काठमाडौंः बर्दियाको गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का सुरेश भन्ने सुयस थापा रहेका छन् ।
गत कात्तिक २७ गते राति साढे १२ बजे गुलरिया नगरपालिका–५ का २० वर्षीय बरुणलाई एक समूहले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
यसअघि घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको हो । २ जना अझै फरार छन् ।
झापाः झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मेचिनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशी रहेका छन् । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः प्रहरीले ११ हजार ७ सय ८० थान पटाकासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाकासहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मुगुः मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।
पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।
यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो ।
काठमाडौंः नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् ।
प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।
महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।
अर्घाखाँचीः अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादमा परी एक महिलाको ज्यान गएकाे छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवकले ७२ वर्षीया वृद्धाको हत्या गरेका हुन् ।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए ।
यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।
हत्यापछि वृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो ।
सर्लाहीः सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनि जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिए । उनका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरुको खोजी जारी रहेको उनले बताए ।
काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ’, उनले भने । एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।
धनकुटाः १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् ।
ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई बिहीबार पक्राउ गरेको हो ।
झापा: झापामा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मेचिनगर नगरपालिका–१५ भिन्डि बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दा रहेका छन् ।
बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies