काठमाडौं : सरकारले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको पुरस्कारको रकम निकास गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कुल २ करोड ९७ लाख १० हजार पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् । चौथो एसियाली पारा खेलकुद सकिएलगत्तै राखेपले एसियाली खेलकुद र एसियाली पारा खेलकुदको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रस्ताव गरेको थियो ।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।
एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने छन् ।
यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।
आइसिसी मेन्स टि–२० विश्वकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन् ।
पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies