ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोटमा रहेको एक सुन पसलमा चोरी भएको छ । सिमकाेट बजारकाे एयरपोर्ट चाेक नजिकै हुम्ली सुन चाँदी पसल आइतबार राति चाेरी भएकाे पसलका सञ्चालक जगत सुनारले बताए ।
आइतबार बेलुका ५ बजे पसल बन्द गरेर गएकाे र साेमबार बिहान ९ बजे आउँदा तला फाेडेर पसल चाेरी भएको सुनारकाे भनाइ छ । पसलबाट चार ताेला सुन, चार सय ताेला चाँदी चाेरी भएकाे छ भने पुराना तामाका चार वटा सिक्का पनि चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । चाेरी भएको पसल छेउछाउमा सीसीटीभी पनि नभएकाे हुँदा अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।
काठमाडौं : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।
“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।
सूचनामा भनिएको छ, “तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।”
सम्भावित असर तथा सुझाव
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : गत फागुन ६ गते अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो ।
यस्तै, गत पुस २९ मा बर्दिया मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोकस्थित घरको बरन्डामा आगो तापिरहँदा आगो सल्किएर चिन्की थरुनी घाइते भइन् । बिहान ३ बजे आगो सल्किएर घाइते भएकी उनको अस्पतालको टुंगो नलाग्दै बिहान ५ बजे मृत्यु भयो । यी दुइ प्रतिनिधिमुलक घटना मात्रै हुन् ।
आगलागीमा परी घाइते भएका अधिकांश बिरामीहरूले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ ।
अस्पताल अभाव र प्रभावकारी उपचार अभावमा अधिकांश आगोले जलेकाहरू ज्यान गुमाउनु परेको छ । कोही घाइतेको जलेको केही दिनभित्रै मृत्यु हुन्छ भने कतिपयको जटिल रोग लागेर केही समयपछि मृत्यु भएको देखिन्छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सन् २०१७ मा एक प्रतिवेदन प्रकाशित गर्यो । उक्त प्रतिवेदनअनुसार नेपालमा वर्षेनि ५५ हजारभन्दा बढी नागरिक नलेर घाइते हुने गरेका छन् । तीमध्ये दुई हजारभन्दा बढी उपचार अभावमा मृत्युबरण गर्न बाध्य छन् ।
वरिष्ठ प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राईकाअनुसार शरीरको ३० प्रतिशतभन्दा बढी भाग गहिरो गरी जलेको छ भने अनिवार्य शल्यक्रिया गर्नुपर्छ । यस क्रममा जलेको छाला सबै फाली नयाँ छाला प्रत्यारोपण गर्नुपर्छ । जलेको बिरामीलाई तत्काल चिसो पानीमा राखेर अस्पताल ल्याउनुपर्ने डा. राई बताउँछन् ।
आगोले जलेका बिरामीहरूको प्राथमिक उपचारबारे जानकारी नहुँदा पनि समस्या भइरहेको डाक्टर राइ बताउँछन् । उनी भन्छन्, ‘धेरै मानिसलाई आगोले जलेको बिरामीको प्राथमिक उपचारबारे थाहा छैन । लाई अस्पताल लैजानुअघि कस्तो प्राथमिक उपचार चाहिन्छ र अस्पताल पु¥याइएको २४ घण्टाभित्र के गर्नुपर्छ भन्ने ज्ञान छैन । यसैकारण आगोले जलेका धेरै बिरामीहरूको ज्यान गइरहेको छ ।’
उनकाअनुसार जलनको सबैभन्दा प्रभावकारी प्राथमिक उपचार पानी हो । ‘जलेको घाउमा ३० मिनेटसम्म चिसो पानी खन्याउनुपर्छ । त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर सलाइन पानी दिनुपर्छ । २४ घण्टासम्म यत्ति गर्न सक्ने हो भने पनि धेरैको ज्यान जोगाउन सकिन्छ ।’ डा. राइले भने ।
जलेका बिरामीका लागि काठमाडौंबाहिर अस्पताल नै छैन । पाल्पा र नेपालगञ्जलगायतका केही स्अस्पतालमा मात्रै बर्न वार्डहरू त छन् । तर, जलेका बिरामीको लागि सघन उपचार सम्भव छैन ।
काठमाडौंमा पनि प्रभावकारी उपचार छैन । काठमाडौंमा जलेको उपचार गर्ने अस्पतालहरूमा वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, केएमसी अस्पताल, कीर्तिपुर अस्पताल र शिक्षण अस्पतालमा बर्न वार्ड छन् । यी अस्पतालमा जलेका बिरामीहरूको छुट्टै उपचार हुन्छ । तर, तिनै अस्पतालमा पनि दक्ष जनशक्ति र प्रयाप्त प्रयाप्त स्रोत साधन नभएर प्रभावकारी उपचार नभको अस्पताल नै बताउँछन् ।
जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा सुख्खा मौसमसँगै बैशाख लागेपछि देशभरी आगलागी तथा डढेलोका घटनाहरू बढ्दै गएका छन् । आगलागीमा परेर जलेकाहरूको उपचारमा भने समस्या भइरहेको छ ।
गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता आगलागी र डढेलोको घटना डरलाग्दो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।
प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतले न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना सुनाएको छ । विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार यस्तो फैसला गरेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो । उनीविरूद्ध अदालतमा ठगी मुद्दा समेत दायर भएकोले ठगी गरी कमाएको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको थियो ।
अदालतले विभागको माग बमोजिम बिगोको दोब्बर जरिवाना हुने फैसला गरेको हो । सामाजिक संस्थाको हैसियतमा खुलेको कलेजलाई ठगेर सम्पत्ति जोडेको भन्दै विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकविरूद्ध मुद्दा दायर गरेको थियो । तर, अन्य ६ जनाले भने सफाइ पाएका छन् ।
संगठित रूपमा कलेजको रकम हिनामिना गरी सिद्धार्थ बैंकमा छुट्टै खाता खोलेर अन्य बैंकबाट कलेजको रकम सारी खाता र खर्चको अभिलेख नराखी झन्डै ८ करोड रकम हिनामिना गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेको थियो । प्राप्त उजुरीमाथि दुई वर्षसम्म अनुसन्धान गरेर विभागले मुद्दा दायर गरेको थियो ।
मुद्दामा विभागले पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई १२ करोड ४४ लाख १२ हजार ७५५, पूर्वसञ्चालक समितिका सदस्यहरू रामरत्न उपाध्यायलाई १ करोड २५ लाख ३८ हजार ६२, उपेन्द्र गौतमलाई २ करोड २९ लाख ६७ हजार २११ गैरकानुनी रुपमा कमाएको अभियोग लगाएको थियो ।
यस्तै, लबराज भट्टराईलाई २ करोड ७९ लाख ५५ हजार ६ सय, हरिप्रसाद पाण्डेलाई २ करोड ४३ लाख ४९ हजार २०७, सूर्यबहादुर केसीलाई २ करोड ३४ लाख २१ हजार ५ सय र दीपकप्रसाद भट्टराईलाई ३६ लाख ५९ हजार रुपैयाँको सम्पत्ति शुद्धीकरण गरिएको अभियोग लगाएको थियो ।
न्यौपानेलाई दोषी ठहर गर्दै अदालतले बाँकीलाई सफाइ दिएको छ ।
विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले गत चैत २५ गते न्यौपानेलाई दोषी ठहर गरेको हो । तर, सजाय तोकिएको थिएन । त्यसपछि आइतबारका लागि पेसी तोकिएको थियो ।
आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश कुवँर र सदस्य न्यायाधीश थापाको इजलासले तीन वर्ष कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना फैसला सुनाएको हो । इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेको स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक अवस्था र कसुर हेरेर सजाय तोकिएको अदालतले फैसलामा लेखेको छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नक्कली ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमति पत्र) प्रकरणमाथिको अनुसन्धान अगाडि बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान अगाडि बढाएसँगै दुई इन्जिनियर पक्राउ परेका छन् ।
सिआईबीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । सिआईबीले अर्याललाई शनिबार राति पक्राउ गरेको हो ।
यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग हुँदै कम्प्युटर इन्जिनियर अर्यालको अख्तियारमा सरुवा भएको थियो । सूचना प्रविधि विभागबाट केही समय अगाडि मात्रै तीन महिनाका लागि अख्तियारमा सरुवा भएका थिए । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धान तामेलीमा लान गिरोहले नै सेटिङमा अर्यालको सरुवा गरेको आशंका अनुसन्धान अधिकृतहरुको छ ।
सिआईबीले यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्टलाई पनि नियन्त्रणमा लिएको छ । भट्ट पक्राउ परेलगत्तै अर्याल पनि पक्राउ परेका हुन् ।
सीआईबीले नक्कली लाइसेन्स वितरणबारे थप अनुसन्धान गर्न भट्ट र अर्याललाई नियन्त्रणमा लिएो हो । यातायात व्यवस्था विभागको आन्तरिक छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको खुलेको छ ।
पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो । यस सम्बन्धमा सीआईबीले अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धान अघि बढेसँगै भट्ट र अर्याल पक्राउ परेका हुन् ।
लिखित र ट्रायल बिनै प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा हेरफेर गरेर फर्जी लाइसेन्स जारी गरेको प्रकरणमा सीआईबीले विभागका पूर्व करारका कर्मचारी भट्टलाई पक्राउ गरे लगत्तै अर्याल पक्राउ परेका हुन् । अर्यालले यातायात व्यवस्था विभागमा तीन वर्ष काम गरेका थिए ।
सीआईबीले छुट्टै टिम बनाएर नक्कली ड्राइभिङ लाइसेन्स प्रकरणमाथिको अनुसन्धान गरिरहेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि गत वर्ष फागुन पहिलो साताबाटै सीआईबीले अनुसन्धान थालेको थियो ।
नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद लाइसेन्स फेला पारेका थिए । त्यस्तो लाइसेन्स वितरण गर्नेहरुका सम्बन्धमा सीआईबीले अनुसन्धान केन्द्रीत गरेको छ ।
विभागको छानबिनका क्रममा एक लाख दुई हजार लाइसेन्स नक्कली रहेको पाइएको थियो । जसमध्ये करिब ७३ हजार ५०० वटा वितरण भएको अनुसन्धानले देखाएको थियो ।
छानबिनका लागि विभागले तत्कालीन प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा शाखा अधिकृत अर्जुन अधिकारी, डाटा एडमिनिस्ट्रेटर सविन श्रेष्ठ तथा सीआईबीका डीएसपी तपनकुमार दाहाल र कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य रहेको समिति बनाएको थियो । उक्त समितिले विभागका १० जना पूर्वमहानिर्देशकका पालामा अनियमितता भएको देखाएको हो । नक्कली लाइसेन्स प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ ।
पिन्टु यादव/मध्यान्ह
सप्तरी : मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकार पुरानै शैलीमा चलाउन खोजे आफुहरुलाई काम गर्न असहज हुने बताएका छन् ।
आइतबार तिरहुत गाउँपालिका–५ लोहजारास्थित रहेको धार्मिक पर्यटकीय स्थल ठाकुरबाबा दह परिसरमा आयोजित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले विगत ६ वर्षदेखि सुशासन, सेवा प्रवाह र विकास निर्माणका सन्दर्भमा आलोचित हुँदै आएको सरकारले अब कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाए ।
प्रदेश सरकारको बजेट निर्माण र कार्यान्वयन, सुशासन र विकास र सेवा प्रवाहका सन्दर्भमा बेथिति औंल्याउँदै उनले एमाले सरकारमा आएपछि सुराकीको नाममा लिने गरेको सुविधा खारेज गरिएको स्मरण गराए । ‘जुन प्रकारका सुविधाहरु प्राप्त गरिरहेका थिए । हामी सरकारमा सहभागी भएदेखि अर्थात एमाले मधेश सरकारमा सहभागी भएपछि सुराकीको नाम लिने सुविधा खारेज गरेका छौं । यसर्थ एमालेसँग काम गर्दा कार्यशैलीमा सुधार गर्नुपर्ने आग्रह गर्दछु’ उनले भने ।
जनताले प्रदेश सरकारका बेथितिहरु सम्बन्धमा आलोचना गरिरहेको बताउँदै उनले मधेश सरकारले अमुक मन्त्रीको अँध्यारो कोठामा बजेट बनाउने परिपाटी बदल्नुपर्ने बताए ।
मुख्यमन्त्री र अर्थमन्त्रीलाई इंगित गर्दै उनले हरेक मन्त्रालयको सिलिङ बजेटमा समेत हस्तक्षेप गरिदिने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
हस्तक्षेपको आरोप खेपिरहेका जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीलाई इंगित गर्दै उनले कार्यशैली बदलेर काम गर्न आग्रह गरे ।
‘संघीयताको मुल मर्म नै राज्यको शक्ति बाँडफाँट हो । संविधानले अधिकार सम्पन्न प्रदेश सरकारको परिकल्पना गरेको छ ।’ संघ सरकारले संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार सम्पन्न शक्तिशाली सरकार बनाउन कन्जुस्याइँ गरिरहेको गुनासो गर्दै उनले केन्द्रले गरिरहेको विभेदबारे सञ्चारजगतले कलम चलाउनुपर्ने बताए ।
संघीय सरकारलाई विभेदकारीको संज्ञा दिँदै मन्त्री लेखीले कुल बजेटको २० प्रतिशत बजेट मात्रैले प्रदेश सरकार र स्थानीय सरकार कसरी चल्ने बताए । संघीय सरकार आफैंले ८० प्रतिशत बजेट चलाउने भएपछि प्रदेश र स्थानीय सरकारबाट जनताले कस्तो अपेक्षा गर्ने भनेर प्रश्न उठाए ।
महासंघको अधिवेशन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा, मधेश प्रदेश आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षता र मन्त्री लेखीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । पातारासी गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँ–गाउँसम्म सबै नानिबाबुलाई पूर्ण खोप पाएको बताइएको छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले स्वास्थ्य क्षेत्रमा सुखद र उपलब्धी हासिल गर्न सफल भएकोमा सबैको सहकार्य र मेहनतबाट सम्भव भएको बताए । उनले भने, ‘पहिलो सर्त मानिस स्वस्थ्य बचाउनुपर्छ । अब ल्याउने नीति र कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने छौं ।’ जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले भौगोलिक रुपमा विकट तिलाले पछिल्लो समयमा स्वास्थ्य सेवा प्रवाह, विकास निर्माण लगायतका क्षेत्रमा फड्को मार्दै गएको प्रति प्रशंसा गरे ।
उनले भने, ‘२३ महिना सम्मका बालबालिकाहरुलाई रोगकोविरुद्ध लड्ने खोप पाउने नेपाल सरकारको कार्यक्रम महत्वपूर्ण हो ।’ उनका अनुसार संघीयता भन्दा पहिले पातारासीको स्वास्थ्य अवस्था निकै कमजोर अवस्था थियो । तर पछिल्लो समयमा विस्तारै सुधारिएको छ ।
त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले पातारासीका ०८०÷८१ मा १६ देखि २३ महिनामा १९० जना बालबालिकालाई पूर्णखोप लगाइएको छ । उनले त्यसमध्ये ड्रप आउट भएका २३ जना बालबालिकालाई पनि खोप लगाइएको बताए । बुढ्थापाले यो कार्यक्रमको उद्देश्य बाल मृत्युदरलाई कम गर्नु रहेको छ ।
त्यस्तै खगाउँपालिका निवर्तमान अध्यक्ष लक्ष्मण बोहोराले अघिल्लो कार्यकालमा स्वास्थ्य क्षेत्रमा शुरु भएका कामहरुको विषयलाई पूर्णता दिन गाउँपालिकालाई सुझाव दिए ।
उनले भने,‘स्वास्थ्यकर्मी भगवान हुन् । डाक्टर कहाँ एक बिरामी पुग्दा आफुलाई हल्का र आधा सन्चो भएको महसुस भएको छ ।’ खोप कार्यक्रमलाई अझै राम्रो बनाउन सबैको एकमना एकताका साथ लाग्नुपर्ने उनले बताए ।
त्यस्तै जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले पातारासी गाउँपालिकाले पनि पूर्णखोप सुनिश्चितताको गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले जिल्ला अन्य सात स्थानीयहरू पनि पूर्णखोप सुनिश्चितताको तयारीमा जुटिरहेको बताए । उनले जनस्वास्थ्य कार्यालय पनि स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न संवेदनशील छ । समन्वय सहकार्यमा खोपसहितका स्वास्थ्य क्षेत्रका कार्यहरु गर्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले गाउँपालिका पूर्णखोप सुनिश्चतताको विषयमा प्रभावकारी काम गर्न थालेको बताए । उनले भने, ‘यो नेपाल सररकारको कार्यक्रमा हो । हामी सबैले हातेमालो गरेर कार्यान्वयन गर्न जरुरी छ ।’
त्यस्तै पूर्ण खोप घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हरेक वर्ष खोप उमेर समूहका सबै बालबालिका पूर्णखोपको पहुँचमा ल्याउने कार्यक्रम राम्रो रहेको बताए । उनले बालबालिका रोगमुक्त गराउनका लागि सबै लाग्नुपर्ने बताए ।
त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागार्इंले बालबालिका पूर्णखोपको पहुँचमा पुगेसँगै पालिकालाई आभार व्यक्त गरे । उनले बालबालिकासहित सबै नागरिकलाई स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्न पालिकाले विशेष प्राथमिकता दिन आवश्यक रहेको बताए । त्यस्तै शिक्षा समन्वय इकाइका प्रमुख रमेश मल्लले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न आवश्यक रहेको बताए । उनले भने, ‘धेरै जसो बालबालिका विद्यालयमा हुन्छन् । त्यस्ता खालका कार्यक्रम गरेको खण्डमा पूर्णखोप कार्यक्रमको लक्ष्य पूरा हुने देखिन्छ । पातारासी गाउँपालिका भरीका स्वास्थ्यकर्मी महिला स्वयम् सेविका लगायतको सक्रियतामा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको हो ।’
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : पूर्व पश्चिम महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडक मार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपा देउरालीको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
शीतगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को सिमानामा रहेको यस मन्दिरमा तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै अत्यन्तै चिसो ठाउँ सुपादेउरालीको दर्शन गर्न र नरपानीको चिसोमा रमाउने धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि भएको हो । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृंखला अन्तर्गत पहाडको खोंचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ भक्तजनहरू आउने र अहिले गर्मी सिजनमा सबैभन्दा धेरै भक्तालु पर्यटकहरु आउने गरेका छन् ।
सुपा देउरालिमा आफ्नो मनोकामना पूरा होस भन्दै बोका, पाठी तथा नरिवल, परेवा, जिन्सी सामानहरू सुन पितल चाँदी धातु मन्दिरमा चढाउने चलन रहेको स्थानीय समाजसेवी प्रकाश महत्रा बताउँछन् ।
सुपा देउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रवद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरिरहेको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगंगा नगरपालिकाको सीता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव यादव घिमिरेले बताए । शिक्षा क्षेत्रमा मात्रै भेटीबाट संकलित रकमबाट मासिक १ लाख ६० हजार भन्दा धेरै सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव घिमिरेको भनाइ छ ।
सन्धिखर्कमा रहेको गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । मन्दिरको भेटीबाट गाउँमा विद्युतीकरण, शौचालय निर्माण, सडक निर्माण, भूकम्प तथा दुःखमा परेका समुदायमा सहयोग लगायतका सामाजिक कार्यमा वार्षिक लाखौँ रकम खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सुबहादुर केसीले बताए ।
सुपा–देउराली मन्दिरमा वार्षिक एक करोड बराबर भेटी संकलन हुन्छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलव तथा विकास निर्माणका काममा खर्चेर बाँकी रहेको रकम बैंकमा बचत गर्ने गरिएको केसीले दावी गरे ।
मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरबासी खुसी भएको स्थानीयको बुझाइ छ । दर्शनार्थीले चढाएको भेटी पारदर्शी रूपमा संकलन गरी शिक्षा तथा समाज सेवाका साथै विकास निर्माणका काममा खर्च गरिनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् ।
वि.सं. १६०० ताका खाँचीको राजकुलमा देवीले जन्म लिएकी थिइन् । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो विवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन् । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोगव्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो ।
एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरिदिएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोगव्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भइन् । त्यसपछि त्यहाँ देवीको पूजाद्वारा अर्चना गर्न शुरु गरियो । त्यसैले अहिले पनि सो मन्दिरमा खनाल थरका पुजारीले दैनिक पूजा सञ्चालन गर्दै आइरहेका छन् । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकांक्षा पूरा हुने र भाकल अनुसार पूजा गर्ने चलन छ ।
हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा कलात्मक शैलीमा पुनर्निर्माण गरिएको छ । सरकारले घोषणा गरेका १ सय उत्कृष्ट गन्तव्य सूचीमा सुपा देउराली मन्दिर पनि समावेश रहेको छ ।
दर्शनार्थीको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन् । फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भण्डार तथा होटल जस्ता व्यवसायबाट दुईसय जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् भने १८ जना पुजारीको समेत मन्दिरबाटै रोजीरोटी चलेको छ ।
मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यवलोकन गर्न पाइन्छ । जाडो याममा भन्दा गर्मी याममा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : कर्णाली प्रदेश सरकारले संघीय बजेट तर्जुमा गर्दा प्रादेशिक सन्तुलन कायम गर्न सुझाव दिएको छ । तुलनात्मक रुपमा पछाडि परेको कर्णाली प्रदेशमा संघीय आयोजनाको संख्या अन्य प्रदेशको तुलनामा कम रहेको भन्दै यस्तो सुझाव दिइएको हो ।
अर्कोतर्फ कर्णाली प्रदेशको आन्तरिक स्रोतसमेत न्यून भएकोमा संघीय आयोजनाको वितरण मार्फत् सन्तुलन कायम गर्न पनि सुझाव दिइएको छ ।
अन्तर सरकारी वित्त परिषदको नर्वौ बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले
कर्णाली प्रदेश सरकारकोतर्फबाट संघीय सरकारलाई विभिन्न सुझावहरु पेश गरेका छन् । संघीय सरकारका अर्थ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शनिबार सम्पन्न बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी थिए ।
उक्त सुझावमा कर्णाली प्रदेशलाई अहिलेको राजस्व बाँडफाँड र समानीकरण अनुदान वितरणको सुत्र प्रभावकारी नभएको, ठूलो र विकट भूगोल भएको क्षेत्र र मानव विकास सूचकांकको अंकभार बढाउनुपर्ने, जनसंख्याको आधारमा मात्र बजेट बाँडफाड गर्न नहुने उल्लेख गरिएको छ । समानीकरण अनुदान बाँडफाँडका आधारहरु पुनरावलोकन हुनुपर्ने, पूर्वाधार विकासको सूचकले पछाडि परेको प्रदेश र स्थानीय तहलाई थप पछाडि पार्ने अवस्था रहेको र खर्चको आवश्यकता र राजस्व क्षमता बीचको अन्तर पूरा गर्न समानीकरण अनुदान वितरण हुनुपर्ने भएपनि हाल यसको राम्रोसँग विश्लेषण नभएको सुझावमा उल्लेख गरिएको छ । आन्तरिक राजस्वबाट धानिन सक्ने प्रदेश र आन्तरिक राजस्वको न्यून सम्भावना भएका प्रदेशमा जाने समानीकरण अनुदानमा खासै उल्लेख्य फरक नभएको र यसले झन् प्रादेशिक असन्तुलन बढाएको उल्लेख गरिएको छ ।
सुझावमा भनिएको छ, ‘सशर्त अनुदान घटाउँदै जानुपर्नेमा बढ्दै गएको छ । संघले सशर्त अनुदान घटाउँदै समानीकरण अनुदान बढाउनुपर्ने नीति लिनुपर्छ । संघले समानीकरण अनुदानको स्रोत दिएको आधारमा प्रदेश र स्थानीय तहले बजेट तर्जुमा गर्ने हुँदा पछि राजस्व कम उठेको आधारमा समानीकरण अनुदान कटाउँदा प्रदेश र स्थानीय तहको बजेट प्रभावित हुने र खरिद प्रक्रियामा गैसकेका आयोजना र कार्यक्रम अलपत्र पर्ने स्थिति हुन्छ । त्यसैले सुरुमा दिएको स्रोत अनुसारको रकम उपलब्ध गराउनुपर्छ ।’
संघीय आयोजना कार्यक्रम कार्यान्वयन गर्दा सम्बन्धित प्रदेश र स्थानीय तहसँग समन्वय गर्दा यसको कार्यान्वयन सहज हुने उल्लेख गरिएको छ ।
सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलापमा आधारित नभइ क्षेत्रगत रुपमा बजेट विनियोजन हुनुपर्ने, विगतमा प्रदेशमा हस्तान्तरण गरिएका आयोजना स्रोत अभावमा अलपत्र भएको उल्लेख छ । आयोजना हस्तान्तरण गर्दा रकमसहित हस्तान्तरण गर्नु पर्ने पनि सुझाव दिइएको छ ।
संघले निश्चित लागत भन्दा माथिका आयोजना मात्र अगाडि बढाउने तर सो लागत भन्दा तलका आयोजना रकमसहित हस्तान्तरण हुनुपर्छ । रकम विना आयोजना हस्तान्तरण भए प्रदेशले कार्यान्वयन गर्न सक्ने अवस्था नभएको उल्लेख छ ।
काठमाडौं : साहित्य सदन नेपालले एक आख्यान विमर्श सङ्गोष्ठी सम्पन्न गरेको छ । काठमाडौं बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको भवनमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख अतिथ्यतामा सङ्गोष्ठी सम्पन्न भएको हो ।
बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा.कृष्ण सुवेदी भारद्वाज मित्रले स्वागत गर्दै पारिजातको ३१ औं स्मृतिमा चर्चा पनि गरेका थिए ।
उनले देशले मात्र नभइ संसारले चिनेको पारिजातसँग राल्फा आन्दोलनमा सँगै होमिएको बताए । चखुन्चा स्वाँ ज्याराकाण्डा फूल फुलेको समयमा पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनाएको बताए ।
निरंकुशताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, धुस्वाँ सायमीले साहित्य सदन नेपाल निर्माणका लागि एकलाख रूपैयाँ सहयोग गरेको उनले सम्झिए ।
हृदयचन्द्रको सम्मान गर्दै उनको स्मृतिमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्मोदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकौलले साह्रै चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर एक लाख रुपैयाँ सहयोग गर्नुभएको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको उनले बताए ।
सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा.राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृति केन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताए । उनले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताए । बहुआयामिक व्यक्तित्व पारिजातले कृतिका कारणले संसारभर चिनिने उनले बताए ।
उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृती माथि लेखिएका कार्यपत्र पढेर सुनाएकी थिइन् । प्रा.डा.दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र माथि प्रा.डा.रमेशप्रसाद भट्टराई र वरिष्ठ चिन्तक निनु चापागाईंले गरेका थिए । कार्यक्रमका टिप्पणीकार तथा वरिष्ठ चिन्तक चापागार्इंले साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताइन् ।
आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्व मन्त्री शान्ता मानवी, प्रा.डा.जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.कोशराज न्यौपाने, प्रा.सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष मधुसुदन गिरी, अरूणीमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना, प्रा.डा.कृष्णप्रसाद न्यौपानेलगायतका विशिष्ठ व्यक्तित्वहरू उपस्थित थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies