काठमाडौं : टोखामा साहित्यको जगेर्ना तथा प्रवर्द्धन कार्यक्रम-२०८१ सम्पन्न भएको छ । टोखा नगरपालिका र वडा नं १ को कार्यलय, झोर महाँकालको आयोजनामा टोखा-१ स्थित झरना पार्टी प्यालेसको प्रेक्षालयमा साहित्यको जगेर्ना तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लामो समयदेखि साधनारत विभिन्न विधाद्वारा नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्द्धन गर्ने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो । टोखा नगरपालिका वडा नं १ का अध्यक्ष रमेश कुमार लामिछानेको सभापतित्व, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानीय सर्जकलगायत ३५ जना सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा डा. दामोदर पुडासैनी ‘किशोर’, वरिष्ठ साहित्यकार वासुदेव गुरागाईं र समकालीन मुक्तककार सन्तोष अम्गाईंले वक्ताका रूपमा मुक्तक विधा, समसामयिक साहित्य, साहित्य र पर्यटनका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजकर्ता एचके धिताल र चेतनपथ माधव रहेका थिए । कार्यक्रमको सञ्चालन गीतकार एचके धिताल र गजलकार आँचलकुमार शर्माले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख अधिकारीले साहित्य कहिल्यै नमर्ने क्षेत्र भएकाले आफूले साहित्य क्षेत्रमा केही नयाँ गरेर देखाउने धारणा राखे ।
कार्यक्रममा टोखा-१ का स्वर्गीय मंगलबहादुर तामाङ (गीत र गायन) र स्वर्गीय भैरव अधिकारी (भजन र साहित्य )लाई मरणोपरान्त साहित्य जगेर्ना तथा प्रवर्द्धन पुरस्कार-२०८१ प्रदान गरिएको थियो । साथै नरहरी दुलाल (गायन), श्यामकाजी श्रेष्ठ (गायन तथा गीत), शुदर्शन अधिकारी (गायन), सुमनकुमार धिताल (गीत), सुन्दरकुमार लामिछाने (कला तथा गायन), ईश्वरीप्रसाद अधिकारी (पत्रकारिता तथा साहित्य), ई.महेश्वर अधिकारी (उपन्यास), दिपेन्द्र घिमिरे (उपन्यास), आँचलकुमार शर्मा (गजल), शिव शर्मा (छन्द कविता), माधव बिडारी (उपन्यास), हरिकृष्ण धिताल (गीत र मुक्तक) र रेणु अधिकारी (गीत,लघुकथा र कविता)लाई नगदसहित साहित्य जगेर्ना तथा प्रवर्द्धन पुरस्कार-२०८१ बाट सम्मान गरिएको थियो ।
सो अवसरमा टोखा नगरपालिका वडा नं. १ का अध्यक्ष तथा कार्यक्रमका सभापति लामिछानेले यस कार्यक्रमले आफ्नो वडाको गौरव बढाएकाले आफूलाई खुसी लागेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका सदस्य राजकुमार बिडारी, पूर्ववडा अध्यक्ष श्रीकृष्ण अधिकारी, मुक्तक अभियन्ता सुनिल अधिकारी र मदन नेपाल, मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे, वरिष्ठ साहित्यकारहरु योगेन्द्र तिमल्सिना, मुकुन्द पौडेल, मुकुन्द शर्मा चालिसेलगायत अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
–डा. गोविन्द नेपाली
उमेशलाई त्यतिबेला मात्र थाहा भयो, उनी पूर्णरूपमा दृष्टिविहीन छन् । त्यति बेला उनी मात्र तीन वर्षका थिए । सानै छँदा बुबाको मृत्यु भयो । आमाले कडा मिहिनेतका साथ पाँच जना छोराहरूको पालनपोषण गरिन् । उनको उमेर हुर्कंदै गयो । उमेरले उनी स्कुल जाने भए । तर, कसरी, के गरि र कहाँ जाने भन्ने टुंगो थिएन । त्यतिबेला खासै दलितका बच्चाहरू पढाउँदैन थिए । त्यसमा पनि उनी जस्तो पूर्ण अपाङ्गतालाई कसले पढाई दिने ? एकातिरको चिन्ता छँदै थियो । अर्कातिरबाट समाजका नानाथरि कुराहरू सुन्न थाले । उनकी आमा तिनै कुराहरूमा ध्यान नदिई उमेशलाई कसरी पढाउन सकिन्छ भनी स्कुलको खोजीमा हुन्थिन् ।
२०५९ सालमा सरकारले विशेष विद्यालय शिक्षा चलाउने नीतिको थालनी गर्यो । त्यस बेलाबाट उनको पढ्ने इच्छाको ढोका खुल्यो । खोटाङ जिल्लामा सञ्चालनमा आएको विशेष क्षमता भएका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालय ज्ञानसक्छु मा.वि.मा भर्ना भए । त्यहाँ उहाँले कक्षा सातसम्म अध्ययन गरे । धरानको ल्याबरेटोरी स्कुलबाट २०६४ सालमा दोस्रो श्रेणीमा एस.एल.सी. पास गर्न सफल भए । ज्ञान सक्छु विद्यालयले अपांगता भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति जुटाउने काम गरिदिन्थ्यो । त्यसको लागि विभिन्न दाताहरूसँग समन्वय गरि विद्यार्थीलाई पढाउने गर्दथे । छात्रवृत्तिको लागि काठमाडौंमा त्यस्ता संस्थाहरू खोजी गरिरहन्थे । त्यसबेला परिलक्षित नामक संस्थाले पनि अपांगता भएकाहरूको लागि छात्रवृत्ति दिँदोरहेछ । बौद्धिक क्षमता भएका विद्यार्थी पढ्ने नेपाल सरकारले स्थापना गरेको स्कुल ज्ञानसक्छु मा.वि.की हेड मास्टर केशरी मेडमले उनलाई निकै सहयोग गरिदिइन् । त्यस संस्थामा १२२ जनाले आवेदन दिएका थिए । त्यसमा ३२ जना छनोट भए । त्यसको लागि उमेश पनि छनोटमा परे । उनले परिलक्षितको छात्रवृत्ति पाउन सफल भए ।
उमेशले २०६४ सालदेखि ०७५ सालसम्म जम्मा ११ वर्षको लागि परिलक्षित संस्थाबाट छात्रवृत्ति पाए । त्यसले उनलाई निकै नै हौसला थप्यो । केही गर्न सक्छु भन्ने आँट जोगायो । भावनामा थोरै आशा पलायो । र, केही गर्न लगायो । मौका पाउँदा सबैले गर्न सक्दो रहेछ, भन्ने उदाहरण देखाउने मौका संस्थाले दियो । त्यस संस्थाको कारणले धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट २०७९ मा नेपाली विषयमा डिग्री पास गरे ।
उमेशका पाँच भाइमध्ये उनी पूर्ण अपांगता भएको हुनाले आमाले सधैँ एउटै कुरा भन्ने गर्थिन्, “म मर्नुभन्दा पहिला तँ आफ्नो खुट्टामा उभिएको देख्न चाहन्छु ।” त्यसैले गर्दा उमेशको बाल मस्तिष्कमा केही गर्नु पर्दछ, भविष्यको लागि भन्ने छाप बस्यो । साथै, थप जिम्मेवारीको बोध भयो । बेला–बेला उनकी आमाले हरेस नखानु, भरोसामा बाच्नु पर्दछ भन्ने गर्थिन् । ती शब्दहरू आज झनै उमेशको जीवनका लागि मार्गनिर्देशित भए । बाटो र जीवनको मार्ग कोर्ने माध्यम बन्यो । संसारलाई उज्यालो ज्योति तिर फर्केर हेर्दा उमेश आफ्नो मनको पीडालाई यसरी बहकाउँछन् ।
आखाँले देख्दैन संसार मन रुदो छ अति ।
अन्तरमनले विश्वास गर्दा बढ्यो मेरो गति ।।
मन र आत्म विश्वास भएमा अधि बढ्न सहज हुँदो रहेछ । त्यसमा थप आमाको आशीर्वाद र मायाले उमेशलाई यो स्थानमा पु¥यायो । खोटाङ जिल्ला निवासी ३२ वर्षका उमेश परियार र ३३ वर्षकी सुनिता राईको एउटा कार्यक्रममा भेट भयो । परिचयपछि उनीहरू एक आपसमा नजिक हुँदै गए । दृष्टिले त देख्दैन थे उमेश, तर मनको अन्तरदृष्टिले सुनिताले बोलेको, उनले हाँसेको सुन्दा हृदयमा मज्जाकै अनुभव लिन्थे । सुनिता आफै पूर्ण भौतिक अपाङ्गता भएकी व्यक्ति हुन् । उमेश पूर्ण दृष्टिविहीन । उमेशको एकोहोरो सुनाई, मुस्कुराई, तर्कयुक्त बोली र ऊर्जाशील शब्दले सुनिताको मुटु बेला–बेला छुन्थे । त्यसबाट सुनिता पनि मख्खै हुन्थिन् । र, बाहिर भन्न सक्दैन थिइन् । तर, मनमनै भन्थिन्–
गाउँ उनकै ठाउँ उनकै मेरो क्याछ भाग ।
जोडी हुने मन खाइहाल्यो अन्तरमनको माग । ।
दिन बित्दै गए । दुवै जनाको एक आपसमा मन मिल्यो । एक टेक्न नसक्ने, अर्को देख्न नसक्नेबिचमा सम्झौता गरि जीवन चलाउने निर्णय भयो । गाउँ घर तिर एउटा उखान छ । तँ सोच म पुर्याउँछु । श्रीमतीको र उनको माइतितिरका मानिसहरूले निकै नै सहयोग गरे । जात सोधेनन् । धन सोधेनन् सहजै सुनिताका श्रीमान् उमेश हो, भनी स्वीकार गरे । जातमा खासै समस्या आएन । उमेश र सुनिताको अन्तरजातीय विवाह भए पनि मनमा अन्तर नहुँदा, हृदयमा खोट नहुँदा, चोखो प्रेमको औचित्य सफल भयो । नेपालमा झन्डै ६ लाख ४७ हजार अपाङ्गता भएका मानिसहरूका लागि यो एउटा नमुना हुन गयो । अपाङ्गता भएकाहरूको नेपालको कुल जनसङ्ख्याको २.२ प्रतिशत ओगटेको छ ।
उमेश स्नातकोत्तर परीक्षा दिए रिजल्टको प्रतीक्षामा थिए । धरानको शिक्षा निकेतनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि एक जना शिक्षकको आवश्यकताको विज्ञापन भयो । उनी त्यस्तै अवसरको खोजीमा थिए । फाराम लगाए । लिखितमा नाम निकाल्न सफल भए । अन्तरवार्ता भयो । त्यसमा पनि सफल भए । पाँच जना प्रतिस्पर्धीलाई पछाडि पार्दै शिक्षक बन्न सफल भए । दुई हजार ७७ सालमा नि.मा.वि. शिक्षकको नियुक्ति पाए । तलब निरन्तररूपमा आउन थाल्यो । त्यसले गर्दा आर्थिकमा खासै ठूलो समस्या भएन । उनले सोचेका पनि थिएनन् कि उनी यो स्थानमा पुग्छु भनेर । यसले गरे हुँदो रहेछ, भन्ने प्रमाण दियो ।
जीवन अनुभवहरूको सँगालो रहेछ । गर्न सक्नेका लागि धेरै छ । जीवन सङ्घर्षको बाटो रहेछ, मार्ग निश्चित हुनेका लागि गन्तव्य बनाउन सकिने । जीवन सुन्दर रहेछ, बसन्त बुझ्न सकियो भन्ने फुल जस्तै मगमग बसाउन सकिने । अपांगता भएकाहरूले केही गर्न सक्दैनन् भन्नेहरूका लागि गतिलो उदाहरण हो यो । शिक्षा बिना जीवन अधुरो अपुरो हुँदो रहेछ । यदि परिलक्षित संस्था नहुँदो हो त उमेश यो स्थानमा पुग्न कल्पना पनि गर्न सक्दैन थिए । जसले शिक्षाको ज्योति दियो । अँध्यारो बाटोबाट उज्यालो तर्फ मोडिदियो । त्यसैको परिमाण हो यो ।
हाल उनी नेपाल सरकारबाट स्थापना भएको ज्ञान शिक्षा निकेतनमा नि.मा.वि.को शिक्षकको रुपमा छन् । उनको भविष्यको उद्देश्य भनेको एक असल शिक्षक बनेर उनी जस्ता अपांगता भएका मानिसहरूलाई शिक्षाद्वारा सेवा दिने रहेको छ । असल बनाउने प्रयत्न गर्ने रहेको छ । उनीहरूमा परिवर्तन ल्याउने र आशाको किरण देखाउने रहेको छ । उमेश भन्छन्, “समाजमा जात दुई वटा मात्र छन् । महिला र पुरुष । अन्य सबै समान छन् ।” यी र यस्ता सन्देश फैलाउने र समाजमा अपाङ्गता भएकाहरूका लागि केही गर्ने रहेको छ । समाजको नेगेटिभ मानसिकतालाई चिरेर पोजेटिभ तर्फ डो¥याउने रहेको छ । उमेशलाई यो स्थान र यतिसम्मको सोचमा पु¥याउने परिलक्षित संस्था नै हो । यदि त्यो छात्रवृत्ति नपाएको भए आज उनी कहाँ हुन्थे, के हुन्थे त्यो उनले कल्पना पनि गर्न सक्दैन ।
–तिलु शर्मा पौडेल
मोना जापानले जापानमा म्याग्दी मोना इतावासी फेस्टिभलको आयोजना गर्न गत डिसेम्बरदेखि नै तयारी थाल्यो । मार्चमा मोना आइसीसीका केन्द्रीय अध्यक्ष ददिवल खड्का (दाइ), मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ (भाइ) सहितको एक टोलीले जापानबाट मार्च ९ मा कतारको भ्रमण गर्यो र मोना कतारको पाँचौ विविध सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै मोना कतारलाई इतिवासी फेस्टिभलमा सहभागी हुन निम्ता गर्यो ।
उक्त निम्तालाई स्वीकार्दै मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामी (दाइ), उनकी धर्मपत्नी फुलमती फगामी (भाउजू) र मैले कतारबाट जापान जाने सबै प्रक्रिया पुरा गर्यौं । कतारबाट अप्रिल २५ तारिक फिलिपिन्स एयरलाइन्समार्फत जापानको यात्रा तय गर्यौं । ८ घण्टा १० मिनेटमा मनिला अवतरण गर्यौं । हामी तिनै जना फिलिपिन्सको अध्यागमन पार गर्दै बाहिर निस्केर ट्याक्सी भाडामा लिएर हामी निस्कियौ घुम्न तर, गर्मी त खाडीका झल्को दिने रहेछ । एयरपोर्ट छोडेको केही मिनेटमा बाहिर पट्टिको फोहोर देखेर भाउजूले “फोहोर त ‘काटमान्नु’कै जस्तै रहेछ” भन्नुभयो । मनिला पनि भयंकरै व्यवस्थित लागेन, मेरै राजधानीको झल्को दियो धेरै कोणबाट । टेम्पो आकारका गाडीको कुदाई, सार्वजनिक यातायात र रोडको बिचमा यात्रु झार्ने र चढ्ने गर्दा नेपाल जस्तै लाग्यो ।
फिलिपिन्स कल्चरल सेन्टर, नेबी हेड क्वाटर हुँदै अमेरिकन दूतावासलाई देब्रे पार्दै हामी मनिला वसिएन पार्कमा केही बेर रमायौ । फिलिपिन्सको ठूलो चर्ज मनिला काटिड्रल तर्फ लाग्यौं । केही बेर त्यहाँ रोकिएर फिलिपिन्सको संसद् भवनसहित सहरलाई फन्का मारेर मनिलाकै एक दावामा स्थानीय खाना खायौं र एयरपोर्ट लाग्यौं ।
जहाजले पखेटा फिजाएसँगै हनेदा विमानस्थल जापान पुगियो । जापानको समयअनुसार बिहानीले किरण छरेको थियो । सबेरै कार्यक्रम स्थल जानुपर्ने विभिन्न तयारी गर्नुपर्ने आयोजक हामी तीन जनाको स्वागतमा तल्लीन देख्दा मन अमिलो भयो । आफू पनि दर्जनौँ कार्यक्रमको आयोजना गर्दा आयोजक बनेको अनुभवले होला उहाँहरूको पीडा र अप्ठ्यारा हामीले महसुस गर्यौं । करिब दुई दशक कतार बिताउँदै गर्दा यसअघि दुई पटक दुबई एक पटक सन् २०२० को जनवरीमा दक्षिण कोरिया पुगेको थिएँ । भ्रमणका हिसाबले रोजगारी गर्दै गर्दा जापान मेरो चौथो राष्ट्र बन्यो ।
जापानको बसाई छ रात सात दिन रह्यो । खामी इतावासी हेवा क्वोइन (पार्क)मा जापानको इतावासी नगरपालिका र म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभलमा भरपुर मनोरञ्जन लिँदै दुई दिन २७÷२८ तारिक बितायौं । अप्रिल २९ मा दाइ भाउजूसमेत गणेश भाइ, मोना जापानका महासचिव सागर कार्की, मोना कोरियाका उपाध्यक्ष रिम भण्डारी, मोना कोरियाका निवर्तमान अध्यक्ष किसन सेन्चुरी, मोना आइइसिका महासचिव सुनेश केसी सहितका अन्य साथीहरू जम्मा भएर हामीले ओदाइबामा रहेको रेन्बोब्रिज, त्यहाँको सरकारी फुजी टेलिभिजन हुँदै ओदाईबाबाट क्रुज (पानी जहाज) चढेर आसाकुशामा रहेको मन्दिरसम्मको यात्रा गर्यौं । तर, टोकियोको स्काई ट्री चढ्ने सपना भने पुरा भएन । जापानको सरकारी बिदा र गोल्डेन विकले भीड छिचोल्न सकिएन र हामी फर्कियौँ सिनओकोवुमा रहेको बारकाडे रेस्टुरेन्टमा । मोना फेस्टिभलमा सहभागी हुन् जापान आएका पाहुनाहरूको स्वागत तथा बिदाइ कार्यक्रममा भाग लिएर सिनओकोवुमा बास बसियो ।
अप्रिलको ३० तारिक बिहान सिनओकोवुको बसाइ हाम्रो लागि सकियो । मोना आइइसिका संस्थापक अध्यक्ष प्रकाश पुनसहित सबैसँग बिदा लिएर हामी छुट्टियौं । अप्रिलको ३० तारिक नरेन्द्र दाइको भेनाको घरमा पाहुनाको मेजमानी खाएर टोकियो मेट्रो स्टेसनबाट बुलेट ट्रेन चढेर दाइ, भाउजू र म नागोयातर्फ लाग्यौ । डेढ घण्टामा नागोया स्टेसनमा पुग्दा मोना आइइसिका उपाध्यक्ष दीपक केसी, मोना जापान क्षेत्रीय समिति नागोयाका संयोजक सागर बगाले थापा (भाइ) र सचिव सागर भण्डारी (भान्जा)को न्यानो स्वागतसहित हामी चुरुमाईमा अवस्थित दियालो रेस्टुरेन्टमा पुग्यौं ।
क्षेत्रीय समितिले नयाँ वर्षको शुभकामना आदान–प्रदान, क्यालेन्डर विमोचन तथा स्वागत समारोह आयोजना गरेको थियो । उक्त कार्यक्रम सकाएर म भान्जाको निवास गिफुतर्फ लागें । भान्जासँगै भने दाइ र भाउजू उहाँहरूको मामाकोमा जानु भो हामी छुटियौ । भान्जाको घरमा तीन महिनाकी बहिनी, नेपालबाट आउनु भएका बाबा ममी (मैले दाइ दिदी भन्छु) र भान्जी बुहारीसहित म नयाँ सदस्य केही दिनलाई थपिएँ ।
मेको १ तारिकका दिनमा बिहान खाना खाएर हामी जापानको सिराखावाको भ्रमणमा निस्कियौं । गिफु एकीदेखि सिराखावा र फेरी गिफुसम्मको करिब ३०० किलोमिटरको यात्रामा दाइ भाउजू जोडिनु भयो भने दाइ दिदी भान्जा र भाइ पनि सँगै भयौ तर, बहिनी र भान्जीलाई समेट्न सकेनौ ।
भोलिपल्ट हामी बिहान खाना नखाँदै भान्जाले मलाई जापानको राष्ट्रिय पोसाक किमनो लगाएर फोटो खिच्न लैजानु भयो । जुन कपडा लगाएर फोटो सेसन गरेको भाडा मात्र नेपाली २० हजार लाग्दो रहेछ । कपडा लगाइदिने महिला ८० वर्षीय र पछिल्लो ६० वर्षबाट सोही पोसाकहरू भाडामा दिने पनि र स्टुडियो पनि सञ्चालन गरेकी रहिछिन् । कपडा लगाएर गमक्क परेर घर आएर खाना खाएर नागोयाको क्यास्टल हेर्न गइयो । टोकियोमा रहँदा ट्रेन चढे पनि भान्जालाई भेटे पछि उहाँकै गाडीमा हिँडियो । दिनभर क्यास्टल घुमेर साँझ योकाइची मीमा जापानका सफल व्यवसायी तथा साहित्यकार विष्णु प्रसाद घिमिरे (दाइ)को हाम्रो किचन होटेल पुगियो । साँझको डिनर दाइ म र भान्जाले सँगै गरियो र राति घर फर्कियौँ ।
भोलिपल्ट बिहान दाइ दिदी भान्जी बुहारी र बहिनी सँग बिदा लिएपछि भान्जाले नागोया अन्तर्राष्ट्रिय विमानस्थलमा लिएर इमिग्रेसनको छेउसम्म पुर्याएर छोड्नु भो । भान्जासँग सानैदेखिको सामीप्यताले छुट्ने बेला परिवार घर र देश छोडेर सधैँको लागि निकै टाढा जान लागे जस्तो महसुस भो । आँशुले गह भरिए पनि कालो चस्माको सहाराले लुकाउँदै दाइ भाउजू र म फिलिपिन्स उड्यौं । फिलिपिन्समा एक रात बिताएर दाइ भाउजू सहित दुबई हुँदै कतार आइपुग्यौं ।
ट्याक्स फ्री देश कतारमा बसेको म श्रमिक जापान बसाइले धेरै कुरा सिकायो । जापानको यातायातको महँगी अति नै लाग्यो, हुन् त आम्दानीअनुसारको खर्च पनि हो । अति महँगो रेल भाडा, अति व्यस्त मानिस र महँगो सहरले कतारप्रतिको मेरो सम्मान झन् बढ्यो । यदि म जापानमा हुन्थे भने गरी खान नसक्ने रहेछु भनेर मैले मनमै लालमोहर लगाए । जापानमा रहेका विद्यार्थीहरूसँग पनि कुराकानी गर्ने मौका मिल्यो । परिवारसहित रहेकाहरू त्यहाँ सरकारले उपलब्ध गराउने ‘सस्तो निवास’मा बस्दा रहेछन् भने सिङ्गल बस्नेहरू निकै चर्को भाडा तिरेर बस्दा रहेछन् । मैले पटक–पटक आफू व्यवसायी, विद्यार्थी बनेर सोच्दा जति कमाई छ त्यति खर्च र जीवन कष्टकरै रहने पाएँ । जापानमा स्थापित एक नेपाली व्यवसायीले एक भेटमा जापानमा कम्पनी सञ्चालनमा ल्याउन सहज भए पनि नाफामूलक बनाउन धेरै गाह्रो रहेको बताएका थिए ।
मैले बुझेअनुसार जापानमा रहेका नेपालीहरूलाई क्यानडा, अमेरिका र अस्ट्रेलिया भिसा दिने हो भने जापान छाड्न ७५% तयार रहेछन् । भिसा लिन पनि सजिलो रहेछ तर, भिजिट भिसामा त्यहाँ गएर फेरि के शून्यबाट संघर्ष गर्नु भनेर रोकिएका पनि भेटे । जापानको जीवन देखेजस्तो सहज र राम्रो रहेनछ । सञ्जालमा हेरेर ठूला देशमा बस्ने मानिस खुसी, सुखी र सम्पन्न हुन्छन् भन्ने कुरा मेरो बुझाइले गलत साबित गरेको छ । धेरै गाह्रो छ विद्यार्थी भिसामा जान लागेकाले पनि धेरै सोचेर जानुपर्ने हुन्छ । जानुपूर्व काम, बस्ने होस्टेल या रुमको बारेमा बुझ्नु होला । जापानमा नेपालीले सञ्चालन गरेका कतिपय होस्टेलहरू स्तरहीन रहेको त्यहाँका नेपालीले नै सञ्जालमा छरपस्ट पारेका छन् ।
सपनाको देश हो जापान भने सबै सपना साकार हुँदैनन् भन्ने पहिला बुझ्न आवश्यक रहेको कटु सत्य ठहर गरेँ । एक पटक यो यात्रामा जोडिने भेटिने र छुटिने सबैप्रति सम्मान सहित धन्यवाद र माया ।
–मनीष आजाद
बच्चाहरू हरेक ठाउँ दौडेर जान्छन्
बच्चाहरू हरेक काम दौडेर गर्छन्
बच्चाहरूले हरेक कामलाई खेलमा बदलिदिन्छन्
चाहे त्यो
खेलौना खेलाउँदै आफैले खाना खानु होस्
या कुनै कुरालाई ताकेर पिसाव फेर्नु होस्
एक पटक मेरो काँखमा
खेलिरहेको बच्चा
अचानक मन्दिरको चौतारामा खस्यो
उसले रुँदै मसँग सोध्यो–
भगवानले मलाई लड्नबाट किन नजोगाएका ?
फेरि आफैंले निष्कर्ष निकाल्यो–
भगवान फटाहा रैछन् ।।
बच्चाहरू
हरेक कुराहरू
सिद्धान्त अनुसार नभएर
व्यवहार अनुसार बुझ्छन् ।।
बच्चाहरू
निर्जीव कुरामा पनि सास हाल्ने खाले
कुनै जादूगरजस्तै हुन्छन् ।
जब यी पुन्टे जादूगरहरूका हातमा हुन्छन्,
खेलौना बाहेक
बटुका चम्चा
सबै कुरामा ज्यान पस्छ ।।
बच्चाहरू
बटुकालाई घोप्ट्याएर कछुवा
अनि चम्चालाई सर्प बनाइदिन सक्छन्
दुरी कति छ भन्ने कुराको
उनीहरूलाई कुनै अर्थ हुँदैन
किन कि तिनीहरू जादूगर हुन्छन्
कल्पनाका जादुगर !
राती घरको छतमा सुतेका बेला
ताराहरूतिर टर्च बालेर
तिनीहरू तारालाई मित्रताको सन्देश पठाउछन् ।।
बच्चाहरू
कथा सुन्दैनन्
कथाहरूमा बाँच्ने गर्दछन् ।
हरेक दिन बिहान
बच्चाहरू रोलान् भनेर डराउँदै घाम झुल्कन्छ ।
बच्चाहरूलाई पिङ्ग खेलाउन
पृथ्वी आफ्नो अक्षमा लगातार घुम्ने गर्छ
बच्चाहरूको स्पर्श पाउन
फूलहरू फुल्ने गर्दछन्
बच्चाहरूलाई छुन भनेर
नदीहरू दौडन्छन्
समुद्र छचल्किन्छ
फेरि पनि हामी
बच्चाहरू छिटै ठूला होऊन भनेर सोच्छौं
उता बच्चाहरू भने
हामीबाट अलिकति भने पनि
निश्चल भैदिने आशा राख्ने गर्दछन् ।।
अनुवाद : मुक्ति पथिक
सुरेश भट्ट आश्रिन/मध्यान्ह
दोहा, कतार : नेपाली भाषा, साहित्य र कृति लोकार्पणजस्ता कार्यक्रम आजभोलि अन्तर्राष्ट्रिय डायसपोरामा पनि हुने गरेका छन् । नेपालीहरु जहाँ पुग्दछन् उनीहरुसँगै हाम्रा साहित्य सिर्जनाहरु पनि त्यहीँ पुग्ने गरेको पाइन्छ । साहित्य आफैंमा विश्व नियाल्ने आँखिझ्याल भएकाले पनि समयक्रमसँगै डायस्पोरिक लेखकहरू संसारभरि फैलँदै गएका छन् । यसक्रम सँगै साहित्यिक संस्थाको आवश्यकता र महत्व पनि बढ्दै गएको छ ।
नेपाली साहित्यिक क्षेत्रमा पछिल्लो समय नेपालमा साहित्यकारका रूपमा स्थापित भएका साहित्यकारहरु मात्र नेपाली डायस्पोरामा हुने कार्यक्रमका लागि आउने जुन रीत बसेको थियो, त्यो अहिले तोडिएको मुक्तकार सोतन्त्र नेपाल बताउँछन् ।
नेपालमा पनि साहित्यको क्षेत्रमा हजारौं व्यक्तिहरूले कलम चलाउँछन्, तर सबैको स्तरीय हुँदैनन् । यद्यपि स्तरीय भएपनि ओझेलमा पारिएका/परेका नव सर्जकलाई रमेश स्मृति कोषले प्रोत्साहन गर्दै आएको कवि संयोजक दीप मिलन बताउँछन् । यसपटक रमेश स्मृति कोषले प्रदान गर्दै आइरहेको "रमेश स्मृति पुरस्कार -२०८०" समर्पण कार्यक्रम तथा गजलकार "केबि धुँवाले"को एकल रचना वाचन कार्यक्रम दोहामा हुने उनले जानकारी दिए ।
रमेश स्मृति कोष नेपाल र समाज सेवा अभियान रूपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठन रूपन्देही र विशाल अनलाइन सोलुशन बुटवलको सहकार्यमा उक्त कार्यक्रम गरिने भएको हो । कोषले उक्त सम्मान "भत्किएको पर्खाल" कृतिका लेखक "सरस्वती बस्याल"लाई प्रदान गर्ने घोषणा गरेको छ।
कतारको नज्मामा अवस्थित एसियन स्टार रेष्टुरेण्टमा यही मे १७ तारिक शुक्रबार हुने उक्त कार्यक्रममा लेखक पूर्ण बिसीको "आमा" उपन्यास तथा सरस्वती बस्याल र समीम गैरेको संयुक्त मुक्तक संग्रह "भत्किएको पर्खाल"को लोकार्पण कार्यक्रम पनि गरिने भएको छ ।
कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका साहित्यकार, पत्रकार, समाजसेवीलगायत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि आयोजक संस्थाले अपिल गरेको छ ।
–मोहम्मद जाकिर हुसैन
अवधकी रानी बेगम हजरत महल (मुहम्मदी खानम) भारतले औपचारिक घोषणा नगरेको राष्ट्रिय विभूति हुन् । सन् १८५७ मा मेरठमा मङ्गल पाण्डेले शुर फुकेको सिपाही विद्रोहसँगै इस्ट इन्डिया कम्पनी सरकारले अवधका नवाब वाजिद अली शाहलाई बन्दी बनाई अवधमाथि आधिपत्य जमाएपछि बेगम हजरत महलले अवधको सिपाही विद्रोहको नेतृत्व गर्दै अङ्ग्रेज फौजसँग लडिन् । सुरुमा लखनउलाई स्वतन्त्र गर्न सफल भइन् र छोरा बिरजिस कद्रलाई गद्दीमा बसाएर विद्रोहलाई अगाडि बढाउँदै लडिरहिन् । विद्रोहमा नेपालबाट जङ्गबहादुर राणाको फौज अङ्ग्रेजलाई सहायता गर्न लखनउ पुगेको थियो । गोरखाली फौजको सहयोगमा सिपाही विद्रोह दबाउन अङ्ग्रेज सफल भयो र अन्ततः बेगम हजरत महललाई पराजयको स्वाद चाख्नै पर्यो । बेगम लखनउबाट समर्थकहरूका साथ भागेर बहराइच आई संघर्ष जारी राखिन्; अझ हिम्मत हारिनन् । बहराइचबाट अङ्ग्रेजी फौजले बेगमको फौजलाई लखेटेर नेपालको दक्षिणी सिमानासम्म पुर्यायो । बुटवल, दाङ–देउखुरीका इलाकाहरूबाट बेगम हजरत महलका समर्थकहरू नेपालको जङ्गल र बस्तीहरूमा आएर लुके । जङ्गबहादुरको अनुमतिले अङ्ग्रेज फौजले बुटवलको जंगलसम्म आई बेगमलाई दुःख दियो । दोहोरो भिडन्तमा बेगमका धेरै समर्थक मारिए; कतिपय तितरबितर भई ज्यान जोगाउँदै भागे; कतिपयलाई समातेर भारत लगेर कैद गरे र कतिपयलाई मारियो । पछि जङ्गबहादुरको फौज पनि त्यस जङ्गलमा पुगेर बेगमको फौजमाथि आक्रमण गर्दा दोहोरो भिडन्त भयो । भनिन्छ ३० देखि ३५ हजार बेगमका समर्थक त्यस जङ्गलमा थिए ।
बेगम त्यस जंगलको सुखौरा भन्ने ठाउँमा गढ बनाएर सबै बन्दोबस्तीसाथ बसेकी थिइन् । उनले सम्भवतः त्यहीँबाट शक्ति आर्जन गरी अङ्ग्रेजसँग लड्ने योजनासमेत बनाएकी थिइन् । उनी महत्वकांक्षी वीराँगना योद्धा थिइन् । सुखौरा गढमाथि पटक–पटकको फौजी आक्रमणले गर्दा धेरै मानिसहरू यत्रतत्र भागे; कोही तराईका विभिन्न बस्तीहरूमा गएर लुके र त्यहीँका बासिन्दा भए; कोही ज्यान जोगाउन सकिएला भनेर पहाडतिर उक्ले, उतै बसे । भनिन्छ उनीहरूमध्ये कतिपय त हिमाली इलाकाबाट तिब्बत पनि छिरे ।
जङ्गबहादुरको फौजले बुटवलको जङ्गलभित्र बेगमले निर्माण गरेको सुखौरा गढमाथि गरेको आक्रमण र ब्रिटिस–भारतीय दबाबले बेगमसँग आत्मसमर्पण गरी शरण माग्नुको विकल्प बाँकी रहेन । जङ्गबहादुरले खरखजाना, जवाहारातको लोभमा उनलाई काठमाडौंको थापाथली दरबारस्थित बरफ बागमा शरण दिए । तर, यथार्थमा त्यो शरण थिएन । बेगम हजरत महल, नाना साहेब, बिरजिस कद्र, मुन्सी मुहम्मद हुसेन, काशी बाईलगायत एउटा ठूलो समूहलाई बन्दी बनाई काठमाडौं ल्याइपुर्याइएको थियो । अङ्ग्रेजसँगको राम्रो सम्बन्ध बिग्रन नदिन जङ्गबहादुर राणाले उनीहरूलाई काठमाडौं उपत्यकाबाट बाहिर जान नदिने सर्तमा अङ्ग्रेजलाई सुपुर्द नगरेको सहजै अनुमान गर्न सकिन्छ ।
‘जङ्गबहादुरले शरणमा आएकालाई मरण नदिएको’ इतिहासको विवरण आफैँमा हास्यास्पद छ । शरण दिएको भए जागिर–भत्ता दिएर राजकीय सम्मानसाथ राखिनु पर्थ्यो । बेगम हजरत महलको जीवनका अन्तिम दिनहरू निकै कष्टमय अवस्थामा बितेको थियो । साथमा ल्याएका अमूल्य जवाहरात र गरगहना सस्तोमा बेच्दै जीवन धानेकी थिइन् उनले । खरिद गर्ने जङ्गबहादुर र उनका भारदार नै थिए ।
जङ्गबहादुरमा अङ्ग्रेजविरुद्ध गई यी विद्रोहीहरूलाई सुपुर्द नगर्ने हुती थिएन । जङ्गबहादुर अङ्ग्रेजका खास मान्छे थिए । अङ्ग्रेजलाई खुसी पार्न नै सिपाही विद्रोह दबाउन उनले फौज सहयोग गर्ने प्रस्ताव पठाएका थिए । युद्धमा सहयोग गरेबापत अङ्ग्रेजबाट उनले निकै दक्षिणा र सम्मान पनि पाएका थिए । तर, नकारात्मकभित्र सकारात्मकको उत्खनन तथा पहिचान पनि हुनुपर्छ । कुटनीतिकरूपबाट विश्लेषण गर्ने हो भने जङ्गबहादुर राणाको अङ्ग्रेज चाकरीले गर्दा नै बाँकेदेखि कञ्चनपुरसम्मको भूभाग नेपालले अङ्ग्रेजबाट उपहारस्वरूप फिर्ता पाएको थियो जसलाई आज पनि ‘नयाँ नेपाल’ भन्ने गरिन्छ । जे–जस्तो अवस्था र परिवेशमा भए पनि बेगम हजरत महलले काठमाडौंमा बस्ने अवसर प्राप्त गरिन् । जङ्गबहादुर राणाले उनीहरूबाट बहुमूल्य जवाहरातहरू हात पारे । ग्वालियरका पेशवा नाना साहेबको श्रीपेचसमेत उनकै भयो । तर, बेगम हजरत महल, बिरजिस कद्र, नाना साहेब, मुन्शी मोहम्मद हुसेन, काशी बाई कसैको बसाइ काठमाडौंमा सुखद रहेन । नाना साहेब भेष बदलेर कहिले कता कहिले कता हिँडिरहे । काशी बाईलाई जङ्गबहादुरले कोठरीमा पुर्याए । धेरै सुन्दर महिलाहरू सिकार भए ।
बेगम हजरत महल र उनका पुत्र तथा अवधका अन्तिम नवाब बिरजिस कर्दलगायत ठूलो संख्यामा भारतको प्रथम स्वतन्त्रता सङ्ग्रामका सिपाही र योद्धाहरू काठमाडौंमा बन्दी जीवन बताउन बाध्य थिए । अरू कुनै उपाय पनि थिएन उनीहरूसँग । काठमाडौंमा बन्दीको रूपमा शरणमा रहेको यस समूहमा अन्तिम मुगल बादशाह बहादुर शाह जफरका एकजना भारदार पनि थिए । नवाब शेख वाजिद अली शाहका कैयौँ नातेदार र भारदारहरू यस समूहमा थिए । यिनमा कतिपय उच्च कोटीका उर्दू र फारसीका शायरहरू पनि थिए । त्यस बखत काठमाडौंमा हुने उर्दू र फारसीका मुशायराहरूमा प्रस्तुत गजलहरूलाई ख्वाजा नईमुद्दीन बदख्शी भन्ने शायरले संकलन गरी आफ्नो डायरीमा किताब (छाप्ने शैलीमा हुने हस्तलेखन) गरेर राखे । प्रा. डा. अब्दुर रऊफ कौसरको नेतृत्वमा भएको ‘नेपालमा उर्दू शायरी’ विषयक शोधमा नेपालगन्जका उर्दू शायर आदिल सरवर र यो पङ्क्तिकार अनुसन्धाता सहयोगीको रूपमा काम गरेका थियौँ ।
२०५७ मा त्रिविको उर्दू चेयरले यो पुस्तक प्रकाशित गरेको थियो । ती मुशायराहरूमा नवाब बिरजिस कद्रका पनि गजलहरू समावेश भएका छन् । त्यस शोधमा बदख्शीको पाण्डुलिपिबाट त्यस कालका केही शायरहरूका गजलहरूलाई समेटिएका छन् । ती शायरहरू हुन्– बिरजिस कद्र, ख्वाजा नईमुद्दीन बदख्शी, नशरुल्लाह कश्मिरी ‘हरीफ’, गुलाम मुहम्मद खानकाही, मियाँ महीउद्दीन, अहमद पहलवान, बदर, मुन्शी मोहम्मद हुसेन, मुन्शी बहादुर सिंह ‘अहकर’ र भोलानाथ फलक । योे डायरी काठमाडौंका वरिष्ठ उर्दू शायर ख्वाजा मोअज्जम शाह रजा नियाजीसँग सुरक्षित छ । उनले पुस्तैनी यसको संरक्षण गरेका छन् । उनीसँग यस्तै अरू पनि डायरी उपलब्ध छन् जसले बेगम हजरत महललगायतको इतिहास खोतल्न सहज बनाउन सक्दछ ।
बेगम हजरत महल सन् १८५९ तिर तीन सय बढी मानिसहरूको क्याराभानसाथ काठमाडौं उपत्यका आउँछिन् । जङ्गबहादुर राणा बस्ने दरबार नजिकै उनलाई बरफ बागमा राखिन्छ । किशोर छोरा नवाब बिरजिस कर्दलगायत उनका साथ आउनेहरू काठमाडौंमा के–कसरी जीवन व्यतीत गरे, त्यसको अन्वेषण हुन अझ बाँकी नै छ ।
बिरजिस कद्र र उनका साथ रहेका उर्दू, फारसीका शायरहरूले नेपाली समाजमा उर्दू र फारसी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । उनीहरूले नेपालमा मुस्लिम सभ्यताको विकासमा नै अतुलनीय योगदान गरेको देखिन्छ । घण्टाघरमा उनीहरूले एउटा एमामबरा पनि बनाएका थिए । एमामबरामा मुस्लिमहरूको जमघट हुनेगर्थ्यो र मुस्लिमहरूले दैनिक पाँच समयको सलात (नमाज) पनि अदा गर्थे । यस एमामबराको वर्णन कमलमणि दीक्षितले पनि एक लेखमा गरेका थिए ।
बेगम हजरत महलको नेपाली जामे मस्जिद परिसरमा रहेको ऐतिहासिक मकबरा, बुटवलको जंगलभित्र सुखौरा नामक स्थानमा बेगमले निर्माण गरेको गढ जसको उत्खनन हुन बाँकी छ, जङ्गबहादुर राणाले जफत गरेको नौलखा हार, अन्य बहुमूल्य हार र जबाहरात, घण्टाघरको एमामबरा, बदख्शीको डायरी आदिको अध्ययन, अनुसन्धान र उत्खनन गर्न सकियो भने यसले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने आधार छ । नेपाल–भारतको अटुट सम्बन्धको दृष्टिकोणले पनि बेगम हजरत महलको गौरवमय इतिहासको उत्खननमा नेपालले नै चासो देखाउन सके, यो हाम्रो सम्पत्ति बन्न सक्छ । हिजो तिब्बत–चीनले हाम्रो भृकुटीको अन्वेषण र सम्मान गर्यो जबकि भृकुटी त हाम्रो थियो । बेगम हजरत महलको अपनत्व नेपालले लिनुपर्छ ।
बेगम हजरत महलले ७ अप्रिल, १८७९ मा यस संसारलाई छोडिन् । घण्टाघरस्थित तत्कालीन नेपाली जामे मस्जिदको परिसरमा उनलाई दफन गरियो । उनको मकबरा (चिहान) आज पनि सुरक्षित छ । नेपालमा रञ्जित रे राजदूत हुँदा प्रत्येक वर्ष उनको मकबरामा पुष्प गुच्छा चढाएर उनको स्मरण गर्दै सम्मान गर्ने परिपाटी सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारी र यो पङ्क्तिकार राजदूत रेका साथ पहिलो पटक बेगम हजरत महलको स्मरण दिवस मनाउन मकबरा पुगेका थिए । यसलाई सकारात्मक पहलको रूपमा लिनुपर्छ । भारत सरकारले बेगमको सम्मानमा लखनउको विक्टोरिया पार्कको नाम बदलेर बेगम हजरत महल पार्क बनायो र उनको स्मरणमा डाक टिकट जारी गर्यो । आमाको मृत्युपछि छोरा बिरजिस कद्र महारानी भिक्टोरियाले क्षमा दिएपछि कलकत्ता गए । तर, त्यहाँ उनीसमेत धेरैलाई विष खुवाएर मारियो ।
जसरी भारतको पहिलो स्वतन्त्रता सङ्ग्रामको हिरोको रूपमा इतिहासमा छाएकी छिन् बेगम हजरत महल, नेपालको इतिहासमा पनि उत्तिकै महत्वपूर्ण छिन् उनी । अझ नेपाली मुस्लिम समुदायको इतिहासमा उनको गाथा स्वर्णिम अक्षरले लेखिन्छ । उनको जीवनी, उनले बुटवलको जंगलभित्र सुखौरामा निर्माण गरेको गढ, घण्टाघरमा स्थापना गरेको एमाबरा, बदख्शीको डायरी, उनको ऐतिहासिक तथा पुरातात्त्विक मकबरा र सिपाही विद्रोहपछि काठमाडौं छिरेका मुस्लिम समुदाय जसलाई हिन्दुस्तानी मुसलमानको पहिचान पनि प्राप्त भयो; जस्ता ऐतिहासिक तत्वहरूले थप गहिरो अनुसन्धान चाहेका छन् ।
(लेखक हुसैन, पूर्वमन्त्री हुन् ।)
–श्याम रिमाल
राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज÷ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि, इतिहास लेखन तथा अध्ययन अध्यापनका दौरान ती दुईलाई बाबुछोरीकै रूपमा मानिन्छ र दुवै नेपालका राष्ट्रिय विभूतिमा पनि दरिएका छन् ।
‘भृकुटी’ हाम्रा काव्य, निबन्ध, नाटक आदिमा आइरहने नाम हो । ‘भृकुटी’ आख्यानमा कम आएकी छन्, जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गरेका छन् । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् ।
नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्धधर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास, धर्मसंस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधैं स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ ।
इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ जसबाट पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने विरोधप्रति पनि सचेत थिए । त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए ।
दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङ चङ गम्पोसँग विवाह गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भवलगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो ।
बौद्ध धर्मसंस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ, कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति पनि तिब्बत लगेकी थिइन् ।
यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवद्र्धनमा सहयोग गरेको थियो । उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा ट¥यो र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो । आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् ।
राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रालि (साङ्ग्रिला बुक्स)द्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरुको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् ।
“यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ । भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कञ्जुस्याइँ गर्नु हो । त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ”, उपन्यासकारले ‘मेरा कुरा’ मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् ।
कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोजेका छन् । “विद्वानहरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो”, भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा पनि ग्रहणयोग्य छ ।
सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याएका छन् । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बद्र्धनमा केही काम लाग्दैन ।
कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती छ भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’ को पनि अर्थ भेटिन्न । तथापि एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ ।
–राजन केसी
देश पनि उही
जन्म पनि उही
राज्यको संरचनामा फरक ।।
मानिस उही
समाज उही
संस्कृतिमा फरक–फरक ।।
कान पनि उही
नाक पनि उही
साहुका ध्वनीमा फरक ।।
मुख पनि उ उही
जिब्रो नी उही
खानाको स्वादमा फरक ।।
खुट्टा नी उही
घुँडा नि उही
हिँड्ने साधनमा फरक ।।
कलेजो उही
मुटु पनि उही
मन र चित्तमा फरक ।।
धर्ती पनि उही
आकाश पनि उही
शासनमा फरक ।।
सास पनि उही
आस पनि उही
गरिबको बासमा फरक ।।
रगत उही
जवानी पनि उही
जात व्यवस्थाको ठूलो र सानो फरक ।।
घाट पनि उही
जल्ने चिता उही
बाँचुन्जेल धनी र गरिबको चिन्तनमा फरक ।।
राज्य उही
पुर्खाको भूगोल पनि उही
राष्ट्र राज्यको पहिचानमा फरक ।।
श्रम उही
पौरख पनि उही
श्रमको ज्यालामा धेरै फरक ।।
– अनन्तप्रसाद घिमिरे
धमिराले काठ खाए
धमिराले अन्न खाए
धमिराले वस्त्र खाए
आखिर धमिराले सबथोक खाए ।।
धमिरा कालो भए पनि
धमिरा सेतो भए पनि
धमिरा छ्यासमिसे भए पनि
आखिर धमिराले सबथोक खाए ।।
घरको भित्तामा धमिरा
खेतको गह्रामा धमिरा
किताब राख्ने दराजमा धमिरा
आखिर धमिराले सबथोक खाए ।।
केन्द्रको भव्य महलमा धमिरा
प्रदेशको चौतारोमा धमिरा
गाउँको कटेरोमा धमिरा
आखिर धमिराले सबथोक खाए ।।
देख्दा मायालु छ धमिरा
हेर्दा दयालु छ धमिरा
लुसुक्क, भुसुक्क, मुसुक्क
आखिर धमिराले सबथोक खाए ।।
काठमाडौं : शिवपुरी सन्देशको ३०औं र शिवपुरी साहित्य समाजको १६औं वार्षिकोत्सवको अवसरमा 'गुन्द्रुक, मकै, भटमास' कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्रष्टा सम्मान तथा शिवपुरी सन्देशको १०३औं पूर्णांकको लोकार्पण पनि गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिनुका साथै रचना वाचन पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मासहित विष्णुबहादुर सिंहलगायतले शिवपुरी सन्देशको १०३औं पूर्णांक विमोचन गरेका थिए ।
सो अवसरमा शिवपुरी सन्देशका विशिष्ट सदस्यहरू रामप्रसाद पन्त, पवन आलोक, नवराज पुडासैनी ज्योत्सना, बुद्धिराज पाण्डे, तुल्सीराम पुडासैनीलगायतलाई विशिष्ट सदस्यको प्रमाणपत्र र सम्मानित स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ र किरण पन्थीलाई सम्मानपत्र र नगदले सम्मान गरिएको समाजले जानकारी दिएको छ ।
कार्यक्रममा वाचन गरिएको ३६ वटा रचनाबाट प्रा.डा गोविन्दमान सिंह कार्कीको एकल निर्णायकबाट छनोट पार्वती अधिकारीको कविता उत्कृष्ट घोषणा भएपछि वियोगी बुढाथोकीले अधिकारीलाई एक हजार नगद र शिवपुरी सन्देश प्रदान गरेका थिए ।
वियोगी बुढाथोकीको स्वागत, शंकर भारतीको धन्यवाद तथा नगेन्द्रराज शर्मा र विष्णुबहादुर सिंहको मन्तव्य रहेको कार्यक्रममा रामेश्वर के. सी, रोमा लम्साल, वासुदेव ठकुरी, आंचलकुमार शर्मा, रामबहादुर पहाडी, सरस्वती अर्याल, रूद्र अधिकारी, विष्णु थापा, गंगा खड्का, मन्जु अधिकारी, मुकुन्द शर्मा चालिसे, माया देवी शर्मा, अमर अधिकारी, प्रमोद नेपाल, अरूण खत्री, कमला देवकोटा, रचना अधिकारी, केशवप्रसाद रूपाखेती, राजु शर्मा, प्रमिला ज्ञवाली, प्रशंसा के . सी, मनु शर्मा, उमेश पाण्डे, मायादेवी वस्नेत थापा, विकल त्यागी, पार्वती अधिकारी, मोहन के . सी, होमशंकर बांस्तोला, नारायण भण्डारी, अनुराधा शर्मा, रामराजा महर्जन, राजेन्द्र के. सी, एन. वी जनकपुरी, विजन बज्राचार्य, ममता कार्की, रीता खत्री, युवराज नयांघरे, बद्री उप्रेती र गोपीकृष्ण थापाको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा विक्रमभक्त जोशी, राजु अधिकारी, उत्तम विचार, शम्भुप्रसाद गजुरेल, नम्रता उप्रेती, विजयध्वज थापा, नवराज पुडासैनी, बुध्दिराज पाण्डे, रूपक वनवासी, दीपक लोहनी, तुल्सीराम पुडासैनी, इश्वर दवाडी, महेशप्रसाद पाण्डे, डा. चेत परियार, लव खड्का, रन्जुश्री पराजुली, रूपा रिसाल चालिसे, शंकर भारती, पवन आलोक, रामप्रसाद पन्त, सुभाषचन्द्र पौडेल, जीत कार्की, विसु के. सी, सुदर्शन आचार्य, केशवराज पाठक, वसन्त गौतम, शितल लामा, गुप्तबहादुर श्रेष्ठ, तारादेवी श्रेष्ठ, अच्युत घिमिरे, अर्सु घिमिरे, उमेश पान्डे, पौडेल वीमुन्स, गोकर्ण अर्याल, सुरेश भट्ट, निर्मल अर्याल, ज्ञानेन्द्र क्षेत्री, प्रकाश घायल, चेतनपथ माधव, प्रज्ज्वल अधिकारी, कात्यायान, कुमारबहादुर केसीलगायत एक सय तीन जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गीतकार हरिकृष्ण धिताल र कवि प्रज्ज्वल अधिकारीले गरेका थिए । कार्यक्रम सफल पार्न खटिएका सम्पूर्णलाई समाजले धन्यवाद ज्ञापन गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies