काठमाडौं : नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूका आन्तरिक तयारीले तीव्रता पाएको छ । आगामी वैशाख २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा लागिरहेका छन् ।
साधारण सभाको मिति आउन करिब दुई हप्ताभन्दा कम समय बाँकी छ । व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले समेत कनिष्ठ र नेतृत्व क्षमताका दृष्टिकोणले कमजोर रहेको प्रचार गर्दै मतदातालाई आफूतर्फ तान्ने क्रम शुरु गरेका छन् । कतिपय आफूले नजिते पनि प्रतिस्पर्धी रोक्न भन्दै खटिएका देखिन्छन् ।
एशाेसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएकाे छ । एशोसिएसनलाई नेपाली कांग्रेसले महाधिवेशनमा तीन जना महाधिवेशन प्रतिनिधि पठाउन कोटा प्रदान गर्ने गरेको छ, तर आगामी कार्यसमितिको कार्यकाल अवधिमा नेपाली कांग्रेसकाे महाधिवेशन नहुने भएकाले महाधिवेशन प्रतिनिधि ताेक्ने अवसर भने निर्वाचित कार्यसमितिले पाउने छैन ।
उता एशाेसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि याेग्य बन्न निरन्तर आग्रह गरिरहेकाे छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आवद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन, इजाजत पत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेबी समयमै बुझाउन आग्रह गरेको छ । समयमा लेबी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिने वर्तमान कार्यसमितिको भनाइ छ ।
काठमाडौं : जीवनको उत्तरार्धमा पुगेकी काठमाडौं बुढानिलकण्ठकी ७१ वर्षीया ललिता लामा वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परिन् । बुढानिलकण्ठमा नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि ४ आना जग्गामा बनेको छाप्रामा बस्दै आएकी ७१ वर्षीय लामा वैदेशिक रोजगार विभागको पक्राउ पुर्जी लिएर प्रहरी निवासमै आएपछि शुरुमा अक्क न बक्क परिन् ।
कसैलाई कुनै कुरामा केही असर नपुर्याएकी लामाले आफूलाई पक्राउ नगर्न पटक–पटक आग्रह गरिन् । तर पक्राउ पुर्जी लिएर गएको प्रहरीले उनलाई छोडेन, साथमै लगेर वैदेशिक रोजगार विभाग पुर्यायो । विभाग पुगेपछि प्रहरीले वैदेशिक रोजगार ठगीको जाहेरी देखायो ।
जाहेरीमा लामाको बैंक खातामा वैदेशिक रोजगारीमा यूएई पठाउन भनि २ लाख ५० हजार जम्मा भएको बैंक भौचर देखियो । उनले त्यसपछि वैदेशिक रोजगारीका लागि एक वर्ष अगाडि यूएई गएकी छोरीलाई फोन गरिन् । यूएईबाट छोरीले आफूले आमाको बैंक खाता प्रयोग गरी वैदेशिक रोजगारका लागि रकम लिएको बताइन् । लामाले भनिन्, ‘छोरीले तिमीहरूलाई मात्रै नभएर मलाई पनि झुक्याएर गइछ । तिमीहरू जे भन्छौ त्यही मान्छु । हाइटेन्सन लाइनमुनिको ४ आना जग्गाको मूल्य २२ लाख भयो । बाँकी रकम लिएर त्यही ४ आना जग्गा पास गरी लग, तर मलाई छोडिदेउ ।’
पदम रोकालाई कम्बोडिया पठाइदिन्छु भन्दै श्रीमतीको बैंक खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ लिएका चितवन राप्ती नगरपालिका–९ लालपुर घर भइ भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजमान श्रेष्ठ फरार छन् । तर उनकी श्रीमती राज्यलक्ष्मी श्रेष्ठ पक्राउ परिन् । सेक्युरिटी गार्डमा एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट राज्यलक्ष्मीले ७ लाख लिएको जाहेरी परेको भएपनि राज्यलक्ष्मीले उक्त रकम देख्नसमेत पाइनन् ।
सामान्य पढे लेखेकी ५७ वर्षीय राज्यलक्ष्मी गृहणी हुन् । हातमा प्रहरीले लगाएको हतकडी देखाउँदै उनले भनिन्, ‘श्रीमानज्यूको कृपाले यो उमेरमा यस्तो चुरा लगाउनुपर्यो ।’ पहिले नै सुगरकी रोगी राज्यलक्ष्मी हाल सुगरका साथमा प्रेसर (उच्चरक्तचाप) पनि देखिएको बताउँछिन् । श्रीमान सम्पर्कविहीन भएको र घरमा बालबच्चा बिचल्लीमा परेको उनको मुख्य चिन्ता थियोे । प्रहरीले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगी मुद्दा चलाउन पहिलोपटक ७ दिनको म्याद थप गरेको छ ।
वैदेशिक रोजगार ठगीमा प्रहरीलाई अनुसन्धानका क्रममा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ । वैदेशिक रोजगार न्यायाधिकरणले माग गर्ने धरौटी बुझाउन नसके उनी पुर्पक्षका लागि थुनामा जाने छिन् ।
हाल वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीका उजुरी अस्वभाविकरुपमा बढेका छन् । त्यसमा विदेशी प्रतिष्ठित कम्पनीमा आकर्षक तलब हुने भन्दै प्रलोभनमा पारी पटक–पटक गरी ठगीमा पर्ने युवायुवतीको संख्यासँगै ठगीका तानावाना बनाउनेहरूले आफन्त र परिवारका सदस्यलाई नै मोहरा बनाएर प्रयोग गरी उनीहरूलाई वैदेशिक रोजगारका लागि रकम बुझ्न लगाएर वा बैंक खाता प्रयोग गरेर फसाउने प्रवृत्ति पनि व्यापक बनेको छ ।
हाल अमेरिका, क्यानडासहित विभिन्न युरोपेली मुलुकमा आकर्षक तलबसहितको रोजगारीको प्रलोभनमा पारी ठगी गरेको उजुरीमा दैनिक विभिन्न व्यक्ति पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्ने केही वास्तविक ठग भएपनि अधिकांश परिबन्दमा परेका ललिता लामा र राज्यलक्ष्मी श्रेष्ठ जस्ता इमानदार गृहणी हुने गरेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाललाई पितृशोक परेको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष, खगोल ओभरसिज सर्भिस प्रा.लि.का सञ्चालक तथा नेपाली कांग्रेसका महसमिति सदस्यसमेत रहेका ढकालका पिता रामप्रसाद ढकालको निधन भएको हो ।
ढकालको ८१ वर्षको उमेरमा शनिबार काठमडौंको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व. ढकालको शनिबार साँझ साढे सात बजे पशुपतिमा अन्तिम संस्कार हुने भएको छ ।
पाल्पामा रहँदा समाजसेवामा पनि सक्रिय रहेका स्व. ढकाल तत्कालीन गाउँखर्क राष्ट्रिय अभियान पाल्पाका अध्यक्षसमेत रहेका थिए । रूपन्देहीको तिलोत्तमामा बस्दै आएका स्व. ढकाल दमको दीर्घ रोगी रहेको परिवारिक स्रोतले जनाएको छ । स्व. ढकालका श्रीमती, चार छोरी र चार छोरा रहेका छन् ।
काठमाडौं : कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले चाहेअनुसारको सेवा क्षेत्र (सर्भिस सेक्टर) परिवर्तन गर्न सक्ने भएका छन् । ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले २०२४ डिसेम्बरको ३१ तारिकभित्र सेवा क्षेत्र परिवर्तन गर्न सक्ने बताएको छ ।
ईपीएस कोरिया शाखाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार मानव संशाधन विकास (एचआरडी) कोरियाले पठाएको जनाएको छ । शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम पठाइएको छ ।
पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न नपाइने बताइएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नभइ अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा जनाइएको छ ।
भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई अनुरोध गरेका थिए । गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए ।
पछिल्लोपटक बुधबारमात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवम् रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए । सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसको भोलिपल्ट बिहीबार नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।
कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले क्षेत्र परिवर्तन गर्न पाउने कोरिया सरकारको निर्णयलाई सकारात्मक भनि टिप्पणी गरेका छन् । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरियामा लामो समय निजी क्षेत्रले पठाएको भएपनि विगत १५ वर्षदेखि सरकारले पठाउँदै आएको छ । १५ वर्षकको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय रहेकोे छ भने बाँकी पुरुष छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : रोजगारीका लागि कतार पुगेका ६ सय भन्दा नेपाली कामदार बिचल्लीमा परेका छन् । एक कम्पनीले तलब सुविधा नदिएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
ती कम्पनीमा साढे दुई वर्षदेखि करिब २ दशकसम्म काम गरेका कामदारहरु छन् । ‘कम्पनीका ४ वटा साइड चलेका थिए । तर तलब पनि आएन, साइटमा काम गर्ने सामग्री पनि छैन’ एक पीडितले मध्यान्ह दैनिकसँग भने ।
तीनदेखि पाँच महिनासम्मको तलब आउन बाँकी रहेका ती कामदारले बताए । उनका अनुसार, तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम समेत हुन सकेको छैन । त्यो कम्पनीमा नेपाली सहित झण्डै १५०० कामदार रहेको अनुमान छ ।
कामदारहरूले यस्तो जानकारी दिएपछि स्थानीय प्रहरीले कम्पनीका अधिकारीहरुसँग दुई पटक कुरा गरिसकेका छन् । दुवै पटक तलब दिने समयावधि दिइएको थियो । तर पछिल्लोपटक बिहीबारसम्म तलब दिने भनिएको सहमति समेत कार्यान्वयन हुन नसकेको अर्का एक कामदारले बताए ।
“हामीले कुनै समय राम्रो कमाई ग¥यौ, आज मागेर खान पर्ने दिन आए’, उनले भने । अलपत्र परेका नेपाली कामदारहरुबारे गैरआवासिय नेपाली सङ्घ (एनआरएनए) कतार तथा श्रमिक विभाग सहयोगमा जुटेको छ । सङ्घका कार्यवाहक अध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले आफूले सूचना पाएदेखि नै हरेक पल श्रमिकको सम्पर्कमा रहेर सक्दो सहयोग गरिरहेको बताए । खानाका समस्या परेका ६१५ श्रमिकका लागि एनसीसीले खानाको व्यवस्था गर्दै आइरेहको बताए ।
श्रमिकका पीडा कतारको सरकारी निकायका अधिकारी समक्ष पुगेको छ । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानी तथा मन्त्रालयका अन्य अधिकृतहरूको उपस्थितिमा १८ देशका कम्युनिटी लिडर सहभागी महत्वपूर्ण बैठकमा पन्थीले उपसचिव समक्ष नेपाली श्रमिकले पछिल्ला दिनमा भोगी रहेका समस्याबारे जानकारी गराएका थिए ।
पन्थीका कुरा सुनेपछि उपसचिव थानिले यथाशक्य खानाको व्यवस्था गर्ने र कम्पनीसँग परामर्श गरी तलब भुक्तानीका लागी पहल गर्ने प्रतिबद्दता जनाए बमोजिम श्रमिकलाई कतार सरकारले खाना पानीको व्यवस्था गरेको छ । सरकारको तदारुकताका लागी एनसीसी कतारले आभार व्यक्त गरेको छ । कतारमा कोही नेपाली समस्यामा परेमा एनसिसि वा आफूलाई सम्पर्क गर्न समेत पन्थीले आग्रह गरेका छन् ।
श्रमिकहरू आफ्ना समस्या बोकेर नेपाली राजदुतवासमा समेत पुगेका थिए । दूतावासका कर्मचारीहरूले आवश्यक अभिलेख राखी नियमित रूपमा श्रमिकको सम्पर्कमा रहेको दूतावासका एक अधिकारीले बताए ।
उनका अनुसार कानुनी रूपमा लडाई लड्न दूतावास श्रमिकको पक्षमा रहेको र पीडितको खाना लगायत समस्याका लागि एनसीसीसँग आवश्यक समन्वय गरी रहेको उनको भनाइ थियो ।
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी संघ र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ ।
विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुँदा अधिकांश भोकै विमानस्थल पुग्ने गरेका हुन्छन् ।
विभागका महानिर्देशक डुण्डुराज घिमिरले घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो पटक–पटक आउन थालेपछि विभागले सम्बन्धित सरोकारवालाहरूलाई बोलाएर छलफल गरेको बताए । महानिर्देशक घिमिरेले बजेट एयरलाइन्समा मूल्य चर्को नै तिर्नुपर्ने, तर न्यूनतम मानवीय आवश्यकताको खाना, खाजा तथा पानी पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेकाले छलफलपछि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा खानाको सुविधा तोक्न आग्रह गरेको उल्लेख गरे ।
त्यस्तै विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकारभित्र रहेको काम गर्नसमेत सचेत गराएको छ ।
काठमाडौं : सुरक्षित र निर्भयताका साथ व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित हुनुपर्ने माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरको गम्भीर ध्यानाकर्षण गराएका छन् । धेरै अगाडि मेलमिलाप भइ तामेलीमा राखेको उजुरी जगाएर व्यवसायीलाई छलफलमा बोलाएपछि मंगलबार विभाग परिसरमा भएको झडपपछि बिहीबार ठूलो संख्यामा वैदेशिक रोजगार व्यवसायीहरू सुरक्षा र प्रणालीमा सुधारको माग लिएर वैदेशिक रोजगार विभाग पुगेका हुन् ।
समाजको एउटा पक्ष वैदेशिक रोजगार व्यवसायी बेइमान छन् भनि बद्नाम गर्न योजनाबद्धरूपमा लागिरहेको र विभागका कतिपय कार्यविधि र निर्णयले त्यस्ता गैरजिम्मेवार पक्षलाई बल पुर्याएका कारणले व्यवसायीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण नभएको गुनासो व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष राखेका थिए ।
विभागले वैदेशिक रोजगारबाट विभिन्न कारणले फर्केका कामदारको उजुरी दर्ता गरेपछि छलफलमा भएको सहमतिअनुसार कामदारलाई म्यानपावर कम्पनीको तर्फबाट क्षतिपूर्ति रकम दिलाएर उक्त उजुरीलाई तामेली अर्थात निष्क्रिय बनाउने गरेको छ ।
तामेलीमा गएको उजुरीको अभिलेख भने विभागको प्रणालीमा रहने गरेको छ । विभागमा कर्मचारी परिवर्तन भएपछि धेरैले अगाडि मेलमिलाप भएको उक्त पुरानो उजुरी जगाएर पीडितलाई क्षतिपूर्ति दिन छलफलमा आउन व्यवसायीलाई पत्र काटेर बोलाउने गरिएको कारणले गम्भीर समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ । बिहीबारको छलफलमा मेलमिलाप भएको उजुरीलाई पुनः जाग्ने अर्थमा नराखी प्रणालीबाटै हटाउनुपर्ने माग व्यवसायीले राखेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मध्यान्हलाई बताए ।
छलफलमा विभागले फ्रि भिसा फ्रि टिकट अन्तर्गत दश हजार रुपैयॉ सेवा शुल्क लिएर पठाएको कामदार विभिन्न कारणले फर्केको अवस्थामा परिस्थिति र प्रमाण नै नबुझी ५ लाख रूपैयाँसम्मका उजुरी दर्ता गराउने, छलफलमा सरोकार बिनाका संघसंस्था र युट्युबरहरूलाई सहभागी गराउने, बिना कारण छापा मार्ने र प्रमाण बिनाको उजुरीमा पनि एलटी बन्द गरिदिने कार्य भएकाले त्यसलाई रोकी विभागमा हुने छलफलमा पीडित, पीडितको परिवार र म्यानपावर कम्पनीको आधिकारिक परिचयपत्रवाहक सञ्चालकलाई मात्रै सहभागी गराउने तथा विभाग परिसरमा अनधिकृत व्यक्ति वा समूहको प्रवेशमा रोक लगाउनुपर्ने व्यवसायीले माग राखेको छलफलमा सहभागी त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेलले बताए ।
संघले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका वैदेशिक रोजगार व्यवसायीलाई बद्नाम गर्न र वैदेशिक रोजगारमाथि अनेक भ्रम छर्ने प्रयास गरिएको भन्दै त्यसलाई चिर्न विभागले व्यवसायीलाई साथ दिनुपर्ने माग गरेको छ ।
जवाफमा महानिर्देशक घिमिरेले वर्तमान युग नै प्रविधि र सञ्चारको युग भएकाले व्यवसायीहरू शुद्धीकरण र व्यावसायिक भइ बद्नाम गराउने तत्वलाई जवाफ दिनसके असामाजिक, उत्तेजना र भड्काउने तत्व आफैं सेलाएर जाने भएकाले सचेत हुन व्यवसायीलमई आग्रह गरे ।
महानिर्देशक घिमिरेले नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि पूर्णरूपमा व्यवसायीलाई साथ दिन आफू तयार रहेको भन्दै व्यवसायीहरूले पनि वैदेशिक रोजगार ऐन र नियमावलीभित्र रहेर गुनासो नआउने गरी काम गर्नुपर्ने सुझाव दिएका थिए । उनले व्यवसायीले बिहीबार उठाएका समस्याको समाधानका लागि मातहत निर्देशक र कर्मचारीसँग छलफल गरेर सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छलफलमा सहभागी व्यवसायीहरूले बताएका छन् ।
कसरी भयो झडप ?
धेरै अगाडि क्षतिपूर्ति र राहत पाइ मिलापत्र भइसकेको फ्युचर स्टार म्यानपावर प्रा.लि.सँग सम्बन्धित उजुरीका सम्बन्धमा विभागले सञ्चालक हरिबहादुर पाण्डे क्षेत्रीलाई पत्र काटेर बोलाएपछि मंगलबार क्षेत्री विभाग पुगेका थिए । विभाग पुग्दा पीडित भनिएका व्यक्तिहरुमध्ये यसअघि अलर्ट ओभरसिजका सञ्चालक देव खोखालीमाथि भएको आक्रमणमा संलग्न युवाहरू पनि थिए ।
संयोगले खोखाली पनि विभागमा नै थिए । आफूमाथि आक्रमण गर्नेहरू देखेपछि खोखालीले भने, ‘ए भाइ सरोकारविहीन व्यक्ति तिमीहरू यहाँ किन आएको ?’ त्यसपछि विभागमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मेलमिलाप कक्षमा छलफलको क्रममा हात हालाहाल र झडप भयो ।
प्रहरीले त्यहाँ पीडित भनिएका व्यक्ति भन्दै अलमलमा फ्युचर स्टारका एक जना कर्मचारीलाई पक्राउ गरी कालिमाटी प्रहरी कार्यालय पुर्याएको थियो । बुधबार कतारी अमिरको नेपाल भ्रमण थियो । सार्वजनिक बिदा परेका कारणले प्रहरीले केही गरेन । बिहीबार विभागमा भएको छलफलपछि महानिर्देशक घिमिरेले सहमतिको वातावरण बनेको भन्दै कसैलाई कारबाही नचलाउनु उचित हुने भनि कालिमाटीका डीएसपीलाई फोन गरे ।
महानिर्देशक घिमिरेको फोनपछि प्रहरीले त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक पौडेलको जिम्मा लगाएर फ्युचर स्टारका कर्मचारीलाई छोडेको छ । व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेपछि बिना प्रमाण चर्का कुरा गर्ने युट्युबर र उद्धारका नाममा खोलिएका गैरसरकारी संस्थाका व्यक्तिहरू उत्ताउलो शैलीमा व्यवसायीविरूद्ध लागेको टिप्पणी गरेका छन् ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी शन्जित श्रेष्ठलाई पितृशोक परेको छ । राजधानीको लाजिम्पाटस्थित शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का सञ्चालक श्रेष्ठका पिता नुच्छेलाल श्रेष्ठको निधन भएको हो ।
श्रेष्ठको ७६ वर्षको उमेरमा बुधबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठका श्रीमती, दुई छोरी र दुई छोरा रहेका छन् ।
यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । संघले श्रेष्ठको निधनको खबरले संघ परिवार मर्माहत भएको बताउँदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बजेट एयरलाइन्सले अनावश्यकरूपमा भाडा बढाएका कारणले वैदेशिक रोजगारीमा जाने विपन्न अवस्थाका कामदारहरूलाई चर्को आर्थिकभार पारेको भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङको ध्यानाकर्षण गराएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा बुधबार मन्त्रालय पुगेको मञ्च प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।
त्यसअवसरमा मञ्चका महासचिव तथा नेकपा माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखा उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले बजेट एयरलाइन्सहरूले दोब्बर हुनेगरी हवाई भाडा बढाएर ४–५ घण्टाको उडानमा खाना र पानीसमेत नदिएर कामदारहरूमाथि ज्यादती गरेको भन्दै वार्षिक १२ खर्ब रिमिट्यान्स पठाउने कामदारमाथि तल्लो दर्जाको अपमानित व्यवहार हुनु दुखद् भएको बताए ।
उनले एयरलाइन्सहरूको हेपाहा व्यवहार रहेको तर दोष जति वैदेशिक रोजगार व्यवसायीलाई दिने प्रवृत्तिले व्यवसायीहरू अनाहकमा बदनाम हुनुपर्ने अवस्था रहेको भन्दै व्यवसायी बदनाम हुने अवस्थाको अन्त्य गर्न पनि मन्त्री तामाङको ध्यानाकर्षण गराए ।
जवाफमा मन्त्री तामाङले मञ्च प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्दै वैदेशिक रोजगारमा जाने कामदार सम्मानित हुनुपर्नेमा अपमानित भएको घटनाप्रति आफ्नो र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री तामाङले मञ्चले उठाएको विषयमा मन्त्रालयले सत्यतथ्य खोजी गरि एयरलाइन्सहरूलाई सचेत र कारबाहीको तहसम्म पुर्याउने आश्वासन दिए ।
मन्त्री तामाङले हवाई भाडा मन्त्रालयको कार्यक्षेत्रभित्रको परेकाले त्यसमा मन्त्रालय गम्भीर रहेको भन्दै सुधारका लागि आवश्यक परे व्यवसायीसँग थप छलफल गर्ने पनि प्रतिबद्धता जनाएको मञ्चले बताएको छ ।
बजेट एयरलाइन्सले वैदेशिक रोजगारीमा जाने कामदारलाई टिकटभित्रबाट खाना, पानी नदिएर एक बोतल पानीलाई एक सय रूपैयाँमा बेच्ने गरेको गुनासो पटक–पटक सार्वजनिक भएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पनि कामदारको उडानमा खानाको व्यवस्था अनिवार्यरूपमा गर्न आग्रह गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies