सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : समयमै पानी नपरेपछि चिन्तित पहाडि क्षेत्रका किसानहरु यति बेला मकै छर्न व्यस्त भएका छन् । समयमै वर्षात नहुँदा किसानहरू मकै छर्न नपाएर चिन्तित बनेका थिए । आकासे पानीको भरमा खेती गर्दै आएका गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची लगायत पहाडि जिल्लाका किसान यतिबेला मकै छर्न व्यस्त भएका हुन् ।
अर्घाखाँची लगायतका पहाडी जिल्लामा अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । सिँचाइको सुविधा नहुँदा जतिबेला आकाशे पानी पर्छ त्यही मौका छोपेर बाली लगाउने गरिन्छ । जिल्लाका ग्रामीण भेगका किसान यतिबेला बारीमा गोठेमल बोक्ने र मकै छर्न व्यस्त छन् ।
गहुँबाली काटेलगत्तै किसानहरू मकै छर्न व्यस्त हुने भएपनि यस वर्ष आकासे पानी ढिला परेको कारण किसानहरु ढिलागरी मकै छर्न व्यस्त भएको भूमिकास्थान नगरपालिका वडा नम्बर १० का किसान तेजु भट्टराईले बताए । कतिपय किसानले यस वर्ष ढिला खेतमा छरेको गहुँ माड्ने कामलाई थाँती राखेर पनि मकै छर्न थालिएको भट्टराईले सुनाए ।
वैशाखमा छरेको मकैको उत्पादन राम्रो हुने किसानहरु बताउँछन् । मकै छर्ने ठिक्क समयमा पानी परेपछि किसानहरू खुसी भएको हङसपुरका किषान लोकेन्द्र बिक ले बताए हसपुरमा पनि मकै छर्न किसानलाई भ्याइनभ्याइँ छ । सबै किसान खेतीपातीमै व्यस्त भएकाले खेताला पाउनसमेत मुस्किल भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ का किसान तुल्सी पौडेलले बताए ।
पौडेलका अनुसार लामो समय सम्म पानी नपरेपछि किसानहरूलाई डढेलोले चिन्तित बनाएको थियोे । अहिले भने गाउँमा किसानहरुलाई बोल्ने छलफल गर्ने समेत दिउँसोमा फुर्सत छैन । उनीहरु आफ्नो काममा व्यस्त छन् ।
विभिन्न पेशा व्यवसाय अध्ययन तथा मजदुरीका लागि जिल्ला बाहिर गएकाहरू पनि यतिबेला मकै छर्न घर फर्किएको नरपानिका किसान सुर्य भट्टराईले बताए ।
खेताला नपाएपनि घर फर्किएकाहरूले खेतीपातीमा सघाइरहेका छन् । खाद्य संकट हुन नदिन किसानहरू उत्पादन वृद्धि कसरी गर्ने भन्ने ध्याउन्नमा रहेको छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगन्जका किसान प्रेम आचार्यले बताए ।
खेतीपातीभन्दा अन्य पेसामा ध्यान दिने युवाहरु पनि अहिले गाउँमा खेतीपाती लगाउने कार्यमा ध्यान दिन थालेको पाणिनी गाउँपालिका वडा नम्बर २ का किसान प्रमोद गौतमले बताए ।
‘यो सकारात्मक पक्ष हो,’गौतमले भने,‘आफ्नो उत्पादनले आफूलाई पुर्याउन सके धेरै उत्पादन गरेर बजारसम्म बेच्ने गरी मिहनेत गरेर बर्खेबाली लगाउन शुरु भएको छ, तर जंगली जनावारबाट कसरी जोगाउने भन्ने चिन्ता उत्तिकै छ ।’बूढापाकाहरूले वैशाखमा मकै छर्न पाए भोकमरी नपर्ने भनेर भन्ने गरेको गौतमले सुनाए ।
अर्घाखाँचीमा जिल्लाभर करिब १६ हजार ५ सय हेक्टर जमिनमा मकैखेती गर्ने गरिएको जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख वरिष्ठ उपसचिव बुद्धिराज घिमिरेले बताए ।
घिमिरेका अनुसार हालसम्म जिल्लाभर ३५ प्रतिशत अर्थात ५७७५ हेक्टर जमिनमा मकै छरिसकिएको र बाँकीमा छर्ने काम निरन्तर छ । जिल्लाको ८० प्रतिशत जमिनमा सिँचाइ सुविधा नभएको र उक्त सबै जमिनमा मकै खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृर्षि विकास अधिकृत टिकाराम न्यौपानेले बताए ।
अर्घाखाँची जिल्लामा यतिबेला किसानले गोरु पाल्न छाडेका छन् । गोरु नपालेपछि मकै छर्न हाते ट्याक्टरको बढी प्रयोग हुने गर्छ । अहिले त्यसको अलवा मानिसले आफैँ हलो तानेरसमेत मकै छर्ने नयाँ प्रविधिको सुरुवात गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies