काठमाडौं : स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ ।
काठमाडौं : सुजल डेरी प्रालिले रस बदाम ड्रिंक बजारमा ल्याएको छ । क्यालिफोर्नियन बदाम, आयातित उत्कृष्ट केसर र पोखरा वरिपरिबाट संकलन गरिएको दूधको गुणस्तरीय रस बदाम ड्रिंक ल्याएको हो । रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेशिनबाट उत्पादन गरिन्छ । रस बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।
वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गैरहेको र निरन्तर अघि बढ्नको लागि शरिरलाई चाहिने उर्जाले पनि त्यत्तिकै महत्व राख्छ । उपभोक्तालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिंकले पूर्ण गर्ने कम्पनीको दाबी छ ।
काठमाडौं : एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैं अन’ नाम रहेको यस योजनाकोे मुख्य औचित्य भनेको नेपाली ग्राहकहरुलाई आफ्नो ब्यालेन्स सकिने हुने डर नगरी डाटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु हो ।
‘उपभोक्ताका आवश्यकताहरु परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्ना दैनिककार्यहरु जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’ अर्थात् अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिट लाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ । हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवाप्रदायकका प्लानहरु हुन् । इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग बापत ब्यालेन्स काटिरहेको हुन्छ । एनसेलको ‘सधैं अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन वटा समुहमा आठ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ । यसमा सात दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट शुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको चौध सय ९९ रुपैयाँसम्मका विभिन्न योजनाहरु रहेका छन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ । नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तरक्रियामा अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आन्तरिक अर्थतन्त्र सुधार गर्नेलगायत विषयलाई प्राथमिकताका अघि बढाउने उल्लेख गरेको र सोहीअनुसार बजेट विनियोजन हुने बताए ।
“नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ र बजेटसँग मेल खानेगरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने विषय नीति तथा कार्यक्रममा राखिएका छैनन्”, अर्थमन्त्री पुनले भने । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विभिन्न क्षेत्रसँग सुझाव लिइएको र कार्यान्वयनयोग्य सुझाव सम्बोधन गरिने प्रतिबद्धता अर्थमन्त्री पुनले जनाए ।
निर्माण आयोजनामा ठेक्का लगाएर दायित्व सिर्जना भइसकेपछि सरकार दायित्वबाट पन्छिन नहुने अर्थमन्त्री पुनको तर्क छ । अहिले उत्पादन र विकास निर्माण क्षेत्र समस्यामा रहेकामा त्यसलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको पनि उनले स्पष्ट पारे ।
“सरकार अभिभावक र अगुवा दुवै हो । सरकारलाई सबैले देखिरहेको हुन्छ र सरकारले सबैलाई देखिरहेको हुन्छ । अघिल्ला आर्थिक वर्षको बजेटमा परेका तर बीचमा निरन्तरता हुन नसकेको वा बहुवर्षीय आयोजनालाई निरन्तरता नदिँदा केही समस्या भएको देखिन्छ । भुक्तानी दिनुपर्नेछ भने नयाँ शीर्षकमा राखेर भए पनि भुक्तानी गर्न विषयगत मन्त्रालयलाई भनिसकेको छु”, पुनले भने, “बहुवर्षीय ठेक्का लगाएर दायित्व सिर्जना गर्ने तर दायित्व तिर्न सक्दिन भन्ने बोली सरकारको हुन सक्दैन । राज्य भनेको विगतका नीतिको निरन्तरता हुन्छ । को मान्छे मन परे, को परेनन् वा कस्ता खालका निर्माण व्यवसायीले ठेक्का पाए भन्ने सरोकारको विषय होइन ।” विभिन्न आयोजनामा ठेक्का प्रक्रिया अघि बढाएर दायित्व सिर्जना भइसकेपछि त्यसको जिम्मेवारी सरकारले लिने पनि उनले स्पष्ट पारे ।
ठूलो जनसंख्या कृषिमा आश्रित रहेकाले नीति तथा कार्यक्रम र बजेटले पनि कृषिलाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ । कृषि क्षेत्रलाई निर्वाहमुखी मात्र नभई प्रशोधन उद्योगसँग जोड्न सक्नुपर्ने तथा कृषिजन्य उत्पादनलाई प्रवर्द्धन गर्ने र बजारको सुनिश्चितता गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
काठमाडौं : १६औं योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार सोह्रौ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।
आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले मंगलबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको योजना र लागत अनुमानबारे जानकारी दिँदै कार्यान्वयनका लागि आवश्यक लगानीमा समस्या नहुने बताए ।
त्यसैगरी आयोगका प्रवक्ता यमलाल भुसालले १६औं योजनाले लिएका लक्ष्य कार्यन्वयनका लागि आवश्यक एक सय ११ खर्बभन्दा बढी लागत लाग्ने र लागत सुनिश्चिताका लागि नीजि क्षेत्रको साझोदारी बढाइने बताए । उनका अनुसार १६औं योजनाका रणनीतिहरूमध्ये विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधहरूको पहिचान, सम्बोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने रहेको छ ।
“संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलगायत सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारबीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउँदै दिगो विकास योजना कार्यान्वयन गर्ने लक्ष्य छ,” उनले भने । साथै विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूलप्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने तथा अध्ययन, अनुसन्धान एवम् तथ्यमा आधारित नीति निर्माण र विकासका कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्यअनुसार आवश्यक कार्य गरिने पनि उनको भनाइ छ ।
संरचनात्मक रूपान्तणका क्षेत्रहरूमा समष्टिगत आर्थिक आधारहरूको सबलीकरण र उच्च आर्थिकवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेलगायत छन् । यसैगरी अन्य क्षेत्रहरूमा उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा गर्ने, स्वस्थ, शिक्षित र सीपयुक्त मानव पूँजी निर्माण गर्ने, गुणस्तरीय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तर–आवद्धताका क्षेत्रहरू रहेका छन् ।
सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । यस्तै, योजनावद्ध, दिगो र उत्थानशील सहरीकरण तथा बस्ती विकास, लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी समतामूलक समाज निर्माण, प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास, गरिबी तथा असमानता न्यूनीकरण, प्रभावकारी वित्त व्यवस्थापन तथा पूँजीगत खर्च क्षमता वृद्धि, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन, जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र, अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयनका क्षेत्रहरु तोकिएका छन् ।
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित भइरहेको जनाएको हो ।
प्राधिकरणका अनुसार भोलि नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकानचोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिँकमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेत स्कुल, वडा नं १२ वडा कार्यालयलगायत क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
माथि उल्लिखित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौं : भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएका सब्बीरले अब ढाका अफिसमा रहेको टोलीसँग तीन देशमा भिजाका लागि बजार सञ्चालनको नेतृत्व गर्नेछन् ।
सब्बीर अहमदको नियुक्तिसँगै, भिजाले बंगलादेश र भुटानसँगै नेपालको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहोर्याएको छ । नेपालका लागि बढ्दो गतिमा डिजिटल भुक्तानीहरू अपनाउने क्रममा परिष्कृत भुक्तानी समाधानहरू प्रस्तुत गर्नमा भिजाले निरन्तर ध्यान केन्द्रित गरेको छ ।
भिजाले देशमा कन्ट्याक्टलेस भुक्तानी शुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले उपभोक्ताहरूलाई आफ्नो भिजा कार्ड मार्फत अनलाइन किनमेल गर्न वा क्यूआर कोड स्क्यान गर्न र भिजा कार्डमार्फत भुक्तानी गर्न सहज बनाएको छ । भिजाले सब्बीरको बजार नेतृत्वमा दक्षिण एसियाभरि डिजिटल भुक्तानी परिदृश्यमा आफ्नो वृद्धिलाई गति दिने लक्ष्य राखेको छ ।
नियुक्तिपछि कन्ट्री म्यानेजर सब्बीरले नेपाल, बंगलादेश र भुटानमा डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेका बताए । ग्राहक, नियामक र नेपालको बृहत्तर इकोसिस्टमसँग साझेदारी गर्न आफू महत्वपूर्ण भूमिका खेल्न तयार रहेको उनको भनाइ थियो ।
सब्बीर स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशबाट भिजामा सामेल भएका थिए, जहाँ उनले वेल्थ एन्ड रिटेल बैंकिङको प्रबन्ध निर्देशक र प्रमुखको रूपमा सेवा गरेका थिए । यसअघि उनले बंगलादेश र भियतनाममा एचएसबीसीमा वरिष्ठ नेतृत्व पदहरू सम्हालेका थिए ।
काठमाडौं - शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गर्ने भएको हो । राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ ।
भोलि हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने कन्क्लेभ हुनेछ । कन्क्लेभमा ४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले जानकारी दिए । उनकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो । हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि ग्रान्ड एजुकेसन कन्क्लेभ आयोजना हुनेछ ।
उक्त शैक्षिक मेला ग्रान्ड एजुकेसन कन्क्लेभु को मुख्य आकर्षणको रुपमा चर्चित गायिका अन्जु पन्त पनि सहभागी हुने र उपस्थित विद्यार्थी तथा अभिभावक हरूसँग भेटघाट गर्ने अधिकारीले बताए । कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँमै गर्न सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत सीईओ फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
काठमाडौं-लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाण्डौमहानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रकोसौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो ।
सडकबत्तीको व्यवस्था भएसँगैबालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ । स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौं । यस पहलले निःसन्देह यस क्षेत्रकोसौन्दर्य र सुरक्षा बढाउनेछ । हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ। हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं ।’
वडानम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे । नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आइएसओ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्दछ । यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ । खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबई लगायतका विदेशमा निर्यात गरिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies