ओम प्रकाश यादव/मध्यान्ह
रौतहट : जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा मंगलबार एकैसाथ प्रतिनिधि छनोट गरिएको छ ।
जेठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो ।
जिल्लाको छुट्टाछुट्टै ठाउँमा मंगलबार बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनोट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री एवं जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, केन्द्रीय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, विश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम विहारी राय, माधव नारायण नगरपालिकाका पूर्व मेयर विरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलिप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चयन गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पूर्व मेयर राजिव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, केन्द्रीय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनोट गरिएको जिल्ला अध्यक्ष यादवले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकी राष्ट्रियसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनोट गरिएको हो ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिँचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देवीलाई सर्वसम्मतबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।
पुर्ण सार्की/मध्यान्ह
डोल्पा : डोल्पामा यार्सा संकलन गर्न विद्यार्थीहरु लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका भरिका २९ सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द गरिएको हो ।
यार्सा संकलनको समय शुरु भएकाले ०८१ जेठ ५ गतेदेखि २५ गतेसम्म नगरपालिका भरिका विद्यालय बन्द गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा संयोजक भीम बहादुर थापाले बताए ।
अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले नगरपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट वर्षे र हिउँदे बिदामा मिलान हुने गरी कम्तीमा तीन साताका लागि विद्यालय बन्द गर्नुपरेको उनले बताए ।
जडीबुटी संकलन गरिने यो सिजनमा यहाँका हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाभित्रका २९ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । डोल्पालीको मुख्य आम्दानीको श्रोत यार्सागुम्बा हो । यहाँ अन्न उत्पादन कम हुने स्थानीयले जेठ र असार महिनामा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् ।
त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको कस्तुरी माध्यमिक विद्यालय भूतिङ्ग्रका प्रधानाध्यापक विष्णुलाल केसीले बताए ।
यार्सा सिजन शुरु भएसँगै जिल्लाका त्रिपुरासुन्दरी, ठुलीभेरी नगरपालिका र जगदुल्ला, मुड्केचुला, काइके, शे–फोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङ्सोङ गाउँपालिकाका बासिन्दा लेक उक्लिने चटारोमा रहेको त्रिपुराकोटका स्थानीय जुन बहादुर सार्कीले बताए ।
यार्सा संकलनका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरु लेकतिर जाने भएकाले नगरपालिका भित्रका विद्यालय वर्षेनी १ महिना बन्द हुने गर्दछन् ।
जेठको पहिलो साता यार्सा संकलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्रै फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा संकलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।
यस भेगमा १० वर्ष उमेरका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सा संकलन गर्न जाने गर्दछन् ।
ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सागुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले बालबालिकालाई आफूसँगै लेकतिर लग्ने गर्दछन् । यार्सागुम्बा संकलनको समय नजिकिए सगै जिल्ला भित्रका बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुनेगरेको स्थानिय गंगे सार्कीको भनाइ छ ।
यार्सा संकलनका लागि स्थानीयहरु पाटन उक्लिएपछि गाउँ नै सुनसान भएको सार्कीले बताए ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाले ८० प्रतिशत भन्दा बढी छाडा पशुचौपया व्यवस्थापन गर्न सफल भएको छ । छाडा चौपयाको व्यवस्थापन गर्न नसक्दा चौतर्फी आलोचना खेपेको यस नगरपालिकाले छोटो समयमै यसलाई व्यवस्थापनमा सफलता हासिल गरेको हो ।
छाडा पशुचौपया नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले नगरभित्र रहेका ८० प्रतिशत भन्दा धेरै छाडा चौपयाको व्यवस्थापन गरिसकिएको बताए ।
उनले कोठी खोला र बैजलपुर सामुदायिक वन क्षेत्रसभित्र मात्रै ५ सय भन्दा बढी पशुचौपयालाई व्यवस्थापन गरिएको बताए । यस्तै चौवाह, कपिलधाम, भलवाड र रामदत्तीवन क्षेत्रमा गरी सयौंको संख्यामा पशुचौपया व्यवस्थापन गरेको उनले बताए । अहिले छाडा चौपयाको व्यवस्थापनसँगै नगरवासीले धेरै नै राहत महसुस गरेको उनले बताए ।
उनले मुख्यतः कृषकले लगाएका बालीहरु सखाप हुने स्थितिको अन्त्य भएको बताए । विगतको तुलनामा हाल सवारी दुर्घटना हुने दरमा समेत कमी आएको उनको भनाइ छ । उनले बाटोबाटोमा हुल बनाएर दर्जनौं गाईगोरु छरिएर हिँड्ने अवस्थाको अन्त्य भएको बताए ।
नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलले पछिल्ला दिनहरुमा जनस्तरबाट छाडा चौपयाको व्यवस्थापनका लागि पराल अस चापट जस्ता व्यवस्थापनका लागी पराल, भुस, चापट जस्ता पशुका लागि आवश्यक खाद्यान्न सहयोग अवरुप प्राप्त भएको बताए । उनले छाडा पशुचौपयाको समस्या सबैको साँझा समस्या भएकाले सबैको साँझा प्रसासबाट मात्र सम्झव भएको बताए । पौडेलले छाडा चौपयाको व्यवस्थापनमा अहोरात्र खटिएर सफलता हासिल गरेको भन्दै चौतर्फी प्रशंसा बटुलेका छन् ।
पौडेल दैनिक २÷३ पटक सो क्षेत्रमा पुग्ने गरेका छन् । यस्तै छाडाचौपयाको व्यवस्थापनको अनुगमनका लागि नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरी साप्ताहिक रुपमा २÷३ पटक व्यवस्थापन क्षेत्रमा पुग्ने गरेका छन् ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई अनुभूति हुने गरी छाडा पशुचौपया व्यवस्थापन गरिएको बताए । उनले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको छाडा पशुचौपयालाई नगरले अल्पकालीन व्यवस्थापन गरेको भन्दै यसलाई दिर्घकालीन तवरले समाधानतर्फ नगर उन्मुख रहेको बताए ।
उनले छाडापशुचौपयाको उन्मुख रहेको बताए । उनले छाडा पशुचौपयाको व्यवस्थापनलाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगाले स्थानीय स्तरमै उपलब्ध स्रोत साधानको सदुपयोग गरी छाडा पशुचौपया व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताइन् । उनले तराईका हरेक जसो स्थानीय तहको मूल समस्याको रुपमा रहँदै आएको बताइन् । उनले यो समस्याको अब बाणगंगाले दिर्घकालीन समाधान गरेर देखाउने दाबी गरिन् ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले छाडा पशुचौपया व्यवस्थापन आफैंमा चुनौतिको विषय भएको भन्दै सबैको सहयोगले मात्र यसको व्यवस्थापकिय पक्ष सुदृढ हुने बताए ।
सरु भुसाल/मध्यान्ह
कपिलवस्तु : लुम्बिनी प्रदेशका वनमन्त्री अर्जुन कुमार केसीले व्यवसायीहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । वन पैदावर उद्योग व्यवसायी कपिलवस्तुले आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले व्यवसायीहरुसँग छलफल गरेर व्यवसायीका समस्या समाधान गरेर अगाडि बढ्ने बताउँदै अबको रणनीति विदेशी सामानलाई विस्थापन गरी स्वदेशी सामानको भरपूर्ण सदुपयोग गर्ने बताए ।
कपिलवस्तु वन पैदावर उद्योग व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री केसीले वन पैदावरसँग जोडिएका व्यवसायीहरूले राज्य र व्यवसायी दुवैलाई फाइदा पुग्ने गरी स्वदेशी काठको खरीद बिक्री र व्यवसायीक अवस्था सुधार्दै विदेशी काठलाई आयातमा कमी हुने अवस्थाको सिर्जना गर्न रचनात्मक सुझाव दिएको वन पैदावर उद्योग संघका नेता पवन अर्यालले बताए ।
मन्त्री केसीले राज्यलाई नोक्सान हुनेगरी आफुबाट कुनैपनि निर्णय नहुने भन्दै असल काष्ठ व्यवसायीलाई व्यवसायीक वातावरण बनाउनुपर्नेमा जोड दिँदै घाटगद्दीमै काठ सड्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा सस्थाका अध्यक्ष युवा व्यवसायी कल्याण टन्डन लगायतले काठ व्यवसायीका समस्याका बारेमा जानकारी गराएका थिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकहरुसँग अन्तरक्रिया गर्दै दशगजामा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटले इशनाथ नगरपालिकाको दशगजा क्षेत्रमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा इशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, वडा नम्वर १ का अध्यक्ष विगु साह बनियाँ, भारतीय सशस्त्र सीमा बल ५५८ को प्रतिनिधि, भारत घोडासहान ब्लक अन्तर्गत ग्राम पञ्चायत बलुआका मुखिया मोहम्मद फारुक आलमसहितका नेपाल भारत दुवैतर्फका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहामा आयोजित अन्तरक्रियामा दशगज्जा क्षेत्रलाई सरसफाइ गरेर सफा राख्नुपर्ने, अब शुरु हुने मनसुनी वर्षातबाट वर्षेनी हुने गरेका बाढी र डुवानबाट उत्पन्न जोखिम तथा त्यसको समाधानका उपायहरू लगायत विपदको समयमा फैलन सक्ने विभिन्न प्रकारका रोग तथा सुरक्षात्मक उपायहरु सन्दर्भमा दुबै देशका सीमा क्षेत्रमा व्यापक रुपमा जनचेतना एवं सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
सशस्त्र प्रहरीका एसपी हुमागाईंले वर्षातको समयमा वर्षाको पानी र बकैया नदीमा आउने बाढीले गर्दा इशनाथ नपा १ बन्जरहामा वर्षेनी डुवानको समस्या झेल्दै आएको चर्चा गरे । सो को दिर्घकालिन रुपमा निकासको लागि यथोचित कदम चाल्नुपर्ने उनको भनाइ छ ।
सीमा क्षेत्रमा हुने गरेको अवाञ्छित गतिविधिमाथि निगरानी राख्न तथा राजस्व छलेर सहजै नेपाल प्रवेश गर्ने कार्य समेत निरुत्साहित हुने भएको हुँदा सशस्त्र प्रहरी बलले सीमाको नागरिकसँग अन्तरक्रिया कार्यक्रम गर्दै जागरुक बनाउँदै आएको उनले बताए । साथै दशगजा क्षेत्रमा रहेका फोहोरको डुुंगुरलाई सफाइ गरी सधँै सफा राखिने प्रतिबद्धता समेत जनाइएको थियो ।
विओपी औरैयाबाट गरेर ४५ जना सशस्त्र प्रहरी, नेपाल प्रहरीको ३ जना, भारतीय सशस्त्र सीमा बल (५५८) को तर्फबाट १४ जनाको साथै दुबै देशका सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति रहेको सशस्त्र प्रहरी बल नेपाल, नम्वर ११ गणले जनाएको छ ।
सीमा स्तम्भ नम्बर २३४६/६ देखि सहायक सीमा स्तम्भ नम्बर ३४६/७ सम्म अन्दाजी ८०० मिटर नेपाल–भारत दशगजा सीमा क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्ला सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नं. ५ मा रहेको मान्धारा माध्यमिक विद्यालयका विद्यार्थीहरु जोखिमपूर्ण भवनमा बसेर पढ्न बाध्य भएका छन् । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु जीर्ण भवनमा बसेर पढ्न बाध्य भएका हुन् ।
करिव ६ वर्षदेखि जीर्ण भवनमा पढाउँदै आएपनि उक्त विद्यालयको समस्या समाधानका लागि स्थानीय सरकार शिक्षा शाखालाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यालयका निमित्त प्रधानाध्यापक केशर बहादुर शाहीले बताए ।
शाहीका अनुसार विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्मका ७२ जना विद्यार्थी, ६ देखि कक्षा १० सम्मका १ सय २४ जना विद्यार्थी अर्काे विद्यालय पढ्ने भएकाले सेवा सुविधा ६ देखि कक्षा १० अध्ययन गर्ने विद्यालयमा हुने हुँदा उक्त विद्यालय हरेक सेवाबाट बञ्चित हुनु परेको छ ।
प्रा.वि र माध्यमिक विद्यालयको दुरी करिब १० मिनेट लाग्ने दुरीमा अवस्थित छ भने उक्त विद्यालयहरुको नाम एउटै रहेको छ । कक्षा ६ देखि १० सम्मको विद्यालयको भवन र अन्य सेवा सुविधा उपयुक्त भएपनि कक्षा पाँचसम्म अध्ययन हुने विद्यालयको अवस्था विजोग भएको बालविकास शिक्षक अप्सरा शाहीले बताइन् । बाल विकास शिक्षक डाँफु सुनारले भनिन्, ‘पुरानो चारकोठा भएको भवनमा पढाइ हुन्छ, वर्षा भए कोठा चुइन्छन्, कोठा भुइँ सिलिङ छैन्, कोठामा अध्यारो छ, भुइँमा खाल्डा परी दैनिक दिन धुलो मार्न पानी हाल्नुपर्ने समस्या नै समस्याले गुज्रिएको छ ।’
बच्चा बस्ने कोठा धुलाम्मे, त्यस्तै बेन्च, टेक्स, अग्ला भएकोले बच्चा खस्दा चोट लाग्ने उनले बताइन् । साना बालबालिकाका लागि उज्यालो कोठा, हरेक खेलौना, चित्रकला, कार्पेट हालेको कोठा, खेल्ने ठाउँ हरेक सुविधायुक्त विद्यालय बनाउने स्थानीय सरकारले भने पनि त्यो बोलीमा मात्र सिमित भएको स्थानीयहरुले गुनासो गरे ।
विद्यालयको भवन जीर्ण हुँदा पढाउने बेला कति बेला के हुन्छ ?, भन्ने मनमा डर पैदा हुने सोही विद्यालयका शिक्षकले बताए ।
यता दुई वटै विद्यालयका प्रधानध्यापक डिल बहादुर शाहीले विद्यालय व्यवस्थापन समितिबाट निमित्त प्रधानाध्यापक जिम्मेवार दिएको सबै कुरा आफू सामु नआउने र आफुले पनि त्यति चासो नदिएको बताए । उनले भने, ‘दुवै विद्यालय एउटै हो, तर जग्गा नभएर दुई स्थानबाट सञ्चालन भएकाले पनि आफुले प्रावि तहको विद्यालयमा जान नसकेको र समस्याकोबारे थाहा छैन ।’
‘जुन विद्यालयमा कार्यरत शिक्षक छन्, उनले नै परिवर्तन गर्नुपर्छ’ उनले थपे । तर आर्थिक कारोबार उनले नै चलाउने हुँदा प्रावि तहका शिक्षकले केही गर्न नसक्ने र बचेत माग समेत गर्न नसक्ने शिक्षकहरुको भनाइ छ । स्थानीय सरकारबाट अनुगमन जति भएपनि साना बालबालिका पढ्ने विद्यालयको समस्याका बारेमा कुनै कुरानै नगर्ने गरेको पाइएको छ । कक्षाकोठा पानीले हिलाम्मे भएपनि बाध्यताले पढ्दै आएको साना बालबालिकाको आवाज रहेको छ । यसमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको छ ।
काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ४ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ ।
यस्तै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन् । अदालतले उनीहरूलाई ६ महिनाका दरले कैद तथा ५ करोड रुपैयाँ जरिवा हुने फैसला गरेको छ ।
अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : पछिल्लो समय कुमाल समुदायको पूर्खौली पेशा संकटमा पर्न थालेको छ । कुमाल समुदायको पेशा संकटमा पर्न थालेपछि लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अर्घाखाँचीमा ४५ दिने सीपमूलक तालिम सञ्चालन गरिएको छ ।
नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षणसँगै गाउँमै युवा उद्यमी निर्माणको लागि सीपमूलक तालिम सञ्चालन गरिएको हो ।
‘औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार’ मूल नाराका साथ अर्घाखाँची सेरामिक माटाका भाडा बनाउने तालिम शुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिए ।
बजारमा प्लाष्टिकबाट निर्माण भएका भाडा चलनचल्तीमा आएसँगै गाउँघरमा कुमाल समुदायले माटोबाट बनाएका सामग्री तथा पेशाको संरक्षण गर्न लुम्बीनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्यमशिलता तथा सीपमुलक तालिम, प्रविधिमा सहयोग, सामग्रीको बजारीकरण तथा उद्यमी निर्माण गर्न तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख खनालले बताए ।
परम्परागत शैलीमा कुमाल समुदायले निर्माण गरेका नेपाली संस्कृति झल्काउने भाडा निर्माण गर्दै पेशाको संरक्षण गर्न आर्थिक वर्ष २०८१÷२०८२ मा स्वीकृत कार्यक्रम अनुसार सेरामिक्स कार्यक्रम शुरु गरिएको हो ।
अर्घाखाँचीमा नेपाली कलाको पहिचान गर्दै कुमाल जातिको संस्कृति झल्काउने माटाका सामग्री निर्माण, युवालाई स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन गर्दै आएको घरेलु कार्यालयका प्रमुख खनालले बताए । अर्घाखाँचीमा पनि विभिन्न माटाका सामग्री बनाउने तालिम सञ्चालन विगतमा गरिरहेपनि कोरोनाका कारण बजेट अभावले २ वर्ष कार्यक्रम तथा तालिम रोकिएको तालिमका प्रशिक्षक पदम मुखियाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका का प्रमुख कृष्णप्रसाद श्रेष्ठले कुमालहरुको मौलिकता झल्कने माटाका भाडा निर्माणको लागि प्रदेश सरकारले तालिमको आयोजना गरी सिक्ने र उद्यमी बन्ने अवसर प्रदान गरेकोले तालिमको सदुपयोग गरी कुमाल समुदायको पेसाको संरक्षण गरी सबै नवउद्यमी बन्नु पर्नेमा जोड दिएका थिए ।
लुम्बीनी प्रदेश अर्घाखाँची जिल्ला सुपादेउराली लगायत धार्मिक सम्पदाहरु रहेको ठाउँ भएकोले माटोबाट निर्माण गरेका भाडाहरु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकेमा अर्घाखाँची को पहिचान हुने र कुमाल समुदायको कला र मौलिकता झल्कने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
कुमाल समुदायको पेशा संरक्षण गरी ग्रामीण क्षेत्रमा युवालाई उद्यमी निर्माण गर्न त्यहाँको वस्तुस्थिति र सम्भावनाको पहिचान समय घरेलु तथा साना उद्योग कार्यालय लगायतका कार्यालयलले सीपमूलक तालिम सञ्चालन गरिरहेका छन् । तालिमबाट सिकेको सीपको प्रयोग गरी माटाका सामग्री निर्माण गरेमा बजारको स्थानीय सरकारले खरिद तथा बजारीकरणको ग्यारेण्टी गर्ने सन्धिखर्क वडा नम्बर ५ का वडा अध्यक्ष ऋषव अधिकारीले बताए । उनले संरक्षणको अभावमा कुमाल समुदायको संकटमा पर्न थालेकोमा स्थानीय सरकारले चासो दिएको दाबी गरे ।
तालिम उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मी प्रसाद दाहाल लगायतका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।
सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको थियो ।
नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । गत वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।
उनको दुई वटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
काठमाडौं : यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।
जनस्वास्थ्य कार्यालय, काठमाडौंले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौं जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए । उनले काठमाडौंका एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताए ।
नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । “नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उनले भने ।
त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिए । उनले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको बताए । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनको भनाइ छ ।
खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies