सपना बोहरा/मध्यान्ह
दाङ : राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा खेतीतर्फ लागेका छन् । बगरमा खरबुजा फलाउन थालेपछि किसानले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षाको समयमा राप्ती नदीले प्रभाव पार्ने त्यस क्षेत्रमा खरबुजा खेतीतर्फ लागेका हुन् ।
वर्षेनी बाढीले सयौं बिगहा जमिन बगर बनाउने गरेको छ । बगर हुनबाट जोगिएको जमिनमा किसानहरुले एक सिजन भएपनि खरबुजा खेती गरेका छन् ।
राप्ती नदीले खेतलाई बगर बनाएको जमिनमा खरबुजा फलाएर राप्ती नदीकै पुलको किनारमा लस्करै बेच्ने गर्छन् । धेरैजसो खरबुजा त दाङकै शहर र जिल्ला बाहिर पनि बेच्ने गरेको किसान बताउँछन् ।
‘खेतलाई राप्ती नदीले बगर बनाइ दियो’ देउखुरीकी फुल माया चौधरीले भनिन्, ‘एक सिजन भएपनि खरबुजा लगाउँछौं ।’
माघ महिनामा खरबुजाको बेर्ना लगाएपनि चैत महिनाबाट खानयोग्य हुन्छ । खरबुजाको पहिलो सिजनमा प्रतिकिलो एक सय रुपैयाँमा समेत बेच्ने गरेको उनले बताइन् । ‘हिजोआज प्रतिकिलो पचास रुपैयाँमा बेच्ने गरेका छौं’ चौधरीले भनिन्, ‘खरबुजा किन्न आउनेको सधैँ भिड लाग्ने गर्छ ।’
राप्ती नदीको पुलमा बिहानैदेखि लक्सरै खरबुजाका व्यापार हुन्छ । बगर भनेर पहिले बाँझो हुन्थ्यो । देउखरीकी माया चौधरीले भनिन्, ‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको उनले बताइन् । करिब १० कट्ठा बगरमा खरबुजा खेती गरेको उनको भनाइ छ । बाह्र किलोसम्म खरबुजा फलाउने गरेको उनले बताइन् ।
अत्यधिक गर्मी सिजन बढेसँगै खरबुजाको माग पनि बढ्दै गएको छ । दाङको देउखुरी क्षेत्रमा उत्पादन भएको खरबुजा अहिले बजारमा छ्यापछ्याप्ती छ । जसबाट उत्पादन र आम्दानी बढेको छ । गर्मी सिजनमा खरबुजा सबैको रोजाइमा परेको छ ।
बगरमा खुरबुजा लगाएपछि राम्रो आम्दानी भएको देउखुरी बनगाँउका महेश चौधरीले बताए । ‘नदीले खेतलाई बगर बनाएको छ, के लगाउन सकिन्छ भन्ने चिन्ता हुन्थ्यो’ उनले भने ‘पाँच वर्ष पहिले खरबुजाको बिउ ल्याएर परीक्षणको रुपमा लगाए, राम्रो उत्पादन भयो । माग पनि बढ्दै गयो ।’
त्यसयता १२ कट्ठामा खरबुजा लगाउँदै आएको उनले बताए । खरबुजा लगाएर बगरको सदुपयोग भएको र राम्रो आम्दानी भएको उनको भनाइ छ ।
लमही नगरपालिकाका बनगाँउ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् । पछिल्लो समय बगरमा खरबुजासँगै बेमौसमी तरकारी खेती पनि गर्न थालेका छन् । राप्ती नदीले कटान गरेको क्षेत्रमा गरिएको तटबन्धले गर्दा पनि किसानहरुलाई सहज भएको छ । बगर हुनबाट जोगिएको जमिनमा यहाँका किसानहरुले बेमौसमी तरकारी खेती गर्न थालेको छन् । बगरमा करेला, लौका, बोडि, भिण्डी लगायतका बेमौसमी तरकारी खेती गरेका छन् । गर्मी मौसम शुरु भइसकेसँगै खरबुजाको माग बढ्दै गएको छ । खरबुजा स्वादिष्ट र पानीले भरपूर भएकाले यसको सेवनले शरीरलाई गर्मीबाट जोगाउँछ ।
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लमिछानेले छानबिन समितिको प्रतिवेदनले औंल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताए । व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो ।
गृह मन्त्रालयद्वारा गठित उक्त समितिले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
विसं २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए–३५४७५२ हतियार फेला परेपछि उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्डसँग उक्त हतियार फेला परेको थियो ।
सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ । सर्वाेच्चले उक्त विषयमा छानबिन गर्न आदेश दिएको थियो ।
देशभर हतियारको इजाजतपत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ ।
राजेश जीसी/मध्यान्ह
प्यूठान : प्यूठानमा आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्यूठानका विभिन्न वनमा आगो लगाएको आरोपमा उननीहरुलाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरी जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरिएको छ भने एक जनालाई अनुसन्धानका लागि हिरासतमा पठाइएको छ ।
वन कार्यालय प्यूठानका सहायक वन अधिकृत हरी पौडेलका अनुसार सरुमारानी-४ बाट एक जना, प्यूठान नगरपालिका-४ बाट एक जना र ऐरावती-५ बाट एक जनालाई पक्राउ गरी मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका-१० बाट एक जनालाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
कार्यालयका अनुसार पछिल्ला केही दिनमै जिल्लाभर १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । वन कार्यालयका अनुसार ७९ सामुदायिक वनमा आगलागी भएको हो । एउटा सामुदायिक वनले आगलागीमा संलग्न रहेको भन्दै एक जना स्थानीयलाई ६५ हजार जरिवानासमेत तिराएको छ । वन कार्यालयले आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ ।
आगलागी हुन नदिनको लागि कार्यालयले विभिन्न स्थानमा सुराकी परिचालन, प्रचार प्रसार, पालिकास्तरमा आगलागीसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए । चैतयता वैशाख १६ गतेसम्म जिल्लाभरमा जम्मा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आगलागीबाट ९५ घर तथा ५० गोठ जलेका छन् । यसबाट ७९ पाशुचौपायाको जलेर मृत्यु भएको छ भने १ सय ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी ईश्वर थापाले जानकारी दिए ।
काठमाडौं : नेकपा माओवादी केन्द्रले डढेलो एवम् आगलागीलगायत विपद्का घटनाबाट प्रभावित नागरिकको उद्धार, राहत र मानवीय सहायता व्यवस्थापनमा खटिन नेता–कार्यकर्ता एवम् स्वयंसेवकलाई निर्देशन दिएको छ । देशव्यापी रुपमा आगलागी र डढेलोलगायत विपद्का घटना बढेसँगै माओवादीले मातहतका पार्टी कमिटीलाई उक्त निर्देशन दिएको हो ।
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षाजस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।
माओवादीले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन स्थानीय तहलाई अपिल गरेको छ । माओवादीले विपद्का जोखिम कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार अवस्थामा राख्न पनि आह्वान गरेको छ ।
प्रवक्ता सापकोटाले विपद्मा प्रभावकारी उद्धार तथा तत्काल राहतका लागि स्थानीय तहलाई सहयोग गर्न, पालिकालाई सबल बनाउन तथा आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । माओवादीले विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र पीडित एवं प्रभावितमा सहानुभूति प्रकट गरेको छ ।
गर्मी र सुक्खापन बढेसँगै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका घटना वृद्धि भएका छन् । डढेलोका कारण जनधनको क्षतिका साथै हजारौँ नागरिक पीडित हुन पुगेका छन् । देशैभरि वायु प्रदूषणको उच्च मात्रा र तापक्रममा उच्च वृद्धिका कारण तराई/मधेशका जिल्लामा तातो हावाको लहर चल्दा दैनिक जनजीवन कष्टकर बनेको छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ । जरलहवा टोलमा यही वैशाख १२ गते दिउँसो १ बजेदेखि आगलागी शुरु भएको थियो ।
आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए ।
काठमाडौं : भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दुधकोशी नदी किनारमा खसेर दुर्घटना भएको हो ।
जिपमा कतिजना सवार थिए र कति जना घाइते भए भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको प्रहरीको भनाइ छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
जापान, टोकियो : जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा "स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभल" लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभलका लागि पार्कलाई झकिझकाउ बनाइएको हो ।
दुई दिवसीय फेस्टिभलको दोस्रो अर्थात अन्तिम दिनसमेत विभिन्न गतिविधिसहित सांस्कृतिक प्रस्तुति रह्यो । म्याग्दी सदरमुकाम बेनीमा हुने म्याग्दी महोत्सवको झल्को दिने गरी उक्त फेस्टिभलमा हजारौं नेपाली तथा जापनिज नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कला, संस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् गन्तव्यहरूको बारेमा जापानी समुदायकाबीच प्रवर्द्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलको पहिलो र दोस्रो दिन विभिन्न झाँकीसहित कार्यक्रम स्थल परिक्रमा गरिएको थियो ।
जापानिज गीत संगीत र नेपाली गीत संगीतमा कलाकारहरूले दिएको प्रस्तुतिले फेस्टिभल संगीतमय बन्यो । जापानका चर्चित रेस्लरहरुले रेस्लिङ खेल प्रस्तुत गरेका थिए, जुन आकर्षणको केन्द्रबिन्दु बन्यो । दर्शकहरूले रेस्लिङको भरपुर मनोरञ्जन लिए । धिमे नृत्य तथा तमु धिका कलाकारको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनिरहँदा थाली नृत्यले माहोललाई तताएको थियो ।
फेस्टिभल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तव्य रहेको कार्यक्रमना बोल्दै प्रमुख अतिथि सकामातो ताकामासीले नेपाली समुदायसँग मिलेर पहिलो पटक कार्यक्रम आयोजना गरेको बताउँदै भविष्यमा पनी सहकार्य गर्ने बताए । उनले हालको आँकडाअनुसार उदाबासीमा विदेशीको संख्या बढ्दै गएको बताउँदै त्यसमध्ये नेपालीहरू तेस्रो स्थानमा रहेको बताए । दुई देशबीचको सम्बन्ध र संस्कृतिको आदान-प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ताकामासीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
समुद्घाटन समारोहअघि घुम्टे नौमती बाजा समूह, धौलागिरी भजन समूह, मोहन ड्रागन महर्जन समूहको नेवारी संस्कृतिमा आधारित लाखे नृत्यसहितको झाँकी, नेपाल आदिवासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेष भूषा र संस्कृति झल्कने सांगीतिक प्रस्तुतिसहितको झाँकीले फेस्टिभल स्थल परिक्रमा गरेका थिए । प्रत्यक्ष दोहोरी, जापानिज बालिकाहरूको नाच, १२-१५ वर्ष उमेर समूहका बालबालिकाले जापानको पुरानो मौलिक धुन, धिमे बाजा, लाखे नाच, कार्यक्रमको समापन पूर्व म्याग्देली सालैजो गायन र हजारौंको उपस्थितिले म्याग्दी महोत्सवको झल्को दिएको थियो । संघ जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति विशाल केसीले नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । उनले नगरपालिका तथा फेस्टिभल आयोजक मूल समारोह समितिलाई आभार प्रकट गरेका थिए ।
आइतबार साँझ समापन गरिएको फेस्टिभलमा सहभागी जनाउन कतार, कोरिया, नेपाल तथा हङकङदेखि पाहुनाहरू जापान आइपुगेका थिए । जसमा हङकङबाट मोना आईसीका संस्थापक अध्यक्ष प्रकाश पुन, दक्षिण कोरियाबाट मोना आईसीका महासचिव सुनेश केसी र कतारबाट मोना आईसीका कोषाध्यक्ष नरेन्द्र फगामी र उनकी धर्मपत्नी फूलमति फगामी, मोना कोरियाका उपाध्यक्ष रिम भण्डारीलगायत रहेका थिए ।
समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत अम्बिका जोशी, मोना आईसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, मोनाका आईसीका संस्थापक अध्यक्ष प्रकाश पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । मोना जापानले फेस्टिभल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद तथा आभार प्रकट गरेको छ ।
मोना जापानले सार्वजनिक गरेको धन्यवाद तथा आभार विज्ञप्ति
इताबासी नगरपालिकाको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले यही अप्रिल २७ र २८ तारिख आयोजना गरेको दुई दिवसीय मोना फेस्टिभल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने समस्त महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छौं ।
मेयर साकामोतोज्यू सहित इताबासी नगरपालिका परिवार, नेपाली राजदूतावास, मोना आइइसी, एनआरएनए जापान, इभेन्ट पार्टनर रोबिन शेरचन, प्रमुख प्रायोजक ददिवल खड्का, गण्डकी प्रदेशअन्तर्गतका सबै संघसंस्थाहरू, भात्तृसंगठन, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा, पुन क्लब लगायतका जापानमा क्रियाशील सबै संघसंस्था, समस्त प्रायोजक, स्टल राखेर सहयोग गर्नुहुने व्यवसायी मित्रहरू, मिडियाकर्मी, जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा समस्त जापानी मित्रहरूमा मोना जापान परिवार हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछ ।
जापानमा फेस्टिभल जस्तो एउटा महत्त्वाकांक्षी कार्यक्रमको आयोजना गरिनु आफैमा चुनौतीपूर्ण त छँदै थियो, त्यसमाथि संयुक्त कार्यक्रम भएकोले निश्चित दायरा र सीमाभित्र रहेर कार्यक्रम सम्पन्न गर्न त्यति सहज थिएन । तथापि यहाँहरूको आर्थिक, नैतिक, भौतिक र भावनात्मक ऐक्यबद्धतासहितको साथ, सहयोग र समर्थनले फेस्टिभल भव्यतापूर्वक सफल भएको यस अवसरमा खुसी व्यक्त गर्न चाहन्छौ । कार्यक्रम सम्पन्न गर्ने क्रममा भएका छिट फुट कमीकमजोरीप्रति हामी बिना कन्जुस्याइँ क्षमा याचना पनि गर्न चाहान्छौं । यस फेस्टिभलको आयोजनाबाट नेपाल र जापानबिचको उच्चस्तरीय असल सम्बन्धमा एउटा अर्को एउटा इँटा थप्ने काम भएको हामीले महुशस गरेका छौँ । नेपाली र जापानी जनताबिचको जनस्तरिय सम्बन्धलाई केन्द्रमा राखी सामाजिक, सांस्कृतिक, फुड कल्चर जस्ता विषयमा आदान-प्रदान गर्नुका साथै पारस्परिक सहकार्य गर्ने संस्कारको विकास गर्ने उद्देश्यले आयोजित फेस्टिभल मोना जापानको इतिहासमा एउटा गर्वानुभूति गर्न लायक कार्यक्रमको रूपमा हामीले लिएका छौँ ।
आफ्नो अति व्यस्तताको बाबजुद पनि कलात्मक साङ्गीतिक प्रस्तुति गरेर योगदान पन्याउनु हुने नेपाली तथा जापानी समस्त कलाकारहरू, स्वयंसेवक मित्रहरूका साथै हङकङ, दक्षिण कोरिया, कतार, नेपाल लगायतका विदेशबाट पाल्नुभएका मोना अभियन्ताहरू सबै-सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । साथै सिङ्गो कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारीका साथै ध्वनि व्यवस्थापनमा खट्नुहुने आदरणीय व्यक्तित्वहरू सबै जनामा मोना जापानको तर्फबाट मुरमुरी धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै साथ, सहयोग, माया र सहकार्य रहिरहने अपेक्षा सहित जापानवासी नेपालीहरूको हितलाई केन्द्रमा राखी गरिने हरेक जायज कदममा मोना जापानको पनि ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोटमा रहेको एक सुन पसलमा चोरी भएको छ । सिमकाेट बजारकाे एयरपोर्ट चाेक नजिकै हुम्ली सुन चाँदी पसल आइतबार राति चाेरी भएकाे पसलका सञ्चालक जगत सुनारले बताए ।
आइतबार बेलुका ५ बजे पसल बन्द गरेर गएकाे र साेमबार बिहान ९ बजे आउँदा तला फाेडेर पसल चाेरी भएको सुनारकाे भनाइ छ । पसलबाट चार ताेला सुन, चार सय ताेला चाँदी चाेरी भएकाे छ भने पुराना तामाका चार वटा सिक्का पनि चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । चाेरी भएको पसल छेउछाउमा सीसीटीभी पनि नभएकाे हुँदा अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।
काठमाडौं : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।
“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।
सूचनामा भनिएको छ, “तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।”
सम्भावित असर तथा सुझाव
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : गत फागुन ६ गते अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो ।
यस्तै, गत पुस २९ मा बर्दिया मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोकस्थित घरको बरन्डामा आगो तापिरहँदा आगो सल्किएर चिन्की थरुनी घाइते भइन् । बिहान ३ बजे आगो सल्किएर घाइते भएकी उनको अस्पतालको टुंगो नलाग्दै बिहान ५ बजे मृत्यु भयो । यी दुइ प्रतिनिधिमुलक घटना मात्रै हुन् ।
आगलागीमा परी घाइते भएका अधिकांश बिरामीहरूले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ ।
अस्पताल अभाव र प्रभावकारी उपचार अभावमा अधिकांश आगोले जलेकाहरू ज्यान गुमाउनु परेको छ । कोही घाइतेको जलेको केही दिनभित्रै मृत्यु हुन्छ भने कतिपयको जटिल रोग लागेर केही समयपछि मृत्यु भएको देखिन्छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सन् २०१७ मा एक प्रतिवेदन प्रकाशित गर्यो । उक्त प्रतिवेदनअनुसार नेपालमा वर्षेनि ५५ हजारभन्दा बढी नागरिक नलेर घाइते हुने गरेका छन् । तीमध्ये दुई हजारभन्दा बढी उपचार अभावमा मृत्युबरण गर्न बाध्य छन् ।
वरिष्ठ प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राईकाअनुसार शरीरको ३० प्रतिशतभन्दा बढी भाग गहिरो गरी जलेको छ भने अनिवार्य शल्यक्रिया गर्नुपर्छ । यस क्रममा जलेको छाला सबै फाली नयाँ छाला प्रत्यारोपण गर्नुपर्छ । जलेको बिरामीलाई तत्काल चिसो पानीमा राखेर अस्पताल ल्याउनुपर्ने डा. राई बताउँछन् ।
आगोले जलेका बिरामीहरूको प्राथमिक उपचारबारे जानकारी नहुँदा पनि समस्या भइरहेको डाक्टर राइ बताउँछन् । उनी भन्छन्, ‘धेरै मानिसलाई आगोले जलेको बिरामीको प्राथमिक उपचारबारे थाहा छैन । लाई अस्पताल लैजानुअघि कस्तो प्राथमिक उपचार चाहिन्छ र अस्पताल पु¥याइएको २४ घण्टाभित्र के गर्नुपर्छ भन्ने ज्ञान छैन । यसैकारण आगोले जलेका धेरै बिरामीहरूको ज्यान गइरहेको छ ।’
उनकाअनुसार जलनको सबैभन्दा प्रभावकारी प्राथमिक उपचार पानी हो । ‘जलेको घाउमा ३० मिनेटसम्म चिसो पानी खन्याउनुपर्छ । त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर सलाइन पानी दिनुपर्छ । २४ घण्टासम्म यत्ति गर्न सक्ने हो भने पनि धेरैको ज्यान जोगाउन सकिन्छ ।’ डा. राइले भने ।
जलेका बिरामीका लागि काठमाडौंबाहिर अस्पताल नै छैन । पाल्पा र नेपालगञ्जलगायतका केही स्अस्पतालमा मात्रै बर्न वार्डहरू त छन् । तर, जलेका बिरामीको लागि सघन उपचार सम्भव छैन ।
काठमाडौंमा पनि प्रभावकारी उपचार छैन । काठमाडौंमा जलेको उपचार गर्ने अस्पतालहरूमा वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, केएमसी अस्पताल, कीर्तिपुर अस्पताल र शिक्षण अस्पतालमा बर्न वार्ड छन् । यी अस्पतालमा जलेका बिरामीहरूको छुट्टै उपचार हुन्छ । तर, तिनै अस्पतालमा पनि दक्ष जनशक्ति र प्रयाप्त प्रयाप्त स्रोत साधन नभएर प्रभावकारी उपचार नभको अस्पताल नै बताउँछन् ।
जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा सुख्खा मौसमसँगै बैशाख लागेपछि देशभरी आगलागी तथा डढेलोका घटनाहरू बढ्दै गएका छन् । आगलागीमा परेर जलेकाहरूको उपचारमा भने समस्या भइरहेको छ ।
गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता आगलागी र डढेलोको घटना डरलाग्दो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।
प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies