झापाः हात्तीको बङगारा जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।
उनीहरुको साथबाट ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा जस्तो देखिने बस्तु प्रहरीले बरामद गरेको हो । तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त बस्तु फेला पारी पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त बस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः अवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका–७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् ।
प्रहरीले उनीहरुकोसाथबाट पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँ बरामद गरेकोहो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दशैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा)मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।
यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।
प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।
भरतपुरः अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु. २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।
पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।
झापाः झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धका प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए । उनका अनुसार उनीहरुबाट रु. ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौंः भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिए ।
विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो । उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घई भई सिनामङ्गल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ । उनीहरूले पीडितबाट रु पाँच लाख लिई विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउन खोजेको भेटिएको पनि प्रहरीले जनाएको छ ।
पक्राउपछि उनीहरूसँग खानतलासी गर्दा मोबाइल दुई थान, रु. ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ । रेग्मीका अनुसार यसैगरी विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ नक्कली फेला परेको छ ।
उक्त कागजात बनाउने काठमाडौं बस्ने साइरस विसङ्खेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ । नयाँ बानेश्वरमा ग्राफिक डिजाइनिङ एन्ड प्रिन्टिङ सर्भिस सञ्चालन गर्दै आएका विसङ्खेका उक्त प्रिन्टिङ सर्भिस खानतलासी गर्दा केही शैक्षिक प्रमाणपत्रहरू बरामद गरिएको छ । उनीहरू तीन नै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
दमकः प्रहरीले झापाबाट विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्लाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीका कारी अन्सारीको घरबाट तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको हो ।
सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले बुधबार बिहान ८ बजे स्थानीय न्सारीको घरमा छापा मारी तीन बोरा पटका, एक बोरा बिडी र चुरोट बरामद गरेको हो ।
स्याङ्जाः स्याङ्जाको चापाकोटका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।
श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए । साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो ।
यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान शुरु भएको निरीक्षक यादवले बताए ।
काठमाडौंः अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका–९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।
कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन खटिएको प्रहरीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेका ेहो ।
उनीहरुको साथबाट २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँ बरामद गरिएको हो । उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies