काठमाडाैं : सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीमा रवि लामिछानेको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सो बैठकले यो मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभइ संसद अन्त्य भएकाले आजदेखि सुरु हुने संसदको बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले बताए ।
सो बैठकमा आजदेखि शुरु हुने संघीय संसद अधिवेशनमा पार्टीको तयारीका सम्बन्धमा पनि छलफल भएको थियो । तत्काल संसदीय छानविन समिति गठन नभएमा यसबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरु नै प्रभावित हुनसक्ने पनि कांग्रेसले जनाएको छ ।
यसैगरी कांग्रेसले केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको यस घडीमा क्षति पुगेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै अगजनीमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बैठकले तराई मधेसका विभिन्न स्थानहरु भूमिगत पानीको स्तर तल झर्न गइ र पहाडमा डढेलोको कारण विभिन्न स्थानमा खानेपानीका पाइपलाइन जली नष्ट भई खानेपानीको गम्भीर समस्या हुन गएकाले उक्त समस्याको समाधान तत्काल गन सरकारसँग माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies