काठमाडौंः रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ ।
स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
रातोपुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको भनाइ छ । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।
‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो’, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
गुल्मीः गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिका हत्याका आरोपित एक व्यक्ति पूर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पूर्पक्षका लागि सोमबार जेल चलान भएका हुन् ।
गत कात्तिक १७ गते उक्त बालिकाको शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा शव फेला परेको थियो । बालिकाको दर्दनाक अवस्थामा खोलामा शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्याको आशङ्का गर्दै विरोध र प्रदर्शनमा उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नवीनकिशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धानपछि शङ्कास्पद व्यक्ति खाँलाई नियन्त्रणमा लिएको थियो ।
मृतक बालिका शान्तिपुरको श्रीलङ्काटोलमा आमासँग डेरामा घरमा बस्दै आएकी थिइन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी कात्तिक १६ गते बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि सम्पर्कबिहीन बनेकी थिइन । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी जिल्ला अदालतमा पेस गरेको थियो ।
गुल्मी जिल्ला अदालतले सोमबार खाँलाई पूर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । हत्या आरोपी खाँलाई प्रहरीले गत कात्तिक १७ गते चन्द्रकोट गाउँपािलका ‐४ अन्तर्गत शान्तिपुरबाट पक्राउ गरेको थियो ।
बाँकेः बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए । चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।
उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।
चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए । अभियुक्त चौहानले घट्नालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब एक दशमलव पाँच किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेका थिए ।
पीडकविरुद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शङ्काास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घट्नास्थलमा पुगेका थिए ।
अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनी गाडिएको अवस्थामा भेटिएको थियो ।
पर्साः पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।
छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबामाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढलेका थिए । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाः झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार छोराले सोमबार बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।
कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए ।
पर्साः जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबीच सहमति भएर फर्छ्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा आठ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको छ ।
मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए । परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम् प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।
‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ, त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्छ्यौट भइरहेको छ, यो राम्रो पक्ष हो’, उनले भने । रासस
कास्कीः पोखरा महागनरपालिका–२२ खाल्सेस्थित चिसाखोलाबाट छ जना जुवाडे पक्राउ परेका छन् । ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेका गुरुङसमेत गरी ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थान बरामद गरिएको हो । ।
साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान समेत बरामद गरेको छ ।
कैलालीः अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानरपालिका–५ तारानगरबाट ५ जना नेपाली र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कन्चनपुर पुर्नवास नगरपालिका–६ का २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका–२ घर भएका ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारतको उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार र दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
धनगढी उपमहानरपालिका–५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा उनीहरुलेले अवैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बीमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बनियानीः झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् ।
भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासलेसमेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बिहीबार बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । ‘दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्–श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ’, उनले भने, ‘सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
प्रनाउ रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, ‘शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछिपछि थप जानकारी आउँछ ।’
सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले बताए । उनका अनुसार श्रीमान्–श्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरुका तीन छोराछोरी छन् । परीक्षणपछि मृतका दाजुले शव बुझ्ने प्रनाउ रिजालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies