काठमाडौं-स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गर्नुभएको छ ।
उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ ।
यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपाल स्थित स्विट्जरल्याण्डको दुतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आउनुभएको रेजरले मन्त्री पुनसँग भेट गरेका हुन् ।
भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुने अर्थ मन्त्रालयले जानकारी गराएको छ ।
बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताएका थिए । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।
बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको मन्त्री पुनको भनाइ थियो । यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो ।
विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलनका रुपमा लिएको जनाएको छ ।
नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आइडीएको बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । वैशाख १६ र १७ गते चलेको लगानी सम्मेलनको सोकेसमा देशभरका १ सय ५२ परियोजना राखेर प्रचारप्रसार तीव्र पारिएको थियो । २०७३ सालको पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आएको थियो भने यो पटक ९ खर्ब लगानीको प्रतिबद्धता भएको छ । २०७५ सालमा दोस्रोपटक २३ खर्बका परियोजना प्रस्तावित भए । प्रतिबद्धता धेरै भए पनि लगानी करिब १ खर्ब मात्र आयो । लगानी सम्मेलन गरी उद्यमी र व्यवसायीलगायत यसपटक ५३ देशबाट लगानीकर्ता नेपालमा सहभागी भएपछि नेपालमा उत्साह थपिएको छ ।
साउनेथुमको पदमार्ग
साउनेथुमको पदमार्ग यतिबेला चर्चामा रहेको छ । लगानी सम्मेलनमा साउनेथुमको पदमार्गबाट नेपालका अधिकांश हिमश्रृंखलादेखि तराईका फाँट प्रत्यक्ष देखिने भन्दै प्रचारप्रसार गरिएको छ । यस पटक लगानी सम्मेलनको सोकेसमा रहेका १ सय ५२ परियोजनामध्ये शितगंगा नगरपालिकाको सामनेथुम पदमार्गले लगानीकर्ताको आर्कषण बढाएको छ । शितगंगा नगरपालिकाले प्रर्यटन र पर्यावरणको क्षेत्रमा लगानी गर्न आर्कर्षित गर्ने उद्देश्यले शितगंगा २ मा रहेको यस क्षेत्रकै उच्च स्थल मुलाबारी साउनेथुमलाई सिफारिस गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
देशभरबाट आएका हजारौं योजनामध्ये साउनेथुम सोकेसमा परी अहिले देश विदेशमा परिचित हुनु पनि शितगंगा नगरपालिकावासी मात्रै नभइ सिंगो जिल्लावासी उत्साहित भएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए । अर्घाखाँचीमा सुपादेउराली मन्दिरमा आउने लाखौं भक्तजनहरु, प्रकृतिसँग रमाउने र साहसिक प्रर्यटकहरुलाई मुलाबारी साउनेथुममा पुर्याएर अर्घाखाँचीको विकाससँगै आम्दानी गर्न सकिने भन्दै सम्मेलनमा स्टल नै राखेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मासहितका कर्मचारीले लगानीकर्ताहरुलाई आकर्षित गरेका थिए ।
अहिले पनि शितगंगा नगरपालिकाले ह्वाइटवाल नाम दिएर त्यहाँ काम शुरु गरेको नगरप्रमुख छबिलाल पौडेलले बताए । साउनेथुम करिब २३ सय मिटर उचाइमा रहेको नगरप्रमुख पौडेल बताउँछन् । नगरप्रमुख पौडेलका अनुसार साउनेथुम पुग्न सिँढी निर्माण गरेर प्रर्यटकहरुलाई पदयात्रा गराउन तथा अन्य जिपलाइनदेखि केबलकार सञ्चालन गर्न सकिनेसम्मका सम्भावनालाई राखेर विदेशी लगानीकर्तालाई आकर्षित गर्न प्रचारप्रसार गरिएको छ ।
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको तर्फबाट सम्मानित भएको छ । रेमिट्यान्स आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेको भन्दै बैंक सम्मानित भएको हो । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा नेपाल एसबिआईलाई प्रशंसापत्र प्रदान गरिएको हो ।
उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरुमध्ये उक्त बैंकले विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको जनाईएको छ ।
काठमाडौं : सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृत विद्युतीय स्वचालित प्रणालीमार्फत गर्ने प्रक्रिया शुरु गरेको छ ।
यसै प्रक्रियामार्फत् कम्पनीसमेत दर्ता गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो सुविधा उपलब्ध गराएको हो ।
स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले ऐन तथा नियमावली अनुसार विदेशी लगानीको स्वीकृतिको लािग आवश्यक पर्ने विवरण र कागजात विद्युतीय प्रणालीमार्फत् गर्न सकिने सुविधा उपलब्ध गराइएको हो । यो प्रणालीमार्फत लगानी सम्मेलनमा नौ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी सूचीकृत भएको छ ।
काठमाडौं : आइतबारदेखि शुरु भएको ‘नेपाल इन्भेष्टमेन्ट समीट २०२४’ सम्पन्न भएको छ । छ सय भन्दा धेरै विदेशी र एक हजार भन्दा धेरै लगानीकर्ताहरुको उपस्थितिमा दुई दिनसम्म विभिन्न १० वटा प्यानलमा छलफल र केही आयोजनामा द्विपक्षीय समझदारी सहित समीट सम्पन्न भएका हो ।
संख्यात्मक रुपमा सन् २०१७ र सन् २०१९ मा सम्पन्न भएका समीटको तुलनामा धेरै देशका प्रतिनिधिहरु सहभागी भएपनि लगानी सम्झौताको हिसाबले न्यून हुन पुगेको छ । सन् २०१७ को समीटमा मा २१ देशका २५७ विदेशी र पाँच सय जना स्वदेशी लगानीकर्ताको सहभागिता रहेको थियो । सो समीटमा लगानीकर्ताहरुले १३ खर्ब ७४ अर्ब बराबरको लगानी प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, सन् २०१९ को समीटमा ४० देशका सात सय ३५ जना विदेशी र छ सय जना स्वदेशी लगानीकर्ताहरु सहभागी भएका थिए । सो सम्मेलनमा लगानीकर्ताहरुले १५ खर्ब बढी लगानी प्रतिबद्धता जनाएका थिए भने १६ वटा विभिन्न आयोजना तथा कार्यक्रममा समझदारी भएको थियो ।
अहिले सम्पन्न भएको समीटमा संख्यात्मक हिसाबले धेरै देशका प्रतिनिधिहरु सहभागी भएपनि निजी क्षेत्रका जम्मा आठ वटा विभिन्न आयोजना तथा कार्यक्रममा मात्रै समझदारी भएको छ । सरकारले समीटमा प्रस्तुत गरेको एक सय २२ वटा आयोजनामा भने समीट अवधिसम्म कुनै समझदारी हुन सकेन ।
यी आठ विषयमा भए समझदारी
तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी क्षेत्रले विदेशी साझेदारहरुसँग आठ वटा समझदारी गरेका छन् । सम्मेलनको पहिलो दिन दुईवटा र दोस्रो दिन ६ गरी ८ वटा समझदारी गरिएका हुन् ।
सम्मेलनको पहिलो दिन बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डाटा सेन्टर स्थापना गर्न समझदारी भएको थियो । सो समझदारीमा बीएलसी ग्रपकी निर्देशक मेगा चौधरी र योटा डाटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे । डाटा सेन्टरको लागत करिब तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको थियो । सो समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाली उद्योग वाणिज्य महासंघका अध्यक्ष टन सी डाटो सोटियानले हस्ताक्षर गरेका छन् ।
कपिलवस्तुको गोरुसिंगेमा २२ बिगाहा जग्गामा दुई अर्ब रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः एन्ड कम्पनी र हङकङको अनफरमन ग्रुपबीच समझदारी भएको छ । समझदारीमा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरे ।
मुगुको छायानाथ नगरपालिकास्थित मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरी ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गर्ने विषयमा सोमबार सम्झौता भएको छ । अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल तथा सञ्जीव शर्मा र रारा होल्डिङ्स प्रालिको तर्फबाट अभिषेकविक्रम शाहले सो विषयमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्नेगरी चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले कोशी एनके मोटर्ससँग समझदारी गरेको छ । सिमेन गोल्ड ड्रागनले ३ अर्ब रुपैयाँ बराबर लगानी गरी वार्षिक पाँच हजार गाडी उत्पादन गर्ने लक्ष्यसाथ समझदारी भएको हो ।
सोमबार नै नेक्सन म्यानेजमेन्ट सोलुसन प्रालि र एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालि कोरियाको बीचमा समझदारी भयो । नेपालमा लगानी भित्र्याउन भन्दै भएको सो समझदारीमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी र एमएबीसी इन्भेष्टमेन्टका तर्फबाट कम्पनीका अध्यक्ष जियोन योंग ली ले हस्ताक्षर गरेका छन् ।
नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवद्र्धन गर्ने विषयमा वल्र्ड एशोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एशोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिनर्स (नाप)का बीच पनि सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्याय र वापका तर्फबाट अध्यक्ष जियाद अलेक्ज्यान्डर हायकले हस्ताक्षर गरेका हुन् ।
त्यस्तै सोमबार समीटकै क्रममा व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबीच समझदारी भएको छ ।
काठमाडौं- नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड, सामसुङले ग्यालेक्सी एम फाइभ फाइभ आधिकारिक रूपमा बजारमा ल्याएको छ । जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरु उपलब्ध छन् । सामसुङको लोकप्रिय ग्यालेक्सी एम सिरिजका यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमोलिड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्नेछन् ।
आइकोनिक डिजाइन, ग्यालेक्सी एम फाइभ फाइभमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशनका साथै ७.८ एमएम चौडाइका साथ, सुपर स्लीक एकदमै हदलुवा तौल रहेको छ । ग्यालेक्सी एम फाइभ फाइभ हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन् । उक्त फोनमा सहज मल्टिटास्किङ सक्षम पार्दै मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्दछ । यसैगरी सुपर फास्ट चार्जिङ, मोन्सटर डिस्प्ले र मोन्सटर क्यामेरा रहेको छ । ग्यालेक्सी एम फाइभ फाइभमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि फिफ्टी एमपी ओआइएस नो शेक क्यामेरा पाउन सकिन्छ पनि उपलब्ध छ । नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता एआइ सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक उत्कृष्ट शटहरू खिच्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई पुनः परिभाषित गर्दै छ । डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध कडा सुरक्षा पाउन सक्छन् । क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्ने सुविधा प्रदान गर्दछ । मेमोरी भेरियन्ट, मूल्य, उपलब्धत उक्त फोनको न्युनतममूल्य ४८ हजार ९९९ देखि ५३,९९९ मूल्य निर्धारण गरिएको छ । नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना रु. २,४४९ बाट शुन्य ब्याजदरमा सजिलो इएमआइमा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् ।
लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दुधकोशी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताए ।
उनले चार सय १७ मेगावाट क्षमताको नलसिंह गाड, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रुपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागि समेत योग्य रहेको बताए ।
दर्जनौं जलविद्युत आयोजना, सौर्य परियोजना पाइपलाइनमा रहेको जानकारी दिँदै मन्त्री बस्नेतले ती आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ फड्को मार्ने र दिगो भविष्यका लागि समेत योग्य रहने स्पष्ट पारे ।
ऊर्जा क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ग्रीन बण्डको अवधारणामा काम गरिरहेको र त्यसमार्फत यस क्षेत्रमा थप लगानी विस्तार गर्ने बताए ।
सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित ऊर्जा मार्गचित्र तयार पारेको जानकारी दिँदै त्यसका लागि रु ४६ खर्ब बराबरको लगानी जरुरी रहेको स्पष्ट पारे । सरकारले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ परियोजनालाई प्रक्रियामा अगाडि बढाएको उनले जानकारी दिए ।
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ ।
अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ । क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डल समक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मुल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।
नेपालबाट निर्यात जन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसंग सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए । अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिनुभयो । चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधीबीच व्यवसायिक सहकार्य गर्ने समझदारी समेत भएको छ ।
काठमाडौं- आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।
चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशत बढी हो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies