सप्तरीः सप्तरीमा स्रोत नखुलेको १० लाख ९८ हजार नगद रूपैयाँसहित एक जना पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकबाट सोही ठाउँ बस्ने ३९ वर्षीय जय प्रकाश यादव सोमबार बिहान प्रहरीले पक्राउ परेको प्रहरीले जनाएको छ ।।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रोल्पाः रोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुङग्री गाउँपालिका–६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोका रहेको प्रहरीले जनाएको छ ।
२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रोकाले ती किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चितवनः नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका ग्राहकबाट रु. ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन् ।
यस्तै ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ । लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम शुरु गरिएको उनले बताए ।
दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि शुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका दश ग्राहकको लाईन काटिएको छ ।
लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन् । प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो । इन्जिनियर पौडेलले थपे ‘शुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ । कम्तीमा दश हजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाईन काट्ने गरी काम अघि वढाएका छौँ ।’
दुई महिना नाघेका ग्राहकबाट मात्रै रु. ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उनले जानकारी दिए । दुई वर्षभन्दा माथिको दश करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेकोे छ । कार्यालयले चालु आर्थिक वर्षसम्म रु. ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इन्जिनियर पौडेलले बताए ।
दुई महिनादेखि छ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट दुई करोड आठ लाख २८ हजार, एक वर्षदेखि दुई वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट तीन करोड २९ लाख ५८ हजार उठ्न बाँकी रहेको छ । रासस
अर्घाखाँचीः अर्घाखाँचीमा १ थान भरूवा बन्दुक बरामद गरिएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका–९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरको साथबाट प्रहरीले एकनाले भरूवा बन्दुक आइतबार दिउँसो बरामद गरेको हो ।
कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
बैतडीः बैतडीमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
महोत्तरीः महोत्तरीमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियार रहेका छन् ।
उनलाई जलेश्वर नगरपालिका–७ बखरी चोकबाट स्रोत नखुलेको १३ लाख २० हजार नगद रूपैयाँसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङः चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति सोमाबार फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।
बैतडी: अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ । तोडफोड गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
रुकुम पश्चिमः रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।
मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएकोे उनको भनाइ थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।
काठमाडौंः नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवं आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । उक्त सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ ।
सशस्त्र प्रहरीले भने निःशुल्करूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ ।
चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कन्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताए । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies