इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : गृह मन्त्रालयले नेपाल हज समिति सदस्यमा २४ जनालाई नियुक्त गरेको छ । २६ सदस्यीय हज समितिमा एक अध्यक्ष र २५ जना सदस्य नियुक्त हुने प्रावधान रहेका छ ।
गृह मन्त्रालयले ढिलो गरी सदस्यहरु नियुक्त गरेको हो । नियुक्त हुने सदस्यहरूमा राबिया खातुन मियाँ (पाल्पा), सिकन्दर बख्श (तनहुँ), मोजिम्मिल मियाँ अन्सारी (सुनसरी), अलिम अहमद हलुवाई (बाँके), समिना मियाँ (चितवन), मो. मुर्तुजा मुसलमान (रूपन्देही), मों बिलाल खान (ललितपुर), जफर हुसेन (काठमाडौं), रोशन खातुन (रौतहट) र मो. अबुबक्र सिद्दिक उद्दीन मुस्लिम (काठमाडौं) रहेका छन् । त्यस्तै गयासुद्दीन ठकुराई (पर्सा), तैयब हुसेन मियाँ (सुनसरी), जबुल मियाँ (रूपन्देही), आसिफ शाह (काठमाडौं), राशिद मिर्जा (कपिलवस्तु), मुन्नी खातुन (तनहुँ), मो. आजम (मोरङ ), ज्याउल हसन (पर्सा), फैज अहमद खान (रूपन्देही), नेक मोहम्मद (चितवन), गुलाम सरवर (रौतहट ), इर्शाद अन्सारी (बारा), शायरा बानु (स्याङ्जा) र नुरुल होगा फकीर (बारा) पनि हज समिति सदस्यमा नियुक्त भएका छन् ।
हज समितिमा देशभरका १४ जिल्लाबाट सदस्य नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूमा सर्वाधिक काठमाडौं र रूपन्देहीका ३-३ सदस्य रहेका छन् भने तनहुँ, सुनसरी, चितवन, रौतहट, पर्सा र बाराबाट २-२ जना सदस्य नियुक्त भएका छन् । बाँकी पाल्पा, स्याङ्जा, बाँके, ललितपुर, कपिलवस्तु र मोरङबाट १-१ जना सदस्य नियुक्त भएका छन् । अध्यक्षसहित २६ सदस्यीय समितिमा पाँच महिला र २० पुरुष नियुक्त भएका छन् । एक हप्ताअघि बसेको मन्त्रिपरिषद् बैठकले समितिकाे अध्यक्षमा पाल्पाका इस्रामुल्ला मियाँलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
समिति सदस्यको नियुक्तिपछि सोमबार बसेको समितिको बैठकले सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । गृह मन्त्रालयको सभा कक्षमा सम्पन्न समितिको पहिलो बैठक गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको थियो । गृहमन्त्री लामिछानेले नवनियुक्त सदस्यहरूलाई विधिपूर्वक काम गरी हाजीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिँदै शुभकामना व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies