२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

सामा चकेवा : दिदीबहिनी र दाजुभाइबीच स्नेहको अनुभूति

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ कार्तिक २४ गते १४:५३
सामा चकेवा : दिदीबहिनी र दाजुभाइबीच स्नेहको अनुभूति

रौतहट : दिदीबहिनीद्वारा दाजु भाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेशमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ । यो पर्व कात्तिक महिनाको द्वितीयादेखि पूर्णिमासम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदी­बहिनीले यो पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।

पूर्वी तराई र मधेश प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई अंकित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति  हुन्छन् । 

छठ पर्वको खरना (पंञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रंगहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाइन्छ । तराई भेगमा घरघरमा माटोको मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । 

यो पर्व बालिकाहरूको भए पनि युवती र प्रौढहरू उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । छठ पर्वको खरना वा पारणदेखि तराईका महिलाले माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बालेर घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् । यो पर्वमा ‘सामा’ स्त्री पात्र अर्थात दिदीबहिनी र ‘चकेवा’ पुरूष पात्र अर्थात दाजुभाइलाई बुझाउँछन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुकुर, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली गर्ने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । 

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा कुरा लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ-टोल घुमाउँदै सार्वजनिकस्थलमा लान्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । 

कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुक्ली लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’को जुँगा ढडाउने गरिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise