सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भूपू नेपाली सेना र उनीहरुका आश्रित परिवार लाभान्वित भएका छन् ।
नेपाली सेना ईश्वरी बक्स गुल्म अर्घाखाँचीको सहयोग तथा सेना फिल्ड अस्पताल रुपन्देहीबाट खटिएको प्राविधिक स्वास्थ्य टोलीको उपस्थितिमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
ईश्वरी बक्स गुल्म म्यालपोखरी ब्यारेकका गुल्मपति प्रमुख सेनानी महेश्वर थापाका अनुसार शिविरमा झण्डै १ सयभन्दा बढी वहालवाला नेपाली सेना, भूपू नेपाली सेना तथा सेनामा आश्रित परिवारहरुको स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो ।
शिविरमा सहभागी भएकामध्ये अधिकांश महिला पुरुषमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, ग्याष्ट्रिक प्रेसर सुगर, थाइराइड, दम, टाउको दुख्ने, हातखुट्टा दुख्ने, कान दुख्ने, शरीर चिलाउने जस्ता समस्याहरु बढी देखिएको उपचारमा संलग्न नेपाली सेनाका प्रमुख सेनानी डाक्टर रश्मी श्रेष्ठले जानकारी दिइन् ।
शिविरमा सन्धिखर्क नगरपालिकाका विभिन्न वडाहरु शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, विभिन्न ठाउँमा रहेका नेपाली सेनाबाट रिटायर्ड भएका भूपू र तीनका आश्रित परिवारका सदस्यहरुले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराएका थिए ।
शिविरमा नेपाली सेनाका दुई डाक्टरसहित एक दर्जन बढी स्वास्थ्यकर्मी परिचालन गरिएका थियो भने विभिन्न प्रकारको औषधि निःशुल्क वितरण गरिएको थियो ।
नेपाली सेनाकै डाक्टरको उपस्थितिमा निःशुल्क स्वास्थ्य जाँच र औषधि सन्धिखर्कमा हुने जानकारी पाएपछि शितगंगा नगरपालिका वडा नम्बर १४ बाट उपचार गराउन आएकी भूपू आश्रित परिवारकी ६० वर्षीया शशिकला न्यौपानेले निकै खुसी लागेको बताइन् ।
उनले लामो समयदेखि शरीर र छाती दुख्ने समस्या देखिएको र नेपाली सेनाले आयोजना गरेको फिल्ड शिविरमा उपचार गर्न आएको बताइन् ।
आर्थिक अभावले उपचार गराउनबाट बञ्चित हुन नपरोस् भनेर वर्षौ जीवन बिताएको संस्थाले अहिले आफ्नै ठाउँमा डाक्टरसहित आएर निःशुल्क उपचार गरिदिँएको भन्दै उनले धन्यवाद समेत दिइन् ।
‘यहाँ आएर निःशुल्क जाँच गर्न तथा औषधि पाउँदा खुशी लाग्यो,’ उनले भनिन्, ‘यस्ता राम्रो काम गर्ने संस्था नेपाली सेना नै हो, त्यसैले गौरभान्वित छौं ।’
नेपाली सेनाले आफ्ना वहालवाला कार्यरत अधिकृत जवानहरु तथा भूपू आश्रित परिवारलाई मध्यनजर गर्दै प्रारम्भिक स्वास्थ्य परीक्षण सञ्चालन गरेकोले उपचारका लागि आउनका लागि समेत डाक्टर श्रेष्ठले अनुरोध गरेकी थिइन् ।
नेपाली सेनाले रुपन्देहीको बुटवलमा ५ बेडबाट शुरु गरेको फिल्ड अस्पताल २०८१ वैशाख ६ गतेदेखि नयाँ व्यवस्थापनका साथ २५ बेडसहित सञ्चालनमा ल्याएको र यस क्षेत्रमा रहेका नेपाली सेना, सेनाका आश्रित परिवार भूपू सेनाहरुको उपचार अब बुटवलमा नै गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य शिविरको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी, प्रहरी नायब उपरीक्षक प्रतीत सिंह, राठौर सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा, जिल्ला प्रशासन अर्घाखाँचीका प्रशासकीय अधिकृत दुर्गा न्यौपाने, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतले अनुगमन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies