काठमाडौं : नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वार्मअप म्याच खेल्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग वार्मअप म्याच खेल्ने पक्का भएको हो ।
नेपालले जेठ १४ (मे २७)मा क्यानडा र जेठ १७ (मे ३०)मा अमेरिकासँग खेल्नेछ । टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपमा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
काठमाडौं : बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बुधबार बलात्कार मुद्दामा सफाइ दिएलगत्तै बुधबार नै क्यानले उनको निलम्बन फकुवा गरेको हो ।
निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।
‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रकाश शाही/मध्यान्ह
पोखरा : पोखरामा शिक्षकहरुलक्षित पाँचदिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा सदस्य सचिव शर्माले प्रदेश खेलकुद परिषद् तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद् अघि बढेको बताए ।
युवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षकलक्षित विभिन्न प्रशिक्षण कार्यक्रमलगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषद्ले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले परिषद् खेलकुद विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा आफ्ना भनाइ राख्दै परिषद्का निवर्तमान सदस्य सचिव एवम् नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले परिषद्ले अघि सारेको अभियान महत्वपूर्ण रहेको बताए । उनले कार्यक्रमले युवा ह्याण्डबल खेलाडी उत्पादनका लागि सहयोग पुग्ने बताए । उनले अबको प्रशिक्षण प्रविधिमैत्री बनाउन समेत जोड दिए ।
पोखरा रंगशालामा शुरु भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहेको प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । सहभागीहरुलाई प्रशिक्षकहरु रामबहादुर क्षेत्री, चित्रबहादुर थापा, विशाल बस्नेतलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रदेश खेलकुदका सदस्यहरु निर्मला बराल, विष्णुमाया गुरुङ, प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कोषाध्यक्ष दिना गोतामेलगायतको सहभागिता रहेको थियो ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१ टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बिन्दबासिनी गाउँपालिका क्रिकेट क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा पकहामैनपुर गाउँपालिका क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै बिन्दबासिनीले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पकहामैनपुरले १९ ओभरमा अलआउट हुँदै १२४ रन बनाएको थियो । १२५ रनको लक्ष्य बिन्दबासिनीले १४.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
गाउँपालिका उपाध्यक्ष लिलावती देवी कानुले विजेता टिम बिन्दबासिनीलाई पुरस्कारबापत ३१ हजार रुपैया र सिल्ड वितरण गरेकी थिइन् भने गाउँपालिका वडा नं ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुले उपविजेता टिम पकहामैनपुरलाई नगद २१ हजार रुपैयाँ र सिल्ड वितरण गरेका थिए ।
२४ बल मा ३६ रन बनाएका बिन्दबासिनीका प्रबिन कुमार म्यान अफ दि म्याच घोषित भए । यस्तै पकहामैनपुरका विजय कुमार प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगिताभर १०६ रन बनाएका थिए भने ७ विकेट पनि लिएका थिए ।
छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट क्लबको आयोजनामा भएको सो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता ५ भिस्वामा रहेको खेलमैदानमा भएको हो ।
फाइनल खेलको प्रमुख अतिथि रहेकी गाउँपालिका उपाध्यक्ष कानुले आगामी दिनमा खेलकुदमा युवाहरुको उतसाह बढाउन गाउँपालिकाले सहयोग गर्ने बताइन् ।
गाउँपालिका वडा नं ५ भिस्वाका वडाध्यक्ष कानुको अध्यक्षतामा भएको खेल मा नेपाली कांग्रेसका नेता किशोरी साह कानु, वडाअध्यक्ष दिपेन्द्र सिंह, बिओपी भिसणवाका प्रमुख दिपक राज बस्नेत, शिक्षक प्रभु गिरी, सुरेश साह, स्वास्थ्य संयोजक शनि कुमार साह, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएको आयोजक टिमका मनोज पटेलले जानकारी दिए ।
काठमाडौं : सरकारले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको पुरस्कारको रकम निकास गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कुल २ करोड ९७ लाख १० हजार पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् । चौथो एसियाली पारा खेलकुद सकिएलगत्तै राखेपले एसियाली खेलकुद र एसियाली पारा खेलकुदको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रस्ताव गरेको थियो ।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।
एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने छन् ।
यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।
आइसिसी मेन्स टि–२० विश्वकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन् ।
पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको छिपहरमाई गाउँपालिकामा गाउँपालिका स्तरीय मेयर कप टि–२० क्रिकेट टुर्नामेन्ट मंगलबारबाट शुरु भएको छ । छिपहरमाई गाउँपालिकाको आर्थिक सहयोग र भिस्वा युवा समाज क्रिकेट क्लवको आयोजनामा भएको मेयर कप टि–२० क्रिकेट टुर्नामेन्टको एक समारोहकाबीच प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले रिबन काटेर ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि रहेका अध्यक्ष गुप्ताले उद्घाटन गर्दै युवाहरुले खेलकुदको माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिका र देशलाई देश विदेशमा चिनाउने गरेकोले खेलहरुलाई प्राथमिकता राखिएको बताए ।
भिस्वामा रहेको खेलमैदानमा भएको टुर्नामेन्टमा आयोजक क्रिकेट क्लव भिस्वा र पकहामैनपुर गाउँपालिकाको सबैकाबीच भएको खेलमा आयोजक क्लव भिस्वाले टस जिति पहिलो व्याटिङ गर्दै २ ओभरको खेलमा ११ रन बनाएपछि पानी पर्न लागेको कारण खेललाई स्थगित गरिएको आयोजक कमिटीका मनोज पटेलले जानकारी दिए । खेल बुधबार हुने आयोजकले जनाएको छ ।
काठमाडौं : राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदानको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो ।
डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको दशदेखि बाह्र मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ । डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै रहेका छन् । स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थल लगायतका संरचना रहेका छन् । हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानको रूपमा रहनेछ ।
खेलकुदको मेगा प्रोजेक्टको रूपमा रहेको मूलपानी क्रिकेट मैदानको प्रस्तुत गरिएको डिजाइन अनुसारको सुविधा सम्पन्न अत्याधुनिक स्टेडियम निर्माणका लागि ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ ।
गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो । सोहीअनुरूप कलेजले डिजाइन प्रस्तुत गरेको हो ।
खेलकुदमन्त्री श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि १ अर्ब सम्मको बजेट निकाशा हुने सम्भावना रहेको बताए । उनले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन् ।
सदस्य सचिव घिसिङले यो प्रोजेक्टलाई मेगा प्रोजेक्टको रूपमा अगाडि बढाएको भन्दै आगामी बजेटमा यही प्रोजेक्टलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए । गत कात्तिक २३ गते सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।
काठमाडौं : नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज 'ए'लाई ६ विकेटले पराजित गरेको छ । पाँच खेलको सिरिज भने वेष्टइन्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ खेले । आसिफ शेख ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेललाई १३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।
हेटौंडा : राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा मदनकुमार श्रेष्ठ चयन भएका छन् । बिहीबार भएको संघको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ७ की सदस्य राधिका वि.क.को विशेष आतिथ्यता, हेटौंडा नगर खेलकुद विकास समितिकी सदस्य संगीता केसीको आतिथ्यता तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सदस्य नारायणसिंह थिङको उपस्थिति रहेको थियो ।
भेलाले उपाध्यक्षमा केशवबहादुर कार्की, राजकुमार थापा र भोजराज पराजुली, सचिवमा रवीन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली तथा सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनक राईलाई चयन गरेको छ ।
साथै भेलाले सन्देश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौंडा नगर समितिसमेत गठन गरेको छ । जसको उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ तथा सदस्यहरुमा रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे रहेका छन् ।
काठमाडौं : वेस्ट इन्डिज ‘ए’ले एक खेलअगावै घरेलु टोली नेपालसँगको ५ खेलको टी-२० सिरिजको उपाधि जितेको छ । बिहीबार भएको चौथो खेलमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितेको हो ।
वेस्ट इन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले । रोहितले ४७ बलमा ८२ रन बनाए । सोक्रममा उनले ७ वटा चौका र ५ वटा छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले १४ बलमा २ चौकाको सहयोगमा १९, दीपेन्द्रसिंह ऐरीले १४ बलमा २ चौकाको सहयोगमा १९ र गुल्सन झाले १४ बलमा ३ चौकाको सहयोगमा १९ रनको योगदान दिए । यस्तै अभिनाष बोहराले ८ बलमा १७ रन बनाए भने सोमपाल कामीले १० बलमा १० रन बनाए ।
त्यस्तै कुशल मल्ल ४ रनमा आउट हुँदा कुशल भुर्तेल १ रनमा आउट भए भने आसिफ शेख शून्य रनमा आउट भए । वेस्ट इन्डिज ‘ए’का लागि म्याथ्यु फोर्ड र हेडल वाल्सले समान ३-३ विकेट लिए भने फबिएन एलेनले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय इनिङ खेले । फ्लेचरले ५४ बलमा ८४ रन बनाए । सोक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै चार्ल्सले ३० बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ५८ रन बनाए ।
यस्तै फबिएन एलेनले १९ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ३३ रन बनाए भने एलिक एथानाजेले ७ बलमा १ चौकाको सहयोगमा ५ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies