काठमाडौं : नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको नयाँ अनुमति प्राप्त गरेको छ । २१ करोड रुपैयाँ बराबरको दस्तुर नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएर टेलिकमले थप पाँच वर्षका लागि शुक्रबारदेखि नयाँ लाइसेन्स प्राप्त गरेको हो । प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताएका छन् ।
यसअघि टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो लाइसेन्सको अवधि शुक्रबारदेखि नै सकिएको छ । नेपाल टेलिकमलाई नयाँ अनुमति पत्र जारी गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २० को अधिकार प्रयोग गरी सो निर्देशन दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
सुनिल कार्की/मध्यान्ह
पाल्पा : ‘सम्मानित निजी क्षेत्र समुन्नत नेपाल’ भन्ने अभिप्रायका साथ आगाडि बढेको पाल्पा उद्योग वाणिज्य संघ तानसेनले जिल्लाका उद्योगी, व्यापारी र व्यवसायीको सहजताका लागि भिसिटिएस छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राजस्व अनुशन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा सञ्चालित एकदिने अभिमुखीकरण कार्यक्रममा जिल्लाका ७० भन्दा बढी उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । राजस्व अनुशन्धान कार्यालय बुटवलका राजस्व अधिकृत हुम पाण्डे र राजन कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण एवम् अन्तरक्रिया कार्याक्रममा भिसिटिएसको आवश्यकता, यसको फाइदा, महत्व, कानूनी कारबाही हुने अवस्था र जरिवानालगायतका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी उद्योगी व्यापारीले भिसिटिएसको प्रयोग गर्ने तरिका, देखिन सक्ने जटिलता र यसको सहजताका लागि राज्यले दिनसक्ने सुविधालगायतको बारेमा जिज्ञासा राखेका थिए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जिल्लाका उद्योगी व्यवसायीले खेप्न बाध्य समस्या समाधानका लागि आफू सधैं तयार रहेको बताए । कर र राजस्व छल्ने विषय राज्यलाई नै कमजोर बनाउने काम मात्र भएकाले इमानदार भएर अगाडि बढेको खण्डमा राज्य उद्योगी व्यवसायीकै पक्षमा उभिने बताए । यस्तै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बढ्दो उद्योगी व्यवासायीको पलायनलाई रोक्न आवश्यक रहेको बताए । उनले भने, ‘पाल्पा उद्योग वाणिज्य संघ व्यवसायी पलायनको गति रोक्न गम्भीर ढंगले अगाडि बढेको छ । अब उद्योगी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी देखिन्छ ।’
अध्यक्ष भट्टराईले तीनै तहका सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर जान सकेको खण्डमा र व्यवसायीमैत्री नीति तथा कार्यक्रम बनाउन सकेको अवस्थामा मात्र व्यवसाय फस्टाउने बताए । करदाता सेवा कार्यालय पाल्पाका प्रमुख कर अधिकृत सन्तोष सुवेदीले सबै उद्योगी व्यावसायी राज्यको नजरमा गलत नरहेको भन्दै लापरबाही र संवेदनशील नबनी करको चुहावट गर्नेलाई मात्र फरक ढंगले हेर्ने बताए । कतिपय उद्योगी व्यवसायी जानेर नजानेर पनि करको दायरमा आउन नसकेको देखिएकाले करदाता सेवा कार्यालय पाल्पाले आगामी दिनमा कर शिक्षा गाउँदेखि बजारसम्मै विस्तार गर्ने बताए ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्वअध्यक्षहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत थमन बहादुर सारु, राजस्व अनुसन्धान कार्यालय बुटवलका नायब सुब्बा दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
क्षितिज किरण/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको ग्लोबल डेरी उद्योगले मोहीको व्यावसायिक उत्पादन शुरु गरेको छ । उक्त उद्योगले वैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री शुरु गरेको हो । ५० करोड लगानीमा ९ वर्षअघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी मोहीको व्यवसायिक उत्पादन शुरु गरेको हो । उद्योगले एक लिटरको बोतलमा मोही बजारमा ल्याएको छ ।
शुरुवाती चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मोही बिक्री भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले जानकारी दिए । ‘बुद्धभूमि’ ब्राण्डमा बजारमा आएको मोहीको उपभोक्ता मूल्य ५० रुपैयाँ कायम गरिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।
अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मोही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मोही ५ दिन अगावै बिक्री भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने । बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले मोहीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरु उत्साहित भएको न्यौपानेले बताए ।
मोहीको बिक्री वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट मोहीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए । मोहीको व्यावसायिक उत्पादन सफल भएमा किसानको दुध बिक्री नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए । हाल ५० हजार लिटर दुध बिक्री गरिरहेको उद्योगले भविष्यमा धुलो (पाउडर) दुध उत्पादन र मोहीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए । उनले यसलाई कपिलवस्तुको मौलिक पहिचानको रुपमा विकास गर्ने बताए ।
नारायणी पूर्वमा ७ वटा पाउडर दुग्ध उद्योग रहेको, तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । यो उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
काठमाडौं : राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार लगायतको उत्पादन उपभोक्तको आकर्षण देखिन्छ ।
काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि लगायतका स्टलमा उपभोक्ताको भिड देखिन्छ । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीसंगको भेटवार्तामा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको थियो । चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसँगको भेटवार्तामा अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्वोधन गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ, व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधी खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ, ।’
चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्न आग्रह गरेका छन् । सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका र सो क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्ने चेम्बरको माग छ । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरुलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पुर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ ।
काठमाडौं : कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् । छुट पाउन सेवा लिएबापतको भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डमार्फत् गर्नुपर्ने छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सामान्य डेन्टल सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवामा ७ प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सक्ने केन्द्रले जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं : ज्योति विकास बैंकले बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ को सिएसआर कार्यक्रमहरु अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत् १५ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको हो ।
ई–नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ ।
कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परी हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकले जनाएको छ । बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन–पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरेको छ ।
ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १५ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरु चलाउन पनि सकिन्छ ।
काठमाडौं : साइमेक्स इंकले ११ जना बीवाईडी ईभी खरिदकर्तालाई युरोकप २०२४ हेर्न जाने अवसर दिएको छ । जर्मनीमा आगामी महिनादेखि हुने युरोकप हेर्न जाने ११ जना बिहीबार लक्की ड्रमार्फत छनोट गरिएको हो ।
शुक्रबार एक कार्यक्रमबीच बीवाईडीको नेपाली ब्रान्ड एम्बास्डर कलाकार हरिवंश आचार्य र साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा विजेता छनोट गरेका हुन् । साइमेक्सले फेब्रुअरी २६ देखि मे ५ सम्म बीवाईडीका विद्युतीय गाडी खरिद गर्ने ग्राहकमध्येबाट ११ जना विजेताको छनोट गरेको हो । यो अवधिमा ८ सय जना उपभोक्ताले बीवाईडीका सवारी खरिद गरेको कम्पनीले जनाएको छ ।
जुन १४ देखि जर्मनीमा शुरु हुने युरोकप २०२४ हेर्न जाने अवसर कविनराज श्रेष्ठ, शास्वत गौतम, दिनेश प्याथ, जयराम न्यौपाने, विजेन्द्र शाक्य, श्यामसुन्दर शाक्य, विमल गुरुङ, ममता क्षेत्री, सजनी पाण्डे, गणेश कँडेल र प्रदीप पौडेलले प्राप्त गरेका छन् । साइमेक्सले युरोकप २०२४ को अवसरमा ‘नेपाली अब युरो कपमा स्किम’ ल्याएको थियो । बीवाईडी युरोकप २०२४ को आधिकारिक ई–मोबिलिटी पार्टनर रहेको छ । युरोकप २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका दश स्टेडियमहरुमा आयोजना हुँदैछ ।
नवीन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकको सन्तुष्टिमा अग्रसर साइमेक्स इंककाअनुसार बीवाईडीका कार खरिद गर्ने ११ जना विजेताहरुलाई युरोकप २०२४ मा खेलको प्रत्यक्ष रुपमा मनोरन्जन लिने अवसर प्रदान गरेको हो ।
काठमाडौं : पशुपती सेरामिक्स्ले एटिएस टाइल्स्को परिक्षण बिक्रि वितरणको सुरु गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्र भित्र अवस्थित उत्पादन केन्द्रको निर्माण लगायत अन्य सम्पूर्ण पूर्व तयारीको कार्य सम्पन्न गरी कम्पनीले जनाएको छ । नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापित कम्पनीले दुई हप्ताको छोटो अवधिमा बजारबाट राम्रो उपस्थिति रहेको जनाएको छ ।
कम्पनीले सुरुवाती चरणमा भुईँको लागि ४००/४०० मिमिको पार्किङ टाइल र ६००/६०० मिमिको सेमी–भिट्रिफाइड टाइललाई बजारमा ल्याएको हो । कम्पनीले क्रमश ३००/४५० को वाल टाइल र ६००/ १२०० को जिभिटी र पिजिभिटी टाइल उत्पादन गर्ने तयारी समेत गरेको छ । कम्पनीले सबै प्रकार र आकारको टाइल उत्पादनको लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरीको प्रयोग गरी ६०००० बर्ग मिटर क्षेत्रफलमा इटालीयन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको छ ।
‘अन्तर्राष्ट्रियरुपमा स्थापित एटिएस ब्राण्डको टाइललाई नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरको रुपमा उत्पादन गरी बिक्री बितरणमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं,’ कम्पनीका कार्यकारी निर्देशक सरोज रौनीयारले भने ‘यस कदमले नेपालीउपभोक्तालाई आफ्नै देशमा उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डको टाइल सस्तो र सुपथ मूल्यमा हासिल गर्न सहज गराउनेछ ।’
कम्पनीको उत्पादन गरेको टायल गुणस्तरीय, उत्कृष्ट डिजाइनका हुनुका साथै शतप्रतिशत वाटरप्रुफ भएको दाबी गरेको छ ।‘अन्तराष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा बार्षिकरुपमा नेपालबाट बाहिरीरहेको करिब २० अर्ब रुपैँया देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरु बिदेशमा निर्यात हुँदा राष्ट्रको बिदेशी मुद्रा आर्जन र संचितीमा बृद्धि हुने र रोजगारीको श्रृजनाद्धारा राष्ट्रिय अर्थतन्त्रमा टेवापुग्ने बिश्वास कम्पनीले लिएको निर्देशक रौनीयारले बताए ।
करिब डेढअर्ब लगानीमा स्थापित यस कम्पनीको दैनिक १५ हजार बर्ग मिटर उत्पादन क्षमता रहेको छ भने आफ्नो उत्पादनले नेपाली बजारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने आँकलन रहेको छ । टाइल्स् फर यभ्री यज ट्यागलाइन सहित स्थापित कम्पनीले करिब २५० जनालाई रोजगारी दिएको छ । डिजाइनमा टाइल उत्पादन गर्नसक्ने क्षमता भएको कम्पनीले नेपाललाई छिट्टै भविष्यमा टाइल निर्यात राष्ट्रको रुपमा परिचय बनाउने गरी आफनो उत्पादनलाई वृद्धि गर्ने जनाएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ रुपैयाँ निर्धारण भएको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies