सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको यमुनामाई गाउँपालिका सरुअठामा जनप्रतिनिधिहरुद्वारा उब्जिएको बेथितिविरुद्ध नेपाली कांग्रेस यमुनामाई कार्यसमितिले कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरु बहाल भएपछि पालिकामा बेथिति मौलाएको नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको ठहर छ ।
निर्वाचित भएदेखि जनताले अपेक्षा गरेअनुसारको विकास निर्माण, सामाजिक सद्भाव, कानूनी राज्यको अनुभुती नभएको कार्यसमितिले जनाएको छ । यस पालिकाबाट निष्पक्षता, पारदर्शिता, जवाफदेहीता, मितव्यायिता र सुशासन समेतको कार्य कार्यान्वयन भएको देखिँदैन । साथै गाउँपालिका अध्यक्ष, कार्यालय प्रमुख र लेखाप्रमुख समेतको काम व्यवहारबाट सर्वसाधारण जनता, अन्नदाता किसान, वृद्धवृद्धा, बालबालिका लगायत समेतमा गम्भीर पीडामा रहेको कार्य समितिले जनाएको छ ।
संघीयताको मर्म भावना अनुसार स्थानीय तहका निर्वाचन पश्चात् जनप्रतिनिधिहरुले गुट उपगुट बनाइ प्रशासकीय अधिकृत फेरबदल गर्ने गराउने कार्य गाउँपालिका अध्यक्ष र लेखा प्रमुखले मिलिजुली आफ्नो कमाउ धन्धाको लागि हाकिम हेरफेर गर्ने र भ्रष्टाचार गर्ने प्रवृत्ति हावी रहेको समेत कांग्रेसले जनाएको छ ।
स्थानीय सरकारको मर्म विपरित स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत भ्रष्टाचारमा लिन रहेको व्यापक जनगुनासो आइरहेको हुँदा नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको ध्यानाकर्षण भएको हो ।
गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘ऐतिहासिक यमुनामाई गाउँपालिका पारदर्शिता, निष्पक्षता, मितव्यायिता, सामाजिक न्याय र आर्थिक सुशासन जस्ता कार्य नगरेकोले जनमानसमा उदासीन भएको छ । सम्पूर्ण जनमानसको हकअधिकार तथा सार्वजनिक महत्वको तपसिल बमोजिम जानकारी तथा जायज मागहरू नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको जोडदार रुपमा माग गर्दछ ।’
जिल्ला समन्वय समिति रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहट, जनलोकपाल आयोग मधेश प्रदेश जनकपुर धाम, अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय काठमाडौंलाई समेत बोधार्थ बुझाइएको छ । उक्त माग पाँच दिनभित्र सम्बोधन नभएमा आन्दोलनमा उत्रिन बाध्य हुने पनि कांग्रेसले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies