काठमाडौं : भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि बेलायतदेखिका बिरामीहरु आउने गरेका छन् ।
संयुक्त अधिराज्यको लण्डनका एक ७५ वर्षीय बिरामीले भने, ‘म बेलायत र संयुक्त राज्य अमेरिकाका उत्कृष्ट अस्पतालहरूमा समेत भर्ना भएको थिएँ, तर सन्तुष्टि भने पटनामा आएर पाएँ । खाना होस् कि शल्यक्रिया होस् वा यहाँका मानिसहरूको सद्भाव, तपाइले यो मूल्यमा कतै पनि पाउनुहुने छैन । म तपाईलाई ठोकुवाका साथ भन्न सक्छु डा. आशिषले बिल्कुल निराश हुन दिने छैनन् ।’
पटना, २३ अप्रिल, २०२४ बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा उपलब्ध उत्कृष्ट रोबोटिक प्रविधिको प्रयोग गरी लण्डनस्थित बेलायती बिरामीको दुवै घुँडाहरु एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको तीन वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरेर विश्वभर आफ्नो छाप छोड्न सफल भएको छ । यो बिहारको लागि गौरवको विषय हो । किनभने यसले मेडिकल पर्यटनको लागि पनि एक सम्भावनाको ढोका उघारेको छ ।
लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जुन अवस्थाले विश्वभरका ५२ करोड ८० लाख मानिसहरूलाई सन् २०१९ मा असक्त बनाएको छ । अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा.आशिष सिंहले घुँडा र हिप प्रतिस्थापनका लागि गरिने रोबोटिक शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिए । बिरामीहरुले डा. आशिषसँगको उपचारलाई आफ्नो ‘उत्तम निर्णय’ बताउँदै युके र संयुक्त राज्य अमेरिकाका आफ्ना अघिल्ला अनुभवहरूभन्दा बिहारको उपचारमा सन्तुष्टि मिलेको बताए । यहाँ आउनेहरूमा विशेषगरी इङ्गल्याण्ड, पाकिस्तान, भुटान, नेपाल, बंगलादेश र अफगानिस्तानका बिरामीहरु छन् । आफूले प्रदान गर्ने आतिथ्यताले पनि बिरामीहरूलाई शारीरिक र मानसिक रूपमा निको हुन मद्दत गर्ने गरेको इकाइको विश्वास छ ।
नतिजा स्वरूप, युनिटले गुवाहाटी, डिब्रुगढ, त्रिपुरा, महाराष्ट्र, मुम्बइ, दिल्ली, बैंगलोर, छत्तीसगढ, नागपुर र रायपुर लगायतका धेरै भारतीय राज्यहरूमा पनि आफ्नो पकड स्थापित गरेको छ । जसले गर्दा शल्यक्रियाका लागि गर्नुपर्ने अन्तरहिन प्रतिक्षा घटाउँदै ठूला भारतीय र अन्तर्राष्ट्रिय शहरहरूमा हुने अत्याधिक खर्च र डाक्टरको लापरवाहीबाट समेत यसले उन्मुक्ति दिलाएको छ ।
रोबोटिक प्रणालीले घुँडा प्रतिस्थापनको शल्यक्रियालाई ३–४ घण्टाबाट ४० देखि ५० मिनेटमा घटाएको छ र शल्यक्रियाको प्रक्रियापछि ४ देखि ५ घण्टाभित्र बिरामीहरु आफ्नो खुट्टामा उभिन सक्छन्। सर्जन र मेसिनरीहरूको उत्कृष्ट टोलीको साथ, सिमलेस आतिथ्यता र छिटो रिकभरी हुन सकिन्छ भने बजेट–मैत्री अस्पताल हुनु यसमा थप फाइदा हो । समान सुविधा प्रदान गर्ने अन्य संस्थाहरूलाई एआइओआरको सुपर स्पेशलिटी युनिटले ४० प्रतिशत कम खर्च गराएर उछिनेको डा. आशिषले बताए ।
यसको सबैभन्दा राम्रो पक्षका रुपमा एक सामान्य शल्यक्रियाकै लागतमा रोबोटका सुविधाको लाभ उठाउन सकिन्छ ।
पहिले घुँडा प्रतिस्थापन शल्यक्रियामा २ लाख रुपैयाँसम्म खर्च हुने गथ्र्यो भने अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पहलका कारण यो अब सबै वर्गका बिरामीका लागि सहज भएको छ र यसले आयुष्मान कार्ड धारकहरूलाई पनि फाइदा पुर्याउँछ ।
शल्यक्रियाको तीन हप्तापछि, १० मध्ये ९ जना बिरामीहरू सहायताबिना नै हिँड्न सक्छन् भने ८५ प्रतिशत बिरामीहरू शल्यक्रियाको ६ हप्ताभित्र आफ्नो काममा फर्किन सक्छन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै स्थानीय सरकारले जनताको सुख,दुःखमा साथ दिनुपर्ने बताएका छन् । आगलागी पीडित रुरुक्षेत्र गाउँपालिका वडा नं. ५ मिनामकोट निवासी मुक्तबहादुर सारूका परिवारलाई राहत दिँदै उनले स्थानीय सरकारले जनताले महसुस गर्ने गरी काम गर्ने बताए ।
उनी राहत लिएर सारुको घरमै पुगेका थिए । उनले आगलागी पीडितलाई घरमै पुगेर तत्कालको लागि राहत स्वरुप नगद, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेका थिए ।
अध्यक्ष ज्ञवालीले विपतमा परेकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । राहत वितरणका लागि पीडितको घरमा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा नम्बर नं.५ का वडाध्यक्ष एवं पालिका प्रवक्ता हरिप्रसाद ज्ञवाली पीडितको घर पुगेका थिए । घर पुनर्निर्माणको लागि संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा आवश्यक प्रकृया अगाडि बढाइने र राहत सामग्रीको लागि एकद्वार प्रणालीबाट उपलब्ध गराउन विभिन्न संघ संस्थासँग समन्वय गरेको अध्यक्ष ज्ञवालीले बताए ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोट खाडाँचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सत्य तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
पत्रकार महासंघ कालिकोटको १६ औं जिल्ला अधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले पत्रकार राज्यको चौथो अंग भएको र सबै नागरिकलाई न्यायपूर्ण रुपमा समाचार सम्प्रेषण गरी तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
भौगोलिक कठिनाइका बाबजुद पनि जिल्लामा क्रियाशिल रहेर पत्रकारिता माध्यमबाट नागरिकलाई समाचार सम्प्रेषण गरेको भन्दै उनले धन्यवाद समेत दिए ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले पत्रकारको आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारिता पेशालाई अझै थप मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
अधिवेशन तथा साधारण सभामा अध्यक्ष विष्ट र सचिव खडानन्द अधिकारीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश सोनीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, डिएसपी अर्जुन केसी, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तुलराम पाण्डे, कालिकोटका उपाध्यक्ष नमराज योगी, पूर्व अध्यक्ष कालि बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान वडा नं.३ र ४ धारापानीका विभिन्न स्थानमा गत वैशाख ८ गते भीषण आगलागी भयो । रातामाटा क्षेत्रको जंगलबाट शुरु भएको आगो बस्तिमा पस्दा गाउँ नै उजाड बनाइदियो । १५ वटा घर, १५ वटा गोठ, २ वटा भैसी, ९ वटा बाख्रा र सयौं रोपनी वन क्षेत्र जलेर खरानी हुँदा लाखौंको क्षति भएको छ ।
आगलागीबाट घरबास गुमाएकाहरुको घरसँगै गाँस, बास र कपास पनि गुम्यो । जसका कारण आगलागी पीडितहरु अरुको शरणमा पर्नुपर्यो ।
यसरी पीडामा रहेका धारापानीबासीका दुःखेका मनका घाउलाई टाल्ने मल्हम बोकेर जाने सहयोगीदाताहरु पनि बढेर गएका छन् । वैशाख ९ गतेबाटै शुरु भएको राहत दिनेक्रम अझै जारी छ । वैशाख ९ गते जिल्ला प्रशासनमार्फत अर्घाखाँची उद्योग वाणिज्य संघको खाद्यान्न र नेपाल रेडक्रस अर्घाखाँचीको एक–एक थान ओढ्ने, ओछ्याउने कपडा र भाडावर्तन राहत स्वरूप वितरण गरिएको छ । यस्तै वैशाख १० गते भूमिकास्थान नगरपालिकाले पनि खाद्यान्न प्याकेज वितरण गरेको छ ।
लायन्स क्लब अफ अर्घाखाँची, भूमिकास्थान–रुपन्देही सम्पर्क समाज, ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाज,धारापानी–रुपन्देही सम्पर्क मञ्च, भूमिकास्थान–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ र सन्धिखर्क–८का भरतमणी पौडेलले आगलागी पीडितलाई विभिन्न राहत सामग्री वितरण गरेका छन् ।
सहयोगी दाताहरुले आगलागी पीडितलाई लत्ताकपडा, भाडावर्तन, आवास निर्माणको लागि रकम र जिन्सी समेत दिएका छन् । भूमिकास्थान नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, भूमिकास्थान–३ का वडा अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भूमिकास्थान–८, का वडाध्यक्ष राजकुमार श्रेष्ठ, लायन्स क्लबका जोन चेयर प्रशन हरि प्रसाद भुसाल, डिष्ट्रिक चेयर प्रसन कृष्ण प्रसाद भुसाल, क्लबका अध्यक्ष प्रकाश परियार, धारापानी–रुपन्देही सम्पर्क मञ्चका महासचिव सन्तोष बन्जाडे, ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजका सह सचिव टेकराज भुसाल, भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष रामप्रसाद भुसाल, सन्धिखर्क–८ का समाजसेवी भरतमणी पौडेल लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।
आगलागीबाट घर÷गोठ दुवै जलेर नष्ट भएका भूमिकास्थान– ३ र ४ का १५ घरपरिवारलाई धारापानी–रुपन्देही सम्पर्क मञ्चले एक–एक सेट विस्तारा, प्रेसर कुकर, चटाइसहितको सेट, लायन्स क्लब अफ अर्घाखाँचीले एक–एक सेट विस्तारा, खाना खाने भाडावर्तन, पि–फमसहितको सेट, भूमिकास्थान–८, का वडाध्यक्ष राजकुमार श्रेष्ठले ३० थान पातलो ब्लांकेट वितरण गरेका थिए ।
यस्तै भूमिकास्थान–रुपन्देही सम्पर्क मञ्च र ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले आवास निर्माणको लागि वडास्तरिय विपत व्यवस्थापन समितिलाई १०/१० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दा सन्धिखर्क–८, किमडाडाका भरतमणी पौडेलले दुई बण्डल जस्ता पाता दिने घोषणा गरेका छन् ।
यसरी गाँस, बास र कपासको सहयोग बोकेर धारापानी जाने दाताहरुलाई भूमिकास्थान नगरपालिका र पीडित परिवारले धन्यवाद ज्ञापन गरेका छन् । आगलागी पीडितहरुको आवास बनाइदिने चौतर्फी वचन र सहयोग संकलन अभियान चलाइए पनि घर बनाउने कामको थालनी भने कुनै पक्षबाट पनि हुन सकेको छैन ।
सूर्यप्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री दिनेश पन्थीले विपतको सामना सबै मिलेर गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै मन्त्री पन्थीले कोही पनि जनता खुला आकाश मुनि बस्नु नपर्ने र सबै मिलेर आवास निर्माण गरिने प्रतिबद्धता जनाए ।
‘लुम्बिनी प्रदेशका धैरै जिल्लामा आगलागीका घटनाले धन जनको क्षति भएको छ । तपाईंहरुको दुःखमा सरकार छ, नजिकको सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार, स्थानीयवासी सबै जुटेर घर र गोठ निर्माण गर्ने छौं । तत्कालका लागि जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री पठाएका छौं । राहत सामग्री वितरण गर्दा एकद्वार प्रणाली जिल्लस्तरीय विपत व्यवस्थापन समिति मार्फत वितरण गर्नुपर्छ,’ उनले भने ।
नेकपा एमाले अर्घाखाँचीका कार्यबाहक अध्यक्ष शम्भु पोख्रेलले आगलागी पीडितहरुको पुनर्स्थापनाको कार्य गर्न नेकपा एमाले अर्घाखाँचीले मन्त्री पन्थीको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘तत्कालका लागि अस्थायी आवास र पुनर्स्थापनाको कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका छौं । सबैको साथ र सहयोगले विपतको सामना गर्न सकिन्छ ।’
भूमिकास्थान नगरपलिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले तीनै तहको सरकार, स्थानीयवासीको सहयोगलाई बास्केट बनाएर जनताको घर र गोठ निर्माण गरिनुपर्ने बताए । उनले भने, ‘अहिले विभिन्न देशबाट पनि सहयोग अभियान चलेको छ । सबै जनाले गर्ने सहयोगलाई एकीकृत गरी सबैका घर बनाउनुपर्यो ।’
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबाहादुर खत्रीले राहत वितरण एकद्वारा प्राणीलीबाट गरिने बताए । उनले भने, ‘व्याक्ति, संघ संस्थाले गर्ने आर्थिक सहयोगलाई एकीकृत गरी बास्केट बनाएर राहत र पुनर्स्थापना गर्नु पर्दछ ।’
'विपतको समाना सबै मिलेर गरौं'
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अर्घाखाँची जिल्लामा भएको आगलागीको घटना दु:खद भएको भन्दै सबै जनाले मिलेर सामना गर्नुपर्ने बताए । रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल अस्थायी बास र दीर्घकालीनरुपमा आवास निर्माणका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताए । उनले प्रभावित क्षेत्रका बालबालिका, महिला, अशक्त, अपाङ्ग तथा सुत्केरी महिलाहरुलाई पहिलो प्राथामिकतामा राख्न सरोकारवालासँग अपिलसमेत गरेका छन् ।
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उनले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताए ।
गृहमन्त्री लामिछानेले भने, “आपतका बेला सरकार दुई–चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनौं । स्रोत परिचालन गरेका छौँ ।” विपत्को अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, “प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।”
साताको एक पटक विद्यालयमा यस विषयमा रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गृहमन्त्री लामिछानेले जोड दिए । उनले भने, “स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । जनचेतनाका कुरामा हामी चुक्न पुगेका छौँ । अझै पर्याप्त मात्रामा पुग्न सकेका छैनौँ । जनचेतनाको तरिका फेर्नुपर्छ ।”
दमकलको क्षमता बढाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले भने, “सरकारले २२ तलासम्म भवन बनाउने अनुमति दिएको छ । तर त्यति माथिसम्म दमकलको क्षमताले भ्याउँछ कि भ्याउँदैन ? यसका लागि स्रोत बढाउनुपर्ने देखिन्छ । सुरक्षा निकायका अस्पतालमा जलन वार्ड विस्तार गर्नुपर्छ ।”
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा ४६ स्थानमा डढेलो, ४३ स्थानमा आगलागी हुनुका साथै जलेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली श्रेष्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मालपोत कार्यालयका तत्कालीन खरिदार पौडेलसहित नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला,खुम्बु पासाङल्हामु गाउँपालिका १ बस्ने बुद्धमाया थापा मगर र निजका नाती रामकृष्ण थापा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सरकारको नाममा रहेको जुभिङ्ग गाउँपालिका वडा नम्बर ५ मा रहेको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्ने/गराउने कार्यमा संलग्न देखिएको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले बताए ।
सो मुद्दामा फुर गेल्जे शेर्पा,ङिम याङ्जि शेर्पा,ल्हाक्पा दिकि शेर्पा,पेम्बा शेर्पा,ल्हाक्पा गेल्जेन शेर्पा,शर्मिला राई र मृत्यु भएका मिङमा ल्हमू शेर्पालाई जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
काठमाडौं : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।
हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।
निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए ।
हात्तीपाइले रोगको धेरैजस्तो संक्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको संक्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको संक्रमण रोकिएको छ ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ को ठाँटीखोला र जाजरकोटको नलगाड नगरपालिका मन्मैस्थित ठूलीभेरी नदीमाथि भइरहेको पक्की पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतको १३ करोड ७० लाखको लागतमा ठाँटीखोला पुल निर्माणको काम भइरहेको हो । उक्त पुल निर्माणको ठेक्का सपना निर्माण सेवा प्रा.लि.हेटौँडाले पाएको छ ।
निर्माण कम्पनीका प्राविधिक सिर्जन बर्तौलाका अनुसार ६२.५ मिटर प्रिसेस प्रविधि, २५ मिटर नर्मल स्लाब र ११ मिटर चौडाइ भएको उक्त पुलमा तीन वटा पिल्लर बन्नेछन् । आर्थिक वर्ष ०७९/८० मा ठेक्का खोलिएको यो पुल निर्माणको समयावधि तीन वर्ष तोकिएको छ । तोकिएकै समयमा पुल निर्माण गर्ने गरी काम भइरहेको प्राविधिक बर्तौलाले बताए ।
निर्माणाधीन उक्त पुलको आठविसकोट नगरपालिका प्रमुख रवि केसी, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख जगदिश शर्मासहितको टोलीले अनुगमनसमेत गरेको छ । अनुगमन टोलीले समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।
यो पुल निर्माण भएमा रुकुम पश्चिम हुँदै डोल्पा जोड्ने सडकको दुरी छोटिनुका साथै स्थानीयलाई आवतजावतमा सहज हुने छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकालाई चीन सरकारले खाद्यान्न सहयाेग गरेकाे छ । विभिन्न समयमा खाद्यान्नदेखि लत्ताकपडा सहयाेग गर्दै आएकाे चीन सरकारले याेपटक पनि ठूलाे परिमाणमा खाद्यान्न सहयाेग गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए ।
चीनकाे पुराङ काउन्ट्रीका पदाधिकारीले नेपाल र चीनकाे सिमाना हिल्सामा गाउँपालिकाका अध्यक्षलाई बिहीबार सम्पूर्ण सामग्री हस्तान्तरण गरेकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर शाहीले बताए ।
उक्त सामग्री नाम्खा गाउँपालिकाका ६ वटै वडामा वितरण गरिने छ । ६ वटै वडालाई पुग्ने गरी चीन सरकारले एक हजार बाेरा चामल, एक हजार बाेरा पिठाे सहयाेग गरेकाे छ भने पाँच सय लिटर तेल, पाँच सय केजी नुन र एक हजार बाेरा चिनी पनि सहयाेग गरेकाे गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।
चीन सरकाले सहयाेग गरेकाे सामग्री गाउँपालिकाको केन्द्र याल्माङमा गाडीमा ल्यायर सम्पूर्ण वडालाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies