सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालय एवं सरोकारवालाको उपस्थितिमा बजार अनुगमन गरेको छ ।
स्वच्छ बजार कायम राख्न भन्दै घरेलु कार्यालयले विगत डेढ वर्षदेखि बजार अनुगमन कार्यलाई कडाइका साथ लागु गरेको छ । मंगलबार घरेलु कार्यालयले यसअघि अनुगमन गरिसकेका बजारका पसल तथा उद्योगहरुमा पुनः अनुगमन गरेको छ ।
करिब डेढ महिना अगाडि अनुगमन गरेका ती पसल तथा उद्योगहरुमा घरेलु कार्यालयको नेतृत्वमा पुनः अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा पसलहरुले सरसफाइमा ध्यान नदिएको, आवश्यक मापदण्ड पूरा नगरेको पाइएकोले छ । ‘हामीले पहिलो पटकलाई सम्झाइ बुझाइ गर्याैँ । आइन्दा यस्ता खालका कमिकमजोरीहरु नदोहोर्याउने शर्तमा छाडेका थियौं । अनुगमन समितिका टिम लिडर सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले भने ‘हामीले तीनै पसलहरुको पुनः अनुगमनमा गएका हौं । आज आएर हेर्दा पहिलेको तुलनामा धेरै सुधार भएको पाइयो ।’
जिल्ला प्रशासन र घरेलु कार्यालयको बजार अनुगमन कार्य अति उत्तम छ । शान्ति बगैँचामा भेटिएका भानु पराजुलीले भने,‘यस्तो अनुगमन स्थानीय सरकारबाट पनि दैनिक रुपमा हुनुपर्छ । यस्ता खालका अनुगमनले व्यवसायी र उपभोक्ता दुवैलाई सच्चिने र सच्याउने मौका मिल्छ ग्राहकले राम्रो सामान पाउँछन् ।’
उनले बजारमा हुन सक्ने सम्भावित ठगी तथा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै घरेलु कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई नियमित नै गरिरहेको घरेलु कार्यालयका प्रमुख सन्तोष खनालले बताए ।
बजार अनुगमन कार्यमा जिल्ला प्रशासन कार्यालय, स्थानीय नगरपालिका घरेलु तथा साना उद्योग कार्यालय, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ, पत्रकार महासंघका प्रतिनिधि, बजार अनुगमन कार्यमा खटिने गरेको देखिन्छ ।
स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि घरेलु तथा सरोकारवाला संस्थाहरुले बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि अनुगमन गरेको दाबी गर्छन् ।
बजारको नियमित अनुगमनका लागि जिल्ला प्रशासन कार्यलयले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली नै बनाएर बजार अनुगमन गर्ने गर्छ ।
अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको घरेलु साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालको भनाइ छ । उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाएको कार्यालय प्रमुख खनालले दाबी गरे ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरुमाथिको अनुगमन तथा निरीक्षण कार्यलाई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले निरन्तरता दिइरहेको कार्यालय प्रमुख खनालले भने,‘नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडे गलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ शुरु गरेको हो ।’
व्यवसायीहरुलाई मापदण्ड अनुसार आफ्नो व्यापार सञ्चालन गर्न, मूल्य सूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, बिल भर्पाइलाई छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको भनाइ रहेको छ ।
उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न तालुकदार कार्यालयले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमनलाई तीव्रता दिएको हो । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने गरेको घरेलुका अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ मा नगरपालिकाको अधिकारको बुँदा नम्बर ञ ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश भएको सन्धिखर्क नगरपालिकाका राजश्व अधिकृत मुक्तिराम खनाल बताउँछन् ।
स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।
नियमित अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोकिएका छन भने स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुँदै आएको पनि घरेलु कार्यालयको अपेक्षा छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । सोही अनुसार घरेलु जिल्ला प्रशासन नगरपालिका सरोकारवालाले अनुगमन गर्ने गर्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies