दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : बिहीबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका बीच सभामुख देवराज घिमिरे सभा सञ्चालनमा अगाडि बढेपछि प्रतिनिधि सभामा धकेलाधकेलको स्थिति सिर्जना भएको हो ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक दलहरुका बीचमा छलफल चलिरहेको भनेर सहमतिकै आधारमा दिउँसो ४ बजेका लागि बैठक सारिएको थियो । चार बजेका लागि सारिएको र्बैठक पनि समयमा सुरु भएन । झण्डै ६ बजे शुरु भएको बैठक पनि सौहार्द हुन नसकेको हो । सभामुख घिमिरेले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरुको वेल घेराउ गरे । नाराबाजी गरे ।
कांग्रेसको नाराबाजीबीच सभामुख घिमिरेले संसदको कार्यसूची अगाडि बढाएका थिए । विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । मन्त्रिपरिषद हेरफेर सम्बन्धी पत्र बाचन गरे । अवरोधका बीच सभामुख अगाडि बढेपछि कांग्रेस सांसदहरु आक्रोशित भए । जब सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए । त्यसपछि प्रतिनिधि सभामा तनाव बढेको हो ।
गृहमन्त्रीलाई रोक्न कांग्रेस उपसभापति धनराज गुरुङ सत्ता पक्षको रोमा पुगे भने एमाले अध्यक्ष केपी शर्मा ओलीले उठेर ‘तपाई यहाँ उभिने होइन, हट्नुस् भनेपछि मुखामुख भए । त्यसक्रममा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भयो ।
सभामुख घिमिरेकै कारण संसदमा धकेला धकेल भएको भनेर उनको व्यवहारलाई दलहरुले असंसदीय गतिविधिको संज्ञा दिएका छन् । यो घटनापछि सत्तापक्ष र विपक्षीले एकाअर्कालाई दोष लगाउँदै आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । कांग्रेसका महामन्त्री गगन थाापाले सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।
महामन्त्री थापाले भन्छन्, ‘एकातिर सम्माननीय सभामुख ज्युलाई आज जसरी पनि सदन चलाउनुपर्छ भनेर निर्देशित गर्ने । अर्कोतर्फ हामी उठिरहेको बेलामा, सदनभित्र आफ्नो कुरा राखिरहँदा बेलामा जबरजस्ती सत्तापक्ष त्यसमाथि पनि सत्तापक्षभित्रको प्रमुख दलको प्रमुख नेताले जसरी त्यहाँभित्र वातावरण बिगार्ने पर्यास गर्नुभयो । त्यहाँभित्र एउटा अप्रिय स्थिति सिर्जना होस् भन्ने खालको पर्यास गर्नुभयो । यो आफैँमा खेदजन्य छ ।’
महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई कांग्रेस र कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता नठान्न चेतावनी दिए ।
‘उहाँले कांग्रेसको सांसदहरुलाइ आफ्नो कार्यकर्ता जस्तो ठान्नुभयो’ थापाले अगाडि भने, ‘एमालेको सांसदहरुलाई उहाँको कुरा हो हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने त्यो उहाँले अधिकार राख्नुहुन्छ होला । उहाँका सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांंग्रेस पार्टीका बारेमा त्यो नसोच्नुहोला । कांग्रेस सांसदका बारेमा त्यो नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौं ।’
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले त कांग्रेसको व्यवहारलाई अधिनायकवादी चरित्रको संज्ञा दिए ।
कांग्रेसले संसदलाई मुठभेडमा लैजान खोजेको आरोप लगाउँदै उनले भनेका छन्, ‘आगामी दिनमा यस प्रकारको असंसदीय गतिविधिहरु, व्यवहारहरु, अधिनायकवादी चरित्र प्रदर्शन नगर्नका लागि कांग्रेसलाई सचेत गर्न चाहन्छु’ बर्तौलाले भने ।
सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटा बिहीबार प्रतिनिधि सभामा गतिविधिका लागि कांग्रेसले माफी माग्नुपर्ने बताउँछन् । ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ’ उनले भने ।
जुम्ला : जुम्लामा ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी जुम्लाको आयोजनामा जुम्लाका कम्युनिष्ट पार्टीहरुबीचमा समाजवादको विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्र्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जुम्लाले अवधारणा पत्रसहित प्रस्तुत गरिएको थियो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको कार्य योजना अनुसार पार्टी महासचिव विप्लव सिले तयार भएको २७ पृष्ठको कार्यपत्र कालिकोट जिल्ला इन्चार्ज विवेक सिले प्रस्तुत गरेका थिए ।
समाजवाद बहस जनताको दशकौ पुरानो चाहना भएपनि नेपाल कम्युनिष्ट पार्टीले नेपाली समाजवादको अवधारणा ल्याउन सकेको थिएन । यस पटक नेपाल कम्युनिष्ट पार्टीका नेपाली विशेषताको विषयमा सश्लेषण र प्रस्ताव गरेको छ । उक्त कार्यपत्रमा भनिएको छ, ‘नेपाल २१ औं सताब्दीमा विश्वलाई नेपाली विशेषताको समाजवाद दिने अग्रगामी राष्ट्र बन्न सक्छ । नेपाली समाजवादबारे सारा प्रगतिशिल अग्रगामी एवं क्रान्तिकारी शक्तिले बुझ्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सिले परिकल्पना गर्नुभएको सो कार्यपत्रमा नेपालमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र जनताले ढिला नगरी नेपाली विशेषताको समाजवादलाई बुझ्न आवश्यक छ ।’
विश्लेषणात्मक कार्यपत्रमा नेपाली विशेषताको समाजवादको राजनीतिक विशेषता, आर्थिक विशेषता, साँस्कृतिक विशेषता, अन्तर्राष्ट्रिय सम्बन्ध, भाषिक मान्यता, शैक्षिक विशेषता, जनस्वास्थ्य विशेषता, सूचना सञ्चार विशेषता, सुरक्षा विशेषता, कर्मचारी तन्त्रको विशेषता,नागरिकता प्रणाली, यातायात प्रणाली, विद्युत तथा उर्जा प्रणाली, कुटनीतिक सम्बन्ध, मानव अधिकारको विषय, सञ्चार स्वतन्त्रता, पर्यावरण, खेलकुद कस्तो हुने विषयमा अवधारणा पत्र प्रस्तुत गरेको हो ।
कार्यपत्र तथा अवधारणापत्रमा विभिन्न कम्युनिष्ट घटकका नेताहरुले आफ्नो सुझाव तथा धारणा उल्लेख गरिएको छ ।
‘अबको मिसन समाजवाद हो’
त्यस्तै अन्तरक्रियामा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुसिल सिले अबको मिसन ८४ नभइ आफ्नो मिशन समाजवादको हुने बताए ।
उनले जनताको आवश्यकता अनुसार कम्युनिष्ट पार्टीहरुले काम गर्ने नकेको बताए । उनले कतिपय दलले मिसन ८४ भनिरहेको बताए । उनका अनुसार संसदवादी दलको काम नभएकाले मिलेर समाजवादको यात्रामा जान अपिल गरे । यसरी कम्युनिष्ट पार्टीहरु नसचिएको खण्डमा २०८४ सालको निर्वाचन उद्दारवादी दक्षिणपन्थिको हातमा जाने सम्भावना देखिने उनले बताए ।
कम्युनिष्ट पार्टीहरु अब मिलेर नेपाली विशेषताको समाजवादको यात्रामा लाग्नु उत्तम विकल्प हो । उनले साम्राज्यवादले हेर्ने माओवादी, एमाले, समाजवादी कुनैलाई फरक नभइ केवल कम्युनिष्ट झण्डा हेर्ने भएकाले समाजवादबाटै सक्षम हुनुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रभाजित सिले जुम्लालाई कसरी कम्युनिष्टमय मनाउने विषयमा ध्यान दिनुपर्ने उद्देश्य र पार्टीको केन्द्रीय कार्ययोजना अनुसार अन्तरक्रिया भएको बताए । त्यस्तै अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री बलबहादुर महतले समाजवादी गणतन्त्र चुनौतिको विषय भएपनि कम्युनिष्टले मित्र शक्ति पहिचान गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले समाजवाद अगाडि बढ्न नदिने तत्वहरु संशोधनवादी रहेको बताए ।
उनले सोभियत संघबाट शुरु भएको संशोधनवाद नेपालमा समेत पुगेको दाबी गरे । उनले अबको आवश्यकता समाजवादी गणतन्त्र भएको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले अवधारणा पत्रमा समाजवादमा कसरी पुग्ने भन्ने थपिनुपर्ने सुझाव दिए । अन्तरक्रियामा ज्येष्ठ कम्युनिष्ट नेता रामकृष्ण बुढ्थापाले अब नेपालमा सबै कम्युनिष्ट एक नभए समाजवाद नआउने बताए ।
त्यस्तै अन्तरक्रियामा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष दयादत्त हमाल, नेकपा एमालेका नेता गोरख पछाई, नेमकिपा बर्दिया अध्यक्ष टिका प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र गुठिचौरका अध्यक्ष लालबहादुर रावत, नेमकिपाका यज्ञबहादुर बुढ्थापा, पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाही, नेपाल कम्युनिष्ट पार्टीका दिलिप सि लगायतले सुझावसहित धारणा राखेका थिए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानबिन समिति नबन्ने घोषणा गरेको छ ।
रास्वपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग राख्दै कांग्रेसका सांसदले धकेलाधकेलको स्थिति बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।
रास्वपा सहप्रवक्ता मनिष झाले गृहमन्त्री लामिछानेलाई बोल्न दिनुपर्ने र सबै सहकारीको समस्यालाई हेर्ने गरी आफूहरु संसदीय समिति गठन गर्न तयार हुँदा पनि सहमति हुन नसकेको भन्दै अब समिति नबन्ने बताए ।
उनले अब कांग्रेस आफ्ना पदाधिकारीहरुको फाइल खोल्न तयार भएमात्र समिति बन्ने बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवाका साथै उनका श्रीमती र छोरामाथि पनि छानबिन गर्नुपर्ने बताए ।
काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए ।
सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए ।
सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे ।
गृहमन्त्री उठेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए ।
त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच भनाभन भएको देखिन्थ्यो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन् ।
सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोधलाई जारी राख्ने भएको छ ।
सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको हो ।
बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको अडान राखेको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहकारी अनियमितता प्रकरणमा छानबिन गर्न समिति बनाउने आश्वासन दिँदै शुरुमा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन आग्रह गरेका हुन् ।
बिहीबार बिहान सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका हुन् ।
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीजी प्रचण्डले समिति बनाउने आश्वासन दिएको र गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरेको जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । आज आयोजित प्रजातान्त्रिक विचार समाजको २६औं साधारण सभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्वपूर्ण योगदान रहेको बताए । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ”, उनले भने ।
सभापति देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभइ एमालेको पालामा भएको बताए । “कांग्रेसलाई दोष लगाउन मिल्दैन”, उनले भने ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताए । “राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन”, उनले भने । उनले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए ।
नेता डा कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौं सहकारी पीडितको आवाजलाई सम्बोधन गर्न कांग्रेसले संसदीय समितिको माग गरेको बताए । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्दै संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने उनले स्पष्ट पारे ।
कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे । “संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुराहरु पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ”, उनले भने । सुशासन र भ्रष्टाचार अन्त्यको विषय कांग्रेसको प्राथमिकतामा पर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ”, उनले भने ।
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा २८ मत पर्यो भने विपक्षमा शून्य मत पर्यो ।
सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए । जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको उनले जानकारी दिएका थिए ।
कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेका थिए ।
सिन्धुपाल्चोक - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा।डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको टिप्पणी गरेकी छिन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व सांसद डा. संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने, अधिकांश कार्यक्रम पुरानै दोहोरिएको र कार्यान्वयन गर्नका लागि सरकारसँग आर्थिक क्षमता कमजोर देखिएको बताइन् ।
‘नीति तथा कार्यक्रममा आम्दानीको दायरा विस्तार गर्ने कुनै योजना छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न सक्ने देखिदैन,’ डा. संग्रौलाले भनिन्। उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्ने मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले त्यसक्रममा भएको अनियमिततामाथि छानवीन गर्न माग गरिन् । ‘एमाले, माओवादीलगायतको सरकार नागरिकप्रति उत्तरदायी छैन् । सत्ता टिकाउने खेलमा मात्रै सिमित छ । देशभर अनियमितता र बेथिति मौलाएको छ । सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। गृहमन्त्री आफैं सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन् । तर सरकार भने ढाकछोपमा लागिपरेको छ,’ डा. संग्रौलाले भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले उचित नहुने भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताइन् । नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी भएकाले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा पार्टीको सबै तह सक्रिय बन्न उनले सुझाव दिइन । पार्टीको संगठनलाई मजबुत बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनले दावी गरिन् । कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीको जिम्मेवारीसँगै नगरवासीको हितमा काम गरिरहेको बताए । कांग्रेसले निर्वाचन जितेपछि बाह्रबिसे नगरपालिकामा नगरवासीको विकास र हितको लागि सँधै लागि परेको बस्नेतले बताए ।
विभिन्न जिल्लामा कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट एवम अन्तरक्रिया कार्यक्रमका लागि बुधबारबाट साताब्यापी भ्रमणमा निस्किएकी डा. संग्रौलाले बुधबार नै काभ्रेमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेकी थिइन । तेमालमा जिल्ला कार्य समिति काभ्रेको मासिक घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले सम्बोधन गरेकी थिइन् । केन्द्रीय सदस्य डा. संग्रौला बिहीबार दोलखाको चरिकोटमा आयोजना गरिएको कांग्रेस अगुवाहरुको भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन गर्न नसकिने दोहोर्याएका छन् । प्रमसख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।
यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसदलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । यो विषयले लामो समयदेखि संसद प्रभावित छ । यही बेला एमाले अध्यक्ष ओलीले अब कांग्रेसको अवरोध संसदमा सहेर नबस्ने चेतावनी दिएका छन् ।
एमालेले बुधबार संसदीय दलको बैठक राखेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टी र पार्टीका नेताहरुमाथि आक्षेप नलगाउन चेतावनी दिए ।
गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गर्दै आएको कांग्रेसले आफूमाथि समेत औंला ठड्याउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा आक्रोशित छन् । संसदीय दलको बैठकमार्फत उनले कांग्रेसका धेरै मान्छेका जन्मकुण्डलीबारे जानकारी रहेको भन्दै आफूलाई नचिढ्याउन चेतावनी दिए ।
झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुनेबारे सर्वोच्च अदालतको फैसलापछि कांग्रेस नेताहरुले ओलीमाथि प्रश्न उठाउन थालेका छन् । यही बेला ओलीले एमालेमाथि अनेक आरोप नलगाउन चेतावनी दिएका हुन् । ‘कांग्रेसमाथि अनेक आरोपहरु छन् । फाइल धपाउँदा (फाइल पन्छाउँदा) हैरान भएको छ कांग्रेस । अनि फाल्तु कुरा गर्ने ? अनि एमालेका विरुद्ध जथाभावी ?’ अध्यक्ष ओलीको कांग्रेस नेताहरुलाई काउण्टर जवाफ छ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले गिरीबन्धु टी स्टेटको विषय उठाउने निर्णय गरेको थियो । सर्वोच्चको फैसलापछि कांग्रेस नेताहरुले जग्गा सट्टापट्टामा संलग्नमाथि कारबाहीको माग गर्न थालेका छन् ।
बुधबार नै पार्टीको संसदीय दलकै बैठक राखेर एमाले अध्यक्ष ओलीले फरक विषयमा पार्टीलाई नजोड्न चेतावनी दिएका हुन् । ‘चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चलेको छ त्यो प्रसंगमा कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यतै भुक्या छ, उतै भुक्या छ । के तरिका हो यो ?’ ओली भन्छन्, ‘कांग्रेसबारे दुनियाँलाई थाहा छ म धेरै भन्न चाहन्न ।’
उदाहरणका रुपमा एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसद टेकबहादुर गुरुङको संसद प्रवेशलाई देखाए । ‘...भ्रष्टाचारी ठहर भएकाहरुले नारा लगाइराख्या छ । नेपाली कांग्रेसलाई श्रम हुँदैन ? भ्रष्टाचार ठहर गरेको आफ्नो भएपनि सांसदलाई बाहिर निकाल्नु पर्दैन ?’ ओलीले भने, ‘नियम कानुन कांग्रेसले बुझया छैन ? पढ्या छैन ?’
काठमाडौंस्थित भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले गुरुङलाई दोषी ठहर गर्दै जरिवाना गरेको थियो । गत चुनावमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले १२ पुस २०७९ मा निलम्बनमा परेका थिए ।
उक्त मुद्दामा विशेष अदालतले उनलाई १ करोड २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । विशेष अदालतको फैसलापछि गुरुङले आफ्नो निलम्बनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । १६ चैत २०८० मा न्यायाधीशद्वय डा।मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलसले सांसद गुरुङको निलम्बन फुकुवा गरिदिएको थियो ।
सर्वोच्च अदालतको आदेशका आधारमा संघीय संसद सचिवालयले सांसद गुरुङको निलम्बन १२ वैशाख २०८१ मा फुकुवा गरेको थियो । सांसद गुरुङ २८ वैशाख २०८१ देखि सुरु भएको संसदीय संसदको बर्षे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै आएका छन् ।
आफूहरु मिलाउन लागिरहँदा कांग्रेसले उल्टै प्रश्न गरेको ओलीको चित्त दुखाइ छ ।
‘हामी त मिलाएर जान खोजि राख्या छौं । हामी माथि नै हमला गरिराख्या छ बा । हामी मिलाउन खोजि राख्या छौं । तिमी अर्घेलो गरिराख्या छौ यसो नगर भनिराख्या छौं । सम्झाई राख्या छौं । उल्टै हामी माथि समेत ..’ ओली भन्छन्, ‘कांग्रेसले खोज्या के हो त ? यो देश कांग्रेसको एकलौटी हो ? अरु यहाँ जन्मिनु गल्ति हो ?’
कांग्रेसले अधिनायकवादी चरित्र प्रकट गरेको एमाले अध्यक्ष ओलीको टिप्पणी छ । थप्छन्, ‘कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको छ । यस अधिनायकवादी चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन् ।’
अदालतको फैसलामाथि प्रश्न
एमाले अध्यक्ष ओलीले गिरिबन्धु टी इस्टेटसम्बन्धी सर्वोच्च अदालतको फैसलामाथि समेत प्रश्न गरे । गिरिबन्धुको हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न संसदले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरुले पूर्वाग्रह देखाएको उनको टिप्पणी छ ।
‘कानुन बनाऊ भन्ने, कानून बनाएपछि अपरिपक्व भन्ने ? ओलीको प्रश्न छ, ‘कानून बनाउन संसदमा ल्याउने हो, संसदले पास गर्ने हो, कानुन बनाउने त्यो भन्दा परिपक्व तरिका के हुन्छ ?’
गिरिबन्धुको जग्गा पहिले नेपाली कांग्रेसको सरकार हुँदा एक पटक ५१ बिघा र एक पटक १९ बिघा गरेर ७० बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको आरोप ओलीको छ ।
सभामुखको बचाउ, गगनलाई प्रश्न
अध्यक्ष ओलीले सभामुख घिमिरेमाथि प्रश्न गर्ने कांग्रेस महामन्त्री गगन थापा माथि नै प्रश्न गरे । थापा लक्षित ओलीको प्रश्न छ, ‘जसका बारेमा पनि जे पनि बोलिदिने ?’
२८ वैशाख २०८० मा बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री थापाले ‘निगाहाको समय चाहिँदैन’ भनेका थिए । एमाले अध्यक्ष ओलीले थापाको यस्तो अभिव्यक्तिको चर्को आलोचना गरे ।
‘सभामुखलाई के भन्या त्यो ? तपाईंले दिएको निगाहाको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ?’ महामन्त्री थापालाई ओलीको प्रश्न छ, ‘आफ्नो स्वइच्छाचारता हुन्छ संसदमा ?’
थापाले कांग्रेसको महामन्त्री पद अनुसारको अभिव्यक्ति नदिएको ओलीको टिप्पणी छ । उनी भन्छन्, ‘के भन्या कांग्रेसको पनि महामन्त्री जस्तो पद समातेर बस्या मान्छेले ? के बोल्या त्यो ? कि कांग्रेसको कार्यकर्ता भएन भने कुनै पद ओहोदमा केहीमा भएपनि कसैलाई सम्मान गर्न नपर्ने हो ?
२८ चैतमा बसेको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुख अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरुले टेबुल ठोकेर विरोध गरे ।
त्यसपछि सभामुख घिमिरेले महामन्त्री थापालाई बोल्न तीन मिनेट समय दिएका थिए । कांग्रेस सांसदहरुले कम समय दिएको भनेर फ्लोरबाटै विरोध जनाए ।
तीन मिनेट समय कटाएपछि सभामुखले दुई मिनेट थपिदिएको बताए । त्यसपछि महामन्त्री थापाले सभामुख लक्षित अभिव्यक्ति दिए ।
‘मलाई समय नदिए पनि केही छैन । किनकि मलाई निगाहाको समय चाहिंदैन । मलाई मेरो हकको समय चाहिन्छ’ महामन्त्री थापाले भनेका थिए । महामन्त्री थापाको यही अभिव्यक्तिमाथि एमाले अध्यक्ष ओलीले प्रश्न उठाएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies