काठमाडौं- लोकतान्त्रिक गणतन्त्रः असललाई जिम्मेवारी खराबलाई दण्ड भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०८१ जेठ १५ गते १७ औँ गणतन्त्र दिवस मनाउने भएको छ । यसैगरी शान्ति समाजले जेठ १९ गते आफ्नो २९ औँ स्थापना दिवसका सन्दर्भमा सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक शिर्षकमा देशव्यापी नागरिक संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।
साथै जेठ अन्तिम साता कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक पाँच वटा नागरिक संवाद कर्णाली प्रदेशमा आयोजना गर्नुका साथै कर्णाली प्रदेशका ८४ जना दलित समुदायका बालिकाहरुलाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान गरिने छ । तत्पश्चात तराई मधेशको जीवनरेखा–हुलाकी मार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण शिर्षकमा एक दर्जन जिल्लामा नागरिक संवाद कार्यक्रम हुनेछ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा आपतकालीन समयमा बाल संरक्षण तथा लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नं. १० खैरीचन्दनपुरका जनप्रतिनिधिहरु, कर्मचारी, वडास्तरीय बाल संरक्षण समितिका पदाधिकारीहरु, बडघर, महिला स्वयंसेवक, बाल सञ्जाल तथा युवा सञ्जालका पदाधिकारीहरुलाई आपतकालीन समयमा बाल संरक्षण तथा लैङ्गिक हिंसाका बारेमा अभिमुखीकरण गराइएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । समुदायमा हुने विभिन्न प्रकारका विपद्हरुमा बालबालिका तथा महिलाहरुको सवालमा संवेदनशील बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाकी फिल्ड सुपरभाइजर रेणुका चन्दले जानकारी दिइन् ।
कार्यक्रममा वडाका बालबालिकाको सम्पूर्ण अवस्थाका बारेमा छलफल गर्दै आपतकालीन समयमा बाल संरक्षण र लैङ्गिक हिंसा रोक्न विगतमा गरिएका प्रयास तथा अभ्यास एवम् अबका दिनमा गरिने प्रयास तथा योजनाका बारेमा बृहत् छलफल गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण राजापुर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रिता थारुले गरेकी थिइन् । अहिले बालविवाह, आत्महत्या र बालबालिकामा लागुऔषधको प्रयोग समाजमा विपद्कै रुपमा देखापरेको बताउँदै राजापुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवलाल थारुले यसका विरुद्ध अभियान नै सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘यसमा सुधार ल्याउन सकेमा बाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण कदम हुने छ ।’
सशक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सञ्चालनमा रहेको छ । सन् २०२३ जुलाईदेखि सञ्चालनमा आएको परियोजना जुन २०२५ सम्म सञ्चालन हुने छ ।
काठमाडौं- हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ । त्यसैगरी, आज राति कोशी, मधेस र प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भागका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाकोे सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अहिले काठमाडौँ उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयबासी घर टोलमा उपचार पाउँदा खुशीले हर्षित भएका छन । अर्घाखाँचीको डिभर्ना आयुर्वेद औषधालयको आयोजनामा नरपानीको वर्थिङ सेन्टरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
शिविरमा अम्लपित्त, बाथरोग, स्त्रीरोग, बालरोग, पाइल्स, फिस्टुला, छाला सम्बन्धि समस्या आदि रोगहरुको उपचार गरीएको थियो । जसमा महिला १६८ र पूरुष ५१ गरी जम्मा २१९ जनालाई सेवा प्रदान गरीएको थियो । शिविरमा करिव ६१ थरी आयुर्वेद औषधिहरु निशुल्क रुपमा बितरण गरीएको थियो । बिरामीहरुको गुल्मी आयुर्वेद केन्द्रका प्रमुख डा अर्जुनराज शर्मा, अर्घाखाँची आयुर्वेद केन्द्रका निमित्त प्रमुख कमल प्रसाद आचार्य लगायतको टिमले स्वास्थ्य परिक्षण गरेका थिए । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरका सम्पुर्ण स्थानीयबासीलाई आयुर्वेदको सेवाबाट विभिन्न रुपमा जटिल तथा नसर्ने रोगको व्यवस्थापनमा महत्वपूर्ण भुमिका हुने तथा आगामी दिनमा आयुर्वेद सेवालाई अझै प्रभावकारी रुपमा सबै वडाहरुमा पु¥याउने लक्ष्य रहेको बताए ।
प्रमुख प्रशासिकय अधिकृत खुमलाल भुसालले हाल विश्व परिवेशमा नसर्ने रोगहरुको प्रकोप बढदै गईरहेको हुँदा ब्यक्तिको जिवनशैलिमा परिवर्तन गर्नुपर्ने तथा हाम्रो मौलिक चिकित्सा पद्धतिको विकासमा सबै लाग्नुपर्ने कुरा जोड दिएका थिए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला - विश्वमा जस्तै नेपालमा पनि अहिले पतञ्जलि योगको लहर शुरू भइसकेको छ । यस पटक विश्व विख्यात योग गुरु स्वामी रामदेवका शिश्य स्वामी कर्णदेवको टिम जुम्लामा पुगेको छ । उनी सहित पतंजली योग समिती कर्णाली प्रदेशका सह–प्रभारी केन्द्रीय योग प्रशिक्षक जय बहादुर मल्ल पनी यो बृहत योग,ध्यान शिविरमा आएका छन । विश्व विख्यात योग गुरु स्वामी रामदेवका शिश्य स्वामी कर्णदेवले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको बताए ।
त्यस्तै आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले जुम्लामा पनी योग अभ्यास एक महिना अगाडी देखी गराउदै आएको थियो । यसले गर्दा जुम्लाका नागरिकमा योगप्रतिको जागरण बढेको छ । जुम्लाको टुँडिखेलमा बृहत योग,ध्यान शिविर बुधबारबाट संञ्चालन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला र चन्दननाथ नगरपालिका जुम्ला द्वारा संयुक्त रुपमा निःशुल्क ५ दिने बृहत योग,ध्यान शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमिक्त प्रमुख नन्द प्रसाद न्यौपाने बताए । उनका अनुसार नेपाली सेनाको टुँडिखेलमैदानमा बिहाना ५ बजे देखि ७ बजे सम्म अभ्यास हुन्छ ।
यस्ता शिविरमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित शारीरीक रोगहरु निको पार्न सकिने, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, दम, एलर्जी, माइग्रेन, ब्लड प्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारीरीक विकार नष्ट गर्न सकिने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने दाबी छ ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरको एक सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । त्रियुगा नगरपालिका-६ राजदेवी सामुदायिक वनको रातमाटे डाँडामा मंगलबार अन्दाजी ४५/५० वर्ष उमेरका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
चापागाईंको अनुसार शवको प्रकृति हेर्दा तराई मुलको रहेको हुनसक्ने तथा अनुमानित १५ दिन अगाडि नै सो मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
रामएकवाल राम/मध्यान्ह
लहान : सिरहाको लहानमा बम पड्काएर ६ घरमा लुटपाट गरिएको छ । लहान नगरपालिका-१७ हरिपुर टोलमा सोमबार राति ११ बजे लुटेराहरुको समूहले बम पड्काएर लुटपाट गरेको हो । बम पड्किँदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । लुटेराहरुको समूहले नगद, गरहना लुटेको हो ।
लुटेराहरुलाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : गुडिरहेको ट्याक्टरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ५ मा पर्ने हिल्दुम छहराबाट सिमकोट आउँदै गरेको ट्याक्टरबाट खस्दा महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा नं.२ ठेहे गाउँकी ५५ वर्षीय नानी बोहरा रहेकी छन् । खार्पु दोभानबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहराको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् ।
मृतक बोहरालाई बाहिर चोट नभएपनि भित्रि शरिरमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : मोटरसाइकल दुर्घटनामा परी रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी एक युवकको ज्यान गएको छ । कामको सिलसिलामा जाजरकोटको मटेलादेखि नेपालगञ्ज जाँदै गर्दा छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ औंली भेमा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ती युवकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका वडा नं. ४ मनकोट घर भएका ३७ वर्षीय भुम वहादुर के.सी. रहेको प्रहरीले जनाएको छ । के.सी.को मोटरसाइकल र विपरीत दिशावाट आएको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा चालक के.सी. मोटरसाइकलसहित १ सय मिटर तल भेरी नदीमा खसेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय विरेन्द्रनगरका प्रहरी हवल्दार खेमराज बस्नेतले बताए ।
कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरको मोटरसाइकल चालक आठविसकोट नगरपालिका वडा नं. ४ का ३० वर्षीय दिपक दाहाल र मोटरसाइकल इलाका प्रहरी कार्यालय बाव्बे चौर प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक के.सी.को मोटरसाइकल पछाडि सवार चौरजहारी नगरपालिका वडा नं. ९ गुर्तालगाउँका १८ वर्षीय आषिस कुमार मल्ल र दाहाल सामान्य घाइते भएको बताइएको छ । के.सी.को शवलाई भेरी नदीमा माछा मार्ने व्यक्तिहरुले निकालेको प्रहरीले बताएको छ ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारे नजिकै शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा परेर आठविसकोट नगरपालिका १४ निवासी ट्याक्टर चालक २२ वर्षीय विकास खड्का र सोही ठाउँ बस्ने १९ वर्षीय हरि शर्मा आचार्यको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएका तीनै जनालाई उपचारका लागि चौरजहारी अस्पतालतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पहिचान भने खुलेको छैन ।
प्रहरीका अनुसार आठविसकोटको पिपलचौरबाट जाजरकोटको रिम्नातर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरीमा खसेको हो । ट्याक्टर भेरी नदीमै रहेकाले नम्बर खुलेको छैन । उक्त ट्याक्टरमा चालकसहित पाँच जना चढेको बताइएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies