भरत प्रधान/मध्यान्ह
लिस्वन : विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा युरोपेली मुलुक पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइने भएको छ । लिस्वनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा एनआरएनए पोर्चुगलका साथै यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो ।
भगवान गौतम बुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको २५६८औं बुद्ध जयन्ती मूल आयोजक समितिका संयोजक एवम् पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
बुद्ध जयन्तीको अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजा आरधनालगायतका कार्यक्रम तय भएको महावाणिज्यदूत हमालले बताए । मार्तिम मुनिज पार्कमा बिहान ९ बजेदेखि बौद्ध धर्म गुरुद्वारा बुद्धको विशेष पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो साढे ३ बजे प्रासा दि कमर्सियोेबाट बृहत् शोभायात्रा शुरु हुनेछ । बुद्धका तस्बिर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्नेछ ।
शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभायात्रामा सहभागी भइ बुद्धभूमि नेपाल र नेपालीहरुको गौरव बढाउन महावाणिज्यदूत हमालले पोर्चुगलवासी नेपालीहरुलाई विशेष आग्रहसमेत गरेका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल राष्ट्रिय अभिभावक संघ अर्घाखाँचीको साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले बाबुराम पन्थीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सीता सिर्पाली, चन्द्रमणि बेल्बासे ,सचिवमा भरत थापा, सहसचिवमा ठाकुर प्रसाद खनाल, कोषाध्यक्षमा पोम नारायण पौडेल र सहकोषाध्यक्षमा चुरा बहादुर घर्ती चयन भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली, संघका केन्द्रीय सचिव राम बहादुर रायमाझी, नेपाली कांग्रेसका जिल्ला सदस्य लिलाधर बस्याल, नेकपा एमालेका जिल्ला सदस्य सरोज भुसाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छम कुमारी खनाल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, संघका प्रदेश अध्यक्ष थानेश्वर खनाल, प्रदेश सचिव हरि प्रसाद रेग्मी, प्याब्सन, एन प्याब्सनका प्रमुख तथा प्रतिनिधिहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रम संघका जिल्ला अध्यक्ष बाबुराम पन्थीको अध्यक्षता तथा सचिव चन्द्रमणि बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : तिला गाउँपालिकाको स्वास्थ्य शाखाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जनासँग उपाध्यक्ष कार्याक्रमअन्तर्गत तिला गाउँपालिकाको माने चौरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ४ जना लाभान्वित भएका छन् । शिविरमा स्त्रीरोग, हड्डी, नसालगायतका रोग चेकजाँच गरिएको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । शिविरमा पाठेघरको जाँच पनि गरिएको उनले बताइन् ।
महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएका पाठेघरको पनि जाँच गरिएको उनले बताइन् । उनले भनिन्, ‘कम उमेरमा विवाह गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम बढेको छ ।'
त्यस्तै स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका महिलाको रिङ पेसरी राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हर्क बहादुर रावतले बताए । उनले भने, ‘तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको छ । जटिल समस्या भएकाहरुलाई अस्पतालमा रिफर गरिएको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेको छ । यस कारण यो शिविरबाट विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्करुपमा प्राप्त गर्दा राहत अनुभव गरेका छन् ।'
त्यस्तै पिछडिएका नागरिकका लागि शिविर निकै उपलब्धिपूर्ण भएको तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले बताए । उनले भने, 'यहाँका नागरिकलाई स्वास्थ्य जाँच गराउन कठिन छ, तर यसपटक जनताले गाउँमै स्वास्थ्य सेवा पाऊन् भन्ने हाम्रो उद्देश्य हो । शिविरमा स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै ग्याष्ट्रिक, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथ, पेट, खोकी र श्वासप्रश्वासलगायत रोगको उपचार गरिएको छ ।'
मकवानपुर : बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको सभामुख भुवनकुमार पाठकले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।
सभामुख पाठकले आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
रुपन्देही : रुपन्देहीको लबासमा एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै बुटवल ११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराई घाइते भएका छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै तीन जनालाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिब ५ बजे बाटोमा हिँडिरहेका उनीहरुलाई एम्बुलेन्सले ठक्कर दिएको हो ।
घाइतेहरुलाई स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा एक जनाको बिहान ५ः३४ बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले बताएको छ । घाइते दुई जनाको भने लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
काठमाडौं- चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर भत्काउन शुरु भएको छ । काठमाडौं महानगरपालिकाले रुसडक अतिक्रमण गरी बनाएका छर भत्काउन शुरु गरेको हो ।
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ ।
डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं : वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ, शहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ । अझैं भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ ।
अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु लिइरहेका छन् । आधुनिक विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसँग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा शनिबार सचेतनासहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ ।
‘हेल्थ याद आयो’ नामक निजी क्षेत्रको संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफलस्थित कोहिनर हिल कलोनीमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य परामर्श, परीक्षण तथा ल्याव परीक्षण सेवामा कलोनीभित्र र आसपासका बासिन्दाले पाएका हुन् ।
बिहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कोलोनीमा बसोबास गर्ने १०७ आवास गृहका करिब ६० प्रतिशत बासिन्दाले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका थिए, भने एउटै व्यक्तिले मधुमेह, युरिक एसिड, रक्तचाप, छालारोग, दन्तरोग लगायतका थुप्रै निःशुल्क सेवा लिएका थिए ।
ललितपुर एकान्तकुनास्थित शोवा हेल्थ केयर सेन्टर र लाइफ क्वेष्ट क्लिनिकल ल्यावको सहकार्यमा सञ्चालित उक्त शिविरमा मधुमेह, युरिक एसिड, रक्तचाप र दन्तरोगको परीक्षण निःशुल्क गरिए तापनि अत्याधुनिक स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धि रोगको परिक्षण (विश्लेषण सहित), अन्य विभिन्न किसिमका जटिल रोगहरुको लागि रगत तथा पिसाब संकलन र परिक्षणहरु एकदमै तोकिएको दररेट भन्दा कम न्यूनतम शुल्क अर्थात् ६५ प्रतिशतसम्म छुट दिइएको थियो ।
दुई वर्षको बालकदेखि ८३ वर्षका जेष्ठ नागरिकहरुले सेवा लिएको उक्त शिविरमा भिडियोको माध्यमबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले रोगको बारेका सचेतनामूलक लेक्चर दिएका थिए भने ‘हेल्थ याद आयो’ का प्रबन्ध निर्देशक प्रज्वल चुकेले शिविरमा आएका सेवाग्राहीहरुलाई मोवाइल एप डाउनलोड गर्ने, चलाउने तरिका र यसको माध्यमबाट देशभित्र तथा वाह्य मुलुका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुसँग लिन सकिने स्वास्थ्य परामर्श सेवा सम्बन्धी जानकारी दिएका थिए । शिविरमा दाँत सम्बन्धी रोगको परीक्षण ३० जनाले लिए भने स्किन एनेलाइजर मेसीनद्वारा छाला सम्बन्धी रोगको परीक्षण २९ जनाले लिएको शोवा हेल्थ केयर सेन्टरकी बजार प्रबन्धक जस्मी कर्माचार्यले जानकारी दिइन् ।
एक वर्षअघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको ‘हेल्थ याद आयो’का संस्थापक प्रबन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार तथा कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परीक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रबन्ध निर्देशक चुकेले बताए ।
‘हेल्थ याद आयो’ का हेल्थ केयर व्यापार प्रवन्धक रिना भट्टराईले यस्तो किसिमको स्वास्थ्य शिविर भविष्यमा काठमाडौं उपत्यका बाहिर नेपालगञ्ज लगायत देशका प्रमुख शहरहरुमा सञ्चालन गरेर मोवाइल एपको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
उक्त शिविरको पुरै अवधिभर शिविरका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने कोहिनुर हिल कलोनी सञ्चालक समितिका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका पूर्व वरिष्ठ पत्रकार अच्युत अधिकारी, समितिका उपाध्यक्ष सुरेश शाक्य लगायत अग्रजहरुको सहभागिता रहेको थियो ।
शिविरमा ‘हेल्थ याद आयो’को तर्फबाट ल्याव प्रमुख जीवन तिवारी, फर्मासिष्ट विवेक थापा, अनिष र सिमन लगायतले रगत संकलन तथा परामर्श सेवा दिएका थिए ।
सहकार्य गर्ने शोवा हेल्थ केयर सेन्टरको तर्फबाट दन्तरोग विशेषज्ञ डा.स्वीकृति सुवेदी, सानु तामाङ, आर्या चित्रकार र रचना सिलवालले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिएका थिए भने लाइफ क्वेष्ट क्लिनिकल ल्यावका विशाल नेपाल र ल्याव असिष्टेन्ट सविना रावलले रगत संकलन र परीक्षण सेवा उपलब्ध गराएका थिए ।
कृष्ण तिवारी/मध्यान्ह
रौतहट : भारतसँग सीमा जोडिएको रौटहटको नाका शनिबार राति १२ बजेदेखि ७२ घण्टाको लागि बन्द हुने भएको छ । भारतमा पाँचौ चरणको लोकसभाको निर्वाचनको क्रममा सीमावर्ती क्षेत्रमा जेठ ७ गते निर्वाचन हुँदैछ । सो क्रममा नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
निर्वाचनलाई लक्षित गर्दै जेठ ५ गते शनिबार राति १२ बजेदेखि लिएर जेठ ७ गते राति १२ बजेसम्म रौतहटको राजदेवी नगरपालिकाको ब्रम्हपुरदेखि इशनाथ नगरपालिकाको बन्जरहासम्म सीमा नाकाहरु पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले पत्र जारी गर्दै जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी पत्रमा राजदेवी नपा ९ ब्रम्हपुरदेखि लिएर इशनाथ नपा १ को बन्जरहासम्म शनिबार मध्य रातिदेखि भारततर्फ ओहरदोहर गर्न पूर्णरुपमा रोक लगाइने बताइएको छ ।
यसैगरी छैटौं चरणको निर्वाचन नजिकै शिवहर र चम्पारण क्षेत्रमा जेठ १० गते निर्वाचन हुँदा शिवहर र चम्पारणसँग रौतहटको सीमा लाग्ने भएको हुँदा जेठ ८ गते राति १२ बजेदेखि लिएर १० गते राति १२ बजेसम्म इशनाथ नगरपालिका १ देखि बौधीमाई ७ बंकुलसम्मको सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । निर्वाचन सकिएपछि सीमा नाकाहरु सुचारु हुने उनले बताए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा विपद् व्यवस्थापनका लागि नीति तथा योजना निर्माण गर्न सुझाव संकलन गरिएको छ । एक कार्यशालाको आयोजना गर्दै विपद् व्यवस्थापन नीति तथा कार्यक्रममा समेटिनुपर्ने सुझाव संकलन गरिएको हो । बढ्दो प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले समस्या निम्त्याइरहेको र समयमै स्थानीय सरकारले यस विषयमा जोड दिन सुझाव संकलन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लामा नदी दोहन रोक्ने नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले अघिपछि डोजर लगाउने र त्यही स्थानमा योजना माग्ने चलन भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।
किर्डाक नेपालको आयोजना, वल्र्डभिजन इन्टरनेश्नलको सहयोगमा आयोजना गरिएको कार्यशालामा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाले विपद्को क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गर्दै आइरहेको बताए । उनले कुनै विपद् आएमा अन्य योजना काटेर पनि विपद्मा जोड दिइने बताए ।
उपमेयर रामदेवी खड्काले जुगाँडखोला जोगाउने नीति कार्यक्रममा जौ करिडोर निर्माणमा तीव्रता दिने प्रतिबद्धता जनाइन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपद्को भावी योजनाका लागि गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बताए । एकीकृत रुपमा सबै मिलेर विपद्को सामना गर्न आजको आवश्यकता रहेको उनले बताए । उनले अग्रिम सूचना प्रणाली महत्वपूर्ण भएको बताए ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भीमबहादुर रावतले सिँचाई,कुल्हो, खानेपानीका मुहान सुक्दै जान थालेकाले समस्या भएको बताए । उनले सो अनुकुलका योजना, जथाभावी गिट्टी र बालुवा उत्खनन् रोक्ने नीतिमा लाग्नुपर्ने बताए ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेम बुढ्थापाले जिल्लामा विपद् व्यवस्थापन बैंक आवश्यकता रहेको सुझाव दिए । त्यस्तै चन्दननाथ नगरपालिकाका विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले विपदको क्षेत्रमा काम गरिरहेको बताए । यो कार्यकालमा प्रति वर्ष ६० लाखको बजेट विपद् शाखामा विनियोजन गरिएको छ । उक्त कोषमा न्यूनतम १० लाख राख्ने गरिएको छ । नगरले विपद् ऐन, जलवायू अनुकुलन ऐन निर्माण गरी काम भइरहेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका ईश्वरा सुवेदीले नेपाल सरकारको सवै संरचनामा विपद् समितिको संरचना विषयमा जानकारी दिइन् । उनले विपद्मा सबैको सहकार्य आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष टेकबहादुर रावतले सूचना एप्स निर्माण तथा वातावरणीय असरको प्रभाव रोक्ने विषयमा सबै एकजुट हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जिल्लाको विपद्को अवस्थाको तथ्यांक संकलन गरिनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा किर्डाक नेपालका एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाका संयोजक श्रीबहादुर भण्डारीले स्थानीय सरकारले नीति कार्यक्रम ल्याउने तयारी गर्दै गर्दा सुझाव संकलन गरेर आवश्यक योजना बनाइने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।
लक्ष्मण यादव/मध्यान्ह
सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन शुरु गरेको छ । यसअघि नगरपालिकाले १५ दिने सूचना जारी गर्नुका साथै शुक्रबार माइकिङ गरेर अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो ।
पैदलयात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले उद्योग वाणिज्य संघ बरहथवाको समेत समन्वयमा शनिबारबाट फुटपाथ ‘क्लियर’ बनाउने अभियान थालनी गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान, बोर्ड तथा मोटरसाइकल राख्दा सवारी तथा सर्वसाधारणको आवागमनमा कठिनाइ हुने गरेको छ ।
नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालले बजार क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि सडक पेटीको अतिक्रमण हटाउन शुरु गरिएको जानकारी दिइन् । ‘सडक पेटीलाई अतिक्रमण गरी व्यापारीले पसल सञ्चालन गर्नुका साथै भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्रको सुन्दरतामा ह्रास आयो,’ उनले भनिन्, ‘बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठेरो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन शुरु गरिएको हो ।’
अस्थायी ट्राफिक प्रहरी कार्यालय बरहथवाका प्रमुख रविभुषन सिंहले बजारको सडक तथा सडक पेटीमा व्यापारीको अनधिकृत संरचना हटेपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies