काठमाडौं : बक्स अफिस फिल्म तथा म्युजिक प्रमोशन कप फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । राष्ट्रिय चलचित्र पत्रकार संघले बक्स अफिस फुटबल एकेडेमीमा रिलिजको संघारमा रहेका नेपाली फिल्म, टेलिफिल्म, गीत संगीत तथा विभिन्न संघ संस्थालाई समेटेर आयोजना गरेको प्रतियोगिता वर्षैभरि हरेक शनिबार र बुधबार सञ्चालन हुनेछ ।
नियमितरुपमा बक्स अफिस फिल्म कल्ब नेपालले आयोजना गर्ने गरेको प्रतियोगिता २०८० संस्करणबाट भने सम्पूर्ण आयोजनाको स्वामित्व राष्ट्रिय चलचित्र पत्रकार संघले लिएको हो । यस्तै प्रतियोगितामा बक्स अफिसको व्यवस्थापन र ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ)को सहकार्य रहेको छ । शनिबार (होम) ५५ र बुधबार (अवे) ५५ खेल गरी प्रतियोगितामा कूल ११० खेल सञ्चालन हुने छ ।
२०८० संस्करण अन्तर्गत माघ २० गते शनिबार शुरु भएको प्रतियोगिताको पहिलो खेल सम्पन्न भएको छ । शनिबार फागुन २५ गते एउटै मितिमा रिलिजको तयारीमा रहेको नायिका रेखा थापाको निर्माण र वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले पछिल्लो पटक निर्देशन गरेको चलचित्र ‘उपहार’ र नवल खड्काको राष्ट्रवादी चलचित्र ‘काँडेतार’बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा काँडेतारले उपहारलाई ४–३ गोलअन्तरले पराजित गर्यो ।
खेलमा चलचित्र काँडेतारले स्पोनसर गरेको जर्सीमा पदम दर्नाल, राधाकृष्ण कटुवाल, सुर्य खड्का, हरिचन्द्र फुयाल, जीवन शाही, केदार खड्का, जोन राई, श्याम श्रेष्ठले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने चलचित्र उपहारले सौजन्य गरेको टिमबाट विश्वनाथ योन्जनको कप्तानीमा विकास पुजारी, गणेश श्रेष्ठ, शंकर खड्का, सिजन कुँवर, लोकेन्द्र लिम्बू, नवराज तामाङ, रामशरण श्रेष्ठ, विष्णु बहादुर राईले उत्कृष्ट खेल प्रदशन गरेका थिए । खेलको म्यान अफ म्याचको सम्पूर्ण रकम ७ हजार ५ सय रुपैयाँ ‘दुलही’ टेलिचलचित्रका कलाकार सुकुराम स्याङ्तान (च्याङ्बा)ले उपलब्ध गराएका थिए ।
प्रतियोगिताको असल ज्येष्ठ खेलाडी गीतकार तथा कलाकार विश्वनाथ योन्जनलाई प्रायोजक दुलही टिमले मैदानमा म्यान अफद म्याचको पुरस्कार हस्तान्तरण गरेका थिए भने प्रायोजक दुलहीको निर्माण कम्पनी तथा कलाकारलाई पनि आयोजक राष्ट्रिय चलचित्र पत्रकार संघका अध्यक्ष आरके सुवेदी, वरिष्ठ कलाकार हरिचन्द्र फुयाल, संगीतकर्मी तथा व्यवसायी रविन गहतराज इलाइटका संस्थापक श्याम श्रेष्ठले खादा लगाएर मायाको चिनोसहित सम्मान गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : ‘गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’को गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि चुमेका छन् । शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा सम्पन्न ग्राण्ड फिनालेमा गायनबाट उपविजेता सुजन गुरुङ र नृत्य विधातर्फ सरोज लामा उपविजेता बन्दा उनीहरूले ताराको उपाधि चुमेका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताका गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे भने उपविजेताले जनही ७५ हजार रुपैयाँ प्राप्त गरे ।
१ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको प्रतियोगितामा कूल ४७ जना सहभागी भएका थिए भने ग्राण्ड फिनालेमा नृत्य विधामा जुनमाया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चाहारले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । गायन विधामा दीपक कुमार घले, इसान रेग्मी, सुजन गुरुङ, मानसिंह परियार र रुस्तम तामाङले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी स्कुले जीवनकालदेखि गाउन शुरु गरेको स्मरण गर्छन् । आफ्ना कुनै पनि एल्बम सार्वजनिक नगरे पनि थुप्रै स्टेजमा प्रस्तुति दिएको अनुभव उनीसँग छ । अडिसन राउण्ड रामकृष्ण ढकालको गीत गाएर छनोट भएका उनी ग्राण्ड फिनालेमा अतिथि निर्णायक रूपमा ढकाललाई पाउँदा खुसी मात्र भएनन् उनको गायिकीको ढकालले तारिफ गर्दा फुरुङ्ग परेका उनी ढकालकै हातबाट आफूले जितेको पुरस्कारको राशि थाप्दा निकै खुसी देखिए । उनले पुरस्कारको राशि गीतसंगीतमै खर्च गर्ने बताए ।
इलामको बिब्लाटे डाँडा गाउँमा जन्मिएकी निरु श्रेष्ठ विगत चार सालदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छिन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरे पनि प्रतिस्पर्धामा भने पहिलो पटक भाग लिएर पहिलो पटक नै उपाधि जितेकी हुन् । नेपालबाट अतिथि निर्णायकका रूपमा आएकी नायिका मोडल पूर्णिमा श्रेष्ठले पनि उनको नृत्यको तारिफ गरिन् । उनले उपाधिको रकम कहीँ न कहीँ सकारात्मक काममै खर्च गर्ने बताइन् ।
गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा– २०२३ कतार सिजन ४’को ग्राण्ड फिनाले संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवतरूपमा अगाडि बढेको कार्यक्रममा तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने स्वागत नृत्य र स्वागत गीतद्वारा उपस्थितलाई स्वागत गरिएको थियो । नेपालबाट अतिथि निर्णायकका रूपमा कतार आएका अतिथि निर्णायक ढकालले आफ्ना कालजयी गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरे भने अर्की निर्णायक श्रेष्ठले पनि मसुप गीतमा आकर्षक नृत्य पेस गरिन् ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले यो प्रतियोगिता एक नमुना मात्र नभइ पृथक कार्यक्रम बनेको बताउँदै कार्यक्रमका लागि हल व्यवस्थापन गरिदिने कतार च्यारिटीलाई कृतज्ञता प्रकट गरे । एनआरएनए आईसीसीसहित कतारमा स्थापित विभिन्न सामाजिक, सामुदायिक वैचारिक संगठनका अध्यक्ष तथा विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो भने उनीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कमलमणि गुरागाईं, क्रान्ति सिंह, करिम बक्स मियाँ र बुधबल गुरुङ परीवेक्षक रहेको कार्यक्रममा आइडलका गायन विधाका निर्णायक मङ्गल बिक र वीरेन्द्र श्रेष्ठले समेत सांगीतिक प्रस्तुति दिए । नृत्य विधाका निर्णायक भविन तामाङ, भीम प्रसाद गुरुङ र जनक थापा मगरसहित टौमाया गुरुङ, शिला गुरुङ र सोनी आले मगरले सामूहिक नृत्य पेस गरे । नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज र तमु (गुरुङ) समाज कतारका कलाकारहरूले सामूहिक नृत्य पेस गरेका थिए भने गोबिन गुरुङले आफ्नो गायिकीमार्फत उपस्थितलाई झुमाएका थिए ।
कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई फेटाद्वारा सम्मान गरिएको थियो भने ग्राण्ड फिनालेमा पुग्न सफल दश प्रतियोगी, अतिथि निर्णायकसहित वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक, भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो । चार चरणमा सम्पन्न आइडलका अतिथि राज रेग्मी, प्रभात त्रिपाठी, ग्राण्ड फिनालेका अतिथि निर्णायकद्वय एनआरएनए आईसीसीका उप– महासचिव प्रवीण गुरुङ र नरेन्द्र बहादुर भाटलाई समेत सम्मान गरिएको थियो ।
संघका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति भट्टले प्रतियोगिताका विजयीहरूलाई शुभकामना दिँदै आइडललाई सफल बनाउन विभिन्न कोणबाट सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए ।
काठमाडौं : सञ्चारकर्मी अनिल नेपालीको सामाजिक कथामा आधारित गीत ‘रुवाउने माया’ सार्वजनिक भएको छ । सर्वोत्तम च्यानल युट्युबमार्फत सार्वजनिक भएको गीतमा गरिब र निःसन्तान दम्पत्तीलाई एक–अर्काको मायाले कसरी रुवाउँछ भन्ने कथा प्रष्टरुपमा देखाइएको छ ।
मार्मिक शब्द संयोजन रहेको गीतमा सधैंका लागि गाउँ छोड्ने र सधैंका लागि देश छोड्नेबीचको आकस्मिक प्रेमले अनन्त रुन परेको कथा पनि सरल तरिकाले देखाइएको छ ।
‘स्वस्थानी’ कथामा गोमा र शिवको वियोगान्त बिछोडजस्तै पवित्र प्रेमको खोजीमा भौतारिँदै हिँडेकी कथाकी मूल पात्र पवित्रा र डा.पल्लवको वियोगान्त बिछोड भएकाले श्री स्वस्थानी व्रतकथा श्रवणको मौसमसँगै गीत सार्वजनिक गरिएको अनिले बताए ।
उक्त गीतमा लय तथा शब्द अनिल स्वयंको छ भने स्वर अनिल र अनुजा पुडाशैनीको रहेको छ । दिलिप परियार र मिना परियारको मुख्य अभिनय रहेको भिडियोलाई अनिलले नै निर्देशन गरेका हुन् भने कलाकार लोकेश एन.पी.ले छायाँकन गरेका हुन् ।
भिडियोको सम्पादन मिन रावलले गरेका छन् भने संगीत एरेन्ज विष्णु तामाङले गरेका हुन् । यसअघि अनिलका साइँली, पियारा तिमी आउँछौं कहिले, सम्झिने नि मै छु, धागो चङ्गामा, जय जय शिवजस्ता गीतहरु श्रोतामाझ आइसकेका छन् । एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील उनका दैनिक पत्रपत्रिकामा लेख, रचना प्रकाशनसँगै आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
काठमाडौं : बाबुछोरीको पारिवारिक कथा बोकेको 'चित्रा' फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको फेब्रुअरी ९ तारिकमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ ।
निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् । फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन् भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए । उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए । उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन् ।
सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भूटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास रहेको छ ।
घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । पुस २२ गते गरिएको प्रिमियरमा फिल्मले प्रशंसा बटुलन सफल भएको थियो । यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायाँकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवम् संवाद लेखन छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।
काठमाडौं : एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो ।
फिल्मको शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त उपस्थित रहेका थिए ।
मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे । ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए ।
अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै फिल्मबाट उनले निर्देशनको यात्रा समेत शुरु गर्दै छन् ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।
फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु छन् । फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत रहेका छन् ।
‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् र निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिँदै छन् ।
कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ– नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन् । मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन ।’
रमितले भने, ‘यो सबै भिक्टिमहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो ।’ भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।
यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रुपमा लिदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरुमा छायांकन सुरु गर्ने तयारी छ । फिल्मको मुहुर्त गरेसँगै कठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् ।
निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए । खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् । साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।
आगामी चैत १ देखि ५ सम्म काठमाडौंमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी हुनेछन् । विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन् ।
निफका अध्यक्ष पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उनीहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए ।
यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
काठमाडौं : प्रवासमा रहेर पनि अनवरतरूपमा नेपाली गीतसंगीतमा लागिरहेकी गायिका निता आचार्यको ‘झिमझिम परेली’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायिका आचार्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
डिपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् । भिडियो एक विशेष समारोहबीच वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।
गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवम् निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्यलगायतकाको आतिथ्यता रहेको थियो ।
काठमाडौं : नेपाली चेली मेनुका पौडेल यतिबेला भारतकै सर्वाधिक लोकप्रिय रियालिटी शो ‘इण्डियन आइडल १४’मा प्रतिस्पर्धा गरिरहेकी छिन् । उनी, उत्कृष्ट १० मा पुग्न सफल भइसकेकी छिन् ।
मान्छेलाई समेत चिन्न नसक्ने नेपाली कलाकार मेनुकाको आँखा जाँचको निम्ति ‘यो रियालिटी शो’ले भरपुर सहयोग गरेको छ । ‘इण्डियन आइडल’को पछिल्लो भागमा प्रशारण भएको भिडियोमा मेनुकाको आँखा,भारतका नेत्र जाँच विशेषज्ञले चेकअप गरेका छन् । डाक्टरका अनुसार विशेष डिभाइसको मद्दतले मेनुकाले एक्लै हिँड्न, मान्छे चिन्न र पढ्न सक्ने भएकी छिन् । यो भन्दा अघि उनले सहकर्मीको साहारमा हिँड्नु र चिन्नु परेको थियो ।
आँखाको चेकअपका क्रममा मेनुकाको आँखाको नर्भ्सले काम नगरेको डाक्टरले बताएका छन् । डाक्टरका अनुसार मेनुकाले पूर्ण रुपमा दृष्टि पाउन भने नसक्ने बताइएको छ । तर विशेष डिभाइसको मद्दतबाट भने मेनुकाले केही मात्रामा भएपनि दृष्टि पाउन सक्ने र मान्छे चिन्न सक्ने बताइएको छ ।
डाक्टरको यो भनाइपछि मेनुका निकै उत्साहित छिन् । इण्डियन आइडलकी निर्णायक श्रेया घोषले मेनुकाले मान्छे चिन्ने भएको चिन्न सक्ने भएकोमा बधाई दिएकी छिन् । यसैगरी उनले आफूले चाँडै नै मेनुकाको आँखामा यो डिभाइस राखेको हेर्न चाहेको समेत बताएकी छिन् । रियालिटी शोमा गायिका आशा भोस्लेका गीत गाउन सफल भएकी मेनुकाले गीत गाएपछि निर्णायक मण्डल नै उठेर उनको सम्मान गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : चार चरणमा सम्पन्न हुने गरी १ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको गायन र नृत्य विधाको गैरआवासीय नेपाली तारा सिजन ४ को फाइनलको मित नजिकिँदै छ l आगामी महिनाको २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् l गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको हो l
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । ग्रानड फिनालेमा पचास प्रतिशत निर्णायक र पचास प्रतिशत हलमा उपस्थित दर्शकले आफू सँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने गरी तयारीलाई अन्तिम रूप दिन लागिएको छ l बहु चर्चित गायक रामकृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पूर्णिमा श्रेष्ठ अतिथि निर्णायकका रूपमा ग्राण्ड फिनालेमा आउने निश्चित भएपछि आयोजक, प्रतिस्पर्धी र कतारमा रहेका गीत संगीत प्रेमीहरू निकै उत्साहित छन् l कार्यक्रमलाई भव्य बनाउन कुनै कसुर नछाड्ने गरी अन्तिम तयारी आयोजकले थालेकै बेला प्रतियोगीहरूले आइडललाई कसरी हेरेका छन् र समग्रमा कसरी लिएका छन् भन्ने बारेमा मध्यान्ह राष्ट्रिय दैनिकले प्रतिस्पर्धीसँग अलग अलग उनीहरूका विगत, वर्तमान र भविष्यका बारेमा भलाकुसारी गरेको थियो l भलाकुसारीबाट तयार गायन विधाका प्रतियोगीको रिपोर्टलाई यहाँ पेस गरिएको छ l
१. दीपक कुमार घले (भोटिङ नम्बर १)
विगत एक सालदेखि कतारमा कार्यरत धादिङ नेत्रवती ५ घले गाउँका दीपक सानैबाट गीत गाउने गरेको स्मरण गर्छन् । अरू कुनै गायन प्रतियोगितामा भाग नलिएको बताउने उनले आफ्नो आवाजमा २ वटा अफिसियल गीत रिलिज भइसकेको बताए । विभिन्न स्टेजहरूमा प्रस्तुति दिइसकेका दीपकले अतिथि जज रामकृष्ण ढकाल आफ्नो आइडल गायक रहेको बताए । यदि आफूले प्रतियोगिताको ताज जित्न सकेमा आफूले अध्ययन गरेको स्कुलका निम्न वर्गीय विद्यार्थीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२. ईशान रेग्मी (भोटिङ नम्बर २)
कोशी प्रदेशको विराटनगरमा जन्मिएका ईशान रेग्मी विगत ७ वर्षदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छन् भने भक्तपुर लोकन्थलीका बासिन्दा हुन् l नेपालमा हुँदा धेरै वर्ष पहिले नेपाली तारामा समेत अडिसन दिएका उनको आफ्नै अफिसियल गीत पनि रहेको छ l करिब दुई दशकदेखि गीत गाउन थालेका रेग्मीले आफू फाइनलका लागि भरपुर तयारीमा लागेको बताउँछ्न् l नेपालबाट अतिथि जजमा रामकृष्ण ढकाल आउने कुराले उनी दंग छन् l उनी भन्छन्, “नेपाली तारामा पनि उहाँ नै जज हुनुहुन्थ्यो, यहाँ पनि उहाँ आउने खबरले उत्साहित छु ।” आफूले प्रतियोगिता जितेमा उक्त पुरस्कार राशिले गीत संगीतमा नै केही गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।
३. सुजन गुरुङ (भोटिङ नम्बर ३)
धादिङ जिल्ला नेत्रावति गाउँपालिका वडा नं. ५ बेतीनीमा जन्मिएका सुजन गुरुङ विगत सात वर्षदेखि कतारमा कार्यरत छन् । नेपालमा रियालिटी शोहरूको आगमन भएसँगै गायनमा झुकाव बढाएका गुरुङले प्रतिभा आँगनको रियालिटी शोमा भाग लिएको अनुभव सँगालेका छन् । कुनै पनि एल्बम सार्वजनिक नगरेका गुरुङले ग्रान्ड फिनालेका लागि तयारी गर्न कोसिस गरिरहेको बताए । उनले भावुक हुँदै भने, "ड्युटीमा गाउन मिल्दैन, रुममा गाउँदा अरूलाई समस्या पर्छ तर पनी मेहनत जारी छ ।" उनले आशाको दियो निभ्न भने दिएका छैनन् । नेपालबाट आउने अतिथि जजका सामुन्ने आफूले प्रस्तुति गर्न पाउनु नै आइडल जिते सरह हुने उनी बताउँछन् । आफूले प्रतियोगिता जितेमा आफूलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई कुनै न कुनै रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
४. मानसिङ परियार (भोटिङ नं. ४)
'भाग्य लेख्ने मसी', 'माया बस्ने मुटु', 'काठमाडौंको नाइट बस चढौंला', 'जुनेली रातैमा', 'दशैं तिहार सँगै मनाउँला' र 'बेसीमा टुनी'जस्ता गीतहरू बजारमा ल्याइसकेका रोल्पाली लोक तथा दोहोरी गायक मानसिंह परियार यतिबेला एनआरएन आइडलको ताज आफ्नो पोल्टामा पार्न कोसिस गरिरहेको छन् । विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी हाल दाङमा बसोबास गर्छन् । सन् २०१७ मा पहिलो गीत रेकर्ड गराएका परियार गाउँमा हुँदा झ्याउरे गीतहरू गाउने गरेको स्मरण गर्छन् । ड्युटीबाट बचेको समयमा रियाज गर्ने गरेका उनी रामकृष्ण ढकाल आउने कुराले दंग छन् । आइडलको ताज आफूले जितेमा गाउँकै स्कुलमा निम्न आए भएका विद्यार्थीका लागि कापी कलम किन्दिने र बचेको रकम गीतसंगीतमै लगानी गर्ने उनले बताए । ताज आफ्नो लागि आयोजक संस्थाको मुटु सरहको उपहार हुने उनले बताए l
५. रुस्तम तामाङ (भोटिङ नं. ५)
सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी स्कुले जीवनकालदेखि गाउन शुरु गरेको स्मरण गर्छन् । आफ्ना कुनै पनि एल्बम सार्वजनिक नगरे पनि उनीसँग थुप्रै स्टेजमा प्रस्तुति दिएको अनुभव छ । रामकृष्ण ढकाल अतिथि निर्णायकमा आउने खबरले रुस्तम हर्षित छन् । उनी भन्छन्, "मैले पहिलो पटक रियालिटी शोमा भाग लिएर पहिलो पटक उहाँकै गीत गाएको हुँ र त्यो एनआरएन आइडल हो । मैले उहाँका गीतहरू गाइरहेको र उहाँकै सामुन्ने प्रस्तुति दिन पाउने हुँदा सक्दो तयारी गरेको बछु ।" उनले आफूले प्रतियोगिता जितेमा पुरस्कारको राशि भने गीतसंगीतमै खर्च गर्ने बताए l
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।
मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ । खाडीमा काम गर्दै आफूसँग बचेको समय कलाकारितामा लगाइरहेको अवस्थामा मध्यान्ह दैनिकले ठूला साना कलाकार नभनी समान स्थान दिएकोप्रति कलाकार सकारात्मक मात्र देखिएनन् आभार समेत प्रकट गरे l मध्यान्हकर्मीलाई कलाकारितासँगै श्रमिकका मुद्दामा समेत कलम चलाउन उनीहरूले आग्रह गर्दै खुसी व्यक्त गरे l
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : भर्षटायल गायक प्रमोद खरेल कतार आइपुगेका छन् । देशदेखि विदेशका स्टेज कार्यक्रममा व्यस्त खरेलले आज शुक्रबार साँझ आफ्नो प्रस्तुति दिँदैछन् । कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको 'प्रमोद खरेल लाइभ' शोमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका खरेलले कतारमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा गरेका छन् । खरेलको स्वागतका लागि क्लब सञ्चालकद्वय सन्दीप भट्टराई र रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याललगायत सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । कार्यक्रममा प्रवेश शुल्क कतारी रियाल एक सय कायम गरिएको कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies