागेको अध्यादेशप्रति प्रश्न उठाएको छ । सरकारले स्वीकृतिका लागि सिफारिस गरेको अध्यादेशमा राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्टि जनाइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रश्न उठाएको हो ।
अध्यादेशको विषयवस्तुमा मौन रहेको कांग्रेसले संसदबाटै कानुन निर्माण हुनुपर्ने भनेको छ । शनिवार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति निकालेर कानुन निर्माणका लागि संसदसँग पर्याप्त समय हुँदा हुँदै अध्यादेश ल्याउनु अलोकतान्त्रिक काम भएको बताए । लगानी सम्मेलनका लागि भन्दै अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत रहेको उनको भनाइ छ ।
लगानी सम्मेलन आइतबार र सोमबार काठमाडौंमा हुँदैछ । यसका लागि सरकारले गत बुधबार ९ वटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । तर, अध्यादेशको विषयवस्तुतमा राष्ट्रपति पौडेलले असन्तुष्टि जनाइरहेका बेला कांग्रेसले समेत प्रश्न उठाएको हो ।
राष्ट्रपतिको असन्तुष्टि सम्बोधन गर्ने पर्यास सरकारले गरेको सत्तारुढ दलहरु बताउँछन् । यसका लागि ९ वटा कानुन संशोधन गर्न लागिएकोमा आठ मात्रै गर्ने गरी संशोधन गरेर स्वीकृतिका लागि शुक्रबार दिउँसो राष्ट्रपतिकहाँ पठाइएको छ ।
राष्ट्रपतिले असन्तुष्टि जनाएपछि विद्युतीय कारोबारसम्बन्धी ऐन संशोधन गर्ने विषय हटाइएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार दिउँसो तीन बजे पठाएको उक्त अध्यादेश स्वीकृत भएको छैन ।
लगानी सम्मेलनलाई केन्द्रित गरेर सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा संशोधन गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ का केही व्यवस्था पनि संधोधन गर्न लागिएको छ ।
अध्यादेशको विषयवस्तुमा भने प्रमुख प्रतिपक्षी कांग्रेस मौन रहेको छ । तर, अध्यादेशको विरोध गर्दै संसदबाटै कानुन निर्माण हुनुपर्ने भनेको छ ।
सरकारले संघीय संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी महिनौँ अगाडीदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गर्नु उचित नरहेको कांग्रेसको तर्क छ ।
कांग्रेसका प्रमुख सचेतक लेखकले अगाडि भनेका छन्, ‘सरकारको यो काम प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत छ ।’ उनले सरकारलाई संसद् छलेर अध्यादेश ल्याउने कार्य बन्द गर्न र संसदलाई कमजोर नगर्न सचेत गरेका छन् ।
काठमाडौं : इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि शनिबार उपनिर्वाचन भएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ ।
इलाममा आजै मतगणना शुरू गर्ने तयारी गरिएको छ । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै रातिदेखि मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिए।
बझाङमा भने आजै मतगणना शुरू गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए । साइपालबाट मतपेटिका ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए ।
काठमाडौं : आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
दुवै पार्टीबीच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ । नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरूपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधारपत्रमा उल्लेख छ ।
विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टी एकता पश्चात प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ ।
अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, संगठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्याउन संकल्पित रहने पनि सहमतिपत्रमार्फत जानकारी दिइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies