पवन जायसवाल/मध्यान्ह
बाँके : प्राकृतिक सुन्दरताले भरिएको देशको ऐतिहासिक धरोहर खप्तडमा रक्तदान कार्यक्रम गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय कार्य समितिको पाँचौ बैठक सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको निमित्त रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्दै कार्यक्रमको शुरूवात गरेका थिए । सो कार्यक्रमले ३ हजार ३०० मिटर भन्दामाथि पनि सहजै तरिकाले रक्तदान गर्न सकिन्छ भन्ने सन्देश खप्तडबाट प्रवाह गरेको छ ।
स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान शुभारम्भ गर्नको लागि समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्लेलाई रगत संकलन गर्ने पाकेट प्रदान गरेका थिए । सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य बिमल भित्राकोटी, प्रेमप्रसाद लम्साल र शिखर नगरपालिकाको पूर्व प्रमुख सीताराम जोशी समेतले रक्तदान गरेका थिए ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का सुशील घर्ती, समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर र खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणी पौडेल लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा समरजीत गुल्मको मेडिकल टिमले प्राविधिकमा सहयोग गरेका थिए ।
मकवानपुर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा क्याम्पस इकाई कमिटीको पाँचौं सम्मेलन सोमबार सम्पन्न भएको छ ।
सम्मेलनले प्रमिला सिन्तानको अध्यक्षतामा सदस्यीय हेटौंडा क्याम्पस इकाई कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षहरुमा राज रसाईली, आर्जु राई, सचिवमा ईश्वर ढुंगेल, सहसचिवमा खुसी पौडेल, कोषाध्यक्षमा निश्चला सिलवाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सलोनी थापा क्षेत्री, रोजी थापा मगर, साजन भण्डारी, खुस नन्दन चौधरी लगायत चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज बिजय गौतमको प्रमुख आतिथतामा सम्पन्न सम्मेलनमा गौतमले बिद्यार्थीहरुले अध्ययनसँगै हाल विकसित सूचना प्रविधिलाई उपयोग गरी आफ्नो क्षमतालाई विकास गर्नुपर्ने बताए ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान (ज्वाला), हेटौडा क्याम्पसका क्याम्पस प्रमुख देबिराम लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज ध्रुवराज ढकाल, अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी)का केन्द्रीय सचिव दिनेश सुवेदी, बागमती प्रदेश कमिटी सचिव रामकृष्ण सिवाकोटी, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति छोर्ईसाङ लामा लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलन क्याम्पस इकाई कमिटीका अध्यक्ष निश्चल रसाईलीको अध्यक्षतामा भएको भएको थियो ।
ओम प्रकाश यादव/मध्यान्ह
रौतहट : रौतहटको माधवनारायण नगरपालिका कार्यालयको प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ ।
माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक माधवनारायण नगरपालिका कार्यालयको प्रशासनिक भवनको निर्माणको काम द्रुत गतिमा भइरहेको छ । करिव एक महिना अघि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले शिलान्यास गरेको पालिकाको भवन निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको हो ।
भवनको मेयर यादवले अनुगमन निरीक्षण गरेका छन् । अनुगमनको क्रममा मेयर यादवले काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
काममा कुनै प्रकारको कमसल सामग्री प्रयोग नगर्न आग्रह गर्दै मेयर यादवले गुणस्तरहीन काम गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिए ।
पालिकाको भवन निर्माणका लागि नगर प्रमुख यादवले आफ्ना करोडौंको जग्गा निःशुल्क रुपमा नगरपालिकाको नाममा दान गरेका थिए । नगर प्रमुख यादवले निःशुल्क उपलब्ध गराएको जग्गामा अहिले माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ ।
पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको मेयर यादवले बताएका छन् । साढे दुई वर्षभित्रमा भवनको निर्माण कार्य सकिने लक्ष्य राखिएको मेयर यादवले बताए ।
कुल २५ वटा भन्दा बढी कोठा भएको कम्पाउण्डवाल सहित अत्याधुनिक डिजाइनको साढे तिन तलाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण हुने उनले बताए ।
भवनमा मेयर र उपमेयरको अलग/लग कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग÷अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि निर्माण हुनेछन् । भवनमा अपांग, अशक्त, बिरामी र वृद्धवृद्धालाई तलबाट माथि र माथिबाट तल ओहोर दोहोर गर्न सहज होस भन्ने उद्देश्यले लिफटको समेत व्यवस्था गरिने मेयर यादवले बताए ।
लिफ्टसहितको प्रशासकीय भवन निर्माण गर्ने जिल्लामा माधवनारायण नगरपालिका पहिलो पालिका हुनेछन् । जिल्लाको अहिलेसम्म कुनै पनि पालिकाको प्रशासकीय भवनमा लिफ्टको सुविधा छैन ।
२०७४ सालमा स्थानीय तहको स्थापना भएदेखि नै माधवनारायण नगरपालिका कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । सो पालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदा वार्षिक लाखौं रकम पालिकाको भाडामै खर्च हुँदै आएको छ ।
माधवनारायणले आफ्नै भवन नबनाउँदा भाडामा अरुको घर लिएर कार्यालय सञ्चालन गर्दा लाखौं बजेटको रकम भाडामै बुझाउनुपर्ने बाध्याता छ । माधवनारायण नगरपालिका कार्यालय विगत ७ वर्षदेखि भाडाकै घरमा सञ्चालन हुँदै आएको छ ।
पालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएपछि भाडा वापत वार्षिक तिर्दै आएको लाखौं रकम पालिकाको बचत हुने भएको हुँदा नगर प्रमुख यादवले आफ्नै जग्गा दान गरेर पालिकाको भवन निर्माण गर्न थालेका हुन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा मेयर जितेका विरेन्द्र प्रसाद यादवले विकास कार्यमा धेरथोर ध्यान दिएपनि नगरपालिकाको कार्यालय सञ्चालनको लागि आफ्नै भवन भने निर्माण गर्न असफल भएका थिए ।
२०७४ सालमा जितेका जनप्रतिनिधिले सो बेला कार्यालय सञ्चालनका लागि नगरपालिकाको वडा नम्बर ६ माधोपुरस्थित घर भाडामा लिएका थिए ।
७ वर्षअघि भाडामा नगरपालिकाको कार्यालय सञ्चालनका लागि लिइएको घरमै अहिले पनि भाडा तिरेरै नगरपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ ।
नगरपालिकाको कार्यालयका लागि घर भाडामा लिनुपर्दा वार्षिक लाखौं रकम भाडामै नगरपालिकाले खर्च गर्दै आएको छ ।
पहिलाको मेयर विरेन्द्र यादव पालिकाको भवन निर्माण गर्न असफल भएपनि दोस्रो स्थानीय तहको निर्वाचनमा मेयर जितेका बैजनाथले आफु निर्वाचित भएको २ वर्षपनि नबित्दै माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य शुरु गर्न सफल भएका छन् ।
मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहा बरियारपट्टी गाउँपालिकामा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर भएको छ । वडा नं.३ स्थित बरियारपट्टी गाउँपालिकाका कार्य कक्षमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, बरियारपट्टी गाउँपालिकाको उपाध्यक्ष ममता कुमारी यादव, बरियारपट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राई, नगर शिक्षा शाखा प्रमुख बिरेन्द्र कुसियैत, बरियारपट्टी गाउँपालिकाका अन्य शाखा प्रमुखहरु, ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाका प्र.व.ना.नि. संजीब साह तथा प्रहरी कर्मचारीहरु, लगायत बरियारपट्टि गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुको प्रधानाध्यापकहरुको उपस्थितिमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ को अवधारणा अनुरुप ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’को समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका २०८० को सम्बन्धमा प्र.उ. रमेश पण्डितले विस्तृत जानकारी गराएका थिए ।
यस्तै गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीले विद्यालयमा पुस्तिका लागु गर्ने सम्बन्धमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख र बरियारपट्टी गा.पा.को नगर शिक्षा शाखा प्रमुखको साझेदारीमा गा.पा. अध्यक्ष प्रमुख जिल्ला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरु समेटिएका पुस्तिका बरियारपट्टी गाउँपालिका अन्तर्गतका विद्यालयहरुका पाठ्यक्रममा प्रविष्ट गराइ छात्र छात्राहरुलाई अध्यापन गराउने भनि समझदारी पत्रमा हस्ताक्षर गरिएको प्रहरी उपरीक्षक पण्डितले बताए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : सडक पूर्वाधार विकास कार्यालयले विगतमा काम नभएको र निर्माण व्यवसायीले आलटाल गरिरहेको भन्दै सन्धिखर्कमा फास्ट ट्याकमार्फत सडक निर्माणको कामलाई दु्रत गतिमा अगाडि बढाएको छ । अहिले बल्कोट नेटा तम्घास सडकदेखि अन्य साना ठूला सडकहरु निर्माणको कामलाई प्रभावकारी रूपमा अगाडि बढी रहेको छ ।
कार्यालयले अहिले सन्धिखर्क पाणिनी क्याम्पस चेयानडाँडा पटुवाथुम सडकखण्ड र सन्धिखर्क कुर नुवाकोट सडकखण्डका विभिन्न ठाउँमा रहेका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने काम सम्पन्न गरेको छ । अन्य साना ठूला गरी दर्जनौं सडक आयोजनाका कामहरू द्रुत गतिमा अगाडि बढेको कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर गोपीराज पुनले बताए ।
कार्यालयले सडक निर्माण र केही ठाउँमा पुल निर्माणको कामलाई निरन्तर अगाडि बढाएको र केही सम्पन्न हुने, केही सुरुवात भएको पुनको भनाइ छ ।
भूमिकास्थान नगरपालिका टोड्केदेखि लामातालसम्म ३० किलोमिटर सडकको काम अहिलेसम्म ९२ प्रतिशत निर्माण कार्यको प्रगति भएको छ । यो सडकको काम अन्तिम चरणमा पुगेको र गछ्छेदेखि ढिकुरासम्म ५.५० किलोमिटर कालोपत्रे गर्नका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले निर्देशन गर्नासाथ कामलाई अगाडि बढाउने इन्जिनियर पुनले बताए ।
पुनका अनुसार मालारानी पहँुचमार्ग अन्तर्गत पर्ने चेहेनडाँडा डिभर्ना खन खनदह डाडाँकटेरी सडकको काम अहिले दु्रत गतिमा अगाडि बढिरहेको छ । सिद्धार्थ अम्मर जेभीले २०७९ सालमा सम्झौता गरी २०८१ मा सम्पन्न गर्ने गरी कार्यालयसँग सम्झौता भएको सो सडकमा अहिले २० प्रतिशत वित्तीय प्रगति र २७ प्रतिशत भौतिक प्रगति भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सो सडकमा यस वर्ष ५ करोड रुपैयाँ विनियोजन भएको छ । वहुवर्षीय सडक भएको कारण निर्माण व्यवसायी बसन्त भुसालले २० करोड ७० लाख ८९ हजार ५ सय २५ रुपैयाँमा सडक कार्यालय अर्घाखाँचीसँग सम्झौता गरी काम शुरु गरेको र काम समय अगावै रकम सरकारले दिएमा पूरा गर्ने लक्ष्य राखिएको व्यवसायी बसन्त भुसाल बताए ।
सडक पूर्वाधार कार्यालयको प्रदेश गौरवको आयोजनामा सन्धिखर्क धारापानी चुजाठाटी रामपुर–कपुरकोट सडक योजनाको काम पनि अहिले अगाडि बढिरहेको छ । यो सडकको वित्तीय प्रगति १९ प्रतिशत भएको छ, भने २०७८ सालमा एसपी ब्रदर्श अर्याल जेभीले २५ करोड ८६ लाख ९६ हजार ६ सयमा सम्झौता गरी काम शुरु गरेको र अहिले जेठको पहिलो हप्तासम्म २० प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख पुनले बताए ।
पुनका अनुसार सडक कार्यालय अर्घाखाँचीसँग २०७७ सालमा सम्झौता गरी कन्काइ जयमाता अम्बर जेभीले २१ करोड ८४ लाख ९ हजार ८ सय ६४ रुपैयाँको लागतमा डिभर्ना जर्रे खोला धारापानी छत्र गञ्ज मोडलेचौर सिमिचौर जोड्ने सडकको भौतिक प्रगति ६० प्रतिशत भन्दामाथि रहेको छ । यो सडकको काम असार मसान्तमा सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाएको र अहिले सब बेसको काम भइरहेको र आफुले पनि काम समयमा सक्नका लागि धेरै मेहनत गरेको निर्माण व्यवसायी गौतम भुसालले बताए ।
वल्कोट–तम्घास खडकखण्डको काम निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन नसकेको भनी धेरै पहिलादेखि चर्चामा रहेको सडकको समेत अहिले काम दु्रत गतिमा अगाडि बढिरहेको छ । सो सडकमा अहिले ५ किलोमिटर बेसको काम र ५ किलोमिटर सेकेन्ड कोर्टको काम सम्पन्न गरी अरु काम अगाडि बढिरहेकाले सो सडकमा दैनिक प्राविधिकहरु खटेर कामलाई निरन्तरता दिएको सडक पूर्वाधार कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख पुनले जानकारी दिए ।
जिल्लामा ५ ओटा ठूला सडक निर्माण द्रत गतिमा अगाडि बढेपछि अर्घाखाँचीबासी हर्षित छन् । केही सडकहरुको अहिले टेन्डर प्रकिया अन्तिम चरणमा पुगेको सडक कार्यालयका इन्जिनियर अशोक डवाडिले बताए ।
कार्यालय प्रमुख पुनलेले भने, ‘गछ्छे भालुवाङ सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ । यो सडक प्रदेश राजधानी दाङ जोड्ने सडक भएकोले यो सडक निकै महत्वपूर्ण मानिन्छ ।’
सडकको लामातालसम्म ग्राभेल सम्पन्न भएपछि १६ किलोमिटर ट्याक खोलिएको खण्डमा भालुभाङ पुग्न सन्धिखर्कबाट २ घण्टामा अब त्यस सडकको बिचमा पर्ने पुल समेत नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाले डिपिआर समेत बनाइ ठेक्का लगाउने तैयारिमा रहेको बुझिएको छ ।
अर्घाखाँचीको ठूलो महत्वपूर्ण सडक घुम्ती पाल्पा नरपानी नुवाकोट सडकको डेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेकोले यसै वर्षबाट ती ठूला योजनाहरुको काम पनि सुचारु हुने सडक पूर्वाधार कार्यालयका इन्जिनियर टोपबहादुर दर्लामीले बताए । सडक पूर्वाधार लगायत स्थानीय सरकारहरुले पनि अर्घाखाँचीमा धमाधम सडक कालोपत्रे गर्दै छन् ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको कटहरिया नगरपालिकाले सबै स्वास्थ्य संस्थामा म्याद गुज्रिएको औषधि वितरण भएको फेला परेको छ । नगरपालिकाले गत वैशाख १६ म्याद गुज्रिएको औषधि वितरण गरेको खुलेको हो । अंग्रेजी महिनाको अप्रिल २०२४ को १ तारिखमा म्याद सकिएका औषधि अप्रिल १८ तारिखमा वितरण गरिएको पाइएको छ । म्याद गुज्रिएको औषधि वितरण गरिएको गुनासो यतिबेला सामाजिक सञ्जालमा हुन थालेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका स्थानीय मनोज साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पालिकाले म्याद गुज्रिएको औषधि खरिद गरेको बताएका छन् ।
सो पालिकाले विशेषगरी छाला रोगमा काम लाग्ने फुङ्गी एस्ट्ट नामक औषधि म्याद गुज्रिएको खरिद गरेको पाइएको हो । मानव स्वास्थ्यसँग खेलवाड गर्दै सो पालिकाले खरिद गरेको औषधिको चौतर्फी आलोचना भइरहेको हो । म्याद गुज्रिएको औषधि कसरी र किन खरिद भएको विषयमा नगरप्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्दा शनिबार दिनभरि उनको मोबाइल स्वीच अफ रहेको थियो, भने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोनमा सम्पर्क हुन सकेन । यता स्वास्थ्य शाखा संयोजक शंकर यादवका अनुसार पालिकाले सबै स्वास्थ्य संस्थामा वितरण गर्नका लागि दिएको औषधिमा फुङ्गी एस्ट्ट म्याद गुज्रेको रहेको स्वीकार गरेका छन् ।
उनले भने, ‘औषधि खरिद गर्नेले म्याद नदेखिएको हो कि ? पठाउनेले त्रुटिपूर्वक पठाइएको हो ? त्यो विषयमा म भन्न सकिँदैन । तर म्याद गुज्रिएको फुङ्गी एस्ट्ट नामक औषधि स्वास्थ्य संस्थाहरूमा पठाइएको छ ।’
स्वास्थ्य शाखा संयोजक यादवका अनुसार म्याद गुज्रिएको औषधि सबै स्वास्थ्य संस्थाबाट फिर्ता ल्याई जिन्सी शाखामा बुझाइएको छ । यसरी मानव स्वास्थ्यसँग खेलवाड गर्दै कमिसनको लोभमा म्याद गुज्रिएको औषधि खरिद गर्नु घृणात्मक रहेको मानव अधिकारकर्मीहरू बताउँछन् । मानिसको स्वास्थ्य जस्तो अति संवेदनसिल विषयमा पनि पालिकाका स्वास्थ्य शाखाले लापरवाही गर्दा पनि त्यसलाई नियमण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।
सूर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको वडास्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको आयोजनामा जेठ २ गतेबाट शुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका अध्यक्ष हरिप्रसाद बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (ख) का इन्चार्ज निमकान्त डाँगीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा परिवर्तन गाउँपालिका इन्चार्ज हित कुमारी बुढा मगरको विशिष्ट आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार कमिटीका सदस्य दल बहादुर बुढा मगरको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रम २ जेठमा परिवर्तन गाउँपालिका–१ कुरेलीको खरिबोटमा सम्पन्न भएको थियोे । ३ जेठमा परिवर्तन गाउँपालिका–२ राङ्सीको पोखरामा सम्पन्न भएको थियोे ।
४ जेठमा परिवर्तन गाउँपालिका– इरिबाङ्को बागमारामा सम्पन्न भएको थियोे । ५ जेठमा परिवर्तन गाउँपालिका–४ पाछाबाङ्को राक्सेबाङ्मा सम्पन्न भएको थियोे ।
६ जेठमा परिवर्तन गाउँपालिका–६ इरिबाङ्को कोल्बोटमा सम्पन्न भएको थियोे भने ७ जेठमा परिवर्तन गाउँपालिका–५ राङ्कोटको सानोगोरीमा सम्पन्न भएको छ । वडास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा वडाभित्रका जिम्मेवार पदाधिकारी, क्रियाशिल कार्यकर्ताहरुको सहभागी भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यसमितिले बनाएका विधान बमोजिम प्रशिक्षण कार्यक्रम दिइएको आयोजकको भनाइ रहेको छ ।
प्रमुख प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (ख)का इन्चार्ज निमकान्त डाँगी रहेका थिए ।
विधानलाई वडास्तरसम्म पुर्याउने उद्देश्यले पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सचिव कर्ण बहादुर बुढा मगरले गरेका थिए ।
जनक श्रेष्ठ/मध्यान्ह
लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । भवनको हालसम्म ४० प्रतिशत काम सकिएको गाउँपालिकाका सूचना अधिकारी तथा इन्जिनियर सुरेश गौत्तमले जानकारी दिए ।
उनका अनुसार भवन वेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने यस भवनको आइतबार दोस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ । वेस पार्किङसहित दुई तलाको ढलान निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस निर्माणधीन भवनमा २८ वटा कोठा निर्माण हुने उनको भनाइ छ ।
वि.सं.२०८२ जेठ १४ गतेसम्म भवन सम्पन्न गर्नुपर्ने समय रहेपनि यही वर्षको पुस/माघ महिनासम्म सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । संघीय सरकारको ६० र पालिकाको ४० को साझेदारीमा यस गाउँपालिकाको भवन निर्माण भइरहेको छ ।
गाउँपालिकाका अनुसार वि.सं. २०८० जेत १४ गते सम्झौता गरेर कुल ५ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभी विदुर नगरपालिका नुवाकोटले निर्माण गरिरहेको छ ।
साझेदारीमा निर्माण भइरहेपनि संघीय सरकारबाट हालसम्म जम्मा २० लाख रुपैयाँ मात्र बजेट आएको र समयमा थप बजेट नआएमा भवन निर्माणमा समेत ढिलाइ हुन सक्ने सूचना अधिकारी गौत्तमले बताए ।
उनले गाउँपालिकाले २ करोड ४० लाख जति दिनुपर्नेमध्ये यस वर्ष छुट्याइएको १ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताए । गाउँपालिकामा १८ वटा विभिन्न शाखाहरु रहेका छन् । भवनमा अध्यक्ष/उपाध्यक्षको कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपाङ्गमैत्री ग्राउन्ड फ्लोर, वेसमेन्ट पार्किङलगायत रहने बताइएको छ । हाल सञ्चालन भइरहेको भवनबाट सेवा दिँदा समस्या भइरहेपनि गाउँपालिकाको आफ्नै र सहज भवन भएपछि सेवा दिन र लिनलाई सहज हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.६ स्थित कलौनी कान्तिपुर इङ्लिस स्कुलमा निःशुल्क योग शिविर सम्पन्न भएको छ ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नारासहित योग शिविर सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सैनामैना वडा नं.६ का वडा अध्यक्ष गोपाल पोख्रेलले विद्यालयले गरेको यस प्रकारको कार्यक्रमले समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।
योग र ध्यानले मानिसमा शारीरिक, मानसिक, संवेगात्मक, नैतिक र सामाजिक रुपमा पनि सकारात्मक प्रभाव पार्ने वडा अध्यक्ष पोख्रेलले बताए ।
जेठ ३ गते मुक्तिनाथ धामका गुरु ब्रह्मनिष्ट सन्त शिरोमणी स्वामी श्री १००८ लोकानन्दजी महाराजद्वारा उद्घाटन भइ सुचारु भएको योग शिविर सोमबार पाचौं दिनका दिन समापन भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि प्रमुख तथा प्रशिक्षक हरीशरण पाण्डेले उपस्थिति, उत्साह र सिकारुको अनुशासन देखेर आफू प्रफुल्ल भएको बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सुनिल पोख्रेलले योग शारीरिक मानसिक र आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह रहेको बताए ।
कार्यक्रम अभिभावकलाई लक्षित गर्दै गरेको र अभिभावकको बाक्लो उपस्थितिले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला प्राप्त भएको कार्यक्रमका अध्यक्ष एवम् विद्यालय प्रधानाध्यापक सुनिल पोख्रेलले बताए ।
कार्यक्रमबाट ५ सय बढी स्थानीयसँगै अभिभावक लाभान्वित भएका छन् । कार्यक्रममा विद्यार्थीहरुले गणेश वन्दना, गुरु बन्दना, हनुमान चालिसा वाचन गरी रोमाञ्चक बनाएका थिए ।
विद्यालय प्रधानाध्यापक सुनिल पोख्रेलको अध्यक्षता, सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता, योग प्रशिक्षक हरीशरण पाण्डेको विशिष्ट आतिथ्यता, सधिका विष्णु कोड्ल्य, साधिका शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कमला अधिकारीले शुभकामना एवम् शंकर बन्जाडेले सहजीकरण गरेका थिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ देउरालीमा प्राकृतिक रेशाजन्य बनस्पती थाकलको पातबाट टोपी, झोला, ढकीयालगायतका हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ ।
स्थानियस्तरमै रहेका स्रोत र साधनलाई परिचालन गरी बेरोजगारी समस्या समधान गर्दै रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्यका साथ शितगंगा नगरपालिकाको पहलमा तालिम सञ्चालन गरिएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले बताए ।
नगरपालिकाको समन्वय, सामाजिक डिभिजन कार्यलय तौलिहवा कपिलवस्तुको आयोजनामा भएको तालिमको सहजीकरण ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंले गरेको र तालिमबाट धेरै स्थानीय युवा–युवतीहरुको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताए ।
शितगंगा वडा नं. ६ का अध्यक्ष ऋषि रेश्मीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नगर प्रमुख पौडेलको प्रमुख आतिथ्यता, उपप्रमुख गिता भाटको विशिष्ट आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गरी आयआर्ज र उत्पादनमा जोडिन सबैलाई आग्रह गरे । उनले बेरोजगारी समस्या समधान गर्ने नगरपालिकाको उद्देश्य पूरा गर्ने अभियानलाई साथ दिनसमेत अनुरोध गरे ।
कार्यक्रममा उपप्रमुख भाटले उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित सामान नगरपालिकाले बाहिर लगेर बेच्नका लागि सहजीकरण गर्ने बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत शर्माले तालिमबाट सिकेर उत्पादन गरेका हस्तकला सामग्री नगरमा ल्याउनका लागि आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies