लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको जगरनाथपुर गाउँपालिका– ५ धर्मपुर मसिहानीमा सोमबारबाट विष्णु महायज्ञ हुने भनेको छ । महायज्ञको अवसरमा आइतबार बाजागाँजासहित कलश यात्रा निकालिएको छ । सोमबारदेखि ९ दिवासीय श्री विष्णु महायज्ञ शुभारम्भ हुने आयोजकले जनाएको छ । आगामी जेठ १४ गतेसम्म चल्ने महायज्ञको पहिलो दिन आइतबार भव्य कलशसहितको शोभायात्रा निकालिएको हो ।
कलशसहितको शोभायात्रा चिलझपटी, झाखर, मसिहानी, मधुवाहन, धर्मपुर गाउँ हुँदै मधुवाहा नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर जगरनाथपुर गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर समापन भएको थियो ।
कलश तथा शोभायात्रामा ७ सय ५१ जना कुमारी कन्याका साथै करिब ४ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक लालबाबु पटेलले बताए । शोभायात्राले विभिन्न गाउँको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाउँ–ठाउँमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, फ्रुटी, फलफूलहरु बाँडेका थिए ।
शोभायात्रामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य, पर्सा क्षेत्र न.४ को संघीय सांसद एवं पूर्व मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए । सो अवसरमा विशिष्ट अतिथि मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सासंद शंकर चौधरी, रमेश पाण्डे, नवीन सिंह, वशिष्ठनारायण कुर्मी, प्रमुख प्रशासकीय कृष्ण नन्दन यादव, वडा अध्यक्ष बिहारी नुनिया, शुभाष यादव, लक्ष्मी साह तेली, नेपाली कुशवाहा लगायत स्थानीय अगुवा नेता कार्यकर्ता एवं गाउँबासीको उपस्थिति रहेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । सो शिविरमा ४ सय भन्दा बढी आँखाका बिरामीले आँखा जाँच गराएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव जगदिश चन्द्र नेपालीले जानकारी दिए ।
भूमिकास्थान नगरपालिकाको आयोजना नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अर्घाखाँची प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराउन पाउँदा स्थानीय सरकार भएको महसुस गरेको बताए । शिविरमा ३७ जनामा मोतियाविन्दु समस्या देखा परेको नेपाल नेत्रज्योति संघ अर्घाखाँची शाखा प्रमुख सागर घिमिरेले जानकारी दिए ।
जिल्लाको एक नगरपालिकामा आँखाका बिरामी जाँच गर्दा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले अर्घाखाँची जिल्लामा मोतियाविन्दुको भयावह स्थिति देखिएको बताउँदै घिमिरेले भने, ‘आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशत बिरामीमा मोतियाविन्दु देखा परेको छ ।’ बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण भएको धेरैमा यो समस्या देखिएकोले मोतिया बिन्दु देखिएका बिरामीहरुलाई १४ गते सन्धिखर्क आँखा उपचार केन्द्रमा शल्यक्रिया गरिने शाखा प्रमुख घिमिरेले बताए ।
मोतियाविन्दु रोगको उपचार शल्यक्रिया ग्रामीण भेगमा नहुने कारण उनीहरुलाई जिल्लामा बोलाएर उपचार गरिने समेत घिमिरेको भनाइ छ । आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा ग्रामीण भेगमा मोतियाविन्दुका बिरामी बढेका हुन् । अहिले भेटिएका उपचार गराउन नपाएका मोतियाविन्दुका बिरामीलाई अर्को शिविर राखेर जिल्लामा निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख झबिलाल थापाले बताए ।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख थापाले नगरपालिकाभित्र यस पटक दुई ठाउँमा शिविर सञ्चालन गरी नगरवासीलाई आँखा सम्बन्धी स्वास्थ्य परीक्षण गर्न लागिएको बताए ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले नगरबासीको चाहना अनुसार शिक्षा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय फड्को मार्ने गरी काम गर्न जनप्रतिनिधिहरु लागि परेको बताए ।
नगरपालिकामा रहेका दृष्टिविहीन तथा आखाको अपाङ्गता भएका असाहय गरिबी तथा अशक्त आँखाका बिरामीहरुलाई नगरपालिकाले अब निःशुल्क आँखा उपचार गर्ने योजना अनुसार अगाडि बढेकाले जनप्रतिनिधिहरुलाई कर्मचारीले सहयोग गरी अभियान सफल बनाउने प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले लोकसेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ ।
महिला, दलित, अपाङ्गता, अल्पसंख्यक, मुक्त कमलरी तथा पिछडिएको वर्ग र सिमान्तकृत समुदायका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो ।
सहभागीहरुको क्षमता वृद्धि गरी उनीहरुलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्य राखेर तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । लोकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा शुरु गरेको गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले बताए ।
युवाहरुमा सिकाइ उपलब्धी बढाउँदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिकका रुपमा स्थापित गराउने लक्ष्य समेत लिइएको उनको भनाइ छ ।
‘युवा युवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा शुरु गरिएको हो’, उनले भने ।
गाउँपालिकाको सो योजनामा बास नेपालले सहजीकरण गरिरहेको छ । एक महिनामा लोकसेवा ५२ वटा कक्षा सञ्चालन हुनेछन् । गाउँपालिकाले दुई लाख रुपैयाँ रकम विनियोजन गरेर तयारी कक्षा सञ्चालन गरेको हो । विनियोजित रकमको ३१ प्रतिशत बास नेपालले लगानी गरेको छ ।
६ वटै वडाबाट सहभागी छनोट गरेर राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार)को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जानकारी दिइन् ।
गाउँघरमै लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका युवायुवती खुसी भएका छन् । गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि यसैका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको तयारी कक्षामा सहभागीहरुले बताए । ‘गाउँपालिकाले सञ्चालन गरेको कक्षाले हामीलाई सहज भएको’, उनीहरुले भने, ’गाउँपालिकामा नै कक्षा लिन पाउँदा खुसी लागेको छ । स्थानीय स्तरमै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोले हामीले धेरै खर्च गरेर नेपालगञ्ज, टिकापुर, काठमाडौंलगायत ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दलेले तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने बताए । ’सरकारी सेवामा प्रवेश गर्न सहजता थप्न तयारी कक्षा सञ्चालन गरेका हौँ’ उनले भने, ‘कक्षा सञ्चालनले सहभागीहरुलाई निजामती तथा शिक्षा सेवाका क्षेत्रमा प्रवेश गर्न सहज हुनुका साथै मानव संशाधन विकासमा समेत सघाउने छ ।’
स्थायित्व र वृत्ति विकासको सबैभन्दा राम्रो अवसर निजामती सेवामा रहेकाले देशका लागि सक्षम जनशक्ति उत्पादन गर्दै पछाडि परेको महिला, दलित, अपाङ्गता अल्पसंख्यक मुक्त कमलरी तथा पिछडिएको वर्ग र सिमान्तकृत समुदायको सहभागिता वृद्धि गर्न कार्यक्रमले सघाउने विश्वास गरिएको छ ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल र सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीलेले ठुलीभेरी नगरपालिका वडा नं. २ का ३० वर्षीय राज कामीलाई आमा सुनरुपी कामीको नामबाट नागरिकता प्रदान गरेका हुन् ।
आमाको नामबाट नागरिकता पाउने नागरिकता ऐन जारी भएसँगै डोल्पामा पहिलो पटक विभिन्न प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।
नयाँ नागरिकता सम्बन्धी ऐन आएपछि विभिन्न प्रक्रिया पूरा गरी राजलाई नागरिकता दिन सफल भएको ठुलीभेरी नगरपालिका–२ का वडा अध्यक्ष कमल बहादुर क्षेत्रीले बताए । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले गर्दा कोही पनि नागरिक नागरिकता पाउनबाट बञ्चित हुने छैनन् भन्ने विश्वास रहेको वडा अध्यक्ष क्षेत्रीले बताए ।
आमाको नामदेखि धेरै संघर्षको साथ नागरिकता प्राप्त गरेको भन्दै राजले खुसी व्यक्त गरे । उनले नेपाली नागरिक बन्नको लागि नागरिकता बनाउन विभिन्न स्थानबाट पहल कदमी गर्ने सबैलाई सम्झिँदै धन्यवादसमेत व्यक्त गरे । नागरिकता प्राप्त गरेसँगै राज जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यक्ति बनेका छन् ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमीमा एक घरमा आगलागी भएको छ । स्थानीय गाेर्खबहादुर केसीको घरमा आगलागी भएको हो । विद्युत सट भएर शनिबार राति ८ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा राति ११ बजेपछि आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले बताए । उनका आगलागीबाट २५ लाख रुपैयाँ बढीकाे क्षति भएकाे छ । सुन, नगद, अन्नपात, लत्ताकपडालगायत जलेर नष्ट भएकाे डीएसपी पाेख्रेलको भनाइ छ । क्षतिकाे एकिन विवरण भने आउन बाँकी रहेकाे उनले जानकारी दिए ।
आगलागीले घरको माथिल्लो तला पूर्णरूपमा क्षति भएको बताइएको छ । तल्लो तलामा भने खासै क्षति नभएको प्रहरीको भनाइ छ ।
मकवानपुर : बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।
बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेश सभा सदस्यहरुले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए । उनीहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।
उनीहरुले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए ।
यसैगरी सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयो गरी राजस्व संकलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उनीहरूले आग्रह गरे । यस्तै काठमाडौँ उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनीहरूले चिन्ता व्यक्त गरे ।
बैठकमा प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुङ्गाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईँ, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपानेलगायतले सुझाव प्रस्तुत गरेका थिए । प्रदेश सभाको अर्को बैठक भोलि जेठ ७ गते बिहान ११ बजे छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.को आयोजनामा ‘ट्राफिक सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि एकदिने ट्राफिक सचेतना कार्यक्रम गरिएको प्रा.लि.का अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहजीकरण गरेका थिए ।
कार्यक्रममा यातायात व्यवसायी तथा चालकहरुलाई सवारीसम्बन्धी विद्यमान कानून, नियम, दुर्घटना न्युनीकरणका उपाय, चालकले देखाउनुपर्ने नैतिकता, चालकले अपनाउनुपर्ने सावधानीसहित ट्राफिक चिह्नका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक र सवारी धनीलाई दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सचेतना जगाउन कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डीएसपी राठोरले सडक सुरक्षा, ट्राफिक नियम, चिह्न तथा संकेतहरु, सवारी चलाउँदा वा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा बेला–बेलामा यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य लक्ष्मण घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमलगायतले विभिन्न त्रुटिका कारण दुर्घटना हुने गरेको भएपनि मानव नै जिम्मेवार बन्नुपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमले प्रस्तुतिकरण गरेको कार्यक्रममा यातायात व्यवसायी र चालक गरी ४० जनाको उपस्थिति रहेको थियो । अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.का अध्यक्ष महेन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नामदेव बस्यालको स्वागत मन्तव्य रहेको थियो । संस्थाका महासचिव पशुपति भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : २५६८औं बुद्ध जयन्तीको उवसरमा यशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेले रक्तदान कार्यक्रम आयोजना गरेको छ । हाम्रो शाक्य समाज बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि पदम कुमार शाक्य र यशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेकी अध्यक्ष सुर्दशना शाक्यले रगत संकल गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश दहितलाई संयुक्तरुपमा हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सुरेश पोखरेल, सीता शाही, ज्योति शाक्य, निर्मला बिक, तुलसी बस्नेत, आँचल तम्राकार, अजय गुप्ता, केशव क्षेत्री, सन्तोष सोतीमगलगायत १६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल पुलामी, महेश दहित केशर सिंह डाँगीलगायतले प्राविधिकमा सहयोग गरेका थिए । उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष शीला शाक्य, मीना तुलाधर, लता शाक्य, सञ्जु शाक्य, मुना शाक्यलगातयको सहभागिता रहेको थियो ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा शनिबार रातिको हावाहुरीसँगै परेको वर्षाले बिजुलीको पोलमा क्षति पुग्दा अधिकांश ठाउँमा विद्युत अवरुद्ध भएको छ । हावाहुरीले बिजुलीको पोलमा क्षति पुग्दा जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र बगहा, गाईघाट, राजाबास, चुहाडे, जोगिदह र कटारी नगरपालिकाको कटारी क्षेत्र तथा पहाडी ग्रामिण भेगका उदयपुरगढी, ताप्ली, लिम्चुङ्बुङ, रौतामाईलगायतका स्थानमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा उदयपुरका प्रमुख विजयबाबु खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार त्रियुगाअन्तर्गत राजाबासमा ४, जोगिदहमा ३, जल्जलेमा १० तथा कटारी नगर क्षेत्रअन्तर्गत ४ लगायत अन्य स्थानमा गरी करिब ३० वटा पोलमा क्षति पुगेको छ । उनले बिजुली पोलको मर्मत गरेपछि करिब ८/१० घण्टापछि त्रियुगा नगरपालिका, गाईघाट बजार आसपास क्षेत्र र लिम्चुङ्बुङ गाउँपालिकामा विद्युत सञ्चालन भएको जानकारी दिए ।
अन्य ठाउँमा मर्मत कार्य भइरहेको उनले बताए । हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा किसानहरु मर्कामा परेका छन् ।
मकवानपुर : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले नि:शुल्क लेखासम्बन्धी तालिम आयोजना गरेको छ ।
आइतबारदेखि १० दिनसम्म सञ्चालन हुने उक्त तालिममा किशोर अर्यालले प्रशिक्षण दिनेछन् । विद्यार्थीहरुको शैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास क्षमताको विकासका लागि तालिम आयोजना गरिएको अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष अभ्युदय खनालले जानकारी दिए । तालिममा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत १२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।
क्याम्पस कमिटीका अध्यक्ष खनालको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. याम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies