काठमाडौं : आगामी आर्थिक वर्षमा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूर्वतयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने उल्लेख गरिएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजना छनोट गर्दा सामाजिक, आर्थिक लाभ, प्रादेशिक सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधारका रुपमा लिइने बताए ।
उनले कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजनाहरु सार्वजनिक, निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइने बताए । विकास कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सूचना प्रविधिमा आधारित र नतिजामुलक बनाइने उनको भनाइ छ ।
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५ सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १५ हजार ५ सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने बताएका हुन् ।
राष्ट्रपति पौडेलले तराई मधेशका ३ लाख १८ हजार हेक्टर खेतीयोग्य जमीनमा कलस्टरमा आधारित 'स्यालो' तथा 'ट्युबेल'बाट सिँचाइ सेवा विस्तार गरिने बताए ।
काठमाडौं : सरकारले आगामी ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फलफूलमा देशलाई आत्मनिर्भर बनाउनेसहितका कार्यक्रम सरकारले सञ्चालन गर्ने बताएका छन् ।
धान उत्पादनमा वृद्धि भएको भन्दै चैते धान लगाउन किसानहरुलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने पनि घोषणा गरेको हो ।
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ । खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुन लगानी दशक घोषणा गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी, निजी र सरकारी लगानी कृषि क्षेत्रमा गरिने जानकारी गराए । त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ ।
कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिने उनले बताए ।
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीलाई उद्देश्यानुरूप सञ्चालन गर्न यस्तो निकाय सञ्चालनमा ल्याइने बताएका हुन् ।
उनले भने, ‘सहकारी नीतिलाई समयानुकूल बनाइने छ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र, सहकारी कर्जा असुली न्यायाधीकरणमार्फत सहकारीको बचत तथा लगानीको सुरक्षा गरिनेछ ।’
काठमाडौं : सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताए ।
यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता कायम गरिने उनले बताए ।
काठमाडौं : सरकारले गरिब नागरिकका लागि विद्युतीय चुल्हो उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने बताएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वित्त एवम् मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताए ।
यस्तै राष्ट्रपति पौडेलले मुद्रास्फितीदर घटेको बताए । लगानीको वातावरण सुधार गर्नका लागि कानूनको संशोधन गरेको र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले चालु खाता बचतमा रहेको र शोधनान्तर स्थिति धनात्मक अवस्थामा रहेको उल्लेख गरे ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको दाबी गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २९ सय मेगावाट विद्युत उत्पादन शुरु भएको बताउँदै ९८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षमा ३ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको उल्लेख गरे । सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको बताउँदै राष्ट्रपति पौडेलले विकास निर्माणका कामले तीव्रता आएको बताए ।
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।
वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् रु एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ । त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा रु एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो ।
सो अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८ दशमलव दुई प्रतिशत छ । चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख बराबर असुली भएको छ ।
कर राजस्वतर्फ रु १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् रु सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ ।
त्यस्तै, रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies